एक साताअघि २० राष्ट्रको समूह (जी–२०) को बैठक दिल्लीमा सम्पन्न भयो। अफ्रिकन युनियनलाई स्थायी सदस्यता प्रदान गरिएपछि अब यो समूह जी–२१ को रुपमा परिणत भएको छ। जी–२० का अध्यक्ष नरेन्द्र मोदीले आउँदो वर्ष ब्राजिलमा जी–२१ को बैठक हुने घोषणा गर्यो।
विगतको बैठकको तुलनामा दिल्लीको बैठकले फरक ढङ्गले सामूहिक सन्देश दिन सफल भएको छ। गत वर्ष इन्डोनेशियाको राजधानी बालीमा सम्पन्न जी–२० को बैठकपछि जारी गरिएको साझा प्रस्तावमा रुसलाई आक्रामकता लेख्नुका साथै निन्दा पनि गरिएको थियो। अहिले पनि रुस र युक्रेनबीच युद्ध जारी छ।
दिल्ली समीटको साझा प्रस्तावमा ‘युक्रेनमा युद्ध’ लेखिएको छ। जब कि पश्चिमी मुलुकहरुले ‘युक्रेनको विरुद्ध युद्ध’ लेख्नुपर्ने इच्छा राखेको थियो। त्यसरी उल्लेख नगरी ‘युक्रेनमा युद्ध’ लेखेर साझा प्रस्ताव जारी हुँदा रुस-युक्रेनसँग युद्ध गरेको आरोपबाट जोगिएको छ।
पहिलोपल्ट पश्चिमा राष्ट्रहरुको सो समूहको बैठकमा एकाधिकार नरहेको पुष्टि भयो। नरेन्द्र मोदीले यो मञ्च आर्थिक क्षेत्रसँग सम्बन्धित रहेको र अब विश्वयुद्ध नचाहेकाले सबैको सहमतिमा साझा प्रस्ताव जारी हुनुपर्ने सुझाव राखेको थियो। यसरी साझा प्रस्ताव जारी भएकाले मोदीको कूटनीतिक सफल भएको प्रष्ट हुन्छ।
समग्रमा हेर्दा भारतका साथै प्रधानमन्त्री मोदीको समेत उचाई बढेको देखिन्छ। रुसको विदेशमन्त्री सेर्गेई लावरोफले आयोजित पत्रकार सम्मेलनमा साझा प्रस्तावको प्रशंसा गर्नुका साथै भारतप्रति आभार प्रकट गर्दै ‘भारतले जी–२० लाई राजनीतिकरणबाट बचाएको’ भनेर प्रतिक्रिया दिएकी छन्।
अर्कोतर्फ, भारतले उक्त बैठकमार्फत विश्वसामु आफ्ना प्राचीन, मध्यकालीन इतिहासका धरोहर, एतिहासिक वस्तुहरु एवम् संस्कृतिको बारेमा अवगत गराएको थियो। सनातन धर्म संस्कृतिको मूल उद्देश्य ‘बसुधेव कुटुम्बकम’ मूल मन्त्रलाई आत्मसात गर्दै ‘एक पृथ्वी, एक परिवार र एक भविष्य’ नाराका साथ जी–२० को बैठक सम्पन्न भयो।
दिल्लीको प्रगति मैदानमा आयोजित सो सम्मेलनका लागि तयार पारिएका मण्डपममको अग्रभागमा आध्यदेव महादेवको ‘नटराज’ रुपको मूर्ति राखिएको थियो। भित्री भागमा योगको विभिन्न आसन चित्रित गरिएको थियो। १८ मेट्रिकटन वजन र २८ फिट उचाईको नटराज निर्माणमा सात महिना लागेको थियो। अष्टधातुले बनेको सो मूर्ति रु १० करोडको लागतमा तयार भएको हो। उक्त नटराजको मूर्तिको सबैको लागि आकर्षणको केन्द्र बनेको थियो।
यसका साथै, शङ्ख राखिएको थियो। हिन्दू धर्ममा शङ्खको धार्मिक महत्व छ। निर्माण गरिएका मण्डपममा हुबहु शङ्खकै आकारमा निर्माण गरिएको थियो। कोनार्क चक्रले पाहुनाहरुलाई आकर्षित पारेको थियो।
अर्कोतर्फ नालन्दास्थित विश्वको पहिलो विश्वविद्यालयको बाँकी बचेको अवशेषको तस्बिर सजाइएको थियो। सातौँ शताब्दीमा मोहम्मद खिलजीले नालन्दाको सो विश्वविद्यालयमा आगजनी गराउँदा लगातार ६ महिनासम्म पुस्तकहरु जल्दै रह्यो। हिन्दू र बौद्धधर्मका लाखौँ पुस्तकहरु भवनको अधिकांश भाग जलेर नष्ट भएको थियो। आगो निभाउने कोशिस गर्नेलाई ज्यान मार्ने आदेश जारी गरिएकाले डरले कसैले पनि आगो निभाउन आँट गर्न सकेका थिएनन्।
सन् १९५५ को ४ डिसेम्बरमा १७ दिने भ्रमणमा सउदी अरबका राजा शाह साउद सलमान भारत आउँदा पण्डित जवाहरलाल नेहरु प्रधानमन्त्री थिए। उनले सो अवधिमा बनारससहित आठ वटा सहरको भ्रमण गरेका थिए। सो भ्रमणको अवसरमा बाटोमा पर्ने बनारसका सबै मन्दिरलाई कपडाले छोप्न लगाइएको थियो। उनको भ्रमणको क्रममा बाटोको सबै मन्दिरलाई छोपेको विषय पुनः उजागर भएको छ।
दिल्लीमा आयोजित यस सम्मेलनको क्रममा जति पनि झुग्गी झोपडी छ, त्यसलाई कपडाले छोपिएको थियो। भारतीय काँग्रेसले यो विषय उठाएपछि सोको प्रतिउत्तरमा भारतीय जनता पार्टीले सन् १९५५ को घटना स्मरण गराएको देखिन्छ। सउदी राजाको नजर मन्दिरमाथि परेपछि कतै अन्यथा नसम्झुन् भनेर नेहरुले मन्दिरलाई छोप्न लगाएको थियो।
समयले कोल्टो फेर्यो, अहिले मण्डपमको अग्रभागमा भगवान शिवको नटराजको मूर्ति नै सम्मानस्वरुप राखिएको थियो। उडिसाको सूर्य मन्दिरमा अवस्थित कोनार्क अर्थात समय चक्रको सामुन्ने र नालन्दा विश्वविद्यालयको अवशेषको तस्बिरसमक्ष सबै विदेशी पाहुनाहरुलाई राष्ट्रपति मुमू र मोदीले स्वागत गरेका थिए। फोटो सेसनपनि सो ठाउँमा भएको थियो।
उक्त कोर्नाकलाई समय चक्र र सूर्य घडी पनि भनिन्छ। जतिखेर घडीको आविष्कार पनि भएको थिएन, उतिखेर पत्थरले सो कोनार्क निर्माण गरिएको थियो। उक्त कोनार्कमा सात घोडा र १२ पाङ्ग्रा छ। सात घोडालाई सात दिन र १२ पाङ्ग्रालाई १२ महिनाको रुपमा गणना गरिन्छ। चारवटा पाङ्ग्राले समय बताउँछ। आठ पाङ्ग्राले समयको गणना गर्छ। एक पहर बरावर ३ घण्टा अर्थात आठ पाङ्ग्राले २४ घण्टालाई जनाउँछ।
पत्थरले बनेको उक्त कोनार्क घडीमा सूर्यको पहिलो किरण परेपछि उसको छायाको आधारमा समयको गणना गरिन्छ। सो कारणले यसलाई ‘सूर्यघडी’ पनि भनिएको हो। ८५० वर्ष पहिले अर्थात सन् १२५५ मा सो घडी निर्माण गरिएको थियो। अहिले पनि सो घडीको माध्यमबाट समयको जानकारी लिने गरिन्छ।
उक्त घडीको १२ वटा पाङ्ग्रा बनाउनमा १२ वर्ष लागेको थियो। उडिसाको गङ्गा राजवंशका राजा नरसिंह देव प्रथमले निर्माण गराएको थियो। १२ पाङ्ग्रालाई १२ राशि चक्रको रुपमा पनि वर्णन गरिन्छ। सूर्य मन्दिर अद्भुत शिल्प कलाको उपयोग गरेर निर्माण गरिएको छ। त्यो मन्दिरमा माथिल्लो भाग र सतहमा चुम्बक जडान गरिएको थियो। त्यसकारणले सूर्यदेवको मूर्ति हावा झुण्डिरहेको देखिन्थ्यो।
मन्दिरको माथिल्लो भागमा ५१ हजार किलो चुम्बक राखिएको थियो। सो चुम्बकको कारण सूर्यदेवको मूर्ति हावामा झुण्डिइ रहन्थ्यो। पूर्तगालीहरुले मन्दिरमाथि आक्रमण गरी मूर्तिका साथै चुम्बक लुटेर लगेका थिए। सन् १५०८ मा सुल्तान सुलेमान कुरानीले मन्दिरमाथि आक्रमण गरी धेरै बढी क्षति पुर्याएको थियो। भारत सरकारले १० र २० रुपैयाँको नोटमा सो कोनार्कको तस्बिर अङ्कीत गरेको छ। यसपल्ट मोदीले कोनार्कको महत्वलाई विश्वसामु पुर्याउनमा सफल भएको छ।
बेलायतका प्रधानमन्त्री ऋषि सुनक पनि धेरै बढी चर्चामा रहे। दिल्लीस्थित अक्षरधाम मन्दिरमा नाङ्गो खुट्टाले साधारण पोशाकमा आफ्नी श्रीमतीसहित दर्शन गर्न पुगे। मण्डपममा भलाकुसारीको समयमा कुर्सीमा बसेकी बङ्गलादेशकी प्रधानमन्त्री शेख हसिनासँग कुराकानी गर्न घुँडा टेकेर बसेका थिए। आफूभन्दा बुजुर्गसँग कसरी वार्तालाप गर्नुपर्छ भनेर सुनकमा उच्च संस्कार रहेको स्पष्ट हुन्छ। नयाँ पुस्तामा पनि आफ्ना अग्रजलाई यसरी सम्मान गर्नुपर्छ भनेर सन्देश प्रवाह बुझ्नु पर्दछ। वास्तवमा यो सनातनी संस्कार हो। यो संस्कार देखेर विश्वभर ऋषि सुनकको प्रशंसा भइरहेको छ।
भारतको तीन वटा नाम छ। परापूर्वकालदेखि उक्त भूमिलाई भारत भन्ने गरिएको हो। राजा दुष्यन्त र शकुन्तलाको छोरा भरतको नामबाट ‘भारत’को नाम पर्न गएको धार्मिक मान्यता छ। इन्डिया र हिन्दूस्तान विदेशीहरुले दिएको नाम हुन्। खासगरी अंग्रेजीमा लेख्नु पर्दा इन्डिया भनेर लेख्ने प्रचलन छ।
राष्ट्रपति कार्यालयद्वारा कुनै विदेशलाई पत्राचार गर्दा ‘प्रेसिडेन्टको आँफ इन्डिया’ लेखेर पत्राचार गरिन्थ्यो भने यसपल्ट ‘भारत’ लेखेर पत्राचार गरिएको छ। जी–२०को बैठकमा राष्ट्रपति कार्यालयबाट पठाइएको पत्रमा ‘प्रेसिडेन्ट आँफ भारत’ उल्लेख गरी निमन्त्रणपत्र पठाइएको थियो। उक्त बैठकमा मोदीको कुर्सीको अगाडिको नेमप्लेटमा ‘भारत’ लेखिएको थियो। अहिले भारत शब्दको प्रयोगपछि सबैभन्दा बढी आक्रोश काँग्रेसलगायत प्रतिपक्ष दलहरुमा देखिएको छ।
राष्ट्रपति द्रोपदी मुर्मूद्वारा आयोजित भोजमा भारतीय संस्कृतिसँग जोडिएका शाकाहारी परिकारहरु नै भोजनको लागि तयार पारिएको थियो। भारतमा पहिलोपल्ट विदेशी पाहुनाहरुको लागि यस किसिमका भोजनको व्यवस्था गरिएको थियो। भारतका विभिन्न राज्यका प्रसिद्ध भोजनका साथै मिठाइहरु पस्किएको थियो।
जसमध्ये पञ्जावको दाल तड्का, जीरा पलाव, उत्तर प्रदेशको मसूर, ज्वार दालतड्का, पनीर र लवावदार, राजस्थानको दालबाटी चूरमा, कटहलको गेलेट, आन्ध्र प्रदेशको सब्जी कोरमा, काजु मटर मखाना र तमिलनाडुको इडली मसाला डोसा, विहार लिट्टी चोखा, चटपटे, पानीपुरीलगायत ५०० प्रकारका परिकारलाई समावेश गरिएको थियो।
यस भोजको माध्यमबाट भारतमा शाकाहारी भोजन अत्यधिक प्रचलनमा रहेको सन्देश दिन खोजिएको रुपमा सम्झनु पर्दछ। खासगरी बौद्ध, जैन र अधिकांस हिन्दूहरु शाकाहारी हुने गर्दछन्। त्यस अवसरमा विभिन्न संस्कृतिका नृत्य र सङ्गीतको पनि व्यवस्था गरिएको थियो।
जी २० के हो ?
२००८ मा जी–२० को गठनको २४ वर्षपछि १८औँ सम्मेलन दिल्लीमा विधिवत रुपमा सम्पन्न भएको छ। यसको पहिलो सम्मेलन अमेरिकाको वासिङ्टनमा १४–१५ नोभेम्बरमा सम्पन्न भएको थियो। यस सम्मेलनमा रुसका राष्ट्रपति भ्लादिमिर पुटिन र चिनियाँ राष्ट्रपति सी चीनफिङ सहभागी भएनन्। ती दुवै देशबाट प्रधानमन्त्रीको सहभागिता थियो।
सन् १९९९ भन्दा पहिले केही वर्षदेखि एसिया आर्थिक सङ्कटबाट जुझ्दै थियो। सन् २००७ मा विश्वस्तरमा आर्थिक सङ्कटपछि जी–२० फोरमको राष्ट्र प्रमुखहरुको स्तरमा परिणत गर्यो। जर्मनीको बर्लिनमा जी–८ को बैठकको क्रममा जी–२० को गठन गरिएको थियो। त्यसपछि जी–२० समूहको पहिलो सम्मेलन अमेरिकाको वासिङ्टन डीसीमा भएको थियो।
जी–२० शिखरको मुख्य उद्देश्य विश्वको प्रमुख आर्थिक देशहरुका सम्मेलन, जहाँ सदस्य मुलुकहरुबीच वैश्विक अर्थव्यवस्था, वित्तीय व्यवसाय, निवेश र जलवायु परिवर्तनलगायत आवश्यक विषयहरुमा चर्चा परिचर्चा हुने गर्दछ। विश्वको जिडिपीमा जी–२० मुलुकहरुको हिस्सा ८५ प्रतिशत छ।
यसका साथै विश्व कुल उत्पादन ८० प्रतिशत उत्पादन र अन्तर्राष्ट्रिय व्यापार समूहमा ७५ प्रतिशतको हिस्सेदारी छ। जी–२० का सदस्यहरुबीच फैसलालाई मान्नैपर्ने कुनै कानुनी बाध्यता हुँदैन। मुख्य रुपमा यसको मुख्य उद्देश्य भनेको विश्वभरको अर्थव्यवस्थालाई मजबुत बनाउन र उसको विस्तारका लागि रणनीति बनाउनु हो। यसैगरी रोजगार र खाद्य पदार्थको मूल्य नियन्त्रणलगायतका विषयमा निर्णय लिने गरिन्छ।
जी–२० को अध्यक्ष भएको नाताले नरेन्द्र मोदीले सो समूहका सदस्य नरहेका बङ्गलादेशसहित नौँ वटा देशलाई आमन्त्रण गरेको थियो। नेपाललाई वेवास्ता गरेको चर्चा छ।