भारतलाई अंग्रेजहरूको हातबाट स्वतन्त्र गराउन भनेर तत्कालीन असमबाट सर्वप्रथम भूमिका खेल्ने व्यक्ति हुन्– छविलाल उपाध्याय। यिनी तत्कालीन असमका प्रथम 'असम प्रदेश कांग्रेस कमिटी'का अध्यक्ष पनि हुन्। यसैकारण उनलाई असमका 'गान्धी' पनि भनिन्छ।
छविलाल अध्यक्ष हुँदा असमलाई 'आसाम' भनिन्थ्यो। अनि आसामको राजधानी थियो– 'सिलाङ'। सिलाङका थिए– मणिसिंह गुरुङ, जसले सन् १९१८ मा कलकत्ता विश्वविद्यालयबाट नेपाली भाषालाई मान्यता प्राप्त गराउनमा प्रमुख भूमिका खेलेका थिए।
नेपाली भाषामा पढाइ हुने गोर्खा पाठशाला पनि खोलेको इतिहास प्रष्ट बोल्छ। अहिले यो पाठशाला 'गोर्खा पाठशाला हायर सेकेण्डरी स्कुल' भएको छ।
कालान्तरमा कप्तान भुवनसिंह राईले सिलाङको अपरसिलाङ भन्ने ठाउँमा गोर्खा स्कुल खोले, जुन 'हाईस्कुल' हुन पुग्यो। यो स्कुल पूर्वाञ्चलको नेपाली भाषीहरूबीच पहिलो हाईस्कुल हो। अहिले सेकेण्डरी भएको छ। सिलाङमै अहिले नेपाली भाषामा अनर्स तहसम्मको पढाइ हुने कलेज पनि छ।
नाम हो– बुद्ध भानु सरस्वती कलेज। यो कलेज सिलाङका नेपालीभाषी गोर्खा समाजले खोलेको भारतभरिकै भारतीय गोर्खाहरूबीच पहिलो यस्तो कलेज हो, जहाँ ९० प्रतिशत प्रोफेसरहरू नेपालीभाषी छन्।
यसबाट स्पष्ट हुन्छ– सिलाङमा नेपाली भाषालाई सिलाङका गोर्खाहरूले औधी माया गर्छन्। यस्तो हुनुमा पुराना बूढापूर्खाको अवच्छिन्न अवर्णनीय अवदान छ। यदि यिनीहरूले नेपाली भाषामा पढाइ हुने स्कुल, हाईस्कुल स्थापित नगरिदिएका भए आज असममा नेपाली भाषाको जुन अवस्था छ, यस्तै अवस्था सिलाङमा हुन्थ्यो।
अहिले असममा हाम्रा नेपालीभाषी गोर्खा दाजुभाइ–दिदीबहिनीहरूले पनि नेपाली भाषालाई माया गर्छन्। यसलाई संरक्षित गर्न चाहेका पनि छन्। शिक्षाको माध्यमबाट तर यति ठूलो राज्य असममा भनेजस्तो नेपाली भाषामा पढाइ हुने स्कुल, कलेज छैनन् अनि असमिया माध्यमबाट शिक्षा लिनुपर्छ। लिइरहेका छन्– कतिपय ठाउँमा एउटा विषय नेपाली पनि लिन नपाई।
बदलिँदो समयको– यस्तो अवस्थामा पनि स्वअध्ययनले असमका नेपालीभाषी गोर्खाहरूले नेपाली भाषालाई बचाइरहेका छन्। साहित्य लेखिरहेका छन्। यदि स्वतन्त्र सेनानी छविलाल उपाध्यायले नेपाली भाषाको सन्दर्भमा ठूलो भूल नगरेका भए आज असमका नेपालीभाषी गोर्खाहरू नेपाली भाषाको सन्दर्भमा दार्जिलिङ र सिक्किमकै बराबरीमा आउने थिए।
छविलाल उपाध्यायको ठूलो भूल– असमका गोर्खाहरूको अभ्युत्थानमा उनको ठूलो योगदान छ। तर, नेपाली भाषाको अभ्युत्थानका लागि उनको अवदान शून्यप्राय: छ। यही नै उनको ठूलो भूल हो। कारण, उनको मानसिकता भाषाको सन्दर्भमा असमिया भाषातिर नै ढल्किएको थियो। उनको सोचाइ थियो। असममा जन्मेपछि असमिया भाषा चाहिन्छ। नेपाली भाषा किन चाहियो?
अंग्रेजीमा लेखिएको उनको जीवनीमा यी कुरा लेखिएका छन्– Upadhya played an important role in the education of indigenous Gorkha Community of Assam to which he belonged to by establishing many schools and librearies. Chabilal Upadhaya set up Bihali school at Tezpur in Assam in 1941.
हो, तिनले बिहाली स्कुल खोले। तर एउटा विषय नेपाली नपढाउने स्कुल। अब प्रश्न उठ्छ– के उनले असमभित्र गोर्खा वा नेपाली भाषा पढाउने स्कुल खोले या, खोलेनन् ? यही नै हो– छविलाल उपाध्यायको ठूलो भूल ! र, ठूलो भूल..!
छविलाल त आफ्नो समयमा महानताको चुचुरोमा पुगेका व्यक्ति थिए। उनले चाहेका भए असममा नेपाली भाषामा पढाउने गोर्खा स्कुल खोल्न सक्थे।
तत्कालीन असम सरकारसँग लेखापढी गरेर उक्त स्कुललाई सरकारी मान्यता प्राप्त गराउन पनि सक्थे तर गरेनन्। यदि, यसो गरेका भए असममा गोर्खा स्कुल खोल्ने, नेपाली भाषा पढ्ने आधार आजका असमका नवसन्तति गोर्खाहरूले पाउने थिए।
अहिले जसरी सिलाङमा गोर्खाहरूले पाइरहेका छन्। तर, म जान्दिनँ– भोलि के हुने हो किनभने यहाँ पनि 'आमा' लाई मारेर 'मम्मी' भन्ने परम्परा बसिरहेको छ।