महिना दिनमै गति रोकिएको ‘द्रुत बस’

BreaknLinks
BreaknLinks

तामझामका साथ करिब दुई करोड खर्च गरेर रत्नपार्क–सूर्यविनायक द्रुत बस सेवा सुरु भएको महिना दिनमा नै बन्द भएपछि ‘द्रुत बस सेवा’ सरकारको टाउको दुखाई बनेको छ।


काठमाडौँको रत्नपार्कदेखि भक्तपुरको सूर्यविनायकसम्म (करिब १८ किलोमिटर) द्रुत बस सेवा सञ्चालन भएको डेढ महिना पुग्यो। द्रुत बस सेवा सञ्चालन भएको डेढ महिना पुगेको भएपनि द्रुत बसको रफ्तार भने महिना दिन नपुग्दै रोकियो।

यो रोकिएको रफ्तार अब सुरु हुन्छ कि हुँदैन, अन्योल छ। संविधान दिवस (३ असोज)का दिन तामझामका साथ भौतिक पूर्वाधार तथा यातायात मन्त्री प्रकाश ज्वालाले उद्घाटन गरेर बस सेवा शुभारम्भ गरेका थिए।

उनले बस सेवा शुभारम्भ गर्दै भनेका थिए, ‘रत्नपार्क–सूर्यविनायकसम्म मात्र यो सेवा सीमित हुँदैन। कमसेकम एक वर्षमा एयरपोर्ट, रिङरोड, त्यस्तै गरेर नागढुंगातिर अगाडि बढाउनुपर्ला, ललितपुरतिर, बालाजुतिर या महाराजगञ्जतिर, चावहिलतिर हामी विस्तारै यो द्रुत बस सेवा विस्तार गर्दै जानेछौँ।’

मन्त्री ज्वालाले वर्षदिनभित्र उपत्यकाका अन्य ठाउँमा पनि द्रुत बस सेवा शुभारम्भ गर्ने भनेपनि पहिलो पटक सञ्चालमा ल्याइएको बस सेवा नै सञ्चालन हुन सकेन।

नेपाल यातायात राष्ट्रिय व्यवसायी महासंघका अध्यक्ष विजयबहादुर स्वाँरले बस सञ्चालन गर्न कठिन भएपछि अहिले सबै बसले सेवा नदिएको बताए।

उनले भने, ‘बस चलाउन गाह्रो भयो। अहिले केही बसले सेवा दिएको भएपनि सबै बस चलेका छैनन्।’

द्रुत बस सेवा २५ वटा बसबाट सुरु भएको थियो। नेपाल यातायात राष्ट्रिय व्यवसायी महासंघले उक्त बस सञ्चालन गरेको हो। बस सञ्चालन गरेको महिना दिन नपुग्दै बन्द भएपछि सरकारको आलोचना भइरहेको छ।

रोकिएको गति

काठमाडौँमा हुने सवारी चापलाई कम गर्न अनि केही रुटमा छिटो सेवा दिनका लागि पहिलो प्रयासका लागि ल्याइएको थियो द्रुत बसको योजना।

रत्नपार्कदेखि सूर्यविनायकसम्म सामान्य बसमा यात्रा गर्दा डेढदेखि २ घण्टा लाग्ने गर्छ। द्रुत बसले भने रत्नकपार्कदेखि सूर्यविनायकसम्म ४५ मिनेटमा पुर्‍याउँछ। तर, उदेश्यअनुरुप सडकमा द्रुत बसले सेवा दिन सकेन। द्रुत मोडालिटीअनुसार द्रुत बसका लागि पनि सडक व्यवस्थापन हुन सकेन।

द्रुत बसमा शुभारम्भका दिन नै माइतीघर क्षेत्रमा अवरोध भयो। सरकारले संसदमा दर्ता गरेको विधेयकको विरोध गर्दै देशभरका शिक्षकहरु काठमाडौँमा सडक आन्दोलन गर्दा बस द्रुत गतिमा चल्न पाएन।

१० दिन चलेको आन्दोलनले माइतीघर–नयाँ बानेश्वरको सडक ठप्प भएको थियो। सेवा शुभारम्भ गरेकै दिन अवरोध खेपेको द्रुत बसको गति आन्दोलन सकिएपछि पनि अघि बढ्न सकेन। दसैँको मुखमा त बन्द नै हुन पुग्यो।

बन्द हुनुका धेरै कारण छन्। जसमा प्रमुख कारण यात्रु अभाव हो। बिहान ९ बजेदेखि ११ र साँझ ४ बजेदेखि ६ बजेसम्म मात्र यी बसले सेवा दिन्छन्।


अब सार्वजनिक बसमा भिआइपी सवारी!


दिनमा चार घण्टा मात्र चल्दा पनि बसहरुले निकै न्यून संख्यामा यात्रु पाएपछि व्यवसायीले घाटा बेहोरेका छन्।

‘द्रुत बसमा यात्रु पाउनै कठिन भयो। धेरै घाटा बेहोरेर हामीले चलाउन सकेनौँ,’ ‘महासंघका अध्यक्ष स्वाँरले भने, ‘सरकारसँग सहयोग मागेका छौँ। सहयोग मिल्यो भने तिहारपछि चलाउँछौँ।’

यातायात व्यवसायीले बस सञ्चालन गर्न नसक्नुको अर्को कारण हो, ट्राफिक व्यवस्थापन। द्रुत गतिको बसका लागि छुट्टै लेन बनाइएको छ। सडक विभागले रेडलेन (रातो पोतेर बनाइएको सडक) बनाएर द्रुत गतिको बस चल्नका लागि छुट्याएको छ। यस लेनमा द्रुत गतिको बस चल्दा एम्बुलेन्स, दमकल, भिआइपीहरुलाई बाटो छोडिएको जस्तो अन्य सवारीले बाटो छोडिदिनुपर्ने हो। तर, द्रुत गतिको बसले निर्वाध रुपमा रेडलेनमा गुड्न पाएन।

यस्तै द्रुत गतिको बसले सडक जाम हुँदा पनि जाममा रोकिनु नपर्ने गरी सुविधा पाएको छ। यहाँ पनि द्रुत गतिको बसले ट्राफिकबाट यो सेवा निर्वाध रुपमा पाएनन्। जसले यो सेवा सञ्चालनको जुन उदेश्य थियो, त्यसअनुसार बस चल्न नसकेको हो।

ट्राफिक व्यवस्थापन र यात्रु नहुँदा बस सञ्चालन गर्न नसकिएको स्वाँर बताउँछन्। ‘४५ मिनेटमा पुग्नका लागि ट्राफिक व्यवस्थापन हुनुपर्ने हो। तर सडक जाममा द्रुत बस पनि रोकिनुपर्छ। यसले द्रुत बसेको सेवा प्रभावकारी भएन। यात्रु पनि कम भए हामीलाई,’ उनले भने।

सरकारको टाउको दुखाइ बनेको ‘द्रुत बस सेवा’

भौतिक पूर्वाधार तथा यातायात मन्त्री ज्वालाले द्रुत बस सेवा विस्तार गर्ने सपना देखिरहँदा पहिलो पटक चलाइएको द्रुत बस सेवा नै बन्द भएपछि सरकारको टाउको दुखाइ बनेको छ।

तायरीविना नै बस सञ्चालन गरेर लगानी खेर फालेको सरकारमाथि आरोप छ। द्रुत बस सेवा सञ्चालनका लागि तयारी गर्दा करिब दुई करोड खर्च भएको छ।

ठूलो खर्च गरेर सञ्चालन गरिएको बस सेवा प्रभावकारी नभएपछि सरकारको आलोचना भएको हो। आलोचना खेपेको सरकार तिहारपछि छिट्टै प्रभावकारी रुपमा बस सञ्चालन गर्नुपर्ने दबाबमा छ।

तर केही मोडालिटी भने परिवर्तन गर्ने तयारीमा सरकार छ। यातायात व्यवस्था विभागका महानिर्देशक उद्धवप्रसाद रिजालको नेतृत्वमा बस सञ्चालनका लागि बनेको समितिले द्रुत बस सञ्चालनका लागि मोडालिटी परिवर्तन गर्ने तयारी गरेको हो।

‘अहिलेकै अवस्थामा बस सञ्चालन हुँदैन। तिहारपछि द्रुत बस सेवाको मोडालिटी केही परिवर्तन गरेर चलाउँछौँ,’ रिजालले भने। उनले बस सञ्चालनको मोडेल कस्तो हुने भन्ने खुलाएनन्।

द्रुत बस सेवा प्रभावकारी नभएपछि भौतिक पूर्वाधार मन्त्रालय पनि छलफलमा छ। चौतर्फी प्रश्न उठेपछि मन्त्रालयले द्रुत बसको अवस्थाका बारेमा सडक विभाग, यातायात व्यवस्था विभागसँग जानकारी मागेको छ।

‘द्रुत बसको अवस्थाका बारेमा धेरै प्रश्न उठेपछि हामीले सञ्चालन कसरी भइरहेको छ? खर्चको अवस्था के छ? सबै जानकारी मागेका छौँ,’ भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयकी सूचना अधिकारी शुभा श्रेष्ठले भनिन्।

द्रुत बस कसरी सञ्चालन गर्ने भन्ने विषयमा यातायात व्यवस्था विभागले तयारी गरिरहेको छ। ‘तिहारपछि बसहरु चल्छन्, पख्नुस् न। काम गर्न दिनुस् न हो साथीहरु,’ विभागका महानिर्देशक रिजालले बिएल नेपाली सेवासँग कुरा गर्दै भने, ‘बसहरु अहिले चलिरहेका छन्। प्यासेन्जरको त्यस्तो घुइँचो छैन। त्यसलाई इफेक्टिभ बनाएर मिडियालाई दिने गरी तिहारपछि काम गर्छौँ है।’

अहिले बस चलिहेको बताउने रिजालले कति बस चलिरहेको छ भन्नेमा जानकारी दिन सकेनन्। ‘कतिवटा भन्ने हुँदैन। बस चलिरन्छन् केर। आवश्यकता पनि हेर्छन्। प्यासेन्जर (यात्रु)को फ्लो(आउजाउ) पनि हेर्छन्। बिहान अलि बढी चलाउँछन् होला। बेलुका कम चलाउँछन् होला। ठ्याक्कै भन्ने छैन। तर चल्न त चलिराछन्।’

उनले तिहारपछि पत्रकार सम्मेलन गरेर नै बस चलाउने बताए। ‘तिहारपछि केही मोडालेटी परिवर्तन गरेर चलाउँदैछौँ। त्यो अहिले भन्न मिलेन नि! हामी पत्रकार सम्मेलन गरेर भनिहाल्छौँ नि।’

द्रुत बस सेवा बन्द हुनुमा तयारी पुगेनः आशिष गजुरेल, यातायात व्यवस्थापन विज्ञ

नेपालमा सुधारिएको बस सेवा चाहिएको छ। परम्परागत बस सेवाले हाम्रो यातायात समस्या समाधान गर्दैन। हाम्रो सहरी क्षेत्रमा सार्वजनिक बस सेवा सुध्रिन आवश्यक छ।

जसअनुसार रत्नपार्क–सूर्यविनायक द्रुत बस सेवा आएको हो। सेवा सञ्चालन गर्नुअघि जति तयारी गर्नुपर्ने थियो। त्यो तयारी नपुगेकै हो। लगानी र तयारीविना सुरु गरिएको काम सफल हुने एकदमै कम सम्भावना हुन्छ।

तर पनि हाम्रो जस्तो देशमा ल अध्ययन गरौँ। तयारी गरौँ भन्ने हो भने अर्को तीन–चार वर्ष त्यसैमा समय सकिन्छ। त्यही भएर अहिले यतातिर नलागौँ। अहिले अध्ययनकै स्वरुपमा यसलाई अगाडि बढाऔँ भन्ने हिसाबले यो सुरु भएको हो।

यसमा तयारी नभएपछि नागरिकहरुले पनि प्रभावकारी सेवा पाएको अनुभूत गरेनन्। समस्या भएको यही हो। हामीले यही संरचनामा सेवा सुरु भयो। तर तयारी कम हुँदा सार्वजनिक बस सेवा सुधार भएको महसुस भएन।

द्रुत बसलाई छुट्टै लेन दिने भनियो, त्यो दिन सकेनौँ। अर्को समय तालिका पनि भएन। बस रोकिने ठाउँमा यति बजे बस आइपुग्छ भन्ने पालना गरेको भए प्रभावकारी हुने थियो। त्यो पनि प्रभावकारी रुपमा पालना भएन।

अर्को, भाडा तिर्ने सिस्टम पनि भएन। भाडा १९ रुपैयाँ हुन्छ। ५० रुपैयाँ दिन्छ। साट्दा साट्दै यहाँ समय खर्च हुन्छ। त्यसले गर्दा परम्परागत बसभन्दा यसको गति पनि बढी हुन सकेन।

यो कम समयको तयारीमा सञ्चालन गरिएको हो। महिना दिनको तयारीले गर्दा यो प्रभावकारी बनाउन नसकिएको हो भन्ने मलाई लाग्छ। तर, नेपालमा द्रुत बस अतिआवश्यक छ। यही संरचनामा पनि द्रुत बस सञ्चालन गर्न सकिन्छ। यसको व्यवस्थापन प्रभावकारी रुपमा हुनुपर्ने मैले देख्छु।

हामीले एक महिना चलाएका छौँ। यसबाट केही सिकाइ भएको छ। सिकाइलाई हामीले सुधार गर्नुपर्यो। छुट्टै लेन दिनुपर्यो। ट्राफिक व्यवस्थापन राम्रोसँग भयो भने द्रुत बस चल्छ।

यात्रु झार्ने र चढाउने ठाउँमा ६० सेकेन्डभन्दा बढी रोकिन नदिने, समय तालिकामा कडाइ गर्ने, ट्राफिक व्यवस्थापन प्रभावकारी बन्यो भने पूर्णकालीन रुपमा द्रुत बस चलाउन सकिन्छ।

यसरी सार्वजनिक सेवा सुधार भएमा निजी सवारी साधान विस्तारै घट्छ। राम्रो सुधार भएमा आफ्नो गाडी घरमा छाडेर नागरिक सार्वजनिक गाडी चढ्छन् र द्रुत बस थप प्रभावकारी बन्छ। यरमा सरकारको इच्छा शक्ति हुनुपर्छ।

प्रकाशित मिति: : 2023-11-10 19:41:00

प्रतिकृया दिनुहोस्