संविधानको अन्त्येष्टि यात्रा निकाल्ने आम विद्यार्थी मोर्चाको घोषणा

सरकारले संविधान दिवस भव्यरुपमा मनाउने तयारी गर्दै गर्दा आम जनता पार्टी (आजपा)निकटको आम विद्यार्थी मोर्चाले संविधान दिवसकै दिन संविधानको अन्त्येष्टि यात्रा निकाल्ने घोषणा गरेको छ। 

आम विद्यार्थी मोर्चाका अध्यक्ष विवेक साहले असोज ३ गते संविधान दिवसकै दिन अन्त्येष्टि यात्रा निकाल्ने घोषणा गरेका छन्।

आज एक विज्ञप्ति जारी गर्दै अध्यक्ष साहले असोज १ गते संविधानबारे सार्वजनिक अपिल गर्ने, २ गते संविधानसभा सदस्यहरुलाई तक्मा फिर्ता गर्न अनुरोध गर्ने, ३ गते देशका प्रमुख सहरहरुमा संविधानको अन्त्येष्टि यात्रा निकाल्ने र ४ गते संविधानको अवसानमा शोक मनाउने कार्यक्रमकाे घोषणा गरेका छन्।

‘भगौडा दलाल वर्गको नेतृत्वमा रहेको गण्डा व्यवस्थाको भण्डाफोर गर्दै यो खिचडी संविधानको विकल्प दिन संविधान दिवसलाई जनस्तरबाटै अस्वीकार गर्न जरुरी छ। यसर्थ हाम्रो विद्यार्थी मोर्चाले असोज ३ गते वर्तमान संविधानको विरोधमा अन्त्येष्टि यात्रा निकाल्ने निर्णय गरेको छ’, विद्यार्थी मोर्चाका अध्यक्ष साहले जारी गरेको विज्ञप्तिमा उल्लेख गरिएको छ। 

देशमा बढ्दो संकटलाई रोक्न नयाँ संविधानको आवश्यकता रहेको जिकिर उनको छ। सरकारले घोषणा गरेको संविधान दिवसको औचित्य कहीँकतैबाट पुष्टि नहुने बताउँदै उनले देश बचाउन वर्तमान संविधानको रक्षा हैन, यसको अन्त्येष्टि गर्नुपर्ने र देशलाई निकास दिने नयाँ संविधान निर्माण गर्नुपर्ने जनाएका छन्। 

प्रकाशित मिति: : 2023-09-14 17:20:00

प्रतिकृया दिनुहोस्