‘खगेन्द्र नवजीवन केन्द्र’मा अपांगता भएका महिलामाथि ‘यौनहिंसा’

BreaknLinks
BreaknLinks

नेपाल अपांग संघअन्तर्गत सञ्चालित ‘खगेन्द्र नवजीवन केन्द्र’ आश्रय लिएर बसेका अपांगता भएका महिलामाथि यौनहिंसा भएको घटना सार्वजनिक भएको छ।

संघको केन्द्रीय कार्यालयले जोरपाटीमा चलाएको आश्रयस्थलमा बसेका महिलामाथि यौनहिंसा भएको उजुरीपछि महिला आयोगले पनि अनुसन्धान थालेको छ। देशभरि उसका ६ वटा यस्ता आश्रयस्थल छन्। जहाँ अस्पतालदेखि विद्यालयहरूसम्म सञ्चालित छन्। 

महिला हिंसाविरुद्धको १६ दिने अभियान शनिबारबाट सुरु हुँदा यौनहिंसा भएको खबरपछि केन्द्रका पदाधिकारीको निद्रामा चैन छैन। केन्द्रमा यौनहिंसा भएको तथ्य राष्ट्रिय महिला आयोगसम्म पुगेपछि पदाधिकारी अब के गर्ने भन्नेमा छलफल गरिरहेका छन्। 

हिंसाको विषय भित्रै मिलाउन पदाधिकारी लागेका छन्। आयोगसम्म खबर पुगे पनि पीडितलाई मनाउन सकिन्छ कि भन्नेमा केन्द्रका पदाधिकारी छन्। पदाधिकारी र पीडितबीच सहमतिको खाका पनि तयार भइसकेको छ। 

केन्द्रका एक पदाधिकारी भन्छन्, ‘विषय जे-जे भएपनि पीडित पक्ष र पदाधिकारीबीच सहमति भइसक्यो।’ पदाधिकारीहरू यसलाई सामान्य विषय भएको र बुझाइको समस्या रहेको भन्दै भित्रभित्रै मिलाउने प्रयासमा छन्।

केन्द्रका अध्यक्ष सापदेन लामाले आइतबार पीडितहरूसँग त्यसबारे छलफल गर्ने बताएका छन्। ‘यौनहिंसा भएको भन्ने आधार छैन। कुरा बाहिर आएपछि हामीले आइतबार बैठक बस्ने तयारी गरेका छौँ’, उनले भने।

उनी यौनहिंसा भएको होला भन्नेमा विश्वास गर्दैनन्। उनलाई लागेको छ- अनावश्यक रुपमा भ्रम फैलाइएको छ। तर, पीडितहरू महिला आयोग पुगेर आफूहरु हिंसामा परेको उजुरी दिएका छन्। उजुरीपछि महिला आयोगले यही मंसिर ५ गते खगेन्द्र नवजीवन केन्द्रमा अवलोकन गरेको छ।

अवलोकनपछि आयोगले विज्ञप्ति जारी गर्दै यौनहिंसा भएको बताएको छ। विज्ञप्तिमा भनिएको छ, ‘विभिन्न उमेर समूहका अपांगता, बहुअपांगता भएका महिलाको भनाइ र स्थलगत अवलोकनबाट उनीहरुमाथि शारीरिक, मानसिक तथा यौनजन्य हिंसा भएको बुझिएको छ।’

आयोगकी प्रवक्ता कृष्णकुमारी पौडेल खतिवडाले विज्ञप्ति जारी गर्दै अत्यन्त अमानवीय घटना घटेको बताएकी छिन्। उनले दोषीलाई तत्काल कारबाही गर्न र पीडित पक्षलाई उपचार गरी क्षतिपूर्ति दिलाउन माग गरेकी छिन्।

पीडितहरू अझै राम्रोसँग खुल्न नसकेको केन्द्रको अवलोकनमा गएका एक सदस्यले बताए। उजुरीपछि आयोगले पाँच पदाधिकारीलाई अवलोकनमा पठाएको थियो। आयोगले अवलोकनपछि प्रतिवेदन तयार गर्दैछ। ‘केन्द्रमा बेतिथि धेरै छ। हामी त्यहाँ पुग्दा पीडितहरुले हामीलाई धेरै भनेका छन्। प्रमाण पनि छ। त्यहाँको अवस्थाको अहिले प्रतिवेदन बनाइरहेको छौँ,’ उनले बिएल नेपाली सेवासँग भने, ‘दुई तीन दिनमा प्रतिवेदन सार्वजनिक गर्छौँ।’

उनले अपांगता भएका महिलामाथि भएको हिंसा बयान गर्न नसकिने बताए। अहिले पीडितहरूमा मानसिक समस्यासमेत देखिएको छ।

आयोगकी सरकारी वकील उषा गजमेरले पीडितहरूलाई मनोपरामर्श दिइरहेको बताइन्। ‘हामीले भेट्दा उहाँहरू समस्यामा हुनुहुन्थ्यो, त्यहाँको दुर्व्यवहारसँगै भइरहेको बेथितिले उहाँहरूलाई मानसिक समस्या भइरहेको छ,’ उनले भनिन्, ‘अहिले उहाँहरूलाई मनापरामर्श गर्ने काम भइरहेको छ।’

प्रकाशित मिति: : 2023-11-26 08:30:00

प्रतिकृया दिनुहोस्