दु:खै दु:खका पहाड काटेर स्पेन पुगेका दिनेश यसरी बने सफल व्यवसायी

विष्णु प्रसाद खनाल

स्पेन (बार्सिलोना)

रामेछापको एउटा गाउँबाट ३० वर्षअघि काठमाडौँ छिर्दा उनलाई थाहा थिएन, ती पाइलाहरूले जिन्दगीको कस्तो बाटो समाउलान्?

स्कुल पढ्दापढ्दै बुवा बितेपछि सारा जिम्मेवारीको भारी बोकेर दिनेश गिरी काठमाडौँ छिरेका थिए। काठमाडौँ उनको गाउँजस्तो विल्कुल थिएन। अन्जान यो सहर उनको कल्पनाको सहर पनि थिएन।

उज्याला बत्तीमुनि आफूलाई अँध्यारो देखिरहेका दिनेशका अघि विकल्पहरू नै के हुन्थे र!

सहरमा बाँच्नै पर्थ्यो। केही त गर्नैपर्थ्यो। बुवाको निधनसँगै पढाइ छुटेको थियो, भविष्यको एउटा धागो टुटेको थिए। आफन्त छुटेका थिए अनि गाउँ छुटेको थिए।

छुट्टिएका ती टुक्रा टुक्रा यादहरूसँगै उनी केही समय काठमाडौँमा भौँतारिए। अनि ठमेलको एउटा होटलमा काम पाए। दिनेशका लागि होटलको त्यो जागिर मात्रै गाँस जोड्ने, कमाउने काम मात्रै थिएन। बरू उनले त्यहाँ जिन्दगी बाँच्ने संघर्षका सूत्रहरू सिके।

२०५० सालमा रामेछापको स्थानीय भीमेश्वर माध्यमिक विद्यालयबाट एसएलसी दिएपछि उनी काठमाडौँ हानिएका थिए। १० कक्षाको अध्ययनकै क्रममा उनको बुवाको निधन भयो।

ठमेलले उनलाई संघर्ष सिकाएको थियो। जीवनको बाटो अब ठमेलका ती व्यस्त अनि मस्त गल्लीहरूले संकेत गरिरहेका थिए।

होटेलका यी तीन वर्षमा उनले हाउस किपिङको मात्र काम सिकेनन्, खाना बनाउनेदेखि पर्यटकलाई विमानस्थलबाट ल्याउने कामसमेत गरे।

यति मेहनत गरे कि रातमा डान्सबारमा पनि काम गरे। मेहनत र इमान्दारिता उनीभित्र खुब जम्यो। विश्वास र जिम्मेवारीको बाटो पनि त्यही थियो। 
एकदिन डान्स बारमा नियमित आउने एकजना ग्राहकले उनलाई संयुक्त अरब इमिरेट्स (यूएई) को दुबई जान सुझाव दिए।

तिनै व्यक्तिले फ्रि–भिसा र टिकटका लागि समेत सहयोग गर्ने बचन थिए।

२०५५ सालमा उनी एउटा ग्यास स्टेशन (पेट्रोल पम्प) मा काम गर्नेगरी दुबई पुगे। यहाँ पनि उनी खुब खटिए। उनको कार्य कुशलताबाट दंग परेका ग्यास स्टेशनका मालिकले ३ वर्षमै उनलाई सुपरभाइजरमा बढुवा गरिदिए। ९ सय दिरामबाट तलब बढेर ३२ सयसम्म पुग्यो।

लामो समय खाडीको घामसँग संघर्ष गरिरहेका उनलाई अरू नेपालीजस्तै युरोपको सपनाले पछ्याउन थाल्यो। त्यतिबेला उनी बिहे गरेर श्रीमतीसहित दुबईमा राम्रो कमाइ गरिरहेका थिए।

त्यहीबखत एकजना पाकिस्तानी एजेन्टको सहयोगमा उनले २०६३ सालतिर जर्मनीको पर्यटन भिषा लगाउन सफल भए। पर्यटकको रूपमा युरोप छिरेर त्यही ठाउँलाई कर्मक्षेत्र बनाउन त्यति सहज थिएन। उनी यो उनलाई पनि राम्रोसँग थाहा थिया।

त्यसैले सुरुमा उनले श्रीमती र आफ्नो दाजु (ठूलो बुवाको छोरा) लाई जर्मनी पठाए। उनीहरू जर्मनी हुँदै स्पेन पुगेपछि दिनेश पनि उनीहरूकै रुट पछ्याउँदै स्पेन पुगे।

त्यसो गर्नुको कारण बीचमा केही विपत्ति आइपर्‍यो भने दुबईमा राम्रो काम छँदैछ भन्ने नै थियो।

आज स्पेनको नेपाली समुदायमा दिनेश गिरी एउटा त्यस्तो नाम भइसकेको छ, जसलाई न चिनाउनुपर्छ, न खोज्नुपर्छ। सबका माझ अहिले दिनेश गिरी उत्तिकै चिनिएको नाम र अनुहार बनेको छ।

काठमाडौँ सहरका संघर्षका कथाहरू बोकेर दिनेशले केही वर्ष दुबईमा त्यसलाई बिसाए। जिन्दगीले फन्को मार्दै थियो, फेरि अर्को यात्रा अझ पारि देशमा सुरु भइसकेको थियो।

दु:ख र संघर्षमा राम्रैसँग खारिएका दिनेशलाई थाहा थियो- स्पेनको सुरुवाती पाइलाहरू पनि त्यति सजिला हुने छैनन्। उनी तयार नै थिए, ती दु:ख झेल्नका लागि।

संघर्षका ती पाइलाहरूले कतिबेला सफलताको सिँढी समाउँछन्, पत्तै हुन्न, बस् हिम्मत हार्नुहुन्न। मेहनत र सपनालाई पछ्याउँदै जानुपर्छ।

अहिले दिनेश स्पेनमा निकै चलेका ८ वटा रेष्टुरेन्टका मालिक भएका छन्। संघर्षले खारिएका दिनेशले जीवनमा सिकेको एउटै कुरा थियो- समुद्रबाट बाँचेर निस्किन त पहिला डुबुल्की मार्नैपर्छ।

सात समुद्रपारिको त्यो देशमा उनले पनि त्यस्तै छलाङ हाने। जहाँ जोखिम हुन्न त्यहाँ सफलता पनि हुन्। त्यसैलाई उनले सम्हाल्दै गए। अनि कुनै बेलाका कामदार दिनेश धेरै कम्पनीका मालिक बने।

कुनैबेला यस्तो थियो, उनलाई काठमाडौँका गल्लीहरूमा दुईछाक टार्न धौधौ हुन्थ्यो। आज स्पेनको बार्सिलोनामा आपत परेका नेपालीहरूका लागि उनी अविभावकजस्तै बनेका छन्।

उनले जर्मनीभन्दा पनि स्पेनलाई रोज्नुको अर्को कारण थियो, आफ्नो परिचय लुकाएर विदेशमा बस्नु नपरोस्। पर्यटक भिषामा जर्मनी प्रवेश गरेका प्रायः नेपालीले ‘कागज बनाउन’ आफू शरणार्थी हुन तयार हुन्थे। त्यसैले उनी स्पेन हानिएका थिए।

उनी पहिलोपल्ट स्पेन प्रवेश गर्दा यहाँ नेपालीहरूको संख्या ३ हजारको हाराहारीमा थियो। तर, अहिले यो ग्राफ बढिसकेको छ।

दुबईमा आनन्दको जीवन बाँचिरहेका दिनेशका लागि स्पेनको बसाइ सुरुवातमा त कष्टपूर्ण रह्यो। उनी स्पेनमा आएसँगै युरोपमा आर्थिकमन्दी सुरु भयो। फेरि भाषाको समस्याका कारण उनी ५ महिना बेरोजगार भए।

‘त्यतिबेला श्रीमतीले काम गर्थिन्। म बेरोजगार थिएँ,’ उनी बिगत सम्झन्छन्, ‘५ महिनापछि जागिर पाए तर, त्यो पनि दुबईको कमाईभन्दा कम थियो जम्मा ६०० युरो।’

युरोपमा उनको काम रामेछापबाट पहिलोपल्ट काठमाडौँ आउँदाको जस्तै भयो। नेपालीको भाषामा भन्दा ‘एमसी’ अर्थात् भाँडा मस्काउने, चम्काउने!

युरोपको आर्थिकमन्दीले त्यो तलब पनि घटेर ४०० युरोमा झर्‍यो। ‘यसपछि दुई सिफ्ट काम गरेँ। बिहान १० देखि ४ सम्म एउटा रेस्टुरेन्टमा र बेलुका ५ देखि १२ बजेसम्म अर्कोमा। दुई ठाउँमा काम गर्दा पनि क्राइसिसका कारण ७०० युरो मात्र हुन्थ्यो,’ उनी विगत सम्झन्छन्।

यहाँ काम गर्ने क्रममा एकजना बंगाली साहुले उनलाई ठूलो धोका दियो। होटलका साहुले ३ वर्षमा स्पेनको कागज बनाइदिने भन्दै उनलाई सित्तैमा काम लगायो। पछि कागज पनि बनाइदिएनन्। अनि उनले मुद्दा मामिला पनि झेल्नुपर्‍यो।

वैधानिक रूपमा स्पेनमा बसोबास गर्ने चाहनाले गर्दा घरायसी समझदारीमा उनले एकजना स्पेनिस केटीसँग बिहे गर्न पनि खोजेका थिए। तर, बिहे गर्ने दिन पैसा लिइसकेकी ती केटी बेपत्ता भइन्।

फेरि अर्को धोका भयो। तर, बंगाली साहुसँगको मुद्दा अगाडि बढ्दै जाँदा उनले लामो समय स्पेनमा बसेर काम गरिरहेको प्रमाणित भयो। र, पछि यसैले उनलाई ‘कागज बनाउन’ सहयोग पनि गर्‍यो।

‘सन् २०१३ मा मैले यहाँको कागज प्राप्त गरे। बीचमा थुप्रै दुःख र हन्टर खेप्नुपर्‍यो’, उनी भन्छन्, ‘तर मेहनत गर्ने मान्छेलाई भगवानले पनि हेर्दो रहेछ!’

उनलाई गाह्रो अवस्थामा भारतको अमृतसरबाट आएर व्यापार गरिरहेका एक पञ्जावी साहुले ठूलो सहयोग गरे। पछि त उनीसँगै मिलेर व्यापार पनि सुरु गरे।

‘ती पढे–लेखेका थिए। र, मेहनतको कदर गर्थे। उनीसँगै मिलेर म र मेरो दाजुले गान्धी रेस्टुरेन्टमा ५० प्रतिशत शेयर किन्यौँ। अहिले यसको म्यानेजमेन्ट मैले हेरिरहेको छु,’ उनले भने।

होटलमा लगानी गरेसँगै युरोपमा केही समय चलेको आर्थिकमन्दी हटेर गयो। उनको व्यापार एकाएक चम्कियो। लगत्तै उनले अरू ठाउँमा पनि त्यो रेस्टुरेन्टका ‘आउटलेट’हरू बढाउँदै लगे।

अहिले उनकी श्रीमती र भाउजु मिलेर विभिन्न फ्रेन्चाईजहरूमा पनि व्यापार अघि बढाएका छन्। उनी आफ्नो व्यवसायमा नेपाली कामदारलाई पहिलो प्राथमिकता दिँदै आएका छन्।

‘हामी नेपालीलाई प्राथमिकता दिन्छौँ। तर, पछिल्लो समय नेपाली कामदारहरू त्यति सिरियस देखिँदैनन्,’ उनी दुःखेसो गर्छन्, ‘हामीले १८ घण्टाभन्दा धेरै काम गरेर यो ठाउँसम्म आएका हौँ। हामी जत्तिकै काम नगरे पनि राम्रोसँग काम सिकेर अरु नेपालीले पनि आफ्नो हैसियत बनाओस् भन्ने चाहन्छु। तर आजका पुस्तामा त्यो दु:ख, मेहनत र कामप्रतिको इमान्दारिता देखिन्न। दु:ख नगरी त के हुन्छ र!’

अहिले उनको ८ वटै व्यवसाय साझेदारीमा चलिरहेका छन्। ठूलो स्केलको व्यापार व्यवसाय गर्दा साझेदारीमा गर्नुपर्ने उनको सुझाव छ। ‘म होइन, हामी भन्न सिक्नुपर्छ। व्यापार गर्दा एउटा निश्चित नियम बनाउनुपर्छ। सानोतिनो विषयमा अल्झिनु हुँदैन’, उनी सफलताको मन्त्र सुनाउँछन्।

समाज सेवामा त उनको लगाव पहिलादेखि नै हो। तर सेवा गर्न पनि पैसा त चाहिन्छ नै। त्यो सेवाका लागि पनि पहिला त आफू बाँच्नुपर्छ। अनिमात्रै अरुलाई सहयोग गर्न सकिन्छ।

काठमाडौँमा बस्दा आफूजस्ता धेरै ‘सडकवासी’ देखेका उनलाई लाग्थ्यो- यस्ता मान्छेका लागि पैसा कमाएर केही गर्छु। तर काठमाडौँका ती गल्लीहरूमा पहिला त उनले आफ्नै जीवन र भविष्य चहारिरहेका थिए।

दुबई पुगेपछि उनले अलिकति आर्थिक हैसियत बनाए। अनि विदेशमा दुःख पाएका थुप्रै नेपालीको सहयोग गर्न अघि सरे।

२०१५ मा नेपालमा महाभूकम्प आएपछि उनी थप सक्रिय भए। अहिले पनि उनी गैरअवासीय नेपालीहरूको संस्था एनआरएनएमा रहेर समाजसेवामा सक्रिय छन्।

यो संस्थाभित्र पनि उनले पटक पटक लोकप्रिय मत पाएर चुनाव जितेका छन्। बर्सिलोनामा बसेर व्यापार व्यवसायमा जमेका नेपालीमध्ये औँलामा अटाउने दिनेशहरू निकै कम छन्।

रामेछापदेखि काठमाडौँ हुँदै विदेश यात्रा तय गरेका उनका संघर्षशील पाइलाहरू अहिले स्पेनमा सफलताको सिँढी उक्लिरहेका छन्। छोराछोरी पनि स्पेनमै जन्मिए। परिवार अब सबै स्पेनमै छन्।

‘दु:खले अझ धेरै दु:ख झेल्न सिकाउँछ। संघर्षले बाँच्न सिकाउँदो रहेछ’, दिनेश भन्छन्, ‘हामीले त्यसलाई सम्हालेर राम्रो मौका छोप्यौँ भने सफलता पाइँदोरहेछ…।’

प्रकाशित मिति: : 2023-09-14 19:17:00

प्रतिकृया दिनुहोस्