नवीन रायमाझी
यमपञ्चकको सुरुवातसँगै अनेक किसिमका शुभकामना सन्देशका साथै दोस्राे ठुलो चाड तिहार सुरु भएको थाहा हुन्छ। मलाई यो चाड निकै मन पर्छ। खानामा मासुजन्य पदार्थ नहुने, चारैतिर झिलिमिली बत्ती बलेको र आफ्नो प्रियजनसँग मात्र भेट गरे हुने, साथै छोटो अवधिको हुने भएकोले पनि मलाई यो पर्व प्रिय लाग्छ।
दिप प्रज्वलित गर्ने कारणले दिपावली भनेको हुनुपर्नेमा आजभोलि तिहारलाई दिपावली भनेर भारतीयकरण भयो भन्नेजस्ता निरर्थक तर्क दिने महाबुज्रुकहरुको मानसिक अवस्थादेखि दया पनि लाग्छ।
निसन्देह नेपालमा भन्दा भारतमा तिहार बडाे धुमधामले मनाउने गरिन्छ, अब यसलाई स्वीकार गर्ने वा नगर्ने उसको विचार हो। तिहार लागेपछि म मेरो जीवनमा घटेका तीन वटा घटना जहिले पनि सम्झिन्छु। त्यो घटनाहरु सम्झिँदा अलिअलि रमाइलो र धेरै खेद लाग्छ।
पहिलो घटना देउसी खेल्न जानेसम्बन्धी हो। जीवनमा प्रथम र अन्तिम पटक खेल्न गएको देउसी एक मानेमा मेरो लागि बिर्सिनसक्नु छ। नाच्न पर्दा आँगन टेढो देख्ने, बजाउनमा बिहान-बेलुकीको भात मात्र बजाउन सक्ने र गित गाउँदा रोएको जस्तो सुनिने मलगायतको समूह गोबर्धन पूजाको रात देउसी खेल्न भनेर निस्केकोमा सबै रक्सीले टिल्ल थिए, जसमा केवल म मात्र होसमा थिएँ।
देउसी खेल्ने नाममा जसको पायो, त्यसको घरमा पस्ने र भनेको जति पैसा पाएन भने घरधनीलाई अश्लील गाली गर्दै हाम्रो समूह अगाडि बढ्दै थियो। रातको करिब १ बजे ललितपुरको मान भवन क्षेत्रको एउटा घरमा जबर्जस्ती पसियो। मध्यरातमा सबै सुतिसकेको घरमा ‘देउसी रे’ भन्दा कसैले सुनेन वा एकछिन कराएर आफैँ जान्छन् भनेर त्यो घरका मान्छेहरुले नसुनेको जस्तो गरेको हो, त्यो थाहा भएन।
अब हामी पनि केही पैसा नलिएर फर्किने मुडमा थिएनौँ, ‘देउसी रे’ भन्दै बाहिरी भर्याङ्ग चढेर माथि कौसीमा पुगियो। धेरैबेर कराएपछि सिनेमाको नायिका जस्ता दुई युवतीले ढोका खोलेर के हेरेका थिए, सायद त्यी सुन्दर युवतीहरुलाई प्रभावित पार्न अचानक सबै कौसीको बार समातेर जोडजोडले नाच्दै कराउँदा एक इट्टाको त्यो कौसीको बार भत्केर हामी लगभग सबै तल जमिनमा खस्न पुगियो।
गर्ल्याम्म कौसीको बार भत्केको आवाज के आएको थियो, घरबाट अचानक तीन/चार जना युवकहरु लट्ठी लिएर हामीलाई कुट्न आए। त्यो घर नेपाली सेनाको कुनै अधिकृतको रहेछ। ती हामीलाई कुट्न आउने उनका सहयोगीहरु रहेछन्। सबैले नराम्रोसँग कुटाई खाए, म भने होसमा भएको कारणले भाग्न त सफल भएँ तर पनि पिँडौलामा दुई लट्ठी खाइयो। निकै पछिसम्म पनि त्यो दुखाइले छाडेन। धन्न ती मान्छे भलाद्मी रहेछन् र प्रहरीलाई खबर गरेनछन्, होइन भने हामी देउसी खेल्ने समूहको के दुर्गती हुन्थ्यो, त्यो अहिले सम्झिँदा पनि जिउ सिरिङ्ग हुन्छ।
दोस्रो- केटाकेटी हुँदा पटका पड्काउन खुब रमाइलो लाग्थ्यो, अहिले भने मलाई यस्तो क्रियाकलाप मन पर्दैन। आफूसँग पैसा नहुने र घरबाट पनि पटका किन्न जस्तो निरर्थक काममा पैसा नदिने कारणले सबैभन्दा सस्तो रातो रङ्गको मलटा बारा भन्ने खुर्सानी जस्तो एक छेउमा आगो लगाउने बित्तिकै ड्याङ पड्किने पटका हुन्थ्यो। पाकेटमा आउने र माला जस्तो हुने त्यो पटका एक ठाउँमा आगो लगाए पछि एकपछि अर्को पड्किँदै जान्छ।
वर्षमा एकपटक आउने तिहारमा भारतबाट एक नातेदारले मलाई त्यस्तो थुप्रै पटका ल्याइदिएका थिए। बडाे मुश्किलले एक/दुई वटा त्यस्तो पटका पाउने मलाई पाँच/सात प्याकेट पटका पाएपछि खुशीले रातभरि निन्द्रा नै लागेन। सोचेको भन्दा धेरै एकैपटक पाउँदा मान्छेलाई मात लाग्छ भनेको जस्तै मलाई पनि त्यति धेरै पटका पाउँदा के गरूँ, के गरूँ हुनु स्वभाविकै हो।
पटका पड्काउने बारेमा एउटा कुकुरको पुच्छरमा त्यो पटका बाँध्ने र आगो लगाउने हामी साथीहरुबीच सल्लाह भयो। पटकाको माला कुकुरको पुच्छरमा बाँधेर आगो लगाउनासाथ पटकाको आवाज सहन नसकेर त्यो कुकुर यसरी तर्सियो कि ठाउँको ठाउँ नै बेहोस भएर मर्यो। त्योबेलामा मलाई खुबै रमाइलो लागेको थियो, तर सम्झिँदा लाग्छ, त्यो बोल्न नसक्ने निर्दोष जनावरप्रति हामीले कति ठुलो अपराध गरेका रहेछौँ। अहिले पनि कुनै कुरामा असफल भएँ भने त्यही पापले गर्दा हो कि जस्तो लाग्छ र त्यो कुकुरलाई मैले अहिलेसम्म बिर्सिन सकेको छैन।
अन्तमा, बिर्सन नसकेकाे भनेकाे लंगुर बुर्जा भन्ने जुवामा सबै पैसा हारेर टाट पल्टिँदाको हो। बिस पैसाको एक माना ढिक्के नुन पाइने जमानामा घरबाट एक रुपैयाँ लिएर पाँच माना नुन किन्न पसल गएको म बाटोमा लंगुर बुर्जा खेलिरहेको ठाउँमा पुगियो। लौ एकपटक भाग्य अजमाउँ भनेर पच्चिस पैसा राखेको, जितेर पचास पैसा भयो। एबम् प्रकारले जित्दै जाँदा मसँग पाँच रुपैयाँ भयो।
केही समयपछि त्यही ठाउँमा हाम्रो घर नजिकको एउटा मान्छे आएर अलि अगाडि ठुलो खाल छ, त्यहाँ खेल्न जाने लोभ देखायो। मलाई पनि एकछिन खेलेर एक रुपैयाँको पाँच रुपैयाँ भएकोमा अर्को केही समय दिएर पाँचबाट दश रुपैयाँ भए झन् रमाइलो हुन्छ भन्ने लोभले तान्यो।
अब खेल्न गइयो त्यो ठुलो खालमा। खेल्दै जाँदा जित्ने त के घरबाट नुन किन्न दिएको पैसासमेत नरहने गरेर हारियो। अब नुन किनेर कसरी घर जाने? त्यो पैसा कता गयो भनेर सोध्यो भने के भन्ने? यस्तै डरले सताएर के गरुँ जस्तो भएकोमा अचानक एउटा आइडिया फुर्यो र म बाटोमै बसेर रुन थालेँ। सबै यसो हेर्छन् र आफ्नो बाटो लाग्छन्। के भयो भनेर पनि एक बचन सोधदैनन्।
करिब दश मिनेटजति रोएपछि एक दयालु व्यक्तिले के भयो बाबु भनेर सोध्यो। मैले घरबाट नुन किन्न आएको र बाटोमा त्यो पैसा हराएको कुरा भनेँ। उसले मलाई नुन किन्दियो। म नुन लिएर घर त गएँ तर घरमा किन यति ढिलो आएको भनेर आमाको हातबाट चड्कन भने खाइयो। तर लंगुर बुर्जा खेलेर पैसा हारेको भन्ने थाहा पाएनन्।
हामी सबैले यो रमाइलो चाडलाई आफ्नो गच्छेअनुसार रमाइलोसँग मनाउने काम गरौँ। हैसियतभन्दा ठुलो कुरा गर्दा सधैँ बेफाइदा नै हुन्छ।
सम्पूर्ण पाठकहरुलाई तिहारको हार्दिक तथा मङ्गलमय शुभकामना!
न्यातपोल मन्दिरमा सर्वसाधारणका लागि प्रवेश निषेध किन?
माधव चौलागाईंः जुम्ली छोराको सिंहदरबार यात्रा
जेनजी–सरकार १० बुँदे सम्झौताः आयोग, संयन्त्र र परिषद् मात्रै ७ वटा (पूर्णपाठ)
‘सुन्तले टापु’मा फक्रिएकाे नेपाली कम्युनिष्ट आन्दाेलन
प्रभु बैंक र अर्बिट कन्सल्टेन्सीको सेटिङः कमिसन बाँडफाँटदेखि नक्कली शैक्षिक कर्जासम्म
हाजिर भइन् सीबीओ रश्मी, सीईओ नभएको बेला डीसीईओ बनेर बैंक चलाउने दाउ !
नेपालगन्ज भन्छ ‘खेल केवल खेल मात्र होइन’
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया