दुर्घटना न्यूनीकरण गर्न ट्राफिक प्रहरी कार्यालय धादिङले अन्तर्क्रिया कार्यक्रम गरेकाे छ।
जिल्ला ट्राफिक कार्यालय धादिङले यातायात समितिका अध्यक्ष, व्यवस्थापक, सञ्चालक तथा प्रतिनिधिहरुसँग परिचयात्मक तथा अन्तर्क्रिया कार्यक्रम गरेकाे हाे।
जिल्ला ट्राफिक कार्यालय धादिङ प्रमुख प्रहरी निरीक्षक रविन्द्र कुमार श्रेष्ठले दुर्घटना न्यूनीकरण गर्न जिल्लामा विशेष अभियान तथा सचेतना अभियान थाल्नी गरेकाे बताए।
अन्तर्क्रियामा नजिकिँदै आइरहेको नेपालीहरुको महान पर्वहरु दसैँ, तिहार तथा छठ पर्वलाई लक्षित गरी सुरक्षित तबरले यात्रुहरुलाई सहज रुपमा गन्तव्यसम्म पुर्याउने, अनिवार्य भाडादर यात्रुले देख्ने ठाउँमा टाँस गर्ने, तोकिएको भन्दा बढी भाडा नलिने र सिट क्षमताभन्दा बढी यात्रु नबोक्ने गर्नुपर्ने जस्ता महत्वपूर्ण विषयमा छलफल भएकाे छ।
धादिङ जिल्ला भएर चल्ने विभिन्न यात्रुबाहक र मालबाहक सवारी साधनहरूकाे पार्टपुर्जा सुरक्षित हुनुपर्ने, क्षमताभन्दा बढी यात्रुहरू चढाउन नहुनेलगायत विषयमा छलफल भएकाे थियाे।
त्यस्तै सवारी दुर्घटना न्यूनीकरण गर्ने उद्देश्यले धादिङकाे धुनिवेशी नगरपालिका-९ खत्रीपौवास्थित त्रिभुवन लोकमार्गमा चालक, सहचालक, पैदलयात्री तथा यात्रुहरुले ध्यान दिनुपर्ने कुराहरु उल्लेखित पर्चा पम्प्लेट वितरण गर्नुका साथै सवारी चालक सहचालकहरुलाई ट्राफिक नियमसम्बन्धी प्रशिक्षण प्रदान गरिएको छ।
अस्थायी ट्राफिक पोस्ट खत्रीपौवाका इन्चार्ज प्रनानि निरज गौतमसहितको टोलीले दुर्घटना न्यूनीकरण अभियान सञ्चालन गर्दै आइरहेकाे छ।