तनहुँको व्यास नगरपालिका–९ का २६ वर्षीय किसान कुमाललाई प्रहरीले २१ माघ २०७८ मा पक्राउ गर्यो। उनलाई पक्राउ गर्नुको कारण एकमात्र थिएन। उनले १६ वर्षीया बालिकालाई बलात्कार गरेका थिए।
कुमालको बलात्कारमा परेकी ती १६ वर्षीया बालिका गर्भवती भइन्। बालिका गर्भवती भएको दुई महिनापछि कुमालले थाहा पाए। त्यसपछि के गर्ने? उनले सोचे– गर्भपतन। बालिका गर्भपतन गर्न चाहँदैन थिइन्। उनी जसरी भएपनि गर्भलाई जन्म दिन चाहन्थिन्।
तर कुमालले मानेनन्। उनले २३ पुसमा बालिकालाई जबरजस्त गर्भपतन गराउने औषधि खुवाए। त्यो कुरा बालिकाको घरपरिवारले सोही दिन थाहा पायो। त्यसको अर्को दिन २४ गते बालिकाको परिवारले प्रहरीमा उजुरी दियो।
उजुरी परेको करिब एक महिनापछि (माघ २१ गते) प्रहरीले कुमाललाई पक्राउ गरेर अदालतमा मुद्दा दायर गर्यो। र जिल्ला अदालत तनहुँले एक वर्षपछि २०८० जेठ ११ गते उनलाई दोषी ठहर गर्यो।
१६ वर्षीया बालिकालाई बलात्कार र गर्भपतन गराएको कसुरमा उनलाई अदालतले १० वर्ष कैद सजायको फैसला सुनायो। कुमाल अहिले जेल सजाय भोगिरहेका छन्।
कानुनतः जबरजस्त गर्भपतन गर्न पाइँदैन। नेपालको संविधान २०७२ मा महिला हकको व्यवस्था गरिएको छ। जसमा भनिएको छ, ‘प्रत्येक महिलालाई सुरक्षित मातृत्व र प्रजनन स्वास्थ्यसम्बन्धी हक हुनेछ।’
मुलुकी अपराध संहिता २०७४ को १८८ मा गर्भपतन गर्न नपाइने व्यवस्था गरिएको छ। यदि कसैले करकाप गरी, धम्की दिई, ललाइफकाई वा प्रलोभनमा पारी गर्भपतन गराएमा पाँच वर्षसम्म कैद र ५० हजारसम्मको जरिवाना हुने व्यवस्था छ।
कुमालमाथि गर्भपतन मात्र होइन, उनलाई अदालतले बलात्कार मुद्धामा पनि थप सजाय गर्यो। जसले गर्दा उनलाई अदालतले १० वर्ष कैद सजाए सुनायो।
०००
नेपालमा गर्भपतन गर्न पाउने र नपाउने निश्चित मापदण्ड तोकिएका छन्। ती मापदण्ड बाहिर गएर गर्भपतन गराएमा अपराध गरेको मानिने कानुनी व्यवस्था गरिएको छ।
सुरक्षित मातृत्व तथा प्रजनन स्वास्थ्य अधिकार ऐन २०७५ ले १२ हप्तासम्मको गर्भपतन स्वयम् गर्भवतीको मञ्जुरीले गर्न पाइन्छ। १२ देखि २८ हप्तासम्मको गर्भपतन गर्न श्रीमानको मञ्जुरीसहित गर्भवतीको शारीरिक तथा मानसिक अवस्था बिग्रिएमा, जबर्जस्ती करणी वा हाडनाता करणीबाट गर्भ रहन गएमा, एचआईभीजस्ता निको नहुने रोग लागेमा, भ्रुणमा खराबी भएमा मात्र गर्भवतीको मञ्जुरीले गर्भपतन गर्न पाइन्छ।
तर कसैले बलपूर्वक गर्भपतन गराउन पाइँदैन। लिंग पहिचान गरेर पनि गर्भपतन गर्न नपाइने र सरकारी मान्यता प्राप्त स्वास्थ्य संस्थाभन्दा बाहिरी स्वास्थ्य संस्थाबाट पनि गर्भपतन गर्न पाइँदैन। गर्भपतनका लागि मान्यता प्राप्त चिकित्सक आवश्यक पर्ने सुरक्षित मातृत्व तथा प्रजनन स्वास्थ्य अधिकार ऐन २०७५मा व्यवस्था गरिएको छ।
नेपाल प्रहरी महिला, बालबालिका तथा जेष्ठ नागरिक सेवा निर्देशनालयका प्रमुख एसएसपी मनोजकुमार केसीले कुटपिट गरी, जबरजस्ती करकाप गरेर पनि गर्भपतन हुने गरेको बताए।
पाँच वर्षमा १५२ अवैध गर्भपतनको उजुरी
नेपाल प्रहरीमा पछिल्लो पाँच वर्षमा एक सय ५२ वटा अवैध गर्भपन गराएको उजुरी दर्ता भएका छन्। वर्षदिनमा करिब ३० वटा अवैध गर्भपतनको उजुरी पर्ने गरेको नेपाल प्रहरी केन्द्रीय कार्यालयको तथ्यांकमा छ।
जसअनुसार आर्थिक वर्ष (आव) २०५७/७६मा देशभर २७ वटा अवैध गर्भपतनको उजुरी दर्ता भएका छन्। आव ०७६/७७मा २९, ०७७/७८मा २७, ०७८/७९मा ३७ र आव ०७९/८०मा ३२ वटा उजुरी प्रहरीमा दर्ता भएको छ।
अधिकांश मधेस प्रदेशमा
७ कार्तिक २०७८ मा मधेस प्रदेशमा सामूहिक कुटपिट भयाे। मानव अधिकार क्षेत्रमा काम गर्ने संस्था इन्सेकका अनुसार सर्लाहीको हरिवन नगरपालिका–३ की २७ वर्षीया आशा कुमारी यादवमाथि ६ जनाले कुटपिट गरेका थिए। कुटपिटबाट उनकाे गर्भपतन भयाे।
कुटपिट गरी गर्भपतन गराएको भन्दै जिल्ला अदालत सर्लाहीले ३२ साउन २०८० मा हरिवन नगरपालिका–१ का ३९ वर्षीय मुकेश कुमार यादव, ३७ वर्षीय नथुनी यादव, ३९ वर्षीया राजकली देवी यादव, ३७ वर्षीया बिदिया यादव, ३४ वर्षीय मिथिलेश यादव र ३६ वर्षीय राजेन्द्र राय दुई/दुई महिनाको कैद सजाय गरेको सुनायाे।
याे उदाहरण हाे। अवैध तरिकाले गर्भपतन हुनेमा मधेस प्रदेश एक नम्बरमा छ। अवैध गर्भपतन गराएको भन्दै पर्ने उजुरीमा अधिकांश मधेस प्रदेशका छन्। पाँच वर्षमा १ सय ५२ वटा प्रहरीमा उजुरी दर्ता हुँदा ६१ वटा मधेस प्रदेशका मात्र हुन्।
मधेस प्रदेशपछि पाँच वर्षमा सबैभन्दा धेरै उजुरी पर्नेमा कोशी प्रदेश छ। जहाँ २७ वटा उजुरी प्रहरीमा दर्ता भएको छ। त्यसपछि लुम्बिनीमा १९, उपत्यका (काठमाडौँ, भक्तपुर र ललितपुर)मा १४, गण्डकीमा ११ र बागमती प्रदेशमा २२ वटा उजुरी परेको छ।
सबैभन्दा कम कर्णालीमा पाँच वर्षमा ५ वटा मात्र अवैध गर्भपतन गराएको उजुरी छ। सुदूरपश्चिममा ७ वटा उजुरी रहेको प्रहरीको तथ्यांकमा छ।
अवैध गर्भपतनको उजुरी मधेस प्रदेशमा किन धेरै भए भन्ने कुरा जान्नुपूर्व अवैध गर्भपतनका उजुरी कस्ता हुने गर्छन्? भन्ने जान्नु आवश्यक छ।
महिला, कानुन र विकास मञ्चका निर्देशक सविन श्रेष्ठ भन्छन्, ‘गर्भपतनका उजुरीमा अधिकांश पुरुष पीडक हुन्छन्। उनीहरुले महिलालाई जबरजस्त गर्भपतन गर्न बाध्य पारेको, कुटपिट गरेर गर्भपन भएको धेरै हुन्छन्।’
अझ मधेस प्रदेशमा कुटपिटका घटना धेरै हुने गर्छ। जसले गर्दा गर्भपतनका घटना पनि धेरै हुने गरेको छ। आर्थिक वर्ष २०७९/८० मा देशभर १६ हजार ५१९ वटा घरेलु हिंसा घटना हुँदा मधेस प्रदेशमा सबैभन्दा धेरै ४ हजार ९२३ वटा छन्।
यो अन्य प्रदेशको भन्दा दोब्बर हो। कोशी प्रदेशमा १ हजार ४४७, बागमतीमा १ हजार ३४२, गण्डकीमा १ हजार १३, लुम्बिनीमा २ हजार ८८८, कर्णालीमा ८ सय ५५ र सुदूरपश्चिममा हजार २०८ वटा घरेलु हिंसाका घटना भएका छन्।
मधेस प्रदेशमा घरेलु हिंसा, बोक्सीको आरोपलगायत जस्ता घटना बढी हुँदा पनि गर्भपतनका धेरै घटना भएका छन्।