महेश बस्नेत र दुर्गा प्रसाईंको आन्दोलनले काठमाडौँका विद्यालय प्रभावित

ट्राफिक अवस्था हेरेर विद्यालय खोल्न प्याब्सनको आग्रह

File Photo
File Photo

एमाले नेता महेश बस्नेत र मेडिकल व्यवसायी दुर्गा प्रसाईं समूहको आन्दोलनले गर्दा भोलि (बिहीबार) काठमाडौँ उपत्यकाका विद्यालय प्रभावित हुने भएकाे छ।

दुबै समूहले एकैदिन काठमाडौँमा शक्ति प्रदर्शन गर्न लागेपछि ट्राफिक जामले गर्दा विद्यालय प्रभावित हुने भएकाे हाे।

ट्राफिक जामले गर्दा विद्यार्थी विद्यालय आउन नसक्ने भएपछि निजी तथा आवासीय विद्यालयहरुको छाता संगठन (प्याब्सन)ले अवस्था हेरेर विद्यालय खोल्न आग्रह गरेको छ।

प्याब्सनका अध्यक्ष डिके ढुङ्गानाले ट्राफिक जामले प्रभावित हुने वा नहुने अवस्था हेरी विद्यालय खोल्न आग्रह गरेका छन्।

‘हामीले विद्यालय खोल्न वा बन्द गर्न भनेका छैनौँ,’ उनले भने, ‘गाडीमा आउने विद्यार्थीहरुलाई सहज भए विद्यालय खोल्न र सहज नभए विद्यालय बन्द गर्न भनेका छौँ।’

यसैगरी प्याब्सनले कुनै पनि पक्षको प्रदर्शनमा सहभागी नहुन विद्यार्थीलाई आग्रह गरेको छ। प्रदर्शनमा विषम परिस्थिति सिर्जना हुन सक्ने भन्दै विद्यार्थीहरुलाई प्रदर्शनमा सहभागी नहुन आग्रह गरेको हो।

एमालेले सरकारको कार्यशैलीविरुद्ध, भ्रष्टाचारविरुद्ध तीनकुने क्षेत्रमा प्रदर्शन गर्दैछ भने मेडिकल व्यवसायी दुर्गा प्रसाईंको नेतृत्वमा राजवादीहरुले बल्खुमा प्रदर्शन गर्दैछ।

दुई समूहको प्रदर्शनले काठमाडौँमा ट्राफिक जाम हुने सम्भावनालाई मध्यनजर गर्दै काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयले अतिआवश्यक परेमात्र घरबाहिर निस्कन आग्रह गरेको छ।

ट्राफिक जाम भयो भने गाडीलाई जुनकुनै रुटबाट पनि पठाउने सकिने भन्दै ट्राफिक कार्यालयले घरबाट निस्कँदा अवस्था बुझेर वा १००, १०३ मा फोन गर्न पनि आग्रह गरेको छ।

प्रकाशित मिति: : 2023-11-22 16:45:00

प्रतिकृया दिनुहोस्