भारतीय राजनीतिको घडीमा अयोध्या र अटल सेतुको टिकटिक

Breaknlinks
Breaknlinks

छिमेकी देश भारत यतिबेला देशको भौतिक विकास र धर्मको संरक्षण दुवै विषयलाई लिएर चर्चामा छ।

भारतको आन्तरिक राजनीति यतिबेला अयोध्यामा बनेको श्रीराम मन्दिरको सेरफेरोमा घुमिरहेको देखिन्छ। हुन त नेपालका लागि यो त्यति धेरै महत्वको विषय नहोला। तर, पनि भारतीय भूमिमा उर्लिने धार्मिक छालका बाछिटाले नेपाल कहिल्यै अछुतो भने रहन सक्दैन।

नेपालको कालीगण्डकीबाट अयोध्या पुर्‍याइएका विशाल शिला होस् वा ‘माइतीघर’ जनकपुरबाट पुर्‍याइएका कोशेली। अनि हरेक वर्ष ‘विवाह पञ्चमी’ जोड्ने अयोध्या-जनकपुरको सम्बन्ध धर्मकै धागोमा बाँधिएका छन्।

यसबीच श्रीराम मन्दिरको प्राण प्रतिष्ठाको पूजा विधि प्रक्रियालाई नेपालका एक पण्डितले नै औपचारिकता दिने चर्चा राजनीतिक र सामाजिक वृत्तमा चलिरहेकै छन्।

पछिल्लो दशक भारतमा नरेन्द्र मोदीको सत्ताको प्रभाव विश्व समुदायमा परेको विषय स्विकार्नै पर्ने अवस्था छ। त्यसका नकारात्मक र सकारात्मक दुवै पक्ष छन्।

अहिलेको विश्व राजनीति न केवल कुटनीति र युद्धमा आधारित छ न विश्व राजनीति अर्थ-ब्यवस्थाले निर्देशित गरिरहेको छ। त्यसकारण भारत ‘लाइम-लाइट’मा छ। किनकि, भारतसँग उत्तिकै विशाल जनसंख्या र बजार ब्यापक छ।

विश्वमा धर्म र राजनीतिको घमासान पटाक्षेप चलिरहेको छ। उदाहरणका लागि इजायल र प्यालेष्टाइनलाई पनि हेर्न सकिन्छ। सन् १९५१ मा भारतकै गुजरातमा सोमनाथ मन्दिरको उद्घाटनका चर्चालाई जोड्न सान्दर्भिक देखिन्छ। उतिबेला भातमा प्रधानमन्त्री थिए, पण्डित जवाहरलाल नेहरु। अनि राष्ट्रपति थिए, डा.राजेन्द्र प्रसाद। ११ मे सन् १९५१ मा सोमनाथ मन्दिरको उद्घाटन भयो।

हिन्दू धर्ममा १२ ज्योतिर्लिङ्गमध्येको एक सोमनाथलाई मानिँदै आएको छ। उक्त मन्दिरलाई औरङ्गजेबले ध्वस्त बनाइदिएका थिए। सन् १९४७ मा भारत स्वतन्त्र भयो। त्यसलगत्तै तत्‍कालीन भारतीय गृहमन्त्री सरदार वल्‍लभभाई पटेलले सोमनाथ मन्दिर निर्माणका लागि भूमिका निभाएका थिए।

मन्दिरको उद्घाटनमा राष्ट्रपति डा.राजेन्द्र प्रसादको उपस्थितिलाई लिएर प्रधानमन्त्री नेहरुले आलोचनासमेत गरेको प्रसङ्ग हो।

प्रधानमन्त्री नेहरुले राष्ट्रपति डा. प्रसादलाई पत्र लेखेर मन्दिर उद्घाटनमा नजान भनेका थिए। तर, राष्ट्रपति डा.प्रसाद मन्दिर गए र उद्घाटन पनि गरे। पिएम नेहरुको पत्रको जवाफमा राष्ट्रपति डा. प्रसादले भनेका थिए ‘म धर्म मान्छु त्यसकारण म यसबाट अलग रहन सक्दिनँ र सहभागी पनि हुनेछु।’

त्यसको पृष्ठभूमिमा एउटा शर्त थियो त्यसका लागि सरकारी धनको खर्च हुने छैन। त्यसअघि सरदार वल्लभभाई पटेलले महात्मा गान्धीलाई समेत पत्र लेखेको सन्दर्भ छ। गान्धीले पनि सोमनाथ मन्दिर निर्माणमा सरकारी धनको खर्च नहोस् भन्ने धारणा राखेका थिए। गृहमन्त्री पटेलले सरकारी रकमको खर्च नगरेर मन्दिर निर्माण सम्पन्न गराए।

भारतले उतिबेला धर्म निरपेक्षताको भावलाई जोगाउनका लागि त्यसो गरेको भन्ने तर्कको खुबै चर्चा पनि भयो। तर, यति बेलाश्रीराम मन्दिरको निर्माणको विधि बेग्लै छ।

अयोध्याको श्रीराम मन्दिर निर्माण त्यहाँको वर्षौ लामो विवादहरू र सर्वोच्च अदालतको फैसलापछि मात्रै सम्भव भयो।

अब त्यहाँ भएको धनराशीको विषयमा भारत सरकारले स्पष्ट पारिसकेको छ। तर, भारतीय काँग्रेस उक्त मन्दिरको प्राण प्रतिष्ठामा सहभागी नहुने बताएर फेरि एकपटक ‘सेक्युलरिज्म’लाई स्थापित गर्ने रणनीतिमा पुगेको देखिन्छ।

तर, सन् १९५१को भारत र सन् २०२४ को भारतको अवस्था र सोचमा ठूलै परिवर्तन भएको देख्न सकिन्छ। जहाँ धर्म र समुदायबीचको निर्णय भारतको राजनीतिमा प्रभावकारी देखिन थालेको परिदृश्यहरू छन्।

अयोध्यामा ६ डिसेम्बर सन् १९९२ मा बाबरी मस्जिद तोडिएको थियो। भारतीय जनता पार्टीको सरकार थियो उत्तर प्रदेशमा कल्याण सिहं मुख्यमन्त्री थिए। बाबरी मस्जिद ध्वस्त भएपछि उनले पदबाट राजनीनामा दिए। ७ डिसेम्बरमा प्रधानमन्त्री पिवि नरसिंहा रावले उत्तरप्रदेश सरकारसमेत बर्खास्त गरेका थिए।

भारतमा राष्ट्रिय स्वयम्सेवक र भारतीय जनता पार्टीले यो विषयलाई राजनीतिक प्रतिष्ठाका रुपमा लिने गर्दछ। भारतमा विपक्षी दलले यसलाई राजनीतिकरण नगर्न भनिरहन्छ। विपक्षीको तर्क छ कि यो अदालतको निर्णयमा बनेको मन्दिर हो।

सन् २०२४ मा नै भारतमा तल्लो सदन लोकसभाको निर्वाचन हुनेछ। त्यसको संघारमा अयोध्याको श्रीराम मन्दिरको विषयले मतदातालाई धार्मिक आस्थाका आधारमा विभक्त गर्नेछ। र, त्यसको आधारमा निर्वाचन परिणाम आउने आंकलन गरिँदैछन्।

त्यसैगरी माया नगरी अर्थात् भारतको आर्थिक राजधानी मुम्बइलाई केन्द्र बनाएर अटल सेतु अर्थात् मुम्बई ट्रान्स-हारबर लिङ्क देशकै लामो पुलको उद्घाटनसमेत भएको छ। सन् २०१६ मा निर्माण सुरु भएको थियो। यसले मोदीको प्रभाव र उपलब्धिलाई प्रतिविम्बित गराउने प्रक्षेपण समेत भारतमा भइरहेका छन्।

अटल सेतु नामाकरण गरिएको मुम्बई ट्रान्स-हर्बर लिङ्क भारतकै सबैभन्दा लामो पुल पनि हो। लगभग १७ हजार ८ सय ४०  करोड भारतीय रुपैयाँको लागतको २१.८ किलोमिटर लामो पुल हो। त्यो पुल समुन्द्रमाथि करिब करिब १६.५ किमी र जमिनमा लगभग ५.५ किमी छ। यो पुल इन्जिनियरिङको गतिलो उदाहरण पनि हुनेछ। पुल निर्माणमा १ लाख १७ हजार टन स्टील र ५ लाख ४ हजार २ सय ५३ टन सिमेन्टको प्रयोग भएको छ।

लगभग १४ किमी भागको निर्माण एल एण्ड टी कम्पनीले निर्माण गरेको हो। भारतमै पहिलोपटक आर्थोट्रापिक स्टील डेक प्रयोग भएको छ। मरीन कन्स्ट्रक्सन र अण्डरवाटर पाइलिङका लागि उच्च स्तरीय प्रविधिको प्रयोग भएको छ।

इन्फ्रास्ट्रक्चर सेक्टरमा ख्याती प्राप्त लार्सन एण्ड टुब्रोले यसकाे निर्माण गरेको हो। डेनमार्कबाट आएका दुई इन्जिनियरले सन् १९४६ मा यो कम्पनीको स्थापना गरेका थिए। यही कम्पनीले अयोध्याको श्रीराम मन्दिर, गुजरातमा नर्मदा नदी तटमा सरदार वल्लभभाई पटेल स्ट्याचू अफ यूनिटी, गुजरातमै नरेन्द्र मोदी रङ्गशाला निर्माण गरेको हो।

धार्मिक आस्थाका आधारमा राजनीतिक ध्रुवीकरण भइरहेको भारतमा सन् २०२४ को आम निर्वाचनको घडीको टिकटक घुमिरहेको परिदृश्यले दक्षिण एशियाको राजनीतिमा पार्नसक्ने प्रभावलाई निर्देश गर्ने अनुमान लगाउने आधारसमेत तयार गरिरहेको छ।

त्यसको गतिलो उदाहरण माल्दिभ्समा परेको प्रभाव र बंगलादेशमा हालै भएका निर्वाचन र राजनीतिक घटनाहरूले बोलिरहेकै छन्।

प्रकाशित मिति: : 2024-01-13 18:55:00

प्रतिकृया दिनुहोस्