जाजरकोटको नलगाढ नगरपालिका–८ तल्लोसिमाकी २५ वर्षीया शर्मिला चदाराको सोमबार राति मृत्यु भयो। उनी कार्तिक २२ गते सुत्केरी भएकी थिइन्। एकै पटक दुई सन्तानलाई जन्मदिएकी चदाराले एक शिशुलाई पेटमै गुमाइन्। एक शिशुको मात्रै स्वस्थ जन्म भयो।
सुर्खेत अस्पतालमा सुत्केरी भएकी उनी उपचारपछि शनिबार मात्र घर फर्किएकी थिइन्। घर फर्किएको अर्को दिन राति मृत्यु भयो। त्यसको मुख्य कारण चिसोले गर्दा रहेको आफन्त बचाउँछन्। भूकम्प पीडित उनको परिवार त्रिपालमुनि छ।
उनको मात्र होइन, जाजरकोटमा चिसोबाट ११ जनाको मृत्यु भएको छ। जसमा बालबालिका, जेष्ठ नागरिक छन्। त्रिपालमा बसेका उनीहरुको मृत्युपछि सरकारको आलोचना भइरहेको छ।
कार्तिक १७ गते जाजरकोटको रामिडाँडा केन्द्रविन्दु भएर ६ दशमलव ४ म्याग्नेच्युडको भूकम्पछि ६१ हजार बढी घरपरिवार त्रिपालमुनि बस्न बाध्य छ। जसमा बालबालिका, जेष्ठ नागरिक, सुत्केरी महिला जोखिममा छन्।
सरकारले छिट्टै त्रिपालमुनि भएकाहरुको अस्थायी संरचना बनाउने तयारीमा छ। तर, त्यसको कार्यान्वयमा ढिलासुस्ती भएको देखिन्छ। भूकम्प गएको महिनादिन पुग्न लाग्दा पनि अझै निकै न्यून संख्यामा संघसंस्था वा व्यक्तिगत सहयोगमा अस्थायी टहरा बनेका छन्।
आज हामीले भूकम्प पीडित चिसोबाट मृत्यु हुँदा सरकार के गरिरहेको छ? के भूकम्पबाट बाँचेका नागरिकको ज्यान चिसोबाट जानुपर्ने हो?लगायत विषयमा जाजरकोटका सहायक प्रमुख जिल्ला अधिकारी हरिश्चन्द्र शर्मासँग कुराकानी गरेका छौँ।
प्रस्तुत छ बिएल नेपाली सेवाका लागि टोपेन्द्र रोका मगरले शर्मासँग गरेको कुराकानीको सम्पदाति अंशः
चिसोबाट भूकम्प पीडित सुत्केरी, जेष्ठ नागरिक, बालबालिकाको मृत्यु हुन थालेको छ। सरकार भूकम्पबाट बाँचेकालाई चिसोबाट बचाउन नसक्ने अवस्थामा पुगेको हो?
जसरी समाचारहरू आइरहेका छन्, त्यसमा सत्यता छैन। अहिले तपाईंसँग कुरा गरिरहँदा म स्वास्थ्य कार्यालयमा छु। यहाँ त्यस्तो चिसोबाट मृत्यु भएको भन्ने रेकर्ड छैन। भूकम्प पीडितको उपचार गरिरहेकाे जाजरकोट अस्पताल र नलगाढमा रहेको दल्ली अस्पतालसँग मैले कुरा गरिरहेको छु। त्यहाँ पनि ४–५ जना बिरामी छन्। त्यो पनि अन्य समस्याका बिरामी हुनुहुन्छ।
चिसोका बिरामी भनेर कोही पनि हुनुहुन्न। डाक्टरसापलाई सोधेँ। उहाँले पनि चिसोबाट मृत्यु भएको छैन, मिडियाले त्यसै बोलिदिए भन्नुभयो। कुनै पनि विषयको तथ्य बाहिर नआएर हावा-हावा कुरा सामाजिक सञ्जालमा आइरहेका छन्।
सत्य कुरो नबुझिकन ‘रे’का कुरालाईसमेत ठुला मिडियाले प्रसारण गरिदिनुभयो। म हिजो सुत्केरीको मृत्यु भएको खबरपछि बिहानैदेखि अस्पतालमा छु। छलफल गरेको छु। भूकम्पभन्दा पहिला सुत्केरी हुनेबेला नै उहाँको अवस्था असामान्य भइसकेको थियो। सुर्खेत अस्पतालले सुत्केरीको अवस्था ठिक छैन। आइसियूमा राखेर उपचार गर्नुपर्छ। घर नलैजानुस् भन्दा पनि उहाँहरुले नमानेर अस्पतालबाट आउनुभएको हो। त्यसपछि उहाँको मृतयु भयो। यस्तो अवस्थामा मृत्यु भएकालाई पनि चिसोकै कारण मृत्यु भएको भनिदिएको छ। विपदभन्दा पहिले जन्मिएका बच्चालाई आइसियूमा राख्नुपर्छ, नेपालगञ्जतिर लैजाउ भन्दा नलगेर यहीँ राखिएका बच्चाको मृत्यु भएपनि चिसोबाट भनिदिएको छ।
कालगति वा अन्य विभिन्न कारणले मृत्यु भएकालाई पनि चिसोले नै भनिएको छ। सबैलाई चिसो र भूकम्पमा लगेर जोड्नु भएन मिडियाले। मृत्यु भएको भनेर पुष्टि गर्ने स्रोत के हो? डाक्टरले पुष्टि गरेको हुनुपर्यो। कि अस्पतालले सर्टिफाई गरेको हुनुपर्यो। त्यत्तिकै भन्नुभएन। योप्रति मेरो गुनासो पनि छ, यहाँहरुसँग।
चिसोबाट दर्जन बढीको मृत्यु भएको छ। उनीहरुलाई देख्नुभएन?
मृत्यु भएका सबैलाई चिसोबाट भन्नुभएन नि। केही हुनुहुलो। जस्तो, दमका रोगी हुनुहुन्थ्यो। जेष्ठ नागरिकहरु हुनुहुन्थ्यो। उहाँलाई चिसोले केही समस्या गरायो होला। आज हो कि भोलि हो कि भन्दै मृत्यु पर्खेर बसेकाहरुलाई चिसोले थप छिटो मृत्यु हुनुको कारण हुनु सक्छ। तर यो चिसोले मृत्यु भइहाल्यो। जति मर्नुभएको छ, सबै चिसोले नै हो भनेर भन्नुभएन।
के जाजरकोटमा चिसोबाट जेष्ठ नागरिक, बालबालिका, सुत्केरी कोही पनि प्रभावित छैनन् भनेर दाबी गर्नुभएको हो?
चिसोबाट प्रभावित हुनसक्ने अवस्था छ। किनभने यहाँ हिमाल नजिकका पालिकाहरु पनि छन्। चिसोले निसन्देह असर गर्छ थप। चिसोले थप कष्टकर जीवन बनाउँछ। त्यसका लागि हामी तयारी अवस्थामा पनि छौँ। हामीले उहाँलाई तातो–न्यानोमा राख्नका लागि काम गरिरहेका छौँ।
अब त्रिपालमा हुनुहुन्छ। हामी अस्थायी टहराहरु बनाउन पनि सुरु गरिरहेका छौँ। स्वास्थ्य संस्था पनि छलफलमा हुनुहुन्छ। चिसोले समस्या निम्त्याउँछ भनेर सतर्कता अपनाउने कुराहरु छन्। चिसोले केही समस्या पनि लिएको छ। तर, जो मृत्यु भयो, त्यसको कारण मात्र चिसो नै हो भनेर भनिएको छ, त्यो चाहिँ होइन।
तपाईंले पनि भनिहाल्नुभयो। चिसोबाट केही प्रभावित हुनसक्छन् भनेर तर अस्थायी टहरा बनाउन किन ढिलाइ भइरहेको छ?
टहरा बनाउनका लागि संघ, प्रदेश र स्थानीय सरकारसँग समन्वय गरेर काम गरिरेकाछौँ। अस्थायी टहराका लागि स्थानीय तहले लाभग्राही क्षेत्र हेरेर, क्षति भएका घरहरुको डाटा निकालेर लाभग्राही पहिचान गरेर हामीलाई पठाउनसाथ पहिलो चरणको किस्ता हामीले स्थानीय तहलाई दिन्छौँ। केही स्थानीय तहहरु डाटा निकाल्ने अन्तिम चरणमा पुग्नु भएको छ।
आज (मंगलबार)सम्म पठाइसक्छौँ भन्नुभएको छ। हामीले त्यो पाउनसाथ रकम पठाउँछौँ। त्यसपछि पीडितहरुले अस्थायी टहरा निर्माण गर्नुहुनेछ। केहीमा डाटा लिनलाई ढिलाइ भइरहेको छ। यो हतारमा गर्ने काम होइन। भोलि पनि यो चाहिने हो। तथ्यगतमा विश्लेषण गरेर मात्र डाटा कायम गर्ने हो। त्यसका लागि केही पालिकाहरुले काम गरिरहनुभएको छ। अलिकति ढिलो चाहीँ भएको छ।
र, सँगसँगै केही स्वयमसेवी संस्था, व्यक्तिहरु, स्थानीय व्यक्तिहरु आफैँ स्वयम पनि स्थानीय सामग्रीको प्रयोग गरेर अस्थायीटहराहरु बनाउने काम गरिरहनुभएको छ। राजनीतिक दलका भातृ संस्थाहरु पनि टहरा बनाउनका लागि खटिनुभएको छ र उहाँले केही टहरा बनाएको अनौपचारिक सुनेको छु।
अस्थायी टहरा बनाउन ढिलाइ भएको भन्ने गुनासो छ। के छिटो काम गर्न समस्या भएको हो?
छिटो गर्नका लागि पनि विधि, विधान, नियम संगत गर्नुपर्ने हुन्छ। भोलिसम्म राख्नुपर्ने लेखाका विवरणहरु अनेक कुराहरु हुन्छन्। त्यत्तिकै फलानाको घर भत्कियो बनाइहालौँ भनेर हुँदैन। केही विधि, प्रकृया पूरा गर्नुपर्ने होला। लाभग्राही प्रमाणित गरेर स्थानीय तहले प्रमाणित पनि गर्नुपर्ने होला।
स्थानीय विपद् व्यवस्थापन समितिले त्यसलाई अनुमोदन गर्नुपर्ने होला। त्यसपछि मात्र अनुदान दिनुपर्छ भनेर कार्यविधिले लेखेको छ। त्यहीअनुसार हामीले पनि कलम चलाउनु पर्ने होला। प्रकृयागत कुरालाई हामीले ढिला गरेको भन्न पनि मिल्दैन। कतिपय व्यवहारिक समस्याहरु छन्। यहाँ भूगोलको अवस्था हेर्दा एउटा घर एउटा डाँडामा र अर्को घर अर्को डाँडामाथि छ। एउटा घरको सर्वेक्षण गर्न नै आधा दिन बित्ने हुन्छ। यी विभिन्न समस्याहरु पनि छन्। त्यसले गर्दा डाटा संकलनमा केही ढिलाइ भएको होला स्थानीय सरकारलाई।
जसरी भूकम्प पीडितका लागि काम भइरहेको छ, हजुर सन्तुष्ट हुनुहुन्छ?
मैले भन्दाखेरी काम छिटो गर्न पाए हुन्थ्यो भन्ने चाहना छ। तर चाहेर मात्र हुँदैन। यहाँ एउटाले मात्र गरेर हुँदैन। सबैको भूमिका जोडिएको हुन्छ। सबैका आ-आफ्ना समस्या र बाध्यताहरु पनि हुन्छन्। त्यसैले समयमै बोलेको जस्तो, सोचेको जस्तो कामहरु गर्न नसकिएको अवस्था हुन्छ। यसमा हाम्रा विविध बाध्यताहरु जोडिएका हुन्छन्।
अडियाे कुराकानी सुन्न तलकाे लिंकमा क्लिक गर्नुहाेस्