प्रतिनिधिसभा, राज्यव्यवस्था तथा सुशासन समितिले ललितपुरको बालकुमारीमा शुक्रबार मानवीय तथा भौतिक क्षति हुनेगरी भएका घटनाका सम्बन्धमा भौतिक पूर्वाधार तथा यातायातमन्त्री प्रकाश ज्वाला र श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयको भूमिकाका बारेमा छानबिन गर्न सरकारलाई निर्देशन दिएको छ।
समितिको आजको बैठकले आगामी दिनमा यस प्रकारका घटना नहोस् भनी सम्बन्धित सबै पक्षलाई सजग र जिम्मेवार रहनसमेत निर्देशन दिएको छ।
बालकुमारीस्थित इपिएस कोरिया शाखा कार्यालयमा परीक्षा फारम भर्ने विषयलाई लिएर भएको प्रदर्शनका क्रममा शुक्रबार अछाम चौरपाटी गाउँपालिका–१ का वीरेन्द्र शाह र दैलेख महाबु गाउँपालिका–६ का सुजन राउतको मृत्यु भएको थियो। प्रदर्शनकारीले भौतिक पूर्वाधार तथा यातायात मन्त्री प्रकाश ज्वाला सवार सवारीमा आगजनी गरेका थिए।
सरकारले सो घटनाको निष्पक्ष र वस्तुगत अनुसन्धान गर्न उच्च अदालतका पूर्वन्यायाधीश शेखर पौडेलको अध्यक्षतामा तीन सदस्यीय जाँचबुझ आयोग गठन गरेको छ।
बैठकले मृतकका परिवारलाई थप आर्थिक राहत तथा मृतकका परिवारलाई रोजगारीका अवसर उपलब्ध गराउन सरकारलाई निर्देशन दिएको समिति सभापति रामहरि खड्काले जानकारी दिए। बैठकले सुरक्षा निकायलाई पर्याप्त मात्रामा आवश्यक स्रोत साधन उपलब्ध गराउन निर्देशन दिएको छ।
समितिको बैठकमा उपप्रधानमन्त्री एवं गृहमन्त्री नारायणकाजी श्रेष्ठ, प्रहरी महानिरीक्षक वसन्त कुँवर, सशस्त्र प्रहरी बल नेपालका महानिरीक्षक राजु अर्याल र राष्ट्रिय अनुसन्धान विभागका प्रमुखलगायतको उपस्थिति थियो।