‘पत्रकारमारा मिडिया मालिक’ र सरकारसँग ‘जन्मदेव’ले वर्षौंदेखि जोरदार उठाइरहेको एउटै माग हो– श्रमजीवी पत्रकारले श्रमको मूल्य पाउनुपर्छ।
उनी श्रमजीवी पत्रकारलाई साथमा लगेर ‘निरन्तर संघर्षको मैदान’मै छन्। पत्रकारिताको सुरुवातदेखि नै ‘मिडिया हाउस’को थिचोमिचोविरुद्ध आवाज ‘बुलन्द’ गर्दैआएका श्रमजीवी पत्रकार जन्मदेव जैसी ‘मिडिया माफिया’सँग कहिल्यै झुकेनन्। बरू, एकाध सम्पादक र विभिन्न पेशामा संलग्न मिडिया मालिकको त्रासमा बाँचिरहेका ‘भूँइ–पत्रकार’हरूसँग हातेमालो गरिरहे।
जन्मदेव हिजोआज पनि ‘पसिनाको मूल्य नपाएका पत्रकार’सितै छन्। तीनकुनेदेखि थापाथलीसम्मै फिँजिएका छन्। न्यायका लागि सडकमै छन् उनी। र, पत्रकार ठग्ने मिडिया मालिकलाई ‘पत्रकारको मूल्य तिर्न बाध्य पार्न’ दबाबमूलक कार्यक्रमको नेतृत्व गरिरहेका छन्।
अब जन्मदेव थापाथलीको आन्दोलनमा एक्लै छैनन्, उनीसँग हजारौँ मन र सयौँ पत्रकारहरू भौतिकरुपमै उत्रिएका छन्। पीडित पत्रकारलाई साथमा लिएर जन्मदेव आन्दोलनमा लाग्दा ‘मिडिया–सरकारी बिचौलिया’हरू सल्बलाउन थाल्छन्।
माफियाहरू जन्मदेवमाथि अनेकौँ आरोप लगाउँछन्, तर पनि उनी डराउँदैनन्। श्रमजीवी उनीसितै छन्, उनी पत्रकारसँगै छन्। जे–जस्ताे लाेभ वा धम्की दिएपनि मालिक रोजेनन्, श्रमजीवी पत्रकार नै रोजे उनले, श्रमजीवीहरूको पक्षमा उभिँदै आएका छन्।
आफूलाई ‘मूलधारे मिडिया बताउने तर पत्रकारलाई ठग्ने’ डेढ दर्जनभन्दा बढी ‘मिडिया हाउस’हरू जन्मदेवसँग रिसाएका छन्। तर उनी मिडियाभित्र समस्या होइन, समाधान खोज्नुपर्छ भन्छन्। जन्मदेवको मान्यता छ– श्रमजीवी ठगेर कहिँ पुग्दैनन्, ठूला मिडिया। बरु, आफैं खाल्डोमा पर्छन्। पसिनाकाे मूल्य नतिरी सुख छैन।
समस्या सबैतिर छ– राजनीतिमा छ। मिडियामा छ। स्वयं पत्रकारमै छ। तर समस्याको समाधान पनि यिनै पात्र वा प्रवृत्तिमा छ। पत्रपत्रिका वा टेलिभिजनको मात्रै समस्या होइन, अनलाइन मिडियामा पनि एकखाले समस्या छ।
तर त्यहाँ चाँडै समाधान भइहाल्छ। ठूला मिडियाहरू चाहिँ पत्रकारहरू जिउँदै मारिरहेका छन्। यिनै श्रमजीवी पत्रकारलाई दिनरात नभनी मैदानमा खटाउने सम्पादक र मालिकको मिलेमतोमा ‘खरिखाने पत्रकारहरूलाई किनारा’मा पारिएको छ।
अनेकौं धन्दामा लागेर पनि मिडिया चलाइरहेका मिडिया मालिकहरूको सारथी नबन्दिए हुन्थ्यो– सम्पादकहरू।
पत्रकारहरू कार्यस्थलमा चेपिएका बेला, ठगिएका बेला बोल्दिए हुन्थ्यो सिनियर पत्रकार वा सम्पादकहरू। लाेकतन्त्रलाई चलायमान बनाइराख्ने हाम्रा श्रमजीवी पत्रकारहरूलाई बचाइराख्नुपर्छ, मिडिया हाउसले।
त्यसो त जन्मदेव पात्र मात्र होइनन्, एउटा अभियानै हुन्। उनी पत्रकारको हकहितका ठुल्ठूला गफ हाक्ने पत्रकार महासंघ होस् वा दाताको सहयोगमा मञ्च खडा गर्ने ‘मान्य पत्रकार’को तुलनामा निकैअघि छन्।
जन्मदेवले आन्दोलन गरेपछि ४३ वटा मिडियाका लगभग २५ सयभन्दा बढी पत्रकारले न्याय पाएका छन्।
जन्मदेवको अभियानमा सामेल भएपछि सयौँ पत्रकारहरू मिडिया मालिक र सम्पादकसँग अधिकार माग्ने तहमा पुगेका छन्। हिजोआज मिडिया हाउसबाट ठगिँदा अरु नहुँदापनि जन्मदेव एक्लै साथमा हुन्छन्। र, मालिक–सम्पादकलाई झुक्न बाध्य पार्छन्।
अहिले चलिरहेको आन्दोलनमा कान्तिपुरसहित अन्य मिडियामा कार्यरत पाँचसय श्रमजीवी पत्रकार न्यायको पर्खाइमा छन्। नेपाल पत्रकार महासंघको केन्द्रीय सदस्य भइसकेका उनी महासंघको कार्यशैलीप्रति सन्तुष्ट छैनन्।
महासंघलाई नेता–मालिक होइन, श्रमजीवीको पक्षमा मनैदेखि उभिन आग्रह गर्छन् उनी। १२ वर्षदेखि मजदूर पत्रकारको नेता बनेका उनी सञ्चार संम्बद्ध मजदूर संगठनको अध्यक्षसमेत भइसके। र, अहिले श्रमजीवी पत्रकारसँग लामबद्ध भइ मिडिया हाउसअघि आन्दोलित छन्।
जन्मदेव आन्दोलनको मैदानमा एक्लै नभएपनि मिडिया हाउसबाट हेपिएका कतिपय पत्रकारहरूले भने साथ दिन अझै हिच्किचाउँछन्। जागिरको लोभमा सम्पादकसामु चुपचाप बस्दा आफैं ठगिइरहेका छन्, ती पत्रकार।
‘ब्रान्ड’बाट लिइरहेको फाइदा चुकाउन चाहँदैनन् उनीहरू। तरपनि हिजोजस्तो छैन अहिले। विस्तारै खुल्न थालेका छन् ठूला मिडियामा कार्यरत श्रमजीवी। जागरुक भइरहेका छन्। सम्पादकलाई गुनासो पोख्ने, मिडिया हाउसमा निवेदन दिने, सामाजिक सञ्जालमा खुलिरहेका छन् पत्रकारहरू।
जन्मदेव मिडिया मालिकलाई मात्र सबै दोष दिँदैनन्। सरकारकाे पनि दाेष देख्छन्। एउटा इमान्दार पत्रकारले न्याय पाउनका लागि भोग्ने झन्झटिलो प्रक्रियाबाट थकिन छन् उनी।
देशमा न्यायिक संयन्त्र छैन। सञ्चार अदालत वा इजलास छैन। पत्रकारका लागि छुट्टै कानूनी निकाय छैन।अन्यायमा परेका पत्रकारहरूले ढिलो न्याय पाइरहेका छन्।
‘मिडिया माफिया’विरुद्ध आन्दोलन गर्न सजिलो छैन– राजनीतिक दबाब थेग्नुपर्छ। गुन्डाबाट डराउनुपर्छ। र, भएनभएका आरोप लगाएर बद्नाम गर्न खोज्छन्। जारी ‘कान्तिपुरविरुद्धको आन्दोलन’ दबाउनका लागि राजनीतिक र व्यवसायिक खेमाबाट चर्को दबाब छ।
प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’का एकआध पीएदेखि कांग्रेस सभापति शेरबहादुर देउवाका बिचौलियासम्म श्रमजीवी पत्रकारका एजेन्डालाई किरानातिर पार्न थप लागिपरेका छन्।
सत्ता–शक्ति र नेताहरूको आडमा पत्रकारलाई श्रमको मूल्य नदिने मिडिया मालिकहरू एकजुट भएका छन्। आन्दोनलका क्रममा यी सबै हुँदाहुँदै पनि जन्मदेव श्रमजीवी पत्रकारको पक्षमै छन्, मैदानमा छन्।