सुनकाे मुन्द्री र ७ सय लुट्न महिलाकाे हत्या, ७ वर्षपछि पक्राउ (भिडियाेसहित)

शनि शाक्य

काठमाडौं

महिलाकाे हत्या गरी सुन र पैसा लुटेर फरार भएका अर्घाखाँचीकाे शितगंगा नगरपालिकाका वडा नं. १४ का जगत विश्वकर्मा ७ वर्षपछि पक्राउ परेका छन्।

उनलाई काठमाडाैँ उपत्यका अपराध अनुसन्धान कार्यालयले बुधबार त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट पक्राउ गरेकाे हाे।

वि.सं.२०७४ पुस ३० गते काठमाडाैँ महानगरपालिका- १४ बल्खु भुवनेश्वरी मन्दिरपछाडि बाेक्सी दह डाँडामा मकवानपुरकी ५० वर्षीया अप्सरा भनिने नारायणी तिमिल्सिना टाउकाे र मुखमा गहिराे चाेट लागेकाे अवस्थामा मृत फेला परेकी थिइन्।

प्रहरी अनुसन्धानका क्रममा नारायणीकाे हत्या धादिङ त्रिपुरासुन्दरी गाउँपालिका वडा नं. ३ सल्ले पाेखराका ४६ वर्षीय शिवराम अधिकारी र अर्घाखाँचीका जगत विश्वकर्माले गरेकाे खुलेकाे थियाे।

त्यसपछि प्रहरीले उनीहरुकाे खाेजीकार्य गर्दा शिवराम वि.सं. २०७९ कात्तिक २९ गते फेला परेका थिए। चाेरीकाे घटनामा पक्राउ परेर केन्द्रीय कारागार सुन्धारामा रहेका बेला उनी ती महिलाकाे हत्या पनि संलग्न रहेकाे रहस्य खुलेकाे थियाे।

प्रहरी अनुसन्धानबाट खुलेकाे विवरणअनुसार नारायणी सामान्य मजदुर थिइन्। उनकाे चिनजान शिवरामसँग थियाे। चिनजानकाे क्रममा शिवरामले नारायणीलाई भू.पू.सैनिकसँग बिहे गराइदिने प्रलाेभन दिएका थिए। साेही याेजनाअनुसार शिवरामले वि.सं.२०७४ पुस २९ गते नारायणीलाई श्रृङ्गार गरी १५/२० हजार पैसा लिएर माछापाेखरी आउन भनेका थिए।

साेही दिन दिउँसाे २ बजेतिर माछापाेखरीमा तीन जना भेट भएका थिए। र, उनीहरु त्यहाँबाट चक्रपाथकाे गाडी चढेर बल्खु पुगेका थिए। उनीहरु गाडीबाट बल्खुमा ओर्लिएर ललितपुरकाे कुसन्ती गई खाना खएर बल्खु क्षेत्रमा फर्किएका थिए।

बल्खु फर्किएपछि शिवराम र नारायणीसँगै सुतेका थिए। भने, जगत माथि डाँडामा बसेर काेही आउँछ कि भनेर हेरिरहेका थिए। करिब २-३ घन्टापछि जगत तल पुग्दा शिवरामले नारायणीकाे टाउकाेमा ढुङ्गा प्रहार गरी हत्या गरेका थिए। त्यसपछि जगतले पनि साेही ढुङ्गाले नारायणीकाे टाउकाेमा २-३ पटक हानेका थिए।

त्यसपछि उनीहरुले महिलाले लगाएकाे सुनकाे मुन्द्री र ६-७ सय पैसा लिएर गाेंगबुस्थित काेपिला गेस्ट हाउसमा फर्किएका थिए। र, त्यसकाे भाेलिपल्ट नयाँ बसपार्कबाट उदयपुरकाे बसमा चढी कटारी हुँदै भारततिर भागेका थिए।

यसरी महिलाकाे हत्या गरी फरार भएका दुईमध्ये शिवराम गत वर्ष केन्द्रीय कारागारमा भेटिएकाे भएपनि जगत फरार थिए।

बुधबार भारतबाट त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल हुँदै नेपाल फर्किँदै गरेका जगतलाई काठमाडाैँ उपत्यका अपराध अनुसन्धान कार्यालयकाे टाेलीले गाेप्य सूचनाकाे आधारमा पक्राउ गरेकाे हाे।

उनलाई सजाय भुक्तानकाे लागि कारागार चलान गरिएकाे छ।

भिडियाे :

प्रकाशित मिति: : 2023-12-21 20:15:00

प्रतिकृया दिनुहोस्