मिति: २०८०/०८/२९
प्रिय बुबा!
धेरै माया/सम्झना,
आज,
विश्वासिलो काँधबिनाको तीन वर्ष
जटिल साथबिनाको तीन वर्ष
स्नेही हातबिनाको तीन वर्ष
त्यो आँखाले परिवार नहेरेको तीन वर्ष
त्यो आत्मविश्वासले जीवन घेरेको तीन वर्ष
बुबा भनेर बोलाउन नपाएको तीन वर्ष
छोरी भनेर ती ओठबाट नसुनेको तीन वर्ष
बुबाको मायाबिनाको तीन वर्ष
बुबाबिनाको तीन वर्ष ...
म सम्झिन्छु। त्यतिखेर तपाईंले भनेको। अति धेरै सम्झिन्छु। भन्नुभएको थियो– ‘यदि म भइनँ भने पनि तिमीहरू खुसी हुनुपर्छ।’ मलाई त्यो बेला अर्थात् म सानी हुँदा तपाईंले भनेको यो स्वीकार्य थिएन।
किनकि, मसँग घमन्ड थियो। मैले बुझेकी थिएँ– तपाईं हामीलाई छाडेर जानुहुन्न। तर, अहिले हारेँ बुबा। तपाईंबिनाका दिनहरू तीन वर्ष भएछ। जब तीन वर्षअघि हामीलाई छाडेर अर्को संसारमा जानुभयो अनि हाम्रो खुसी हराएको छ। आँखामा देखिने सन्तोष हराएको छ।
सायदै दिन छैन। हाम्रो आँखा ओभाना भएका। अझै मलाई तपाईं यो संसारमा हुनुहुन्न भन्ने स्वीकार्न गाह्रो भइरहेको छ। तीन वर्षअघि त हजुरले संसार छाडेको स्वीकार्न सकेको थिइनँ नै, आज तीन वर्ष पूरा हुँदा सत्य थाहा पाउँदा–पाउँदै पनि किन हो मन अस्वीकृत गर्दछ।
हरेक नयाँ ठाउँ पुग्दा मलाई तपाईं झुल्किहाल्नुहुन्छ कि! भ्रमले कहिल्यै छोड्न सकेको छैन। तपाईंबिनाका यी तीन वर्ष अप्ठ्यारा जंघार तरिएको छ। सम्बन्ध नजिक–टाढा चिनाएको छ। साँच्चै तपाईंबिनाका दिन कठिन भइरहेको छ।
तर, कठिन परिस्थितिमा एक्लै उभिन सिकाएको छ। सायद बाध्यताले होला! समय धेरै निर्दयी भएपनि बाँच्न सिकाएको छ। मन त मलाईं आज ती कुराहरूले दुख्छ। जहाँ हजुरले आफ्ना छोरी–छोरा पढाउन गरेका ती श्रमले। ती संघर्षले।
जतिबेला घरमा बिजुली बत्ती थिएन। बिजुली बत्ती हुने ठाउँमा जान पैसा थिएन। टुकी, टर्चलाइटको भरमा तपाईं कपडा सिलाउनुहुन्थ्यो। हजुरका ती दुःखहरू हेर्दै, कठिनाइको भोगाइहरूलाई महसुस गर्दै आएकी म सोच्थें– एक दिन बुबा–आमालाई खुसी बनाउनेछु।
मेरा ती वाचा पूरा नहुँदै हामीलाई तपाईंले छाड्नुभयो। ती कुराले पनि आज मन बिचलित हुन्छ। जति सम्झियो उति मन कठिन हुन्छ। हजुर यस्तै हो भन्ने थाहा हुँदाहुँदै पनि आमालाई सोध्छु– बुबा कस्तो हुनुहुन्थ्यो?
उहाँले एउटै लाइनमा उत्तर दिनुहुन्छ– ‘पुरानो समाजमा नयाँ सोच भएको मान्छे।’ साँच्चै नै हजुरको बुझाइ अरुको भन्दा फरक थियो। मलाई याद छ– मेरो पहिलो महिनावारीमा खुलेर म मा आएको परिवर्तनलाई स्वीकार गर्नुभएको। जतिबेला मेरा साथीहरू १४ दिनसम्म अरूका घरमा लुकेर बस्नुपथ्याे।
छोरीलाई किन पढाएको भन्ने प्रश्नमा छोरीलाई पढाउनुपर्छ है भनेर सबैलाई सिकाउनु हुन्थ्यो। मैले एसएलसीपछि सिलाइ कटाइ सिकाउन अनुरोध गर्दै गर्दा हजुर र आमाले पिँजडा भित्रको चरा भइ बस्ने होइन स्वतन्त्र पन्क्षी भइ उड्नुपर्छ भनेर सिकाउनुहुन्थ्यो। त्यही कुरा आज मेरो लागि एउटा मुख्य खम्बा भएको छ। हो, बुबा आज म ‘म’ हुनुको बलियो आधार हजुरहरूले बनाइदिनुभएको खुल्ला बाटो हो। मैले चालेका हरेक पाइलामा मलाई एक्लो महसुस हुन कहिल्यै पनि दिनु भएन।
जहिले तिमीले गर्नुपर्छ। गर्नसक्छौ। म तिमीसँगै छु भनि एउटा आँट र साहस दिनुभयो। जुन कुरामा म आज-भोलि धेरै रित्तिएकी छु। हजुरले मलाई जहिल्यै पनि सिकाउनु भएको पाठ विभेद, अन्याय र असमानताविरुद्ध बोल्न पछाडि नहट भन्ने कुरा नै आज मेरो लागि शक्ति भएको छ।
हामीले बुबामात्र गुमाएको छैनौँ नि! हामीले शक्ति गुमायौँ। साहास गुमायौँ। आशा–भरोसा गुमायौँ। सपना गुमायौँ। ओत लाग्ने छानो गुमायौँ र एउटा विशाल ब्रम्हाण्ड गुमायौँ।
अन्त्यमा, भौतिक शरीर सँगै नभए पनि हजुर कतै हुनुहुन्छ भन्ने आभास सधैं नै छ। हामीले सँगै बसेर बनाएका ती योजना, सँगै देखेका ती सपना सँगै बसी चुम्न नसकेपनि ती सबकासब यत्तिकै छाड्ने छैनौँ। हामी हजुरबिना अधुरो र अपुरो सधैं नै छौँ।
हजुरबिनाको चाडपर्व हामीले मनाउने आँट गर्न नसकेको पनि ३ वर्ष नै भइसकेकाे छ। त्यहीँ पनि हामीलाई हजुरले आर्शीवाद दिन र म छु नि भन्ने कुराको अनुभव सधैं यसरी नै गराउनुस् है। यदि हामीले हजुरलाई मन दुखाउने काम गरेको छौँ र हजुर दुःखी हुनुहुन्छ भने यही पत्रमार्फत् नै माफी माग्न चाहान्छु।
आशा छ पत्रमा कोरिएका शब्दहरु हजुरसमक्ष छिट्टै नै पुग्नेछन्!
तपाईंकी प्यारी छोरी!