क्यान्सर लाग्दैमा मरिहालिन्छ भन्नु एकादेशको कथाजस्तै हो: डा. शाही (अन्तर्वार्ता)

बिरामीहरु ढिलाे गरेर अस्पताल आउने गर्छन्, त्यतिबेलासम्म क्यान्सर सबैतिर फैलिएकाे हुन्छ र उपचार गर्न सकिँदैन। त्यही भएर क्यान्सर राेग लागेर धेरै मानिसहरु मर्छन्। यही कारण क्यान्सरबारे समाजमा नकारात्मक धारणा बनेकाे हाे।

मिनु गोले

काठमाडौं

संसारमा क्यान्सरसम्बन्धी अनेकाैँ धारणाहरू बनेकाे छन्।

नेपालमा त अझै क्यान्सर लाग्याे भने, सबै कुरा सकियाे, अब मरिहालिने भइयाे भन्ने जस्ता भाष्य निर्माण भएकाे पाइन्छ। अर्थात्, क्यान्सरभन्दा पनि यसकाे भय ठुलाे देखिन्छ।

के साँच्चै क्यान्सर समाजमा निमार्ण भएका भष्यहरुजस्तै खतरनाक हाे त? के क्यान्सर लाग्दैमा मरिहालिन्छ त? कि क्यान्सरकाे उपचार नै हुँदैन? वा क्यान्सरलाई कसरी परास्त गर्न सकिन्छ? बिएलकर्मी मिनु गाेलेले क्यान्सर राेग विशेषज्ञ डा.अरुण शाहीसँग यी र यस्तै सवाल राखेकी छन्:


क्यान्सर के हो?

हाम्रो शरीरमा लाखौँ कोशिकाहरु हुन्छन्। यिनै कोशिकाहरु अन्दित भएर विभाजन भएको अवस्थालाई क्यान्सर भनिन्छ। क्यान्सर एउटा कोशिकाबाट सुरु भएर विभिन्न अङ्गहरुमा फैलिन्छ। यसरी फैलनु नराम्रो अवस्था हो।

क्यान्सर कति प्रकारहरु हुन्छन्?

नेपालमा अहिलेसम्म धेरै प्रकारका क्यान्सरहरु भेटिएका छन्। क्यान्सर रोग कुन अङ्गमा लागेको छ, त्यही अनुसार नामाकरण गरिन्छ। जस्तो कि फोक्सोका कोशिकाहरु अन्दित भएर विभाजन भयो भने त्यसलाई फोक्सोको क्यान्सर भनिन्छ। त्यस्तैगरी पेटको, पाठेघरको, स्तनको क्यान्सर भनेर नामाकरण गरिन्छ।

क्यान्सर किन लाग्छ?

क्यान्सर रोग ट्याक्कै यही कारणले लाग्छ भन्ने हुँदैन। अहिलेसम्मको अनुसन्धानले पनि यो कुरा पत्ता लगाउन सकेको छैन। तर, केही जोखिमका कारणहरु छन्। मुख्यगरी धुम्रपान र मद्यपान पनि एउटा कारण हो।

पछिल्लो समय क्यान्सर भएका ९० प्रतिशत मानिसहरुले धुम्रपान र मद्यपान गरेको पाइएको छ। दोस्रो मोटोपन पनि हो। खानपिन, वातावरण, रहनसहनजस्ता कुराहरुले पनि क्यान्सरको जोखिम बढ्छ।

वंशाणुगत कारण पनि छ?

पाँचदेखि १० प्रतिशत क्यान्सर वंशाणुगत कारण पनि भएको पाइएको छ। सानो उमेरदेखि युवा उमेरसम्म हुने धेरैजस्ता क्यान्सर वंशाणुगत नै हुन्।

प्रकारअनुसार, क्यान्सरका लक्षणहरु पनि फरक–फरक हुन्छन् होला नि?

हो, जति पनि प्रकारहरु छन्, तिनका लक्षणहरु पनि फरक–फरक हुने गर्छन्। अङ्गअनुसार फरक–फरक लक्षणहरु देखा पर्छन्। जस्तो फोक्सोको क्यान्सर लागेको छ भने खकार आउने, सास फेर्न गाह्रो हुने, छाती दुख्ने, सुत्न गाह्रो हुनेजस्ता लक्षण देखिन्छन्।

पेटको क्यान्सर हुँदा खान मन नलाग्ने, थोरै खाएपनि अघाउने, वान्ता हुने, पातलो दिसा आउने, दिशामा रगत देखिने, पेट दुख्नेजस्ता लक्षण देखिन्छन।

स्तन क्यान्सर हुँदा स्तनमा गिर्खा आउने, दुख्ने, स्तनको मुन्टाबाट रगत आउने, आकारमा परिवर्तन आउने, स्तनको बाहिरी बनावट सुन्तलाको बोक्राजस्तो देखिने हुन्छ। जे होस् सम्रगमा भन्नुपर्दा अङ्गअनुसार क्यान्सरका लक्षणहरु फरक–फरक पनि हुन सक्छन्।

क्यान्सर लाग्दैमा मृत्यु हुन्छ?

क्यान्सर लाग्दैमा, मरिहालिन्छ वा उपचार नै हुँदैन भन्नु एकादेशको कथाजस्तै हो। पछिल्लो समय क्यान्सर रोगलाई समयमा पहिचना गरी उपचार गर्न सकियो भने ९९ प्रतिशत क्यान्सरबाट बच्न सकिन्छ। त्यो पनि नेपालमै।

क्यान्सर लाग्नबाट बच्न के-कस्ता सावधानी अपनाउनुपर्छ?

क्यान्सर रोग लाग्न नदिने भनेको ‘प्रिभेसन स्ननिङ’बाटै हो। ‘प्रिभेसन स्ननिङ’ भनेको क्यान्सर रोग लाग्न नदिने भन्नु हो। अर्थात्, हामीले खानपिन तथा व्यवहारमा परिवर्तन गर्‍यौँ भने जोखिम कम गर्न सकिन्छ।

धुम्रपान, मद्यपान नगरौँ, दैनिक कसरत गरौँ, पेट पोल्ने तथा बासी खान नखाऔँ जस्तै सेकुवा, भुटन, केक वा फास्टफुडहरु। नरिवल, दाल, भात, तरकारीलगायत नेपाली खाना खाऔँ, हप्ताको एकदिन माछा मासु खाऔँ।

अहिलेको जमाना भनेको कामको जमाना हो। सफलताको मापन भनेको कसले धेरै पैसा कमायो, कसले ठुलो घर बनायो वा कसले कस्तो गाडी चढ्यो भन्नेलाई लिएर धेरै कुरा गर्छौँ तर हामी हाम्रो आराम बिर्सिन्छौँ, प्रकृतिको नियममा जान सक्दैनौँ।

दैनिकरुपमा व्यायम गर्ने, खानपिनमा ध्यान दिने, आराम गर्ने, धुम्रपान र मद्यपान नगर्ने, शरीरको तौलमा सन्तुलन राख्ने गर्‍यो भने ९० देखि ९५ प्रतिशत क्यान्सरलगायत रोगहरुबाट बच्न सकिन्छ।

पुरुषको तुलनामा महिलालाई बढी क्यान्सर हुने गर्छ?

फोक्सोको क्यान्सर पुरुषमा बढी देखिन्छ भने स्तन र पाठेघरको क्यान्सर महिलामा। पेट, रगत र मुखको क्यान्सर महिला पुरुष दुवैमा हुन्छ तर तथ्यांक हेर्दा यी क्यान्सर महिलामा भन्दा पुरुषमा बढी देखिन्छ।

हाम्रो समाजमा महिलाभन्दा पुरुष त्यति अनुसाशनमा रहँदैनन्। महिलाहरु अनुसाशित हुन्छन्। महिलाहरु काममा ध्यान दिने र व्यस्त हुने हाम्रो संस्कृति पनि हो।

पहिला महिलामा भन्दा पुरुषमा बढी क्यान्सर देखिन्थ्याे। तर, अहिले फेरि महिलामा पनि क्यान्सर बढी देखिन थालेकाे छ। किनकि, महिले पनि धुम्रपान र मद्यपान गर्न थालेका छन्। हाम्राे सभ्य संस्कृति मासिँदै गएकाे छ। त्यही कारण पुरुषसँगै महिलामा पनि क्यान्सर बढी भेटिन थालेकाे छ।

नेपालमा कस्ता खालाका क्यान्सर बढी देखिएका छन्?

पाटन स्वास्थ्य विज्ञान प्रतिष्ठान र नर्भिक अस्पतालमा काम गरेको मेराे अनुभवमा नेपालमा पुरुषमा फाेक्साेकाे क्यान्सर नम्बर वानमा छ। महिलामा नम्बर वानमा स्तन क्यान्सर छ भने नम्बर दुईमा पाठेघरकाे मुखकाे क्यान्सर छ।

नेपालको तथ्याङ्ककमा पाठेघरको मुखको क्यान्सर बढी देखिन्छ। त्यसपछि रगत, पेट, मुख, नाक-कान घाँटीको क्यान्सर क्रमबद्धरुपमा देखिरहेको छ।

क्यान्सर लागेपछि मारिहालिन्छ भन्ने गरिन्छ, के याे सत्य हाे?

मानिस राेग लागे पनि नलागे पनि मर्छन् नै। जन्म भएपछि मृत्यु हुने कुरा धुव्र-सत्य हो।

समाजमा क्यान्सरबारे धेरै नकारात्मक धारणा छन्। क्यान्सर लागेपछि निको हुँदैन र खर्च पनि धेरै हुन्छ भनिन्छ। त्यही भएर हाेला ग्रामिण क्षेत्रका मानिसहरु उपचार गर्न पनि आउँदैनन्। क्यान्सरका लक्षणहरुबारे पनि बताउँदैनन्। विशेषगरी महिलाकाे स्तन वा पाठेघरमा रगत आयाे वा लामाे समय सेताे पनि बग्ने गरे पनि महिलाले भन्दैनन्, त्यसलाई लागकाे विषय बनाउँछन्। अनि, बिरामीहरु ढिलाे गरेर अस्पताल आउने गर्छन्, जब क्यान्सर सबैतिर फैलिएकाे हुन्छ अनि उपचार गर्न सकिँदैन। ढिला अस्पताल आएपछि उपचारका उपाय नै हुँदैनन्। त्यही भएर क्यान्सर राेग लागेर धेरै मानिसहरु मर्छन्। यही कारण क्यान्सरबारे समाजमा नकारात्मक धारणा बनेकाे हाे।

पछिल्लाे समय विज्ञानले धेरै औषधिकाे विकास गरेकाे छ, क्यान्सर राेग थाइराइड, प्रेसरजस्तै भइसकेकाे छ। मेराे विचारमा यी राेग भन्दा पनि क्यान्सर राम्राे राेग हाे। यदि हामीले समयमै पहिचान गरेर उपचार गर्न सकियाे भने ९९ प्रतिशत क्यान्सर निर्मुल पार्न सकिन्छ।

उपचारमा कति खर्च लाग्छ?

क्यान्सरकाे उपचार खर्च कुन अङ्गमा क्यान्सर लागेकाे छ भन्ने कुराले निर्धारण गर्छ। भने, बिरामीकाे अवस्थाले पनि खर्चमा फरक पर्छ। क्यान्सर समयमा पहिचान भयाे भने कम खर्चमा उपचार सम्भव हुन्छ भने ढिला उपचार भयाे भने धेरै खर्च लाग्छ।

महिलामा हुने एक किसिमकाे क्यान्सर, जसलाई जेटिएन क्यान्सर भनिन्छ। याे लाग्याे भने पाँचदेखि दश हजारमै उपचार हुन्छ। भने, कुनै बिरामीलाई कराेडाैँ खर्च गर्नुपर्ने अवस्था हुन्छ। त्यही भएर क्यान्सर राेगकाे उपचार खर्च क्यान्सर पहिचान, क्यान्सर लागेकाे अङ्गमा भर पर्छ। मेराे हिसाबमा दुईदेखि पाँच हजारबाट करौडौँसम्मको खर्च हुने हुन्छ।

नेपालमा क्यान्सरकाे उपचार हुँदैन भनेर काेही त विदेशतिर पनि जान्छन् नि?

याे एक किसिमकाे ट्रेनजस्तै बनेकाे छ। जस्ताे सामान्य गाउँमा  रुघाखाेकी लागे पनि काठमाडाैँ आउनुपर्छ भन्ने मनसाय मानिसमा देखिन्छ। भने, काठमाडाैँका मानिस भारत, थाइल्याण्ड, सिंगापुर, अमेरिका जाने गर्छन्, याे मान्छेकाे नेचरजस्तै भनेकाे छ। आर्थिक रुपमा सम्पन्न हुनेहरुकाे याे नेचर नै हाे।

अहिले सुरुमा बंगलादेश, श्रीलंका, पाकिस्तान, सिंगापुर, अमेरिका गएर उपचार गराउने अनि पछि सबै कुरा थाहा पाएपछि नेपालमै फर्किएर उपचार गर्ने चलन पनि बढेकाे छ।

किन यस्ताे हुन्छ?

सबैभन्दा महत्वपूर्ण कुरा जनचेतनाकाे कमी हाे। त्यही भएर म बिएल नेपाली सेवालाई पनि हृदयदेखि नै धन्यवाद दिन्छ चाहन्छु, क्यान्सरबारे जनचेतना फैलाउने काम गरेकाेमा। अब सबैले नेपालमै क्यान्सरकाे उपचार गराउनुहुनेछ भन्नेमा मेराे विश्वास छ। 

अन्त्यमा?

क्यान्सर लाग्दैमा नआतिनुहोस्। र, धेरै पैसा छ भन्दैमा नमतिनुहोस्। सबै बिरामीहरुको नेपालमै उपचार हुन्छ। सबैभन्दा महत्वपूर्ण कुरा रोग कसरी लाग्न नदिने भन्नेमा ध्यान दिनुहोस्।

लक्षणहरु देख्ने बित्तिकै वा सामान्य उपचार गर्दा पनि निको भएन भने तुरुन्तै नजिकको अस्पतालमा गएर चिकित्सकहरुसँग सल्लाह गर्नुहाेस्।

धन्यवाद।

भिडियाे :

प्रकाशित मिति: : 2024-02-04 21:10:00

प्रतिकृया दिनुहोस्