ग्वाँते

BreaknLinks
BreaknLinks

‘बुरचोडी पर्वत्या…’ लास्टै रिस उठ्यो भने उसले गाली गर्न जानेको यही एउटा शब्द थियो। यो शब्द थारु समुदायका हरेकले बोल्छन्, हरेक परिवारमा बोल्छन्।

ग्वाँते थारु हाम्रो तरेलीकै एउटा साथी थियो, गाउँका जिम्दार(बाहुन)को घरमा ग्वाला बसेको। बाहुनका घरमा पालिएका गाईभैंसी स्याहार्ने उसको काम थियो। ग्वाला जाँदा हाम्रो सङ थियो।

कहिलेकाहिँ उसले घरबाट जाँड लिएर आउँथ्यो हामीलाई पनि खुवाउँथ्यो- मोही भनेर। गहुँको त्यो जाँड गुलियो हुन्थ्यो। हाम्ले पनि मागी मागी खान्थ्यौं।

उसलाई दसैंको अघिल्लो दिन छुट्टी हुन्थ्यो। अर्थात्, थारुहरूको दसैँ उसकै भाषामा ‘पर्वत्या’हरूको भन्दा अघिल्लो दिन नै हुन्थ्यो।

खासमा यस्तो चलन पनि उनै बाहुनहरूले नै चलाएका रे! बुढापाका थारुहरूले सुनाउँथे त्यस्तै जाँड खाएका बेला।

दसैंको दिन टीका लगाउन हिँड्ने बाहुनका छोराछोरी र उनीहरूका ‘मैतालु’हरूको कोसेली बोक्ने पनि ग्वाँतेजस्तै थारुहरू हुन्थे। अनि, सबैको टीका एकैदिन भयो भने त समस्या हुने भो। त्यही भएर बाहुनहरूले थारुलाई अघिल्लो दिन नै टीका लगाउन भनेपछि नवमीकै दिन उनीहरूले टीका लगाउने चलन सुरु भयो।

पछि-पछि त हामी सँगै लगाउँथ्यौं।

उनीहरूले मकैका जमरा लगाउँथे, हामीले जौंको जमरा। उनीहरूको निधारमा सेतो टीका हुन्थ्यो, हाम्रो रातो हुन्थ्यो।

दसैंको दिन त ग्वाँतेलाई गाउँमा छुनुमान हुन्नथ्यो। बिहानैदेखि जाँड खाएर ऊ सबका घरघर पुग्थ्यो। अनि दसैंको ‘भाग’ दिन्थे सबले। हुन त ऊ बाहुनको ग्वालो थियो तर बाहिर बाहिर सबले काम लगाउँथे। जस्तो कि कसैको घरमा उसले फर्किँदा दाउरा पुर्‍याउँथ्यो। कसैको गाईभैंसी हेरिदिन्थ्यो। अनि सबले उसलाई दसैँको ‘भाग’ दिन्थे।

उसलाई मात्रै होइन, दसैंको भाग दिने चलन अरुलाई पनि थियो। जस्तो कि लुगा सिलाउने दमाई, फलामको काम गर्ने कामी अनि मादल बनाउने बादी यी सबलाई दसैँको ‘भाग’ लाग्थ्यो।

‘बालीघरे’ संस्कारअनुसार उनीहरूलाई हरेक बाली भित्र्याउने सिजनमा केही मानापाथी हरेकको घरबाट छुट्याइन्छ।

घटस्थापनाका दिन बिहानैदेखि ‘दुर्गा जगाउन’ गाइनेहरू घरघर पुगेर ‘दुर्गा-गीत’को धुनमा सारंगी बजाएपछि गाउँमा दसैं छिर्थ्यो। हरेकदिन उनीहरू घरघर पुगेर ‘दुर्गा जगाइ’दिन्थे।

दमाइ, कामी, बादी अनि गाइनेहरू सबैका आ-आफ्ना ‘बालीघर’ हुन्थे। तर, गाउँमा सबैले सबका ‘भाग’ छुट्याउँथे। कतै पनि नलेखिएको यो संस्कार गाउँघरमा अनिवार्यजस्तै थियो।

हुन त हामी पनि उनीहरूसँग टीका लगाउन जान्थ्यौं दसैँका बेला। किनकि, हाम्रो परिवार नै ‘समावेशी’ टाइपको हो।

कामी दमाईहरू हाम्रा मामा पर्छन्। उनीहरूको हातमा ढोग्छौं अहिले पनि गाउँ जाँदा। थारुहरू पनि कोही मामा थिए, कोही  दिदी भिनाजु।

ग्वाँते पनि आफ्नो दसैं अर्थात् टीका दिन घरघर पुगेर ‘भाग’ उठाउँथ्यो। अनि त्यो भाग बोकेर खुट्टा लर्बराउँदै हिँडेको ग्वाँते कहाँनेर पल्टिन्थ्यो थाहा हुन्नथ्यो। तर, घर चाहिँ जसरी नि पुग्थ्यो। घर त के हुनु बाहुनकै गाईभैँसी बाँधिएको गोठको एउटा कुनो उसको घर थियो।

त्यही बाहुनको घरमै ग्वाला बसेकाे उसका बाउआमा सबै त्यहीँ बिते। दाजु पनि बिते। दिदी बहिनी बिहे गरेर कता पुगे उसलाई पनि थाहा छैन।

बोल्न पनि उतिसारो नबोल्ने, अलि सुस्त दिमागको थियो ऊ। ‘ग्वाँते’ पनि उनै बाहुनले दिएको नाम थियो। लाग्थ्यो ऊसँग जीवनमा आफ्नो भनेको त्यही एउटामात्रै छ, उसको नाम ‘ग्वाँते’।

ग्वाँतेलाई दसैँ लागपछि बल्ल हामी केटा-केटीलाई ‘नयाँ लुगा लगाउने दिन’ अर्थात् दसैँको ‘भोलि’ पर्खाइ बडो दर्दनाक हुन्थ्यो। ग्वाँतेको दसैंको रात सबैभन्दा लामो लाग्थ्यो।

दसैंका दिन बाले किन्देको एकै रंगको पूरा बाउले सर्ट अनि पटराका जाँङे लगाएर हामी टीका लगाउन दौडिन्थ्यो। दिनभरि टीका थापेर दिएको पैसा साँझ गन्थ्यौं। हामी भाइहरूको निकै नै थोरै पैसा हुन्थ्यो। दिदीको धेरै। छोरी चेलीलाई अलि धेरै दक्षिणा दिन चलन थियो।

टीका लगाएर जम्मा भएको पैसा हामीले आमाको धोतीको सप्कोमा बाँधिदिन्थ्यौं। धोतीका ती गाँठाहरू आमाले जस्तै समस्या परे पनि खोल्दैनथिन्। त्यो पैसा भनेको माघीको दिन लाग्ने मेलाका लागि थियो। हामी तीन भाइ-बहिनीका लागि आमाको धोतीमा तीन गाँठा हुन्थे। त्यसमा माघीमेलाको पैसा हुन्थ्यो।

हामीले ‘सेतो भात’ खाने दिन पनि दसैं नै थियो। अरु दिन त मकैको दर्रे र आटोमात्रै हो। नभए वैशाखदेखिका केही महिना रोटी खाएर बित्थ्यो। त्यसपछि त मकै भित्रिहाल्थ्यो।

दसैँका दिन चामल अर्थात् ‘सेतो भात’ खुब मीठो लाग्थ्यो। त्यो पनि आमाले बराबर भाग लगाइदिएको खसीको मासुसँग। मैले मासु त कहिल्यै खाइनँ। तर, पनि आमाले भाग लगाउन कहिल्यै छुटाइनन्। मैले त्यो मेरो भागको मासु दिदीलाई बेचिदिन्थेँ। अर्थात्, त्यो एकभाग मासु दिएपछि दिदीले मलाई माघीको मेलामा दुईरुप्पे दिन्थी।

उसले टीका लगाएको दिन ग्वाँतेलाई हामीले खुब जिस्क्याउँथ्यौं। कोही केटाकेटी उसको काँधमा चढ्थे। जिस्क्याउने कतिलाई उसले लखेटीररहेको हुन्थ्यो। अनि अति नै भएपछि उसले एउटामात्रै शब्द निकाल्थ्यो ‘बुरचोडी पर्वत्या…’

गाँउका लगभग कुनै केटाकेटी त्यस्तो थिएनन्, जो ग्वाँतेको काँधमा नहुर्किएका होउन्। घरमा केटाकेटी हेर्ने कोही नभएपछि कुनै न कुनै आमाले उसलाई आफ्नो केटाकेटी दिइहाल्थिन्। गाईभैसीँसँगै उसले गाउँका धेरै केटाकेटी पनि आफ्नो काँधमा हुर्काएको छ।

दसैँको ‘भाग’ त्यसकै एक कारण पनि थियो। ग्वाँते हुन त एउटा बाहुनघरको ग्वालो थियो तर गाउँभरि ऊ सबको प्यारो थियो।

कसैले उसलाई लुगा दिन्थे। कसैले उसलाई रोटी अनि भात दिन्थे। जाँड त जसले पनि एक बौंता दिइहाल्थ्यो। उसै पनि थारुका घरमा होस् कि अरुका कसैका घरमा जाँड अनिवार्य संस्कारजस्तै थियो गाउँमा। त्यसमाथि पनि हामी ‘पर्वत्या’ भन्दा त्यो गाउँमा थारुहरू नै थिए।

बाहुनका खेतबारी जोत्ने पनि थारुहरू नै थिए। उनीहरूका गाईभैँसी स्याहार्ने पनि थारुहरू नै थिए। बाहुनका बच्चाबच्ची हुर्काउने पनि थारुहरू नै थिए।

बाहुनको धेरै जग्गाजमिन थियो। हाम्रो केही पनि थिएन। त्यसैले हामीले पनि बाहुनकै खेतबारी अधिया लगाथ्यौं। हरेक बाली आधा-आधा बाँड्नेगरी।

बाहुनका सय विघाभन्दा धेरै खेतबारी हामी ‘पर्वत्या’ अनि थारुहरूले बाँडेर जोत्थ्यौं। धेरै परिवार हुनेहरू वा सक्नेहरूले धेरै नै खेतबारी जोत्थे। नसक्ने हाम्रोजस्ता थोरै परिवार भएकाहरूले थोरै जोत्थ्यौं।

तर, हाम्रा बा अलि ‘सामन्त’ टाइपका थिए। आफ्नो खेतबारी त थिएन। न कुनै जग्गाजमिन। तर, पनि हाम्रा बालाई जिम्दारको पारा देखाउने शोख थियो।

त्यही भएर उनले बाहुनको विघौं खेत अधियामा लिएका थिए। अनि चार-पाँच जना ‘हली’ राखेर आफू भने खेतको आलीमा रेडियो सुनेर उपरखुट्टी लगाएर बस्थे। हामी ती हली अनि रोपाराहरूलाई खाना र अर्नी पुर्‍याउन खेतमा जान्थ्यौं। गोरुलाई डोकामा घाँस लगिदिन्थ्यौं। कुनै हलीले अर्नी मीठो भएन भनेपछि बाले हाम्लाई लठ्ठीले हान्थे।

म कक्षा सातमा पढ्थें। अलि ‘क्रान्तिकारी’ पारा आउँदै थियो। माओवादीका धेरै किताबहरू पढेर पनि हो कि!
त्यो बेला भर्खर बर्खा सुरु हुँदैथियो। हाम्री आमा बाहुनको घरमा धानको बिऊ लिन गइछन्। त्यो बेला बाहुनका लागि भनेर सबै अधियाराहरूले तिल्कीको धान(बाहुनले खाने मसिनो चामलका लागि) रोपिदिन पर्थ्यो। नत्र धेरै खेतमा अलि मोटो चामल आउने विन्देश्वरी नै हुन्थ्यो।

हाम्री आमाले पनि बाहुनसँग अलि धेरै तिल्कीको धान लगाउने भनिछन्। अनि बाहुनीले आमालाई हप्काएर पठाइछन्। आमा रुँदै घर फर्किएपछि मैले त्यो मोटो धानको बिऊजति सबै लगेर बाहुनको आँगनमा छितरीदिएँ।

यो यति ठुलो बबाल होला भनेर मैले सोचेकै थिइनँ। गाउँभरि बबालै भएछ। कालेले जिम्दारसँग जोरी खोज्यो भनेर अगुवाले सबलाई खलियानमा बोलाएछन्। अनि त्यहाँ बाहुनले हामीलाई खेतबारी नदिने निर्णय सुनाएछन्। हाम्ले जोत्ने जमिन छुट्यो।

त्यसपछि बाले मलाई घरबाट निकालिदिए। अहिलेसम्म पनि घर गएको छैन। अनि बाले पछि अर्को बाहुनको अलिकति खेत लगाएछन्।

घरबाट निस्केपछि कहाँ जाने? त्यो रात त कटाउनै थियो। राति एक्लै हिँडिरहेको थिएँ बेसुरमा। कताबाट ग्वाँतेले देखेछ। अनि मलाई आफैँसँग गोठमा सुतायो। अलिकति जाँड पनि ख्वायो। अर्को दिन बिहानै म त्यहाँबाट निस्किएँ।

माओवादीमा लागेपछि एक रात म बाहुनको त्यो गोठमा लाइट बालेर हेरेको थिएँ ग्वाँते थिएन। त्यही रात हामी ‘सेल्टर’ बसेको घरमा सुनें केही अघिल्लो माघीमा ग्वाँतेको लाश सौंरी कुलामा भेटिएको थियो।

त्यो बेलासम्म माओवादीले बाहुनका सबै जग्गाजमिन कब्जा गरिसकेका थिए। धेरैले गाउँ छोडिसकेका थिए। ग्वाँते सुत्ने गोठ पनि सुनसान थियो।

प्रकाशित मिति: : 2023-10-24 19:28:00

प्रतिकृया दिनुहोस्