कामी

BreaknLinks
BreaknLinks

जदौ हजुर!

तिमी हिँड्ने मूलबाटोमुनि उभिएरै
यसरी नै बित्यो युगौँयुग
तिमी पुग्यौ धेरै पर, धेरै अगाडि
त्यही मूलबाटो टेकेर
म अल्झिरहेँ सदियौं त्यहीं
त्यही मूलबाटो बोकेर
मैले कहिल्यै यसको हिसाब पाएँ?

तिम्रो पुस्ता पुस्तान्तर
सधैं काले कामी र कामी काले बनिइरहें
तिम्रा उखानहरूमा
म कहिल्यै गोरो हुन सकिन
मैले कहिल्यै यसको गुनासो गाएँ?

अन्धविश्वासको खियाले खाएको तिम्रो दिमागजस्तै
बाङ्गो र अररो फलामलाई मैले
मेरो आरनमा
मेरो प्रयोगशालामा सोझ्याउँदै गरेको देखेर
तिमीले सिक्यौ - फलाम तातेकै बेला पिट्नुपर्छ
र मेरै आरनका औजारहरूको सूत्र अपनाएर
तिमी राजा भयौ, काजी बन्यौ
मैले कहिल्यै यसको श्रेय मागें?

मेरो आकाशमा तिमीले
कुरितीको यस्तो कुहिगन्धे बादल फ्याँक्यौ कि
यसको सहश्राब्दी रातहरूमा निसास्सिएर
मेरो भाषा हरायो, मेरो भेष हरायो
मेरो संस्कृति हरायो, आफ्नो भन्नु देश हरायो
अनि फेरि तिमी नै भन्छौ मलाई
अमानव, अछूत, अपवित्र
मैले कहिल्यै यसको क्षतिपूर्ति पाएँ?
यो देश र समाजको खातिर
लडिएका कैयौं युद्ध र क्रान्तिहरूमा
प्रमाणित भइसकेको छ-
मेरो पनि रगत तिम्रोजस्तै पवित्र र उर्वर छ

म चिच्याइरहेछु अनादि कालदेखि
यो अन्धकार कहिले हट्छ?
तिमी भन्छौ- 'बिस्तारै बिस्तारै
तिम्रो यो बिस्तारै बिस्तारैमा
कहिलेसम्म मरिरहनुपर्ने हो
ठूलो जातकी बुहारी भित्र्याएकै निहुँमा

सेते दमाईहरूले निहत्था?
कहिलेसम्म कुटिइरहनु पर्ने हो
धारा छोएकै निहुँमा
सुनितादेवी रामहरूले निर्घात?
डेरा पाउनकै लागि, काम पाउनकै लागि
कहिलेसम्म बनिइरहनु पर्ने हो
मञ्जुल बराइलीहरूले मञ्जुल बराल?

तिमी नै भन न
हामीले सँगै सँगै बाँचेका सयौं सयौ युगहरूमा
मैले कहिल्यै तिम्रो अपमान गरेँ?
अहँ
किनकि म तिमीलाई माया गर्छु
हार्दिकताको पछ्यौरा ओछ्‌याएर भन्छु
मभित्रको कामी सफा र निर्मल छ
त्यसैले
तिमीभित्रको कामीलाई पनि उज्यालो बनाऊ
कामी कर्म हो, साधना हो
उन्नयनको पहिलो खुट्किलो हो

युग युग निसास्सिरहेर पनि मैले जोगाएका
चेतनाका उज्यालाहरूले
निर्मूल पार्नु छ
तिम्रो मन मस्तिष्कको अँध्यारो ऐंजेरु
सप्रेम
थिचिएरै, मिचिएरै भएपनि
मैले पनि बोकेको यो सगरमाथा नढलोस्
र नकुच्चियोस् मैले पनि बनाएको यो हाम्रो देश
नगरुँ म तिमीसँग युद्ध

म चाहन्न-
तिम्रो अन्धविश्वासको त्यो बूढो पहाडमा
बदला, घृणा र वैमनस्यताको मिसाइल प्रहार गरुँ
किनकि फेरि पनि मलाई विश्वास छ
तिम्रो कुरीतिको त्यो अँध्यारो पहाडमा
चेतनाका घामहरू उम्रदै छन्
मानवताको सुगन्धित किरण बोकेर
बस्, तिनीहरूलाई फेरि तिमी निमोठी नदेऊ

हिसाब-किताब, क्षतिपूर्ति र श्रेयकै लागि
फेरि पनि भन्छु- नगरुँ म तिमीसँग युद्ध
मैले भोगेका यी तमाम अँध्याराहरूको बदलामा
प्रेम र सद्भावको आह्वान गरिरहँदा
नसाेच्नू फेरि- म युद्धबाट भाग्दैछु
सत्य त यो हो कि-
मलाई युद्ध लड्न आउँदैन होइन
मलाई युद्ध मन पर्दैन
किनकि 
म यो देशको कामी हुँ

११ अक्टाेबर २०२०
कुमामाेताे, जापान

(मितेरीकाे ‘कामी’ कविता संग्रहबाट)

पिँधका बुलन्द आवाज ‘कामी’

प्रकाशित मिति: : 2023-10-28 12:32:00

प्रतिकृया दिनुहोस्