भर्खर हतियार बिसाएर संसदीय राजनीतिमा आएको नेकपा (माओवादी) २०६४ सालको संविधानसभा निर्वाचन जितेर पहिलो पार्टी बन्यो।
त्यो परिणाम माओवादीको शान्तिपूर्ण राजनीतिक यात्रालाई आम नागरिकले गरेको एउटा अनुमोदन थियो।
तर, उसले त्यसलाई धेरै समय पचाउनै सकेन। युद्धको धङधङीले माओवादीलाई यसरी हुत्याइदियो कि, केही महिनामै सत्ता छोड्नुपर्यो। त्यसको एउटा मुख्य कारण थियो- सेनाभित्र हात लम्ब्याउन खोज्नु।
त्यो बेला रुकमाङ्गद कटवाल प्रधानसेनापति थिए। माओवादी युद्धको चरमोत्कर्सका बेला सैनिक नेतृत्व सम्हालेका उनलाई माओवादीले खासै अपनाइरहेको थिएन। तर, रोलक्रममै रहेका उनी प्रधानसेनापति हुन कसैले रोक्नसक्ने स्थिति थिएन।
त्यसमाथि पनि भर्खरै दुई सय वर्षभन्दा पुरानो राजतन्त्र सकिएर देश नयाँ व्यवस्था ‘गणतन्त्र’मा गइसकेको थियो र त्यसलाई नेपाली सेनाले पनि स्वीकारिसकेको थियो। दरबारप्रति बफादार रहने नेपाली सेना त्यसमाथि पनि दरबारमै हुर्किएका कटवालप्रति माओवादीको अरुची अस्वभाविक पनि थिएन।
चुनाव जितेको माओवादी। हतियार थन्क्याएर जनसेना ब्यारेकभित्र हुलेका ‘सुप्रिमाे’ प्रचण्ड प्रधानमन्त्री भए। १० वर्षको जंगलयुद्धपछि सिधैं सिंहदरबारको सर्वोच्च पदमा पुगेका दाहालको एउटा सनकले उनीमात्रै होइन, सिङ्गो माओवादीको ओरालो यात्रा अहिले पनि जारी छ।
२०६६ सालको वैशाख २० गते प्रधानमन्त्री प्रचण्डले प्रधानसेनापति रुकमाङ्गद कटवाललाई बालुवाटार बोलाए। त्यो बोलावटको बारेमा कटवाल भने अघिल्ला केही दिनदेखि नै जानकार थिए। उनले ‘हेडक्वार्टर’ अलर्ट गरिराखेका थिए।
उनी भन्दा अघि कटवालपछिका कुलबहादुर खड्कालाई बालुवाटारकै छुट्टै कोठामा राखेर प्रधानसेनापतिको नियुक्तपत्र दिइसकेका थिए। निकैबेर प्रधानमन्त्रीलाई कुरिबसेका कटवाललाई प्रचण्डले ‘अवकास’पत्र दिँदै भनेका थिए, ‘पार्टीका साथीहरूबाट मलाई साह्रै प्रेसर आयो। तपाईंले सहयोग गरिदिनुस् र राजदूत, मन्त्री वा तपाईंले जे माग्नुहुन्छ त्यही दिन्छौं।’
तर, त्यही दिन राति राष्ट्रपति रामवरण यादवले प्रधानसेनापति कटवाल नै रहेको भन्दै कटवालको थमौतीपत्र हेडक्वार्टर पठाए।
कटवाल जोगिए तर प्रचण्डले त्यही कारण राजीनामा दिनुपर्यो। जसको परिकल्पना सायद उनले र उनका ‘साथी’हरूले पनि गरेका थिएनन्।
त्यसको करिब ७ वर्षपछि दोस्रोपटक प्रधानमन्त्री भएका प्रचण्ड अहिले पनि त्यही कुरामा पछुतो गरिरहन्छन्। त्यसलाई उनले आफ्नो राजनीतिक जीवनको एउटा ‘भूल’ भनेर मानिसकेका छन्।
फेरि उही बाटो
पहिलो गाँसमा उछिट्टिएको त्यही ढुङ्गोलाई अहिले फेरि प्रचण्डले समाउन खोजेका छन्। जसले उनलाई र उनको पार्टीको ओराली यात्रा तय गरिदिएको थियो।
परिस्थिति अलि फरक छ यसपालि तर फेरि प्रचण्डले नेपाली सेनाभित्र राजनीतिमात्रै होइन, आफ्नै मान्छे घुसाउने एउटा ‘आत्मघाती’ प्रयास थालेका छन्।
र, यसपालिको पात्र हुन्, यमबहादुर अधिकारी। जसलाई उनले म्याद थपिथपि ‘सहायक रथी’सम्म बनाएका छन्। अझै उनले अधिकारीलाई ‘रथी’ बनाएर प्रधानसेनापतिका रुपमा उभ्याउन चाहिरहेका छन्।
अनि सैनिक संगठनमाथि भइरहेको यो उदाङ्गो राजनीतिक हस्तक्षेपलाई चुपचाप शीरोपर गर्दै प्रधानसेनापति प्रभुराम शर्मा भने विभिन्न बहानामा एकपछि अर्को विदेश भ्रमण गइरहेका छन्।
यही असोज १ गतेदेखि अनिवार्य अवकाश पाउनैपर्ने एक जना माओवादीनिकट सैनिक अधिकारीको जबर्जस्ती म्याद थमौती गरेपछि नेपाली सेना अहिले विवादमा छ।
त्यो थमौती प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको ठाडो निर्देशनमा भएको सैनिक स्रोत बताउँछ।
माओवादीको ‘जनमुक्ति’ सेनाबाट नेपाली सेनामा समायोजन भएर सबैभन्दा माथिल्लो पदमा पुगेका एकमात्रै सैन्य अधिकारी थिए, यमबहादुर अधिकारी।
तीन वर्षअघि नै अवकाश पाउनुपर्ने अधिकारीलाई तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीले सेनामा हुँदै नभएको पद सिर्जना गरेर ‘सहायक रथी’मा बढुवा गरी थमौती गरिदिएका थिए। त्यो माओवादी र एमाले मिलेर नेकपा भएको थियो र त्यसका एउटा अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड नै थिए।
त्यो थपिएको म्याद असोज १ गते सकिँदै थियो। तर, अहिले प्रचण्ड नै प्रधानमन्त्री भएका बेला फेरि अधिकारीलाई त्यही पदमा थमौती गर्ने निर्णय भएपछि अहिले सैनिक संगठनभित्र असन्तुष्टि त बढिरहेको छ। त्यो निर्णयको नागरिकस्तरमा पनि व्यापक आलोचना भइरहेको छ। उनै अधिकारीले उपरथी प्रेम शाहीको मुद्दामा ढिलाइ गराउन कल्याणकारी कोषमार्फत् विशेष भूमिका खेलेका थिए। हतियार खरिदको विषय नमान्दा र उपरथी शाहीको मुद्दामा लाग्ने भनिएको खर्च कोषमार्फत् गर्न नमान्दा सहायक रथी हिक्मत बिष्टलाई २४ घन्टा भित्रै लखेटिएका थिए।
उनलाई स्थापित गर्नका लागि त्यो बेला सैनिक संगठनभित्र वन तथा पर्यावरण निर्देशनालयसमेत बनाइएको थियो। त्यसअघि यो निर्देशनालय नै सेनाभित्र थिएन। पूर्व सेनापतिका भनाइअनुसार सेनामा विशेष पद भन्ने नै हुँदैन। यो भष्ट्राचाजन्य कार्य हो।
युद्ध विसर्जनपछि देशका विभिन्न ठाउँमा ब्यारेक बनाएर माओवादीले राखेका १९ हजारभन्दा धेरै ‘जनमुक्ति’ सेनामध्ये करिब ३ हजार १३१ जनाले नेपाली सेनासँग समायोजनमा जान चाहेका थिए।
तीमध्ये लगभग १ हजार ३१३ जनामात्रै नेपाली सेनामा छनोट हुनसके।
यीमध्ये अहिलेसम्म १३ जना सेनानी, ३० जना सह-सेनानी, २४ जना उपसेनानी छन्। र, अरु केही अधिकृत अनि जवानहरू छन्।
यीमध्ये नेपाली सेनाको सबैभन्दा माथिल्लो पदमा पुग्ने एकमात्रै पूर्वलडाकु यमबहादुर अधिकारी हुन्।
एक सैनिक अधिकारीका अनुसार युद्धकालमै अधिकारी पक्राउ परेका थिए। उनलाई त्यो बेला धादिङको छ बाहिनी बैरेनीले पक्राउ गरेको थियो। त्यो बेला उनको युद्धकालीन नाम ‘प्रतीक्षा’ थियो।
सैनिक हिरासतका बेला उनले ‘आत्मसमर्णप’ गरेर सुराकी बनेका थिए। माओवादीविरुद्ध सुराकी गर्ने उनी पछि ‘पिसाब फेर्ने’ बहानामा भागेका थिए।
त्यसपछि तत्कालीन उपसेनानी दिलबहादुर गुरुङलाई जंगीअड्डाले ‘नसिहत’ दिएको थियो।
र, भागेकै दिन यमबहादुर अधिकारी ‘प्रतीक्षा’ले एक जना तामाङ थरका व्यक्तिको हत्या गरेका थिए। उनीविरुद्ध हत्या अभियोगको फाइल अहिले पनि मानवअधिकार आयोगमै छ।
माओवादीको तयारी
प्रधानमन्त्री प्रचण्डको ठाडो आदेशलाई शीरोपर गर्दै उनको म्याद थप गर्न सरकारलाई सिफारिस लेखेका प्रभुराम शर्माले अहिले अधिकारीलाई प्रचण्डसँगको सिधा सम्पर्कसूत्रका रुपमा प्रयोग गरिरहेका छन्।
सैनिक प्रवक्ता उनलाई अहिले ‘जगेडा’मा राखिएको दाबी गरिरहेका छन्। तर, सैनिक उच्च स्रोतका अनुसार प्रधानसेनापति प्रभुराम शर्मा बेलायत भ्रमण जानुअघि अधिकारीलाई सैनिक सचिवको जिम्मेवारी दिइसकेका छन्।
हाल उनी तालिम विभागमा काज लिएर खटिएका छन्।
त्यो भनेको उच्चतहको अधिकृतका लागि आवश्यक पर्ने वृद्धि विकासका लागि हो।
आगामी वर्ष अर्थात्, २०८१ को भदौमा प्रधानसेनापति प्रभुराम शर्माको अनिवार्य अवकाश हुनेछ। उनीपछिका रथी सरोजविक्रम राणा पनि अब बिदा बस्ने बेला भइसकेको छ। उनको म्याद थप्न पनि शर्माले सरकारलाई सिफारिस गरेनन्।
यसअघि म्याद थमौती गर्नुपर्ने महासेनानी महेन्द्रजंग शाहलगायतका सैनिक अधिकारीहरूलाई पनि उनले म्याद थप्न रुचाएनन् र सिधै अवकाश पत्र दिए।
सरोजविक्रम राणापछिका सीताराम खड्का पनि लगभग शर्मासँगसँगै अवकाशमा जानेछन्। बाँकी रहेका उपरथी ताराध्वज पाण्डेलाई पनि घर पठाएर अर्का उपरथी अशोक सिग्देललाई शर्माले प्रधानसेनापति बनाउँदैछन्। र, सिग्देलपछि रिक्त भएको पदमा सहायक वा उपरथी बनाएर पूर्वलडाकु अधिकारीलाई नै बढुवा गर्ने तयारी जंगीअड्डाको छ।
‘अहिलेका लागि होइन। यसपालिको रोलक्रम मिच्न अलि गाह्रो पर्नेछ। तर, अर्को पटकका लागि वा कुनै पनि बेला यम अधिकारीलाई नै प्रधानसेना बनाउने माओवादीको रणनीति हो’, अवकाशप्राप्त एक जना सैन्य अधिकारी भन्छन्, ‘माओवादीको यो चाललाई प्रधानसेनापति शर्माले आँखा चिम्मिएर सहीछाप गर्दै जानुभएको छ।’
उनका अनुसार यस्तो भयो भने नेपाली सेनाको इतिहासमै ठुलो ‘विद्रोह’ हुनेछ र भाँडभैलो मच्चिनेछ।
‘उनको म्याद थपिनु नै गैरकानूनी काम हो। संविधानमै व्यवस्था नै नगरिएको अवस्थामा पनि यमबहादुरलाई यसरी पटक-पटक म्याद थप गर्दै राखिरहनुका पछाडि सरकारको अझ भनौं माओवादीको नियत त प्रष्ट देखिन्छ नि’, उनी भन्छन्, ‘सैन्य समायोजनको मापदण्ड, त्यो बेलाको अन्तरिम संविधान वा कहिँकतै यस्तो लेखिएको छैन। अहिले नभए कुनै न कुनै दिनका लागि प्रधानसेनापति बनाउने भनेरै माओवादी सरकारमा भएका बेला यस्तो खेल भइरहेको छ।’
विरोध
उनको म्याद थपिएको विषयमा सत्तापक्ष र प्रतिपक्ष सांसदहरूले पटक-पटक सरकारसँग जवाफ मागिसकेका छन्। तर, सैनिक नेतृत्वले भने उनको बचाऊ गरिरहेको छ।
आइतबार बिहानै नेपाली काँग्रेसका नेता शेखर कोइरालाले सेनाभित्र राजनीतिक चलखेल नगर्न प्रधानमन्त्री प्रचण्डलाई चेतावनी दिएका छन्।
सहायक रथी यमबहादुर अधिकारीको पदावधि थप्ने निर्णयप्रति असन्तुष्टि जनाउँदै नेता कोइरालाले पूर्वलडाकुका लागि नियमको दुरुपयोग गर्ने चलखेल स्वीकार्य नहुने बताएका हुन्।
‘नेपाली सेनाजस्तो राष्ट्रिय सुरक्षासँग जोडिएको र सधैं राजनीतिबाट अलग रहेको संस्थामा माओवादीको पूर्वलडाकुका लागि नियमको दुरुपयोग गर्ने चलखेल स्वीकार्य छैन,’ काेइरालाले सामाजिक सञ्जालमा लेखेका छन्।
सेनामा गरिने राजनीतिक चलखेलले दुर्घटना निम्त्याउने हुँदा यस्तो नगर्न उनले सुझाव दिएका छन्।