महिला प्रहरीमाथि यौन दुर्व्यवहार गरेकाे आरोप लागेका नेपाल प्रहरीका वरिष्ठ उपरीक्षक (एसएसपी) योगबहादुर पालले राजीनामा दिएका छन्।
एसएसपी पालले शनिबार राजीनामा बुझाएकाे प्रहरी प्रवक्ता (डीआईजी) कुवेर कडायतले बताए। उनका अनुसार राजीनामा स्वीकृतिका लागि गृह मन्त्रालयमा पठाइएको छ।
सहायक हवल्दारमाथि यौन दुर्व्यवहार गरेको आरोप लागेपछि प्रहरी प्रधान कार्यालयको सिफारिसमा गृह मन्त्रालयले यसअघि नै निलम्बन गरेको थियाे।
उनले कञ्चनपुरको प्रहरी प्रमुखको रूपमा कार्यरत रहँदा गत १९ जेठमा सोही कार्यालयमा कार्यरत एक महिला प्रहरीलाई यौन दुर्व्यवहार गरेका थिए।
घर बिदामा जाने तयारीमा रहेकी महिला हवल्दारलाई सञ्चारसेटबाटै आफूकहाँ पठाइदिन भनेका थिए। आदेशपछि हवल्दार एसएसपीको निवास गएकी थिइन्। त्यहाँ एसएसपी पालले ‘तिमी मलाई मन पर्याे, आज गुड फ्राइडे मनाऔं’ भन्दै दुर्व्यवहार गरेका थिए।