सरकारले तत्काल इजरायलको कुनै पनि भ्रमण नगर्न आग्रह गरेको छ।
मंगलबार प्रतिनिधिसभाअन्तर्गत अन्तर्राष्ट्रिय सम्बन्ध र पर्यटन समितिकाे बैठकमा परराष्ट्रमन्त्री नारायणप्रसाद (एनपी) साउदले इजरायलमा युद्ध चलिरहेकाे र अवस्था अझै सामान्य नभएकाले भ्रमण नगर्न आग्रह गरेका हुन्।
उनले राजनीतिक तहमा आधिकारिक निर्णयबाहेक तत्काल व्यक्तिगत र पार्टीगत रुपमा इजरायल भ्रमण नगर्न आग्रह गरेका छन्।
मन्त्री साउदले हमास समूहले आक्रमण गरेपछि इजरायलको अवस्था संवेदनशील रहेको जानकारी दिँदै अहिलेको अवस्थालाई राजनीतिकरण नगर्न पनि आग्रह गरे।
‘अवस्था संवेदनशील छ। त्यसैले राजनीतिक तहमा आधिकारिक निर्णय बाहेक व्यक्तिगत, पार्टीगत रुपमा इजरायल भ्रमण नगर्न अनुरोध छ’, उनले भने, ‘यो अवस्थालाई राजनीतिकरण नगरौँ। ’
बैठकमा सांसदहरुले इजरायलमा नेपालीको उद्धारका लागि नेपाल सरकारले गरेको प्रयासको सराहना गर्दै थप कार्य गर्न सुझाएका थिए।