बाँदर समस्या देखिएको छ कि गाउँ–गाउँबाट बस्ती छाड्नुपर्ने अवस्था आएको छ। बाँदरले लगाएको बालीनाली खाइदिने, घरभित्र पसेरसमेत दु:ख दिन थालेपछि गाउँ छाड्ने गरेका धेरै भेटिन्छन्।
बाँदर नियन्त्रण गर्न स्थानीय तहले बाँदर तर्साउन बन्दुक वितरणदेखि रुख काट्नेसम्मका उपाय अपनाइरहेका छन्। तर यी उपाय प्रभावकारी हुन सकेको छैन।
पोखरा उपमहानगरपालिका–१९ले घरछेउको रुख काट्ने निर्णय गरेपछि बिरोधसमेत भयो। पहाडि बस्तीमा बाँदरले निकै दु:ख दिने गरेका र नियन्त्रणका लागि नागरिक सरकारलाई आग्रह गर्दै आइरहेका छन्।
सरकारले प्रभावकारी उपाय भने अपनाउन सकेको छैन।
आज हामीले बाँदर र मानिसबीच किन द्वान्द्व बढिरहेको छ? बाँदर नियन्त्रण गर्न कस्ता उपाय अपनाउन सकिन्छ? नेपालमा बाँदर नियन्त्रण गर्न सकिन्छ कि सकिँदैन? आदि विषयमा बाँदर विज्ञ प्रा.डा. मुकेशकुमार चालिसेसँग कुराकानी गरेका छौँ।
प्रस्तुत छ बाँदर विज्ञ प्रा.डा. चालिसेसँग बिएलकर्मी टोपेन्द्र रोका मगरले गरेको कुराकानीको सम्पादित अंशः
बाँदर नियन्त्रण गर्न रुख, झाडी काट्ने गरिएको छ। यसको प्रभावकारिता कति हुन्छ?
बाँदर बस्ने र लुक्ने ठाउँहरू सफा गर्नु ठिकै हो। त्यसो गर्दा अलिअलि फाइदा पनि होला। तर बाँदर भनेको रुख हुँदैमा आउने र रुख नहुँदैनमा नआउने भन्ने हुँदैन।
खेति प्रणालीको विकास सँगसँगै जंगल किनारसम्म पनि सिमान्त खेती भएको पाइन्छ। त्यस्तो अवस्थामा मानिसले सधैं कुरेर बाँदर धपाउने सम्भव हुँदैन।
अहिलेको सामाजिक परिस्थितिमा बलियाबाङ्गा, अलि जान्नेसुन्ने, उमेर भएका मान्छे प्राय: रोजगारीमा दौडिने र घरमा केटाकेटी, बुढाबुढी हुने भएकाले रुख काटेर बाँदर धपाउन सफल नहोला तर केही रुपमा बासस्थान हटाएमा होला कि!
रातो बाँदर लाखको संख्यामा छन्। लङ्गुर बाँदर अलि कम र पहरे अझै कम छन्। किनभने पहरे बाँदर संरक्षित बाँदर हो।
बाँदर किन गाउँ पसे?
बाँदर किन गाउँ पसेको छ भन्ने अध्ययन नभएर भन्न सकिँदैन। फरक ठाउँको बाँदर गाउँ पस्नुमा फरक कारणहरू हुन्छन्। कहीँ कुनै खेतीका लागि, कहीँ कुनै खेतीका लागि बाँदरको आकर्षण हुन्छ।
नेपालभरी बाँदर गाउँ पस्नुमा एउटै खालको छैन। र बाँदरको स्वभाव, उनीहरूले मान्छेसँग गर्ने व्यवहार पनि नेपालभरी सबै ठाउँमा फरक–फरक किसिमका छन्। कहीँ महिलालाई मात्र, कहीँ केटालाई मात्र दु:ख दिन्छन्। काहीँ बुढाबुढीलाई मात्र दुःख दिन्छन्।
त्यसैले गर्दा सबै ठाउँअनुसारको नियन्त्रणको विधिहरू अपाउनुपर्छ।
बाँदरको स्वभाव फरक हुन्छ भन्नुभयो। कुन बाँदरको कस्तो हुन्छ?
बाँदरमा धेरैजसो पातहरू खाने, फलफुल खाने, किराफटिङ्ग्राहरू खानेहरूको स्वभाव अलिअलि फरक हुन्छ।
रातो बाँदर बढी चकचके, बढी दु:ख दिने हुन्छ। मान्छेलाई पनि अलि बढी दु:ख दिने, खेतीपातीमा पनि उसले नखाए पनि बढी नोक्सान गर्ने हुन्छ।
पहरे बाँदर लजालु, मान्छे नभएकोबेलामा मात्र उसले याद गर्छ। मान्छे भएकाबेला उ बारीमा आउन सक्दैन।
लङ्गुर यो ठुलो पुच्छर भएको बाँदर घाँस खाने भएको हुनाले प्राय: खेतीपातीमा पस्दैन। पसिहाले पनि थोरै मात्र नोक्सान गर्छ यसले।
किनभने यस लङ्गुर बाँदरको खाएर तुरुन्त जम्मा गर्ने ठाउँ हुँदैन। रातो बाँदरले भने घाँटीमा पोको बनाएर जम्मा गर्न सक्छन्। यसले फटाफट खाने र फुर्सदको समयमा मजाले चपाएर खाने भएकाले उनीहरूको बिचमा स्वभावको भिन्नता पाइन्छ।
पहरे बाँदरले घाँटीमा पोको पार्दैन?
पहरे बाँदरले पनि पोको पार्ने नै होर तर उ लजालु हुन्छ। डराउने हुन्छ। मान्छे, कुकुर देखेमा उ तर्सिएर भाग्ने गर्छ। रातो बाँदर मान्छेको होहल्ला भए पनि नतर्सिने हुन्छ।
यी तीन प्रकारका बाँदरहरू भूगोल अनुसार पाइने हुन्?
हो। रातो बाँदर तराईतिर, मध्ये पहाड र उच्च पहाडको खालाका किनारहरूका जंगलहरूमा बढी पाइन्छन्। यस बाँदरले अलि न्यानो ठाउँ खोज्छ। पहरे बाँदर मध्ये पहाडमा मात्र पाइन्छ।
लङ्गुर बाँदर तराई, मध्ये पहाड र हिमालमा पाइन्छ। तर यी तीन ठाउँमा पाइने यिनीहरू तीनथरीकै हुन्छ।
बढी क्षति गर्ने भनेको रातो बाँदर नै हो?
रातो बाँदरले धेरै भूगोल ओगटेको हुन्छ। तराई, पहाडमा, हिमालको तल–तलसम्म पनि यही रातो बाँदर छ। आँकडाका हिसाबले पनि रातो बाँदर धेरै छ। धेरै ठाउँमा घुम्छ। र धेरै ठाउँमा नोक्सानी पनि गर्छ।
पहरे बाँदर मध्ये महाडमा हुने भएकाले पहाडमा मात्र हुन्छ। त्यसमा पनि यो बाँदर धेरै पहारा, जंगलतिर बस्ने गर्छ। यसले टुसाहरू, पातका मुन्टाहरू, त्यसका आँख्लाहरू खाने भएकाले खेतिबालीमा अलि कम जाने गर्छ।
नेपाल र भारतका बाँदरका स्वभाव फरक छन्। त्यहाँको समस्या र हाम्रो समस्या नै फरक छन्। उनीहरूको एकपटक मार्न पाउनेसमेतको अधिकार दिइएको थियो।
नेपालभरी बाँदरको संख्या कति छ?
मैले गरेको अध्ययनअनुसार रातो बाँदर लाखको संख्यामा छन्। लङ्गुर बाँदर अलि कम र पहरे अझै कम छन्। किनभने पहरे बाँदर संरक्षित बाँदर हो। गैडा, बाघ, हात्ति जस्तै। यो खासखास ठाउँमा मात्र पाइने भएकाले यो धेरैतिर फैलिएको छैन।
रातो बाँदर एउटै जातको सबैतिर फैलिएको हुनाले, सबै किसिमको खानेकुरा खाने हुनाले, सबैतिर नोक्सान गर्दाखेरी यसको भागमा धेरै पर्छ।
मानिससँग बाँदरको द्वन्द्व बढेको देखिन्छ किन?
मैले थोरै ठाउँमा अध्ययन गरेको हो। अध्ययन गर्दा द्वन्द्वको प्रकृया, प्रकार, कसरी द्वन्द्व उत्पन्न भए भन्ने कुरा फरक–फरक छन्। त्यसैले गर्दा नियन्त्रणका उपाय सबै ठाउँमा एउटै किसिमको लागू हुँदैन।
सबै ठाउँमा कसरी सुरु भयो? कति राम्रा छन्, कति नोक्सान गर्नेछन्? कति जंगलमै बस्नेछन्? यी अध्ययन गरेर मात्र नियन्त्रणका उपाय अपनाउने हो भने अलि त्यो प्रभावकारी होला।
मेचीदेखि महाकालीसम्म एउटै खालको नियम बनाएमा सायद बाँदर नियन्त्रण नहुन पनि सक्छ।
यहाँ भन्नेबेला बसाइसराइले गाउँ रित्तिएको र वनमा खानेकुराको अभाव भएपछि बाँदर गाउँ छिरेको भनिन्छ। तर गाउँमा मान्छे कम भएपछि वन अझ बढी भरीभराउ हुनुपर्ने हो। बाँदरलाई बस्नलाई वनमा सहज हुनुपर्ने होइन र?
पहिला एकताका के भनियो भने जंगल फाँडेर बस्ती बसाएर खेतिपाति गरियो भने राम्रो हुन्छ भनियो र धेरै ठाउँमा जंगल फडानी भए। नेपालमै २००७ साल ०१७ साल, ०४६ सालतिर वन फडानी भयो र बस्ती बसाइयो।
यहाँ अरु परिवर्तन भएको भन्दा पनि जंगलको क्षेत्र परिवर्तन भयो। चितवनमा २००७ सलापछि जंगल फडानी गरेर बस्ती बसेको हो। हिजो बस्ती बसाउने नाममा जंगली भागसम्म फडानी गरेर बस्ती बसाइयो।
तर जंगलका बाँदर त घटेनन्। उनीहरू उस्तै रहे। उनीहरूको आफ्नो बासस्थान खतम भएको हुँदा उनीहरू मर्ने, सिद्धिने, कम हुने भए। एकातिर खेतिपाती नजिक हुनु र खेतिपाती सहज रुपमा खान पाउनु उनीहरूलाई खेतिपाती खाने बाँनी पर्यो।
एकदमै जंगलमा मात्र बस्ने बाँदरले कहिल्यै पनि मकै खाँदैन। फलफुल खाँदैन। तर जंगल नजिक खेतिपाती पुगेपछि भेट्दाभेट्दा उनीहरूलाई खानेबानी लाग्यो।
अहिले नेपालमा आम्दानीको स्रोतका रुपमा विदेशमा गएर कमाउने, यहाँ सहर बजारतिर जाने बढे। हिजोको जस्तो खेतिपाती छैन। खेतिपाती कमजोर भएपछि हिजो बानी लागेका बाँदरहरूलाई खेतिपाती कता छ भनेर खोज्दै जता छ उतै गएका हुन्।
अहिले घरगाउँमा सुरक्षाका लागि मान्छे पनि कम छ। त्यस्तै संचारले गाउँको हरेक समस्या सबै ठाउँमा पुग्यो र त्यसले गर्दा बाँदर समस्या अहिले ठुलो रुपमा देखा पर्यो।
अब ठाउँअनुसारको प्रकृया अपनाएर बाँदर नियन्त्रण गर्न सकिन्छ। होइन भने सकिँदैन। अस्थायी हुन्छ। एकताका बन्दुकको आवाजबाट भगाउने भने तर पछिसम्म काम गरेन। स्थायी रुपमा समाधान गर्ने हो भने अध्ययन हुनै पर्छ।
एउटा संसदीय समितिले बाँदर नियन्त्रणको उपाय खोज्न भारत जाँदै छ। के त्यस अध्ययनले यहाँ काम गर्छ?
बाँदर भारतमै समस्याका रुपमा रहेको छ। नियन्त्रण हुन सकेको छैन। केहीकेही उपाय भारतले अपनाएको हो। ती पनि प्रभावकारी भएको छैन। अब हाम्रा सांसदहरू मजाले घुमफिर गरेर आउनुहुन्छ। केही ल्याएर आउनु होला नि हेरौँ।
बाँदरको स्वभाव फरक–फरक हुन्छ अघि भन्नुभयो। भारत र नेपालका बाँदरका स्वभाव पनि त मिल्दैन होला नि?
नेपाल र भारतका बाँदरका स्वभाव फरक छन्। त्यहाँको समस्या र हाम्रो समस्या नै फरक छन्। उनीहरूको एकपटक मार्न पाउनेसमेतको अधिकार दिइएको थियो। त्यसो हुँदा पनि समस्या भयो। विभिन्न अधिकारवादीहरूले विरोध गरे।
नेपालका बाँदरको नियन्त्रण गर्न तपाइले देखेका उपाय के हुन्?
तपाइले यही चितवनको राष्ट्रिय निकुञ्ज भित्रका बाँदरलाई हेरे हुन्छ। यहाँका बाँदरले दु:ख दिँदेनन्। त्यसभन्दा बाहिर रहेका बाँदरले दु:ख दिन्छन्। भनेपछि बाँदर बदमास र नबदमा दुवैथरी हुन्छन्।
त्यसैले गर्दा कसको स्वभाव मान्छेलाई दु:ख दिने खालका छन्। उनीहरूलाई हेर्ने होला। अन्यलाई हेर्ने होइन होला। सबैलाई हेरेर नियन्त्रण गरे साध्य हुने पनि होइन होला।
त्यसैले मैले अध्ययनको विषय पहिला राखेको हो। बाँदर समस्या अन्य देशमा पनि थियो। जापान, चीन, बंगलादेश, थाइल्यान्ड, भारतमै केही मात्रामा नियन्त्रण भएको छ। यी देशहरूले विभिन्न तरिकाले नियन्त्रण गरेका छन्।
काहीँ तारबार, काहीँ बिजुली छाडेर नियन्त्रण गरेका छन्। कही अनुसन्धानमा प्रयोग गरेर बदमास गर्ने बाँदलाई नियन्त्रण गरेका छन्। कही साना–सना चिडियाखाना बनाएर नियन्त्रण गरिएको छ।
हामीले पनि योजनासहित आउनुपर्यो। सिधैं नियन्त्रण गर्ने भनेर हुँदैन।
नेपालमा बाँदर नियन्त्रण गर्न कति वर्ष लाग्ला?
सम्बन्धित निकायले तदारुकता देखाउने हो भने एक वर्षमा सबै रिपोर्टहरू बनाउन सक्छौँ। दोस्रो वर्षदेखि काम थाले भइहाल्यो नि।
बाँदरलाई औषधिमा प्रयोग गर्ने कि, चिडिया खानामा राख्ने कि, अर्थात सारै बदमासलाई निषेध नै गरेर हुन्छ कि, वन जंगलमा पर्याप्त मात्रमा खानेकुरा रोपेर हुन्छ कि यसरी धेरै गर्न सकिन्छ। आदत चिन्नुपर्छ, जबर्जस्ती गरेर बाँदरहरू रोकिन्नन्