अमेरिकी रिपब्लिकन प्राइमरीमा ट्रम्प र हेलीबीच सोझो टक्कर

प्रदीप भट्टराई

वासिङ्ट डीसी

अमेरिकाको रिपब्लिकन पार्टीको राष्ट्रपति उम्मेद्वारका लागि हुने प्राइमरी चुनावमा अब दुई उम्मेद्वार-आकांक्षी मात्र बाँकि रहेका छन्। आइवा कककसपछि बाँकि तीन आकांक्षीमध्ये रन डिस्यान्टिसले पनि उम्मेद्वारी निलम्बन गरेपछि अब डोनाल्ड ट्रम्प र निक्की हेली मात्र चुनावी दौडमा बाँकि रहेका हुन्। 

उनीहरू बीचको सोझो टक्करको पहिलो अभ्यास मंगलबार ग्रेनाइट राज्य न्यू हाम्पसायरमा हुँदैछ। लिबरल रिपब्लिकन बहुल यस राज्यमा डोनल्ड ट्रम्प र निक्की हेलीबीच कडा प्रतिस्पर्धा रहेको पछिल्ला चुनावी परिणामले देखाएका छन्। 

राज्यका रिपब्लिकन गभर्नर क्रिश सुनुनुको महत्वपूर्ण समर्थन पाएकी हेली नै २२ डेलिगेट्सका लागि हुने प्रतिस्पर्धामा विजयी हुने पूर्वानुमान केही राजनीतिक पण्डितहरूले गरेका छन्। 

उम्मेद्वारी छोड्दै ट्रम्पको समर्थन

अमेरिकाको रिपब्लिकन पार्टीको राष्ट्रपति उम्मेद्वारका लागि सुरूमा १२ जना आकांक्षी थिए। आइतबार  रन डिस्यान्टिसले आफ्नो उम्मेद्वारी निलम्बन गरेपछि अब घटेर आकांक्षी संख्या २ मा झरेको छ। जनवरी १५ को आइवा रिपब्लिकन ककसमा निक्की हेलीलाई पछि पार्दै दोस्रो स्थानमा रहेका उनले नौ डेलिगेट्स जितेका थिए। ट्रम्पको पछिल्लो गृहराज्य फ्लोरिडाका बर्तमान गभर्नर डिस्यान्टिसले उम्मेद्वारी त्यागेर ट्रम्पलाई समर्थन गरेका छन्।

ट्रम्पको समर्थन गर्दै उम्मेद्वारी छोड्ने डिस्यान्टिस पहिलो उम्मेद्वार हैनन्। यसअघि जनवरी १५ मा आइवा ककसमा चौथो स्थानमा रहेर तीन डेलिगेट्स जितेका विवेक रामास्वामीले पनि ककसको परिणाम आए लगत्तै ट्रम्पको समर्थन गर्दै उम्मेद्वारी त्यागेका थिए। दुई दिनअघि मात्र अर्का राष्ट्रपति उम्मेद्वार आकांक्षी साउथ क्यारोलाइनाका सिनेटर टीम स्कटले पनि ट्रम्पको समर्थन गरेका छन्। उनले नोभेम्बर १०मा चुनावी मैदान छोडेका थिए। 

अब आम्नेसाम्ने ट्रम्प र हेली

अमेरिकाको रिपब्लिकन पार्टीको राष्ट्रपति उम्मेद्वारका लागि अब ट्रम्प र हेलीबीच सोझो प्रतिस्पर्धा हुने भएको छ। अबको स्थितिमा दक्षिणपन्थी रिपब्लिकन पार्टीमा ठाडो मत विभाजन हुने छ। २०२० को चुनाव ट्रम्पले नै जितेको ठान्ने र जनवरी ६ को विद्रोह सही थियो भन्ने ट्रम्पको पक्षमा हुनेछन् भने रिपब्लिकन मूल्य र मान्यतामा रहने रैथाने रिपब्लिकन हेलीको पक्षमा हुनेछन् ।

२०१६ पछि रिपब्लिकन पार्टी नै सेलिब्रेटी व्यापारी ट्रम्पले हाइज्याक गरेर बिस्तारै ट्रम्पकन पार्टी बनाइ दिएका छन्। लोकरिझ्याइँबादका नमूना ट्रम्पको उग्र अमेरिकावादका सामु यो पार्टीमा जो कोहीलाई पनि टिक्न सहज छैन। पछिल्लो समय उम्मेद्वारी त्यागेका अधिकांशले ट्रम्पकनको सामना गर्न नसकेर आत्मसमर्पण गरेका हुन्।

हेलीविरूद्ध ट्रम्पको नाङ्गो आक्रमण 

हेली भारतीय मूलकी अमेरिकी हुन्। उनको पूरा नाम निमरता निक्की रन्धावा हो। हेलीसँग विवाह गरेपछि आफ्नो बिचको नाम निक्कीमा श्रीमानको पछिल्लो नाम हेली जोडेर उनी निक्की हेली भएकी हुन्। साउथ कयारोलाइनाकी पूर्वगभर्नर रहेकी हेली राष्ट्रसंघका लागि पूर्व अमेरिकी राजदूत पनि रहिसकेकी छिन्। 

ट्रम्पले केही दिनयता सोझो टक्कर दिइरहेकी हेलीलाई व्यक्तिगत रूपमा निशाना बनाउँदै आएका छन्। उनले हेली भारतीय मुलकी भएको र उनी अमेरिकी राष्ट्रपति हुन अयोग्य भएको भन्दै कडा शव्दमा निन्दा गरेका छन्। निक्कीको पुरानो नाम निमरता निक्की रन्धावा भएको बताउँदै उनी अमेरिकामा जन्मेकी भए पनि जन्मदा बाबुआमा भारतीय नै भएकाले उनी राष्ट्रपति हुन नपाउने उनको दावी छ। अर्को एक टेलिभिजन अन्तर्वार्तामा उनले जानी जानी हो वा मेन्टल समस्याले हो निक्की हेलीलाई जनवरी ६ को घटनाका लागि जिम्मेवार ठहराएका छन्। उनले निक्कीलाई तत्कालिन डेमोक्रेटिक सभामुख नान्सी  पेलोसी सम्झेर त्यसो भनेका हुन सक्छन्। अर्को एक आक्रमणमा उनले निक्कीलाई हिलारी क्लिन्टनका रूपमा प्रस्तुत गरेका छन्। 

कसले मार्छ बाजी?

निक्की हेलीले ट्रम्पलाई टक्कर दिए पनि रिपब्लिकन उम्मेद्वारी जित्न आवश्यक १२१५ डेलिगेट्स जुटाउन उनलाई सहज छैन। रिपब्लिकनबाट ट्रम्पकन भैसकेको पार्टीमा सम्भवत: मार्च ५ को सुपर ट्युज्डे अगाडि नै ट्रम्प त्यो जादूगरी डेलिगेट्स संख्या जुटाइसकेका हुन्छन्।

तर, पनि यो प्रतिस्पर्धा अगाडि बढ्दैजाँदा ट्रम्पले सुरू गरेको आक्रमणविरूद्ध हेलीले प्रत्याक्रमण गर्दा ट्रम्प अरू नाङ्गेझार हुने छन्। त्यसले नोभेम्बर ५ मा हुने आमनिर्वाचनमा ट्रम्पको विपक्षमा उम्मेद्वार हुने डेमोक्रेटिक उम्मेद्वारलाई चुनावी मुद्दा र कुरा गर्ने विषय (टकिङ पोइन्ट) मिल्ने छ ।

ट्रम्पका मुद्दा र उम्मेद्वारी स्थिति

ट्रम्पले रिपब्लिकन उम्मेद्वारी जिते पनिउनको उम्मेद्वारी के हुन्छ?, यसै भन्न सकिने स्थिति छैन। यसअघि नै मेन र कोलोराडो राज्यले ट्रम्प जनवरी ६ को विद्रोहमा जिम्मवार ठहराउँदै चुनावी मतपत्रमा उनको नाम नराख्ने निर्णय गरिसकेका छन्। सर्वोच्च अदालतमा फेब्रुअरी ९ बाट सुरू हुने सुनुवाइले कुन मोड लिने हो, अहिले नै पूर्वानुमान लगाउन सहज छैन ।

निर्वाचन मुद्दाका अतिरिक्त अहिले अमेरिका चार अदालतमा ट्रम्पविरूद्ध ९१ संगीन फौजदारी अभियोग लगाइएका मुद्दा पैरवी जारी छ। यीमध्ये धेरैजसो मुद्दामा ट्रम्प दोषी हुने सम्भावना ज्यूँकात्यूँ छ। यस्तो अवस्थामा फौजदारी अभियोग लागेका ट्रम्प के कसरी राष्ट्रपतिको उम्मेद्वार हुने हो?, त्यो पनि अर्को पेचिलो प्रश्न छ।

ट्रम्पको उम्मेद्वारी बाइडनलाई सहज

ट्रम्पले रिपब्लिकन उम्मेद्वारी जिते भने फेरि पनि बाइडन र ट्रम्पबीच २०२० मा भएकै चुनावी प्रतिस्पर्धा दोहोरिने छ। यस्तो अवस्थामा डेमोक्रेटिक उम्मेद्वार बाइडनको जित्ने सम्भावना बढी हुने राजनीतिक पण्डितहरू बताउँछन्। उनीहरूका अनुसार ट्रम्पलाई बाइडनले जितिसकेको मनोविज्ञानले अहम् भूमिका निर्वाह गर्ने छ। बाइडनका लागि चुनौति बनेको बुढौली फ्याक्टर पनि उही हाराहारीको उमेरका ट्रम्पको उम्मेद्वारीले खासै चुनावी मुद्दा बन्दैन।

यस अतिरिक्त ट्रम्पको विवादास्पद छवि, फौजदारी मुद्दा र उग्र दक्षिणपन्थ पनि उनका लागि तटस्थ मतदाताको मन र मत जित्न सहयोगी हुँदैन । ट्रम्पको उग्रवादी सोचलाई काउन्टर दिन पनि धेरैभन्दा धेरै डेमोक्रेट मत दिन जान्छन् । तटस्थ मतदाता पनि अरू चार वर्ष ट्रम्पलाई थेग्न नसक्ने भन्दै ट्रम्प हराउन बाइडनको पक्षमा जानुपर्ने बाध्यता हुन्छ।

ट्रम्पकन हुन नसक्ने रिपब्लिकन पनि ट्रम्पलाई हराउन बाइडनलाई नै मत दिनुपर्ने स्थितिमा पुग्छन्।

ट्रम्प हार्दा बाइडन जित्ने चुनाव

ट्रम्पको उग्र र व्यक्तिवादी चरित्र अमेरिकाले अर्को चार वर्ष खप्न सक्दैन। यस्तो स्थितिमा ट्रम्पलाई हराएर अमेरिकालाइ जिताउन अमेरिकीहरू एकजुट हुनेछन्। 

यो चुनावमा ट्रम्प हार्दा उनको विपक्षीले जित्नेछन्। यस्तो स्थितिमा जित्ने पात्र बाइडन हुने हुन्। यसर्थ, यसपटकको चुनाव बाइडन जित्नेभन्दा पनि ट्रम्प हार्ने चुनावका रूपमा इतिहासमा उल्लेखित हुने देखिन्छ।  

प्रकाशित मिति: : 2024-01-22 04:36:00

प्रतिकृया दिनुहोस्