इजरायलका समकक्षीसँग परराष्ट्रमन्त्रीकाे आग्रह– सम्पर्कविहीन नेपालीको खोजी र शव ल्याउन सहजीकरण गरिदिनुस्

परराष्ट्रमन्त्री एनपी साउदले इजरायलका विदेशमन्त्री एली कोहेनसँग फोनवार्ता गरेका छन्।

मंगलबार दिउँसो भएको टेलिफोनमा कुराकानी मन्त्री साउदले समकक्षी कोहेनसँग हमासको आक्रमणमा ज्यान गुमाएको १० जना नेपाली विद्यार्थीको शव नेपाल ल्याउन सहजीकरण गरिदिन आग्रह गरे।

‘महामहिमज्यू १० नेपालीको मृत्युको खबरले हामीहरूलाई स्तब्ध बनाएको छ। उहाँहरू विश्वविद्यालयका विद्यार्थी हुनुहुन्थ्यो,’ कुराकानीका क्रममा साउदले भने, ‘अर्न एन्ड लर्न कार्यक्रम अन्तर्गत उहाँहरू इजरायल जानुभएको थियो। दुःखद घटनाले गर्दा उहाँहरूका घरपरिवारका सदस्यहरू दुःखी र चिन्तित हुनुहुन्छ।’

मन्त्री साउदले आक्रमणमा परी घाइते भएका चार जना नेपाली नागरिकको स्वास्थ्य उपचार र हेरचाहमा सहयोग गरिदिन पनि इजरायल सरकारसँग आग्रह गरे।

उनले आक्रमणपछि सम्पर्कविहीन भएका एक नेपाली नागरिकको अवस्था पत्ता लगाइदिन पनि सरकारका तर्फबाट अनुरोध गरे।

‘इजरायलका अस्पतालमा ४ जना नेपालीको उपचार भइरहेको छ। उहाँहरूको उचित स्वास्थ्य उपचार र हेरचाहमा सहयोग गरिदिन पनि आग्रह गर्दछु,’ मन्त्री साउदले भने, ‘एक जना नेपाली अझै सम्पर्कविहीन छन्। उहाँको अवस्था पत्ता लगाउन इजरायल सरकारसँग सम्पूर्ण सहयोग गरिदिन पनि नेपाल सरकार अनुरोध गर्दछ।’  

मन्त्री साउदले इजरायली सेनाले सुरक्षित स्थानमा स्थनानान्तरण गरेका नेपाली नागरिकहरूलाई खानापिनलगायतका आधारभूत आवश्यकताका लागि सहयोग गरिदिन पनि मन्त्री कोहेनसँग आग्रह गरे।

‘अहिलेसम्म अन्य नेपाली सुरक्षित अवस्थामा रहेका जानकारी पाएका छौँ। यद्यपि, उहाँहरूमध्ये धेरै जना बंकरमा बसिरहनुभएको जानकारी प्राप्त भएको छ,’ संवादका क्रममा उनले भने, ‘उहाँहरू खाना र पानी जस्ता आधारभूत आवश्यकताका लागि निरन्तर साथीभाइ र परिवारलाई फोन गरिरहनुभएको छ। यस विषयमा पनि उचित सहयोगका लागि हामीले इजरायल सरकारसँग आशा गरेका छौँ।’ 

बंकरमा बसेका केही नागरिकहरूले सुरक्षित बासस्थानका लागि आग्रह गरिरहेका पनि मन्त्री कोहेनलाई जानकारी गराए। 

‘यी मध्ये केही व्यक्तिहरूले अर्को सुरक्षित वासस्थानका लागि आग्रह गर्नुभएको छ,’ मन्त्री साउदले भने, ‘हाम्रो दूतावासले तपाईंका अधिकारीहरूसँग निरन्तर समन्वय गरिरहनुभएको छ। उहाँहरूको सुरक्षित क्षेत्रमा स्थान्तरणका लागि तपाईंहरूको सहयोग महत्वपूर्ण छ।’

मन्त्री साउदले परराष्ट्र मन्त्रालयले इजरायलमा रहेका नेपाली नागरिकहरूको विवरण संकलन गरिरहेको र विवरण संकलन भएपछि सहजीकरणका लागि इजरायल सरकारसँग आवश्यक सहयोगका लागि आग्रह गर्ने पनि बताए।

‘हामी घर फर्कन चाहने हाम्रा नागरिकहरूको विवरण संकलन गरिरहेका छौँ। पूर्ण विवरण संकलन भएपछि नेपाल सरकार सहजीकरणका लागि इजरायल सरकार समक्ष आवश्यक सहयोगका लागि आग्रह गर्ने छ,’ उनले भने।

कुराकानीका क्रममा मन्त्री साउदले हमास समूहले गरेको आक्रमणबाट भएको धनजनको क्षतिप्रति सहानुभूति व्यक्त गर्दै दुःखद घडीमा नेपाल सरकार इजरायल सरकारसँग ऐक्यवद्ध रहेको पनि बताए।

इजरायली विदेशमन्त्री कोहेनले हमास समूहलाई आतंककारीको संज्ञा दिँदै उनीहरूको आक्रमणमा परी १० जना नेपालीले ज्यान गुमाउनु परेको प्रति समवेदना व्यक्त गर्दै घाइते नेपाली नागरिकको स्वास्थ्य लाभको कामना गरे।

प्रकाशित मिति: : 2023-10-10 17:54:00

प्रतिकृया दिनुहोस्