गठबन्धनको सिण्डिकेटबाट चलिरहेको राज्यसत्ता र त्यसको पछिल्तिरका विपक्ष देख्दा साधारण मानिसका लागि दिकदार लाग्दो राजनीतिक पृष्ठभूमि छ।
अनि त म सम्झन्छु जर्मन दार्शनिक हाना एरेन्टलाई उनले भनेकी छन्- ‘अधिकांश उग्र क्रान्तिकारीहरू क्रान्तिपछि रुढिवादी बन्न पुग्छन्।’
त्यो कथनको एउटा सिङ्गो र जिउँदो चित्र हेर्न टाढा कतै जानुपर्दैन खुद प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड नै काफी छन्।
अरु थप्ने हो भने कम्युनिस्टका ‘मठाधीश’ मोहनविक्रम सिंह सूचीमा पर्छन्। सिंहपत्नी दुर्गा पौडेल राष्ट्रियसभा सदस्यका लागि सिफारिस भइरहँदा यो सूचीमा डा.सिके राउतलाई छुटाउने हो भने पनि नसुहाउला। नेपाली कम्युनिस्टका पर्दापछि र अघि यस्ता धेरै अनुहार छन्, जसले अनुहार होइन, ऐनाको धूलो पुछिरहेका छन्।
हुन त सिद्धान्तको अध्ययनबाट संसार बुझ्न नसकिने जोडदर तर्क उत्तराधुनिक मानवशास्त्रीहरूको हो। सिद्धान्त र व्यवहारिक जीवन दुई नितान्त फरक विषय भएको उत्तराधुनिक मानवशास्त्रीहरूको मान्यता हो। यी दुवै विषयमा यथार्थपरक सम्बन्ध हुँदैन भन्ने धारणा छ।
आजकल नेपाली राजनीतिमाथि भनिएका यी दुवै सन्दर्भमा सुहाउने छन्।
अझ यसो भन्दा प्रस्ट होला, मधेसतिर एउटा सस्तो अनि मीठो र प्राय सबैको मुखैमा झुन्डिने एउटा खाजा हो ‘घमञ्जा’। घमञ्जा स्वादिष्ट हुन्छ। त्यस्तै स्वाद गठबन्धनलाई आइरहेकै होला भन्न सकिन्छ।
तराई-मधेसका सडकमा पाइने त्यो ‘घमञ्जा’को बेग्लै इज्जत र महत्व छ। अनेकथरि चिजवस्तुको मिश्रणबाट बनेको त्यो घमञ्जाको वरिपरि सडकका मजदूरदेखि सहरका ‘एलिट’हरूसम्मले झुमिन्छन् त्यसको स्वाद चाख्न।
त्यसका अघि त गठबन्धनको नाममा, सिद्धान्तका नाममा अनि एकअर्कालाई हिलो छ्यापिरहेका नेपालका पार्टीहरूले देखाइरहेको यो राजनीतिक ‘घमञ्जा’ सिङ्गै देशका लागि विषाक्त छ।
हुन त यहाँ पदार्थ र चेतनाका कुरा पनि जोडदार रुपमा भइनैरहन्छन्। आदर्शवाद र भौतिकवादको चङ्गुलमा छ नेपाली समाज। त्यसकै परिदृश्य राजनीतिमा मञ्चन हुन्छन्। अलिकति फरक त्यो बेला हुन्छ जब त्यसका पात्रहरू फेरिन्छन्, चरित्र उही र उस्तै बोकेर।
खासगरी ज्ञानको राजनीतिलाई बहसमा ल्याएर मिसेल फुकोले सन् १९६०को दशकमा हलचल पैदा गराइदिएका थिए। फुकोले मूल विषय बौद्धिक जागरणको परम्मपरा त्यसका कारण, मुक्ति, प्रगति र सत्यलगायतका विषयमा आफ्नो अहमति जाहेर गरे।
यसलाई राजनीतिक परिदृश्यमा भन्नु पर्दा सत्ताधारीले निर्माण गर्ने ज्ञानका माध्यमबाट कसरी नियन्त्रण पैदा गर्छन् भन्ने कुरामा फुकोले मेहनतका साथ ब्याख्या पनि गरे।
यतिबेला नेपालको राजनीतिमा देखिएको सबैभन्दा ठूलो र चरम संकट सिद्धान्त र व्यवहारमा केलाउन सकिन्छ। यी दुवैको फासला नेपालको बदलिँदो राजनीतिक परिवेशको अन्तर्य पनि हो।
यता सन् ८० को दशकपछिको विश्व समुदायमा आएको परिवर्तन भनेकै सूचना प्रविधिमा आएको छलाङ हो। त्यसकै धरातलमा नयाँ राजनीतिक शक्तिहरू आहल खेलिरहेका छन्। चाहे त्यो नयाँ राजनीतिक दलहरू होउन वा पुरानै। यता हेर्यो डा. सिके राउतको क्रान्ति सडक र संसदमा छचलकिन्छ। उता हेर्यो स्वतन्त्र मेयरहरूको स्वतन्त्रताको उन्माद उर्लिन्छ।
यस्तो परिवेशमा नागरिकको आवश्यकता के हो? हो त्यही विषयमा त राजनीतिका रोटीहरू पाक्छन्। कसैले पनि यो विचार गरिरहेका छैनन् कि गरिब नागरिकले गरिब छु भनेर सिफारिस बनाउन पनि पैसा तिर्नुपर्छ, गाउँ-गाउँका सिंहदरबारमा।
अनि म एकपटक सम्झन्छु मेरी डगलसलाई। र, उनको एउटा कृति बडो घत लागेर आउँछ। त्यो कृति हो- ‘के कुकुरहरू हाँस्छन्?’
मानिसको सामाजिक जीवनका अर्थहरूलाई डगलसले प्रदुषित कुराहरूले सामाजिक संरचनालाई बलियो बनाउने विषय उजागर गरिन्।
हामी यति नै बेला देशको राजनीतिका मुख्य-मुख्य पात्रहरु हाँसिरहेको र नागरिक रोइरहेको देख्न सक्छौं। आदर्शका कुरा मञ्चन गरेर सिद्धान्तलाई तिलाञ्जली दिएको सहजै बुझ्न सकिन्छ।
नेपाली राजनीतिमा सिद्धान्त, आदर्श र उनीहरूको जीवनशैली खोलाका दुई किनारा झैं वर्षौंदेखि निरन्तर बगिरहेका छन्। जो सायद कहिल्यै भेटिने छैनन्।
सत्ता र शासन कसै न कसैको त चल्छ नै। सत्तामा सदावहार कोही रहँदैनन्। तर, सत्ता केबाट निर्देशित छ भन्ने कुराको अनभूति नागरिकले गरेका हुन्छन्। नागरिक प्रताडित हुने सत्ता लोकतन्त्रमा स्वीकार्य विषय कतै होइन। यद्यपि, यही चलिरहँदा नागरिकमा उम्लिरहेको निराशाप्रति भने राजनीतिको नजरअन्दान झनै बढेको छ।
क्रान्तिकारीहरूबाट भइरहेको पूँजीवादको पूजाको तथास्तु कहिले होला? अनि कहिले नागरिकले सेवा पाउने दिन आउला?
क्रान्ति त कति भयो कति!
राजनीतिकरुपमा व्यवस्था परिवर्तन भने नभएका होइनन्। त्यसको अभ्यास राजनीतिक वृत्तमा उधुमै भयो तर सापेक्षमा नागरिकस्तरमा भरपुर उपभोग हुन सकेन भन्ने कुरा हो।
राजनीतिक दलहरुले लोकतन्त्रलाई सिद्धान्तभन्दा बढ्ता प्रयोग गरिरहेकै छन्। त्यसको दाँजोमा नागरिक तहमा सेवा प्रवाह र अभिभावकत्वका हिसाबमा उत्साह थप्ने काम हुन नसक्नु विडम्वनापूर्ण छ।
कुरा यत्ति हो कि दलहरूले सिद्धान्तअनुसार र नेतृत्वले आदर्शलाई बेपत्ता दूर राखेकाले नागरिकले उकुसमुकुसको सासमै बाँच्न बाध्य छन्।