अब सार्वजनिक बसमा भिआइपी सवारी!

बुधबारदेखि सुरु हुने ‘द्रुत’ बस सेवा के हो, कसरी चल्छ ?

सरकारले नागरिकलाई भिआइपी सवारी सेवा दिने गरी द्रुत गतिको बस सञ्चालन गर्दैछ। संविधान दिवसको अवसर पारेर भोलि (बुधबार)देखि काठमाडौँको रत्नपार्कबाट भक्तपुरको सूर्यविनायकसम्म द्रुत गतिको बस सञ्चालन गर्न लागेको हो।

हरेक दिन बिहान ९ बजेदेखि ११ बजेसम्म र साँझ ४ बजेदेखि ६ बजेसम्म बस सञ्चालन हुने यातायात व्यवस्था विभागका सूचना अधिकारी ईश्वरीदत्त पनेरुले बताए। ‘अब हरेक दिन चार घण्टा द्रुत गतिको बस सञ्चालन हुनेछ,’ उनले भने, ‘आजसम्म मन्त्री, प्रधानमन्त्रीले मात्र सडकमा भिआइपी सेवा पाउथे, अब नागरिकले पनि भिआइपी सवारी सेवा पाउनेछन्।’

द्रुत गतिको बस कुनै ट्राफिक जाममा रोकिनुपर्ने छैन। एम्बुलेन्स, दमकल जत्तिकै सडक सुविधा द्रुत गतिको बसले पाउनेछ। जसको व्यवस्थापन ट्राफिक प्रहरीले गर्ने पनेरुले बताए। द्रुत गतिका बसका लागि सडकको लेन नै छुट्टै बनाइएको छ।

सूर्यविनायकदेखि रत्नपार्कसम्म आउने र जाने सडकको दुई छुट्टा–छुट्टै लेन बनाइएको छ। रातो रंगले लेनलाई छुट्याइएको छ। उक्त लेनमा द्रुत गतिका बस सञ्चालन हुनेछन्। सँगै आवश्यकीय एम्बुलेन्स, दमकल र कुनै निश्चित ठाउँमा चल्ने स्टाफ बस पनि उक्त रेड (रातो रंग लगाइएको सडक)लेनमा सञ्चालन हुन पाउने सूचना अधिकारी पनेरुले जानकारी दिए। अन्य सवारी सधान भने यस लेनमा चल्न पाउने छैनन्।

सूर्यविनायकदेखि रत्नपार्कसम्म करिब १८ किलोमिटरको दुरी छ। जहाँ यसअघि सवा घण्टादेखि डेढ घण्टा समय लाग्ने गर्थ्याे। अब ट्राफिक जाममा बस्नु नपर्ने, बस स्टेसनमा धेरै रोकिनु नपर्ने नियम लागु भएपछि करिब ४५ मिनेटमा यात्र गर्न सकिनेछ।

द्रुत गतिको बस जहाँ पायो त्यही रोकिन पाउने छैन। सूर्यविनायकदेखि रत्नपार्कसम्म १९ ठाउँमा मात्र बस रोकिन पाउने छ। जहाँ बसबाट यात्रु झर्न र बसमा चढ्न पाउनेछन्। यात्रु चढाउन र ओराल्नका लागि बसलाई ३० सेकेण्डदेखि १ मिनेटको मात्र समय दिइएको पनेरुले बताए।

नेपालमा पहिलो पटक सञ्चालन हुन लागेको द्रुत गतिको बसको भोलि औपचारिक रुपमा उद्घाटन गरेर पर्सीदेखि नियमित रुपमा समयअनुसार सञ्चालन हुनेछ। दैनिक चार घण्टा पाँच–पाँच मिनेटमा बस सूर्यविनायक र रत्नपार्कबाट छुट्नेछन्। जसका लागि नेपाल यातायात राष्ट्रिय व्यवसायी महासंघले २५ वटा बस उपलब्ध गराएको छ।

महासंघमा भएका बसमध्ये फरक खालको बसको व्यवस्थापन गरिएको पनेरुको भनाइ छ। जसमा ४० सिटे बसहरु रहेका छन्। द्रुत गतिमा चल्ने बसको भाडामा कुनै फरक छैन। आजसम्म अन्य बसमा लाग्ने यात्र शुल्क नै द्रुत गतिको बसमा पनि लाग्नेछ।

हाललाई यातायात राष्ट्रिय व्यवसायी महासंघसँग भएका बस नै सञ्चालन गरिने भएपनि आउने दिनमा यसलाई थप परिस्कृति गरिदै लगिने पनेरुले बताए। उनकाअनुसार आगामी दिनमा चार घण्टाबाट बस चल्ने समय बढाइने छ। बसको पेन्टिङदेखि बस रोकिने समय आउने जाने समय पनि फिक्स गरिने छ भने थप प्रविधियुक्त बनाइने छ।

सडक मर्मत गरिँदै

द्रुत गतिको बस सञ्चालन हुने भएपछि सडक मर्मत (ग्रयाबल सिलिङ)गरिँदैछ। रत्नपार्कदेखि सूर्यविनायकसम्मका विभिन्न ठाउँमा सडक मर्मत भइरहेको सडक विभागका सुपरिटेन्डेन्ट ई. अर्जुनप्रसाद अर्यालले जानकारी दिए।

सडक मर्मत मात्र होइन, द्रुत गतिको बस सञ्चालनका लागि छुट्याइएको लेनमा पनि मार्किङ गरिँदैछ। बस सञ्चालनको समय १२ घण्टा बाँकी नहुँदा द्रुत गतिको बस चल्ने रुट छुट्याउन हतार–हतार रोतो पोतिदै छ।

यो आज रातभर काम गरेपनि सकिने छैन। अझै एक–दुई दिन लाग्ने ई. अर्यालले बिएल नेपाली सेवालाई जानकारी दिए। ‘भोलि बस सञ्चालनका लागि उद्घाटन हुँदैछ त्यसको तयारी आधारभूत रुपमा तयारी पूरा त भयो तर अझै केही काम बाँकी रहेको छ,’ उनले भने, ‘सम्पूर्ण काम सक्न एक दुई दिन समय लाग्छ।’

उनकाअनुसार रेड मार्किङ दुई मिटरमा गरिँदैछ। तर, ढिलाइ भएपछि अहिले चार मिटरको दूरीमा मार्किङ भइरहेको छ। ‘मपदण्ड दुई सय मिटरमा मार्किङ गर्ने हो। तर, पछि दुई सय मिटरमा गर्ने गरी अहिले केही ढिलाइ भएकाले चार सय मिटरको दूरीमा मार्किङ गरेका छौँ।’

तीन खण्डमा कर्मचारी खटिएर मार्किङ गर्ने काम भइरहेको छ। ‘रत्नपार्कदेखि माइतीघरसम्म र भक्तपुरको मनोहरा चोकदेखि सूर्यविनायक चोकसम्म लेन मार्किङको काम सकेका छौँ,’ उनले भने, ‘माइतीघरदेखि शान्तिनगर गेटसम्म र शान्तिनगर गेटदेखि जडिबुटी चोकसम्म रातभरमा मार्किङको गरिसकिन्छ।’

ई. अर्याललका अनुसार सडक पूर्वाधारको काम ८० प्रतिशत सकिएको भएपनि २० प्रतिशत बाँकी छ। जसमा लेन मार्किङ, सडक मर्मत भइरहेको छ। सुरक्षाका चिन्ह भने अझै राख्न बाँकी रहेको छ। हप्तादिनमा ती चिन्हहरु पनि राखिसकिने उनले बताए।

भिडियाे :

फाेटाे/भिडियाे : रविन पुन मगर

प्रकाशित मिति: : 2023-09-19 21:31:00

प्रतिकृया दिनुहोस्