बालकृष्ण खाँणलाई ३० लाख धरौटीमा छाड्न उच्च अदालतको आदेश

उच्च अदालत पाटनले नक्कली भुटानी शरणार्थी प्रकरणमा हिरासतमा रहेका पूर्वगृहमन्त्री तथा नेपाली काँग्रेसका नेता बालकृष्ण खाँणलाई धरौटीमा छाड्न आदेश दिएको छ।

बिहीबार (आज) उच्च अदालतका न्यायाधीश कृष्णराम कोइरालाको एकल इजलासले खाँणलाई ३० लाख रुपैयाँ धरौटीमा छाड्न आदेश दिएको हो। यसअघि असार १ गते जिल्ला अदालत काठमाडौंले खाँणलाई थुनामा पठाउन आदेश दिएको थियो। 
 
त्यसकाविरुद्धमा खाँण उच्च अदालतमा गएका थिए। यही मंसिर १५ गते उच्च अदालत पटनका न्यायाधीश जनक पाण्डे र प्रकाश खरेलको संयुक्त इजलासमा खाँणलाई छाड्ने र थुनामा पठाउने मत बाँझिएको थियो। 


याे पनि– नक्कली भुटानी शरणार्थी प्रकरणः ‘हाई प्रोफाइल’हरू थुनामै, १० जना छुट्दा कसलाई के आदेश?


पाण्डेले जिल्ला अदालत काठमाडौंबाट भएको आदेश बदर गर्दै ३० लाख रुपैयाँ धरौटी लिएर तारेखमा छाड्नु पर्ने राय व्यक्त गरेका थिए भने खरेलले थुनामा नै पठाउनु पर्ने राय दिएका थिए। 

दुई न्यायाधीशको राय बाँझिएपछि तेस्रो न्यायधीशमा खाँणको मुद्धा पुगेको थियो। बिहीबार तेस्रो न्यायाधीशको रुपमा फैसला गर्दै न्यायाधीश कोइरालाले पाण्डेको रायलाई समर्थन गरेपछि खाँण छुटेका हुन्। 

यससँगै जिल्ला अदालत काठमाडौँले दिएको थुनामा पठाउने आदेश बदर भएको छ। 

अझै उच्च अदालतको आदेशविरुद्ध सरकारी वकिलको कार्यालयले सर्वोच्च अदालतमा निवेदन दिन पाउँछ। खाणले पनि आफूलाई धरौटीमा छाड्‍ने आदेश गलत भएको भन्‍दै साधारण तारेखमा छाड्न माग गर्दै सर्वोच्चमा जान पाउँछन्। 

यसअघि मंसिर १५ गते उच्च अदालत पाटनले यही नक्कली भुटानी शरणार्थी प्रकरणमा थुनामा रहेका २० जनामध्ये १० जनालाई छाड्न र ९ जनालाई थुनामा पठाउने आदेश दिएको थियो। 

थुनामा रहेकाहरुमा पूर्व उपप्रधानमन्त्री टोपबहादुर रायमाझी, टेक नारायण पाण्डे, डा. इन्द्रजीत राई, केशव प्रसाद दुलाल, सानु भण्डारी, सागर राई, विक्रम भनिने गोविन्द चौधरी, सन्देश शर्मा र आङटावा शेर्पा छन्। 

मंसिर १५ मा छुटेकामध्ये उच्चले ६ जनालाई धरौटीमा र ४ जनालाई साधारण तारेखमा छाड्न आदेश दिएको थियो।

जसमध्ये नरेन्द्र केसी (खानका स्वकीय सचिव)लाई १० लाख, हरिभक्त महर्जनलाई १५ लाख, शम्शर मियाँलाई १० लाख, सन्दिप सायमाझी (टोपबहादुरका छोरा)लाई ३० लाख, भुटानी शरणार्थी नेता टेकनाथ रिजाललाई १५ लाख र रामशरण केसीलाई १५ लाखम छाड्न आदेश दिएको थियो। 

साधारण तारेखमा लक्ष्मी महर्जन, आशिष बुढाथोकी, टंक कुमार गुरुङ र केशव दुलाललाई छाड्न आदेश भएको थियो। खाँणको विषयमा दुई न्यायाधीशको राय बाँझिएकोमा बिहीबार ३० लाख रुपैयाँ धरौटीमा उनी पनि छुटेका छन्। 

उनीहरु छुटेको भएपनि जुनकुनै बेला अदालतले बोलाउट गर्न सक्नेछ। 

नेपालीलाई नक्कली भुटानी शरणार्थी बनाएर अमेरिका पठाउने ठगी धन्दामा संलग्न रहेको आरोपमा सिआइबीले पौजदारी अभियोगमा उनीहरुविरुद्ध मुद्धा दायर गरेको थियो। 

भिडियाे :

प्रकाशित मिति: : 2023-12-14 17:16:00

प्रतिकृया दिनुहोस्