नेपालमा दुर्गा प्रसाईंको चर्चा अझै सेलाएको छैन। यो वा त्यो कोणबाट उनको चर्चा जारी छ। मंसिर ७ अघि उनी बाघ हुन् कि जस्तो लाग्नेलाई अहिले स्यालजस्तो लाग्न थालेको छ, अझ केहीलाई त बिरालो जस्तै लाग्न थाल्यो। ढिलोचाँडो उनको आकार घट्दै अन्तमा पुनः मुसिक भवः भनेजस्तै मुसा नै हुने हो।
दुर्गा प्रसाईं यो देशका ठूला दल र तिनीहरूका मूल नेताको नालायकीपन र ‘तातै खाउँ तातै जलिमरू’ भन्ने सोचका जनताको अधैर्यका सहउत्पादन हुन्। उनको यो आकार बनाउन माओवादी र एमालेका मुलीले केही समय टाट्नामा बाँधे। त्यसपछि फुत्केका उनलाई मूलधारका मिडियादेखि सामाजिक सञ्जाल अझ खासगरी युट्युवेहरूले पूर्वराजाको तबेलामा राखेर घाँस हाले। उनलाई आभाष भयो कि अब म वायुपंखी घोडा भएँ। उड्न खोजेका थिए, पहिलो दिन नै उत्तानो फ्याङ भए।
केही दिन त टिक्थे होला। तर, राजेन्द्र लिङ्देनले पूर्वराजालाई नै झापातिर लगेर उनलाई बबुरो बनाइदिए। आयाराम गयाराम ज्ञानेन्द्रलाई के थियो र ? उनलाई दुर्गा प्रसाईंको त्यान्द्रोभन्दा राजेन्द्र लिङ्देनको त्यान्द्रो दह्रो लाग्यो। अहिले उनी यस्तै त्यान्द्रो चढेर नारायणहिटी फर्कने श्वास रहुञ्जेलको आशमा बाँचिरहेका छन्। राजाका नाममा लुटेका वा कांग्रेस–कम्युनिष्टका नाममा लुट्न नपाएका कतिपयलाई बसिवियालो भएको छ।
दुर्गा प्रसाईं प्रवृतिका सहउत्पादन उनी पहिलो पनि हैनन् र अन्तिम पनि हुनेवाला छैनन्। रवि लामिछाने, बालेन साह जस्तै सह-उत्पादन हुन्, उनी। राजावादी–व्यक्तिवादी फ्लेभर नै भए पनि रवि र बालेनले राजाको नाममा मुख खोलेर अप्सनी हाल्न सकेका थिएनन्, यिनले पिण्ड नै बनाउन भात मुछ्न खोजे। फरक यति हो। दुर्भाग्य, पिण्ड बनाउन चाहिने भात नै कुहिसकेको बासी भात थियो।
यद्यपि, दुर्गाले एक दिनकै लागि भए पनि जे जति मान्छे उतारे, त्यसलाई कम आँक्न भने हुन्न। किनकि, यो यथास्थितिवरोधी मत हो। संसारमा सबै क्रान्तिको निर्णय अन्ततः त्यस्तै मतले गर्ने हो। दुर्गाले नयाँ ल्याउन हैन, पुरानै ल्याउन त्यो मतको प्रयोग गर्न खोजे। त्यो चाँहि उल्टोबाटो हो। २१औं शताव्दिमा सत्ता त्यसरी उल्टिएको दृष्टान्त छैन। यसअघिका शताव्दिमा भएका विरलाकोटि परिघटनाका पृष्ठभूमि र सन्दर्भ आज काम लाग्दैनन्। नेपालको राजसंस्था पनि यस मानेमा अछुतो हुन सक्दैन।
गन्तव्य सही भए बाटोले ढिलोचाँडो पुर्याउने हो। तर, दुर्गाले बाटो पनि अक्करे भिरको रोजे, गन्तव्य पनि भूत रोजे। परिणामतः दुर्गा मुर्गा हुनु थियो नै, भए। उनी यसरी पछारिए कि अब उनलाई उठ्न सहज छैन। उनी मुर्गा बने पनि यसरी मुर्गा हुने उनी नै पहिलो र अन्तिम हैनन्। नेपालमा मुर्गाखेती निरन्तर चलिरहन्छ। यो नियमितताको क्रमभङ्ग सहज छैन। यसको एक कारण नेपाली मिडियाको उदेकलाग्दो सामग्री–पाठक चक्र पनि हो।
आमसञ्चारका चालु सिद्धान्तले सम्बोधन गर्न नसक्ने असामान्य चक्रमा फसेको नेपाली मिडियाको ऐनाको सिसा नै खुइलिएको छ। यो खुइदिएको सिसाले प्रणालीलाई फोहोर देखाइरहेको छ। फोहोर प्रणालीमा हैन, दल र तिनको नेतृत्वमा छ। यसका लागि जनता पनि उत्तिकै जिम्मेवार छन्। यिनै नेतालाई पटकपटक चुनेर एउटै प्रक्रिया बाराम्बार दोहोर्याएपछि फरक परिणाम आउने कुरै थिएन, आएन ।
राजनीतिकशास्त्रका पण्डितहरू भन्छन्, लोकतन्त्र भएका राजनीतिक पद्धतिमध्ये उत्कृष्ट हो। अर्को भाषामा भन्दा लोकतन्त्र खराबमध्येको कम खराब तन्त्र हो। हामीसँग त्यही लोकतन्त्र छ। त्यो पनि नेपालको विशिष्ट अवस्थालाई सम्बोधन गर्ने भन्दै संसारभरका राम्रा अभ्यासलाई समेटेर संविधानसभामार्फत् संविधान बनाएर सुनिश्चितता दिइएको। यसमा आवधिक निर्वाचनको पूर्ण प्रत्याभूति छ, सकारात्मक विभेदको व्यवस्था गर्न समानुपातिक निर्वाचन प्रणाली पनि छ।
राजनीतक व्यवस्थाको मात्र कुरा हैन, त्यो अभ्यास गर्ने नेपाली जनताको राजनीतिक चेतनाको कुरा पनि हो। एक अध्यनयनले नेपालीको राजनीतिक चेत अमेरिकी जनताको चेतभन्दा उम्दा छ। यति हुँदा पनि हामी ओली, देउवा, प्रचण्ड र उनीहरूका जोजोम्यानलाई नै पटकपटक छानेर सत्तामा पुर्याउँछौ; विडम्बना त्यहीँनिर छ। अझ, हामी नै भन्छौ ‘लोकतन्त्रले काम गरेन, राजतन्त्र नै ठीक’; त्यो पनि विधिवत रूपमा फालेको १५ वर्ष पनि भएको छैन।
नेपालका बहुमत जनताले पटक पटक जुन किसिमको म्याण्डेट दिइरहेका छन्, त्यसैको परिणाम हो आजको अवस्था। यो अवस्था ल्याउन मूलतः नेपाली जनता नै जिम्मेवार छन्, अरूको भूमिका भए पनि त्यो पटक्कै निर्णायक छैन। जनताको यही अस्थिर मनस्थितिको फाइदा उठाउँदै अनेक नामका फण्डाबाजहरू नेपालमा देखापरिरहेका छन्। रवि लामिछाने, बालेन शाह, हर्क साम्पाङ त्यही मनस्थितिले उत्पादन गरेका पछिल्ला फण्डाबाज हुन्। त्यही श्रृङ्खलाका पछिल्लो एपिसोड हुन्, दुर्गा प्रसाई।
पहिलो कुरा त नेपाली जनताले आफ्नो सीमा बुझ्न जरूरी छ, त्यो सीमा भनेको नेपालको मूलकानून संविधान हो। यसले नेपालमा आवधिक निर्वाचनसहितको बहुदलीय लोकतन्त्रको व्यवस्था गरेको छ। संघीयता शासनको मोडल हो, निर्वाचन प्रणाली मिश्रित छ। अहिलेका लागि जनताले यही सीमामा रहेर आफ्नो मताधिकार प्रयोग गर्ने हो। पार्टीहरूले गलत गरे, आवधिक निर्वाचनमा सजाय दिन पाइहालिन्छ, दिए भयो।
नेपालमा अहिले नै संसारका सबैखाले राजनीतिक सिद्धान्तलाई सम्बोधन गर्ने चाहिनेभन्दा धेरै दल छन्, बिकल्प उनीहरूमध्येबाटै खोज्ने हो। अझ, स्वतन्त्र त अहिलेको शासन व्यवस्थामा दीर्घकालका लागि कतै फिट नै हुँदैनन्। हाम्रो शासनको मूल इञ्जिन कारको छ, हामी ड्राइभिङ सिटमा बयलगाढा हाँक्नेलाई राखिरहेका छौं। अहिलेका स्वतन्त्र मेयरहरू त्यस्तै वयलगाढा चालक मात्र हुन्। उनीहरूले लोकतन्त्रले तय गरेको गन्तव्यमा पुर्याउँदैनन्। यदि हामीले जबर्जस्ती गर्यौ भने अन्ततः दुर्घटना हुन्छ। त्यसैले यस्ता प्रयोग गर्नु फेरि पनि समयको बर्बादी मात्र हो।
समय बर्बाद गरेर न समृद्ध नेपाल सम्भव हुन्छ, न सुखी नेपाली। बाँकी विश्व हिडिसक्छ, नेपाल र नेपाली भने राजनीतिक पद्धतिकै अलमलमा परेर समय फाल्छन्। अनि कसरी नेपालले समय बर्वाद नगरी यात्रामा रहेका विश्वका अरू देशको जस्तो समृद्धि हासिल गर्न सक्छ ? रह्यो सुखी नेपालीको कुरा, नेपाल नै समृद्ध भएन भने कसरी सुखी हुन सक्छन् र नेपाली ?
फेरि एकपटक दुर्गा प्रसाईंले नयाँ आयाम थपेको राजतन्त्रकै कुरा गरेर बिट मारौं। के नेपालमा राजतन्त्र आउला त ? यसको सपाट उत्तर सम्भव छैन, देखिँदैन। अझ त्यसमा पनि राजावादीहरूले भनेजस्तो सक्रिय राजतन्त्र त असम्भव नै छ। कसरी ?
पहिलो त पूर्वराजा डोली चढ्दैमा राजतन्त्र आउने हैन। त्यसका लागि आन्तरिक र बाह्य दुबै शक्तिको जोडबल चाहिन्छ, त्यो पनि उनलाई आउन नदिनेभन्दा तागतदार।
आन्तरिक शक्तिको कुरा गर्दा, राजनीतिक शक्ति र सैनिक शक्तिको कुरा आउँछ। राजनीति शक्ति भनेको संस्थागत रूपमा राजेन्द्र लिङ्देन अध्यक्ष रहेको राप्रपा नै हो। यसलाई संघ र प्रदेश संसदमा जुन स्थान मिलेको छ, त्यो पनि केपी ओलीको कृपाले नै हो। र, यो संख्या पूर्वराजालाई डोली चढाएर नारायणहिटी पुर्याउन सक्षम छैन। दोस्रो, आन्तरिक शक्ति भनेको सैनिक हो, त्यो शक्ति अहिले राजा ल्याउन तयार पनि छैन र सक्दैन पनि।
बाह्य शक्तिको कुरा गर्दा, त्यस्तो हरियो झण्डा देखाउने सम्भावना र शक्ति भएको भारत मात्रै हो। भारतमा पनि दक्षिणपन्थी भारतीय जनता पार्टी त्यसका लागि सम्भावित शक्ति हुन सक्छ। तर, त्यसो गर्न नेपालको आन्तरिक शक्तिको बल अनि बाँकी विश्वको साथ र समर्थन पनि चाहिन्छ। अहिलेको अवस्थामा त्यस्तो सम्भावना टाढा टाढा पनि देखिँदैन। मोदी आफैं आसन्न चुनाव कसरी जित्ने भन्ने चिन्तामा छन्।
अर्को कुरा, राजसंस्था नेपालमा विद्रोहमार्फत् विदा भएको हो। राजाका रूपमा प्रक्षेपण गरिएको व्यक्ति ज्ञानेन्द्र अनि उनीमार्फत् प्रयोग भएको राजतन्त्र नेपालमा परीक्षण भएर जनबिद्रोहमार्फत् हटाइएका हुन्। आजको राजनीतिक सिद्धान्तले नयाँ सक्रिय राजतन्त्र स्थापना हुने स्कोप नै दिँदैन।
यो त सिक्काको अब कहिलै नपल्टिने एउटा पाटो भयो। अर्को पाटो पनि छ, त्यो भने आवधिक निर्वाचन हो। त्यसमार्फत् जनताले व्यक्ति र दलको विकल्प रोज्न सक्छन्। कम्तीमा २०८४ को चुनावमा अहिलेका ठूला दलका ६५ वर्ष नाघेका नेता उठ्नै नसक्ने दबाब सिर्जना भयो वा उठे पनि पराजित हुने वातावरण बन्यो भने त्यसबाट नेतृत्वमा पुस्तान्तरण हुन्छ। पुस्तान्तरणले स्वभाविक रूपमा रूपान्तरण ल्याउँछ। यो बाटो हिड्दा नै अन्ततः लोकतन्त्र सही ट्रयाकमा आउँछ।
दुर्गा प्रसाईंको राजा ल्याउने हाउगुजी, रवि छामिछानेको नयाँको चटक, बालेन–हर्क साम्पाङको स्वतन्त्रको फण्डाको सकारात्मक पक्ष के मात्र हो भने यसबाट देशको राजनीतिक पद्धति र शासन व्यवस्था सच्याउन र सुल्टो गतिमा लैजान पुराना दल र तिनको शीर्ष नेतृत्वमाथि एक किसिमको जबर्जस्त दबाब सिर्जना भएको छ। बढीमा उनीहरूले गर्न सक्ने पनि त्यति मात्र हो। त्यसको परिणाम बिस्तारै देखिदै पनि छ ।
मूलकुरा लोकतन्त्रमार्फत् नेपालको समृद्धि र नेपालीको सुखको प्रत्याभूति हो। यसका लागि पहिलो शर्त भनेको पुराना दल र तिनका नेता सच्चिने नै हो। त्यसो हुँदैन भने आवधिक निर्वाचनमार्फत उनीहरूलाई सक्ने दोस्रो शर्त हो। दुबै शर्त लागु गर्न अन्ततः जनता नै जनार्दन हुने हो। यही नै सुल्टो बाटो हो। यो वा त्यो नामको उल्टो बाटो हिडेर नेपाल गन्तव्यमा पुग्न सक्दैन।
दुर्गा प्रसाईंको म्याउँ-म्याउँ र ज्ञानेन्द्र शाहले मुख मिठ्याइँ गर्न नपाउँने भन्ने हैन, पाउँछन्। तर, यो कुनै पार लाग्ने मेलो हैन। यसको सकारात्मक सन्देश भनेको मुलुकमा मेलो पार लगाउन नसक्ने सही, यो पक्ष पनि छ है भन्ने हो। अर्को पक्षको काम भनेको मुख र डण्डा चलाउने हैन, काममार्फत् जवाफ दिने हो। त्यसो गर्न सकियो भने जनताका गुनासा र असन्तुष्टी स्वत: सम्बोधन हुन्छन्। त्यसपछि दुर्गाको म्याउँ-म्याउँ पनि बन्द हुन्छ, ज्ञानेन्द्रको मुख मिठ्याउने पानीको मुहान पनि सधैंका लागि सुक्छ।