काठमाडौँ ओर्लिनासाथ भारतीय विदेशमन्त्री डा. एस जयशंकरले सामाजिक सञ्जालमा लेखे- नमस्ते काठमाडौँ सन् २०२४ को मेरो पहिलो भ्रमणको रुपमा नेपाल आउन पाउँदा अत्यन्तै हर्षित छु। आगामी दुई दिनसम्म चल्ने विविध कार्यक्रमका लागि उत्साहित छु।
वर्षको ‘पहिलो’ भन्दै निकै महत्व दिएर भारतका विदेशमन्त्री सुब्रमन्यम (एस) जयशंकर दुई दिने नेपाल भ्रमणमा छन्।
जयशंकरको भ्रमणबाट दुवै देशबीचको सम्बन्धमा सुधारको अपेक्षा गर्न त सकिन्छ तर त्यसका लागि आवश्यक पर्ने माहोल निर्माण गर्नसक्ने चुनौती दुवैतर्फ देखिन्छन्। मुख्यत: ती भनेका सिमा विवादका मुद्दाहरू नै हुन्।
नेपाल-भारत संयुक्त आयोगको बैठक ३ वर्षपछि मात्रै बसेको छ। बैठकमा भारतका विदेशमन्त्री एस. जयशंकर र नेपालतर्फको नेतृत्व परराष्ट्रमन्त्री एनपी साउदले गरेका छन्।
यही भ्रमणकै मौका पारेर दुई देशबीच विभिन्न सम्झौता र सहमति पनि भए। विगतमा पनि विभिन्न सहमति र सम्झौता भई नै रहेका हुन्। कार्यान्वयन तहमा कतिपय सम्झौता र सहमति अलपत्र परेका विषयलाई भुल्न पनि सकिँदैन।
संयुक्त आयोगको बैठकमा सिमा समस्या, विद्युत, उर्जा, व्यापार, व्यावसाय, हवाईरुट र डिजिटल पेमेन्टसहितका विषयमा छलफल र सम्झौताहरू भएका छन्।
नेपाल र भारतबीच राजनीतिक तहका उच्च स्तरीय भ्रमणमा सहमति र सम्झौता हुने तर कार्यान्वयन पक्ष फितलो रहने समस्या रहिआएको छ। दाहाल तेस्रो पटक प्रधानमन्त्री भएयता भारतीयतर्फबाट यो नै पहिलो उच्च तहको भ्रमण हो। प्रधानमन्त्री दाहालले सन् २०२३ को जुनमा भारत भ्रमण गरेका थिए।
सहमति र सम्झौताबाहेक खासगरी भारतीय दूतावासमार्फत हुने सहयोगका विषयमा भारतीय पक्षले विषेश चासो राख्दै आएको हुन्छ।
भारतले साना विकास परियोजना कार्यक्रमलाई ‘हाई-इम्प्याक्ट कम्युनिटी डेभलपमेन्ट प्रोग्राम’ (एचआइसिडिपी) का रुपमा परिमार्जन गरेर आफ्नो दूतावासलाई बलियो उपस्थिति दिन चाहन्छ।
प्रतियोजना रु ५ करोडसम्मको रकम खर्च गर्नसक्ने प्रावधानलाई बढाएर प्रतियोजना रु २० करोडसम्म सिधैँ लगानी गर्नसक्ने व्यवस्थाप्रति बढी चासो छ। यसले दूतावासको सक्रियतालाई टेवा पुग्ने देखिन्छ। जो कतिपय अवस्थामा ‘पोलिटिकल इनफ्लुअन्स’का रुपमा पनि देखिने गर्छ। जस्तो कि दूतावासबाट उपलब्ध गराइने एम्बुलेन्स, पुस्तकालय, छात्रवृत्ति सहयोग जस्ता कार्यक्रमका माध्यमबाट चलिरहेका हुन्छन्।
नेपाल र भारतबीच दीर्घकालीन विद्युत व्यापार सम्झौतामा हस्ताक्षर भएको छ। नेपाल सरकारका ऊर्जा सचिव गोपालप्रसाद सिग्देल र भारतीय समकक्षी पङ्कज अग्रवालले बिहीबार सिंहदरबारमा सम्झौता पत्रमा हस्ताक्षर गरेका हुन्।
पावर एक्सचेञ्ज कमिटीलाई सक्रिय बनाउने, ग्रीन हाइड्रोजनको उत्पादन तथा विकास, क्षमता विकास तथा ऊर्जा क्षेत्रमा दुई देशबीच सहकार्यका गर्न सकिने विधिका विषयमा समेत छलफल भयो।
भारत सरकारको मन्त्रिपरिषदले विद्युत् आयातसम्बन्धी सम्झौतालाई अनुमोदन गरिसकेको विद्युत आयातका विषयमा काठमाडौँमा दुई देशबीच सहमतिपत्रमा हस्ताक्षर भएको हो।
यो सहमति उप्रान्त दुवै देशका निजी क्षेत्रले समेत विद्युत आयात निर्यात गर्न सक्ने भएका हुन्। नेपाल सरकारले १२ वर्षभित्र २८ हजार मेगावाट विद्युत उत्पादन गर्ने लक्ष्य राखेको छ। उत्पादित विद्युतमध्ये १५ हजार मेगावाट निर्यात गर्ने सरकारको ध्येय छ।
साथै केही प्रसारण लाइन थप र विद्युत सर्किट थपसमेत भएका छन्।
प्रसारण लाइनको क्षमता वृद्धिलगायतका विषयमा सहमति जुटेको छ। यसअघि नै वि.सं. २०७९ फागुनमा नेपाल र भारतका ऊर्जा सचिवस्तरीय संयुक्त निर्देशक समितिको बैठकले प्रसारण लाइनबाट आठ सय मेगावाट बिजुली आयात निर्यात गर्नसक्ने सहमति गरेका थिए।
योपटकको बैठकमा भारतीय कम्पनीद्वारा निर्माण गरिने जलविद्युत आयोजनाहरू अरुण चौथो, तल्लो अरुण, पश्चिम सेती, सेती नदी–६ र फुकोट कर्णालीलाई तदारुकताका साथ अघि बढाइने विषयमा पनि छलफल भएका छन्।
नेपालमा उत्पादन भएको विद्युत बङ्गलादेश निर्यातका लागि आवश्यक पर्ने भारतीय संरचनाको प्रयोग नेपालले गर्ने विषयमा समेत त्रिपक्षीय संयन्त्र बनाउने सहमति भएको छ।
नेपालको बिजुली इतिहासमा यो एउटा ऐतिहासिक सम्झौता पनि हो। यसले नेपालले पनि जलविद्युतको क्षेत्रमा फड्को मारिरहेको देखिन्छ।
पछिल्ला सात वर्षभित्र नेपालको विद्युत् उत्पादन क्षमता झण्डै तीन हजार मेगावाट बराबर पुगेको छ। यही आर्थिक वर्षको अन्त्यसम्म नेपालमा कुल जडित क्षमता तीन हजार पाँच सय मेगावाट बराबर पुग्नेछ।
पछिल्लो एक वर्षमा मात्रै मुलुकको प्रणालीमा पाँच सय ४१ मेगावाट थप भएको छ। साथै आउँदो दुईदेखि तीन महिनाभित्र ‘टेस्टिङ कमिसनिङ’ भइरहेका थप आयोजनाबाट करिब पाँच सय ६४ मेगावाट बिजुली थप हुनेछ।
भरतीय विदेशमन्त्री एस. जयशंकरको क्वीक सेड्यूल भ्रमणले दुई देशबीचको सम्बन्धमा सुधारको अपेक्षा गरिएको छ।
२०७२ सालमा संविधान जारी गर्ने संघारमा विदेश सचिव रहँदा उनले गरेको भ्रमण विवादास्पद थियो। कर्मचारीतन्त्रबाट उदाएका जयशंकर विश्वका सफल कुटनीतिज्ञका रुपमा चिनिन्छन्। भारतका पूर्वप्रधानमन्त्री डा. मनमोहन सिंहको कार्यकालमा इण्डो अमेरिका सिभिलियन न्युक्लियर सम्झौतामा अहम् भूमिका निभाएका थिए यिनै जयशंकरले।
१९५५ जनवरी ९ मा दिल्लीमा जन्मिएका जयशंकर १९७७ मा भारतको विदेश सेवामा प्रवेश गरेका थिए। भारतका एक कुशल रणनीतिकार के शुब्रमण्यमका छोरा जयशंकरको प्रारम्भिक शिक्षा एयरफोर्स केन्द्रीय विद्यालय नयाँ दिल्लीमा भएको थियो।
जयशंकरले सन् १९७९ देखि ८१ सम्म सोभियत युनियनका लागि मिसन प्रमुख भएर काम गरिसकेका छन्। सन् २००९ देखि २०१३ सम्म सबैभन्दा बढी अवधि चीनमा राजदूत भएर काम गरेको अनुभव छ जयशंकरसँग। जयशंकरले दिल्ली विश्वविद्यालय अन्तर्गतको सेन्ट स्टेफिन्स कलेजबाट राजनीतिशास्त्रमा मास्टर्स गरेका छन्। एमफिल गरेका जयशंकरले जवाहरलाल नेहरू विश्वविद्यालयबाट अन्तर्राष्ट्रिय सम्बन्धमा पिएचडी गरेका छन्। उनलाई विश्वभरमा न्युक्लिएर डिप्लोम्याट्सका रूपमा चिनिन्छ।
सन् १९८८ देखि ९० सम्म श्रीलङ्कामा दूतावासको प्रथम सचिव भएर काम गरिसकेका उनी अमेरिकादेखि दक्षिण एसिया र एसियाको राजनीति र कूटनीतिका गतिला जानकार हुन्। सन् १९९६ देखि २००० सम्म जापानका लागि भारतीय दूतावासमा द्वितीय सचिव भएर काम गरिसकेका जयशंकर सन् २००१ देखि २००४ सम्म चेक रिपब्लिकमा बसेर काम गरिसकेका सफल कूटनीतिज्ञ पनि हुन्। उनी २००४ देखि २००७ सम्म विदेश मन्त्रालयमा संयुक्त सचिव थिए।
सन् २००७ देखि २००९ सम्म उनी सिङ्गापुरका लागि उच्चायुक्त भएका थिए। सन् २०१४ देखि २०१५ सम्म अमेरिकाका लागि राजदूत भइसकेका जयशंकर २०१५ देखि २०१८ सम्म भारत सरकारका विदेश सचिव थिए। भारतमा मात्रै नभएर विश्व कूटनीतिमा उनी अब्बल दर्जाका कूटनीतिज्ञमा पर्छन्। भारत सरकारको पद्यमश्री सम्मानबाट विभूषित हुन् एस जयशंकर।
यसपालि नेपाल आएका भारतीय विदेशमन्त्री जयशंकरले राष्ट्रपति र प्रधानमन्त्रीसँग ‘क्वीक सेड्यूल’ भेटघाट गरे।
जयशंकरले यो पटक सिंहदरबार पुगेर प्रधानमन्त्री पुष्पकमल दाहालसँग भेटेका हुन्। राष्ट्रपति रामचन्द्र पौडेललाई शितल निवासमा भटे। त्यसैगरी विभिन्न राजनीतिक दलका नेतृत्वहरुलाई समेत बेग्लाबेग्लै भेटे। जयशंकरलाई उच्च महत्व दिँदै विमानस्थलमा नेपाली समकक्षी एनपी साउदले स्वागत गरेका थिए।
आयोगको बैठक, सम्झौता, सहमति र छलफलसँगै जयशंकरले उच्चस्तरीय भेटघाट पनि भ्याएका छन्। राष्ट्रपति तथा प्रधानमन्त्रीसँगको ‘शिष्टाचार भेटवार्ता’मार्फत उनले नेपाली र भारतीय नागरिकलाई दुई देशको ‘साइनो’ अझ बलियो र सद्भावपूर्ण भएको सन्देश पनि दिन खोजेका छन्।
भारतीय राष्ट्रपति द्रौपदी मुर्मूको ‘न्यानो सन्देश’ राष्ट्रपति रामचन्द्र पौडेललाई सुनाउँदै उनले भनेका छन्- रामचन्द्र पौडेलसँग शिष्टाचार भेटवार्ता। सो अवसरमा मैले राष्ट्रपति द्रौपदी मुर्मूको न्यानो सन्देश सुनाएँ। बलियो र व्यापक भारत–नेपाल सम्बन्धका लागि उहाँका मार्गदर्शन र भावना प्रेरणादायी।
त्यस्तै समकक्षी नरेन्द्र मोदीको सन्देश उनले प्रधानमन्त्री पुष्पकमल दाहालसँग साटेका छन्। प्रधानमन्त्रीसँगको भेटघाटपछि उनले लेखेका छन्- सँग शिष्टाचार भेटवार्ता। सो अवसरमा मैले प्रधानमन्त्री नरेन्द्र मोदीको न्यानो सन्देश सुनाएँ। भारत र नेपालको मित्रता साँच्चै नै विशिष्ट रहेको छ र हाम्रो साझेदारी दिनानुदिन अझ सुदृढ हुँदै गइरहेको छ।