डाेल्पाको सिमाना र जुम्लाको सिरानमा पर्ने गुठीचौर गाउँपालिका-१ चाेत्रमा अवस्थित हिमाली रम्बा आधारभूत आवासीय विद्यालयले कार्तिक १८ गते आफ्नो पहिलो वार्षिकोत्सव मनायो। स्थापना भएको ४८ वर्षपछि स्कुलमा कार्यक्रम हुँदा गाउँले दंग थिए।
'गाउँमा बेलाबखत रमाइलाे हुन्थ्यो। कहिलेकाहीँ राजनीतिक पार्टीका नेताहरु आएर भाषण पनि गर्थे, 'स्थानीय तेजआङ्मु महताराले भनिन्, 'स्कुलमा ज्ञानगुन कुरा भएको र सँगै रमाइलो गरेको यो पहिलोपल्ट हाे। अब हाम्रो स्कुल राम्राे हुन्छ जस्तो लागेको छ।'
उनका दुईवटा छाेरा छन्। एउटा दार्जिलिङमा पढ्छन् भने अर्का गाउँकै स्कुलमा पढ्छन्। सुरुमा गाउँमा राम्राे शिक्षा छैन भनेर डराएकी उनी यतिबेला ढुक्क छिन्। किनकि स्कुलमा केटाकेटीहरुको पढाइ नियमित रुपमा भइरहेको छ।
हिमालको काखैमा चिसाे सिरेटाेसँगै साउती मार्दै बसेका चाेत्रबासीहरुमध्ये पहिलो पुस्ताका मान्छेहरु औपचारिक शिक्षाको पहुँचमा पुगेका छैनन्। तर उनीहरुको चेत उहिल्यै खुलेको हाे। चेत खेलेसँगै स्कुल पनि खुलेको हाे। तर पढाउने मास्टर आफ्ना नहुँदा स्कुलले गति लिन सकेन। अहिले ५० कटेकाे पुस्ता पनि पढेलेखेको छैन।
स्थानीय जडीबुटी र व्यावसायिक चौँरी पालनबाट जीवन धानिरहेका उनीहरुमा ज्ञान आर्जनमा पुर्खाको प्यास मेटाउने प्रयत्न थियो नै। त्यसैले गाउँमा गतिला मास्टर नहुँदा नि बजार वा बाहिर जिल्लामा समेत आफ्ना लालाबालालाई शिक्षित बनाउने साेच पलायो। त्यसैले नयाँ पुस्ताका अधिकांश चाेत्रबासीले औपचारिक शिक्षा लिएका छन्।
साधारण र प्राविधिक दुबै खालको शिक्षा आर्जन गरिरहेका चाेत्रबासीको विद्यालय शिक्षाको जग भने गाउँ थिएन। तथापि गाउँमा स्कुल थियो। लामो समय दुई/चार जनामात्रै विद्यार्थी पाउने हिमाली रम्बा आधारभूत आवासीय विद्यालय यतिबेला भने गुल्जार छ।
कारण, वडा सरकारले सामुदायिक शिक्षालाई प्रभावकारी बनाउने गतिलो कदम चाल्नु हो। छात्रबाससहितको स्कुल बनाउने गरी कार्यविधि बनाइ त्यसको सफल कार्यान्वयन गराउनु हो।
याे काम गुठीचौर गाउँपालिका-१ को वडाध्यक्षमा अर्जुनकुमार महतारा निर्वाचित भएपछि भयाे। उनी सामुदायिक विद्यालयको स्तरउन्नती गर्नतिर लागे।
'बर्सेनि बच्चाहरुको पढाइका निम्ति भनेर लाखौँ रुपैयाँ खर्च भइरहेको छ। त्यो सबै रुपैयाँ बाहिर जिल्लामा गइरहेको छ,' वडाध्यक्ष महताराले भने, 'यो खर्च बचाउन सकिएको खण्डमा हाम्रा जनताको जीवनस्तर सुधारिनेछ। सुविस्ताले थप आयआर्जनका काम गरेर समृद्धि हासिल गर्न सकिन्छ। नत्र कमाइजति सबै बच्चाबच्चीको पढाइमै सकिन्छ।'
गाउँकाे स्कुललाई सबै अभिभावकले यति चाँडै पत्याइदिएका छैनन्। त्यसैले वडाध्यक्ष महताराले यसलाई आवासीय विद्यालय बनाउने सोचे। उनको साेचअनुसार छात्रबास तयार भयो। गाउँकै एउटा घर भाडामा लिए। त्यसका निम्ति वडाबाट बजेट छुट्याए। त्यसअघि आवासीय विद्यालयको कार्यविधि तयार भइसकेको थियो।
तयार भएकाे छात्रबासमा राख्ने विद्यार्थी खोज्ने अभियान सुरु भयो। अभियानको क्रममा गुठीचाैर गाउँपालिकाका सबै वडामा सूचना गरियो। विपन्न, अभिभावकविहीन, अपाङ्गता भएका केटाकेटी खोजिए। त्यसरी खाेजिएका केटाकेटीको संख्या २० पुग्यो। १० जना गाउँकै विद्यार्थी भएपछि स्कुल गुल्जार छ।
यसमा वडाध्यक्षदेखि अभिभावक सबैले खेलेको भूमिका अहम भएको विद्यालयकी प्रधानाध्यापक हिमाली भण्डारीले बताइन्। उनले भनिन्, 'पाँच कक्षासम्मको पढाइ पूरै अंग्रेजी माध्यमबाट हुन्छ। पहिला मास्टर र विद्यालय देख्ने र सुन्नेबित्तिकै नाक खुम्च्याउने अभिभावक आजभोलि हँसिला हुन्छन्। मिजासिलो स्वभावले बोल्छन्।'
बन्द हुने स्थितिमा पुगेको स्कुललाई हराभरा बनाउनु चानचुने कुरा नभएको गुठीचाैर गाउँपालिका-२ का वडाध्यक्ष दिपबहादुर ऐडीले बताए। 'धेरैजसो ठाउँमा सिमानाका नागरिकहरुले सुविधा पाएका हुँदैनन्,' उनले भने, 'हाम्राे स्थिति पनि त्यही थियो। तर अहिले यहीँबाट उत्कृष्ट र नमुनायोग्य शिक्षाको जग बसालिएको छ।'
वडा सरकार, अभिभावक, विद्यालय व्यवस्थापन समिति, शिक्षकको एक वर्षको लगावले विद्यालय हराभरा छ। अभिभावकमा गाउँमै राम्रो शिक्षा पाउन सकिने विश्वास पलाएको छ।
पढाइ खर्च जोगिने भयो भनेर धेरै गाउँले दाजुभाइले आफूलाई सुनाएको हिमाली रम्बा आधारभूत आवासीय विद्यालय व्यवस्थापन समितिका अध्यक्ष ज्ञानी बुढाले बताए।
'केही योजना आउनेबित्तिकै कति पो खायो हाेला भनेर शंका गर्ने अभिभावक पनि छन् भने स्कुल राम्रो भइदिएको भए भनेर राम्रो सोच्ने अभिभावक पनि छन्,' उनले भने, 'जे होस् स्कुल राम्रो भएपछि सबैको मनमा गाउँमै केटाकेटीले गतिलो शिक्षा पाउँछन् भन्ने आशा पलाएको छ।'
अभिभावक, शिक्षक, विद्यार्थी तीनवटा बलिया खम्बा भएको हुँदा छाेटो समयमा नै स्कुल सबैको भराेसा बन्न सकेको गुठीचाैर गाउँपालिका-४ का वडाध्यक्ष टिकादत्त न्यौपानेले बताए। उनले भने, 'मलाई चाेत्र पुग्दा यहाँको स्कुल र स्कुले बालबालिका देख्दा साह्रै लाेभ लागेको छ। यस्ता राम्रो प्रगति हुँदै जाने हो भने सार्वजनिक शिक्षा असाध्यै प्रभावकारी हुनेछ।'
स्कुलको गतिले सिंगाे पालिकालाई भराेसा दिएको हुनाले पिछडिएकाे क्षेत्रबाट शिक्षाकाे ज्याेति छर्नुपर्ने पाँच नम्बर वडाका अध्यक्ष कमल बहादुर महतले बताए।
पछिल्लो समय स्कुललाई न्यानाे कपडा, नाचगानको बेला कपडा उपलब्ध गराउनेको संख्या बढ्दो छ। अब चाँडै नै आफ्नै छात्रबास बनाउने तयारी रहेकाे वडाध्यक्ष महताराले बताए।