आश्विन १० गते बिहानको समय। आगमन हुँदै थियो सूर्यका किरणको। कमिलाका ताँतीजस्ता मान्छेहरु उकालो चढिरहेका थिए। फाट्दै थियो कुहिरो। उज्यालिँदै थिए, आकाशका किनारहरू। बिहान सबेरै घरबाट निस्केकाहरूको आउने क्रम जारी थियो। डोटी तिजाली निवासी केशव ओझा र म गफ्फिँदै उकालो चढिरहेका थियौँ। उनले सुनाइरहेका थिए, काफली देवता जाँत र तेले लेकका बारेमा रोचक कहावतहरु।
पछिल्लो समय गाडी पुर्याएका छन्, काफलीको मन्दिर छेवैमा। मोटरसाइकल र गाडी दौडिरहेकै थिए। बाटोमा दुई/तीन स्थानमा मान्छेहरु धूप बालिरहेको थिए। केशवले त्यसको अर्थ बताए, ‘सुरुमा एउटै ठाउँमा बाल्थे। जुन ठाउँबाट डडेल्धुरा जिल्लामा पर्ने गन्याप देवताको मन्दिर देखिन्छ। हाल ठाउँ-ठाउँमा बनाएका छन्। जे होस् तिनै गन्याप देवतालाई सम्झिएको हो। काफली, को गाँज र पूजा समाग्री ल्याउँदा तिनलाई सम्झी दमाईहरुले एकछिन सोही ठाउँबाट बाजा बजाउछन्। जसलाई ठोकाउन हान्नु पनि भनिन्छ।’
कसैकसैले काफली र गन्यापलाई कुमार र गणेश पनि भनेका छन्। सोही तिथिमा सोही समयमा पुज्ने गरिन्छ उता गन्याप देवतालाई पनि। सुदूरपश्चिममा काफली र गन्यापको पूजालाई हरेक वर्षको जात्राको सुरुवातको रुपमा पनि लिन सकिन्छ। यी देवताको जात्रापछि सुरु हुन्छ दसैँ पर्व। दसैँकाे भोलिपल्ट थुप्रै ठाउँमा अन्य देवीदेवताको जात्रा मनाइन्छ। तिहार पछाडि त पन्ध्रदिनसम्म लगातार जात्राकै पर्व पर्दछ।
‘लाटाको धामी चुनिएको छ, याे वर्ष त चुर जाने होलो के?’, बाटोमा जिज्ञाषा र उत्सुकताका लयहरु सुनिदै थिए। यहाँ चुर जानु भनेको काफली देवताको जात्राका दिन अग्लो, डरलाग्दो र कठिन भीरबाट धामीले काँपेर हाम फाल्नु भन्ने बुझिन्छ। यसरी माथि मन्दिरबाट धामीले हाम फलेर भीरको बीचमा रहेको एक बित्ताको खुड्किलोमा पलेटी कसेर बस्ने र त्यहाँबाट किनारातिर मान्छे भएको स्थानमा आई उल्लासका साथ पुनः मन्दिर परिसरमा फर्किने कार्य गरिन्छ। उक्त समयमा जाउँ कि नजाउँ भन्ने बाजाको बोल सुनिन्छ। पहेँलो घाम झुल्किेने अर्थात् अस्ताउन थालेको घामका किरणहरुले मन्दिर वरपरको दृश्य निकै सुन्दर र लोभलाग्दो देखिन्छ।
शिखरको अर्थ हुन्छ–पर्वतको सबभन्दा माथिल्लो भाग चुचुरो टाकुरो। तिनै शिखरमा बसोवास गरे काफली र गन्यापजस्ता देवताहरूले। तिनै शक्तिपिठका नामबाट रहन गयो शिखरको नाम पनि– काफली शिखर, गन्याप शिखर आदि। जुन विगतदेखि वर्तमानसम्म आस्थाका सुन्दर गजुर बनिरहेकै छन्। ती शिखरले सिकाएको संघर्ष विगतको इतिहास पनि थियो। मानव सभ्यताको सुन्दर कला पनि थियो। मानव सिकाइको आधार पनि थियो। अनि थियो, औषधि विज्ञानको खजाना पनि।
पूर्वजले यिनै पहाड पुजे, यिनैलाई बोके, यिनकै गोदमा रहेर जिन्दगीका सिँढी तय गरे। उसो त अहिलेको मान्छे पनि यी पहाडबाट अलग हुन सकिरहेको कहाँ छ र। जिन्दगी बचाउने भनेका यस्तै खाले पहाड त हुन्। जहाँ जीवनका तमाम अध्यायहरु पढिन्छन्।
शिखर, शिखरको धुरो, गन्यापको लेक आदि नामले पुकारिने महाभारतको श्रृङ्खलामा पर्ने एउटा खण्ड हो, तेलेको लेक। भूगोलविद्हरूले तेलको खानी भएको कारण यसलाई तेलको लेक भने। तेलको लेक अपभ्रषित भएर तेलेको लेक हुन गयो। कतिपय ठाउँमा पानीमा तेल तैरिरहने र पेटेलियम पदार्थको गन्ध आइरहने कुरा बताउँछन् पुराना दिनका हटेरु र गोठालाहरू। थुप्रै मिथहरुका साथै आफैँमा एउटा इतिहास बोकेको तेले लेकको बढी जसो भूभाग डोटी जिल्लामा र केही हिस्सा डडेल्धुरा जिल्लामा पर्दछ। जुन समुद्री सतहदेखि २६७१ मिटर उचाइमा रहेको छ।
चाररैतिर तालहरु भएको त्यही लेकको एउटा ढिस्कोमा अवस्थित छ काफली देवताको मन्दिर। काफलीसँगै थुप्रै धार्मिकस्थलहरु पर्दछन् यो लेकभित्र। जसअन्तर्गत पर्ने केही प्रमुख धार्मिकस्थलहरु गन्याप केदार, घण्टेश्वर, पशुपति, मल्सिमी, उदैनी केदार आदि हुन्।
काफलीलाई कतिपयले शिव-पार्वती पुत्र कुमारको संज्ञा दिएका छन्। केही जानकारहरुकाअनुसार विगतमा डोटी राजाका कुल देवता यिनै भएको र त्यतिबेला यिनलाई अस्युँ देवता पनि भन्ने गरिएको कुरा सुन्नमा आउँछ। तर, यिनका बारेमा खासै अध्ययन अनुसन्धान हुन सकेको देखिँदैन। सुदूरपश्चिममा अध्ययन अनुसन्धानको पर्खाइमा रहेका थुप्रै विषयहरु छन्। चासो छैन यहाँका कुनै स्थानीय तहलाई।
कथा भन्छ: वर्षौअघि सान र जैभान भन्ने महरा थरका दुई जना दाजुभाइ थिए। काफली कोट भन्ने ठाउँमा उनीहरुको भैँसी गोठ थियो। दुदेगली भन्ने गोठालो थियो। गोठमा निकै नै दुधालु भैँसी थियो तर त्यो भैँसीले गोठालोलाई दूध दिँदैनथ्यो। वन जाने बेलामा स्तन भरिएका देखिन्थे भने घर फर्किँदा स्तन परालका त्यान्द्राजस्ता देखिन्थे। धरै दिनसम्म यस्तै नतिजा देखिएपछि एक दिन गोठालाले भैँसीको चियो गरेछ।
निङालोको घारीको बीचमा एउटा लिङ्ग देखिएछ। त्यही लिङ्गमाथि भैँसीले दूधका धारा लगाउन थालेछ। उक्त दृश्य देखेपछि रिसले मुरमुरिँदै गोठालाले बन्चरो झिकी उक्त लिङ्गमाथि प्रहार गरेछ। केही बेरपछि त्यस ठाउँमा रगतको खोलो बग्न थालेछ। रगत देखेर आत्तिएरको गोठालोले डोटीस्थित सेल्पुङा गाउँमा पुगी महारालाई उक्त घटनाको इतिब्रतान्त सुनाएछ। तत्पश्चात घटनास्थल पुगेका महाराले अनवरत रुपले उक्त लिङ्गबाट रगत बगेको देखेपछि डराएछन्। के गर्ने के नगर्ने भन्ने विषयमा अन्यौलता छाइरहेको बेलामा एक्कासी आकाशबाणी भएछ: जे जस्तो भयो भैसक्यो अब मलाई कैलाशमा पुर्याऊ। उक्त कुरा सुनेपछि महाराले गोठालाको गादो निकाली सो गादोमा काफलीको उक्त लिङ्ग बाँधी नाम्लोले बोकेर शिखरतिर लागेछन्। लिङ्गलाई शिखरको चुरमा राखी ठाउँ हेर्न पल्लो चुरतिर लागेछन्। त्यो चुरमा राख्ने सोच बनाई फर्केछन्। त्यहाँ आउँदा लिङ्ग त्यही ठाउँमा गाडिएछ। उठाउँदा सकेन छ। फेरि आकाशबाणी भए छ, ‘म यहाँ बसिसकेँ मेरो खून तिम्रो जिउमा भिजिसक्यो। मेरो सम्पूर्ण व्यवस्था तिमीले नै गर्नू। पूजाआजाका लागि गैरीनगरी जैदेवको जिम्मा दिनू।’
यति भएपछि महारा फर्केर गैरीनगरीका जैदेब बाहुनसँग सबिस्तार व्याख्या गर्दै भन्न थालेछन्, ‘अब हजुरले त्यो देवताको संरक्षण गर्नुहोस्। हजुरजस्ता ब्राह्मणलाई छोडेर पूजाआजाको जिम्मा कसलाई दिउँ।’
ती बाहुन पनि मञ्जुर भएछन्। बाह्रैमास शिखर जान नसकिने हुँदा बिज मन्दिर भन्ने भणाँरको स्थापना गरिएछ। अंगरक्षकका रुपमा पूर्वपट्टि ढोकामा लामारिथि र पश्चिमको ढोकामा सातसाङ्ले नाम गरेको देवताको स्थापना गरिएछ। यसरी काफलीको भणाँर देकुरालीमा राखीयो। देवता कुर्ने हुनाले नै उनीहरुको बासस्थान भएको गाउँको नाम देकुराली हुन गयो।
भाद्र चतुदर्शीका दिन पुजिने अर्थात् जाँत मनाइने काफली देवताको जाँत यसपल्ट मलमासले धकेलेर आश्विनमा पुर्यायो। लाटो देवताको पुरानो धामीले धर्ती त्यागेपछि नयाँ धामी नचुनिएको पनि धेरै वर्ष भइसकेको थियो। यसै वर्ष चुनिएको लाटो देवताको नयाँ धामी चुर गएको हेर्नेको भीड निकै ठुलो थियो। काफली देवताको पूजाआजा र जात्राको प्रचलन, विभिन्न देवताका धामीहरुले त्यहाँ निर्वाह गर्ने भूमिका हेर्दा कुशल र सक्षम प्रजातान्त्रिक राज्यव्यवस्था र शासकको झल्को दिन्थ्यो। जुन कुरा सिंहदरबारमा बस्ने महारथीहरुले सिक्न सकेका छैनन्। काफलीको धामी गद्दीको धनी अर्थात् अधिपति मानिन्छ। उसले चुपचाप सबैका क्रियाकलापहरु नियालीरहेको हुन्छ। आँगनमा पहिलोपल्ट नृत्य प्रस्तुत गर्नुका साथै चुर जाने जिम्मेवारी लाटा देवताका धामीको हुन्छ। यसरी धामीदेखि बिभिन्न कारेबारेहरुका काम कर्तव्यहरु तोकिएका छन्। कैंयौं गाउँले केही न केही जिम्मेवारी पाएका छन्। जुन कार्य सबै कुशलतापूर्वक निर्वाह गरिरहेका हुन्छन्। जात्रा धार्मिक, मनोरञ्जनात्मक मात्र नभएर बडो रोचक र सिकाइयोग्य पनि थियो।
बर माग्ने हेतुले ब्रत बसेर दिनभर यात्रारत पाइलाहरु थुप्रै देखिन्छन्। साथै तेर्त बस्ने पनि देखापर्दछन्। तेर्तको अर्थ हुन्छ तीन दिनसम्म निराहार रहेर जात्रामा जानु। सदियौदेखि निकै ठुलो शक्ति पीठका रुपमा हेरिन्छ काफलीलाई। रोल्पा रुकुमतिरका महाराहरु पनि डोटीबाटै बसाइसराइ गरेका काफली देवताकै कारेबारे भएका कारण तिनले उतै काफलीको मन्दिर स्थापना गरी कुलदेवताको रुपमा पूजा गर्ने गरेको कुरा सुन्नमा आउँछ।
बिभिन्न संस्कार, संस्कृति र सभ्यताका अनुयायीहरु आफ्नो मान्यता र चालचलनअनुसार समाजमा गतिविधि गरिरहेका छन्। जुन एक पिँढीबाट अर्को पिँढीमा सर्दै जान्छन्। हामीले अवलम्बन गर्दै आएका चालचलन र संस्कारका पाटाहरूले केही हदसम्म स्वाभिमानपूर्वक बाँच्न सिकाउँछन्। नैतिकताको पाठ सिकाउँछन्। अनि आपसमा सहयोगी भावना र भाइचाराको सम्बन्ध बलियो बनाउन महत्वपूर्ण भूमिका निर्वाह गरिरहेका हुन्छन्।
सदियौँदखि अगाल्दै आएको छ मान्छे जन्मदेखि मृत्युसम्मका संस्कारहरू अनि मनोरञ्जनका थुप्रै गतिविधिहरु। सबैका आ-आफ्नै रीतिरिवाज लवाइखवाइ, संस्कार संस्कृतिका लयहरु सुनिन्छन्। यिनै चालचलन मूल्यमान्यता र संस्कारहरूले सजिएको आँगनमा मान्छे जिन्दगीको घाम तापिरहेकै छ अनि गोरेटोमा पाइला चलमलाइरहेकै छ। यस्ता अधिकांश आँगन र गोरेटाहरु बोकेको छ पहाडले।
अबको मुलुकको अर्थतन्त्रमा सुधार ल्याउने भनेकै पर्यटन हो। आन्तरिक र बाह्य दुवै थरी पर्यटकलाई तान्न सक्ने हो भने व्यक्ति समाज र राष्ट्रको आर्थिक स्थितिमा छलाङ मार्न सकिने कुरामा दुईमत छैन्। प्रचारप्रसार र उचित व्यवस्थापन गर्न सक्यो भने तेलेको लेक अनि काफली देवताको जात्राले पर्यटकीय दृष्टिकोणले निकै नै सम्भावना बोकेका छन् भन्दा कुनै अत्युक्ति नहोला।
यस पटकको काफली जात्रा एक अविष्मरणीय बन्यो। थुप्रै आफन्तहरु भेटिए। मनमा नौलो अनुभव र अनुभूतिले एक प्रकारको तरङ्ग पैदा गरिरह्यो। बेलाबखत यस्ता विभिन्न क्षेत्रमा घुम्ने मौका मिलिरहेकै हुन्छ। हरेक क्षेत्रमा पुग्दा हरेकका गतिविधि नियालिरहन मन लाग्छ। धार्मिक क्षेत्रमा पुग्दा आस्थाले शिर झुकेको पत्तै पाउँदिनँ। तथापि, न कहिल्यै अरुजस्तो कट्टर आस्तिक बन्न सकेँ। न त नास्तिक नै बन्न सकेँ। मात्र टोलाइरहेको हुन्छु जिन्दगीका मोडहरूमा। रजनिसको भनाइ कतै पढेको थिएँ– ‘मनुष्य स्वयम्मा एक बिमारी हो।’ रजनिसले भन्न खोजेको बिमारको उपचार परमात्मामा लीन हुनु भन्ने हुन्छ। मजस्तो सामान्य मनुवासँग त्यो क्षमता कहाँ हुनु। अनि सम्झिन्छु फिराक गोरखपुरीका यी पंक्ती पनि मौतका भी इलाज हो शायद, जिन्दगीका कोइ इलाज नही। गोरखपुरीले भनेझैँ कैयौँ उपचारविहीन जिन्दगीहरूको भीडमा काफली जात्राको त्यो दिनको दृश्य क्यामेरामा कैद गर्न लेकमा तलमाथि दौडिरहेँ। भौतारिरहेँ यौटा बिरामी यात्री बनेर मध्यरातसम्म। अनि सुनिरहेँ, खोजिरहेँ अफूजस्तै कैयौँ बिमारी जिन्दगीको कथा। तेले लेक र काफली देवताको कथा।