‘मान्छेले एउटै कारणले आत्महत्या गर्दैनन्, आत्महत्या गर्ने पनि विभिन्न कारण हुन्छन्। जसमा ६० प्रतिशत भन्दा बढी मानिसहरु ‘डिप्रेसन’का शिकार भएका हुन्छन्। त्यसैले जैविक, सामाजिक र अरु उपचारत्मक विधिहरु अपनाएर हेर्न सकेमा आत्महत्या कम गर्न सकिन्छ।’
आइतबार विश्व आत्महत्या रोकथाम दिवस–२०२३ को अवसरमा मानसिक एवं मनोसामाजिक सु–स्वास्थ्य अभियान र रिपोर्टर्स क्लब नेपालको सहकार्यमा ‘आत्महत्या रोकथाममा मिडिया र सरोकारवालाको भूमिका’ विषयमा भएको साक्षात्कार कक्षमा प्रा।डा।पुष्पराज शर्मा बोल्दै थिए।
‘आज विश्व आत्महत्या रोकथाम दिवस। नेपालका लागि आत्महत्या ठुलो चुनौति र समस्याको रूपमा देखापरेको छ। नेपालमा पछिल्लो आर्थिक वर्षमा ६ हजार नौ सय ९३ जनाले आत्महत्यामार्फत ज्यान गुमाएका छन्। जसमा सात सय ९५ जना बालबालिकाले आत्महत्या गरेका छन्। कति विकराल बन्दै छ आत्महत्या’ उनी भनिरहेका थिए।
आत्महत्या रोकथाममा जनचेनता फैलाउने उदेश्यले प्रत्येक वर्ष सेप्टेम्बर १० तारिखका दिन विश्व आत्महत्या रोकथाम दिवस मनाइन्छ। यस वर्षको विश्व आत्महत्या रोकथामको दिवसको नारा ‘कार्य मार्फत आशा जगाऔँ’ भन्ने रहेको छ।
यसको अर्थ आत्महत्याको रोकथामका लागि सबैले आ–आफनो तवरबाट भुमिका निर्वाह गरि आत्महत्याको जोखिममा भएका, आत्महत्याको सोच वा योजना बनाएका व्यक्तिहरुमा जीवनप्रति आशा जगाइ जीवन बचाऊँ भन्ने रहेको छ।
कार्यक्रममा प्रा.डा. शर्माले आत्महत्या सामाजिक, आर्थिक कारणलेमात्रै नभएर जैविक कारण हुने गरेको बताए। ‘शरीरमा रहेका विभिन्न रशायनहरु तलमाथि भएपछि डिप्रेसन हुने हुँदा आर्थिक अवस्थाले मात्रै मान्छेले आत्महत्या गर्ने भन्ने हुदैँन। आर्थिक रुपमा उन्नत अवस्थामा रहेका जापन, अमेरिका, युरोप लगायतका मुलुकका नागरिकहरुले पनि आत्महत्या गर्ने गरेका छन्। आर्थिक समस्या आत्महत्याको अनेकौं कारणमध्येको एउटा कारण हो।’
यसैगरी समाजमा भइरहेको परिवर्तनलाई युवा पुस्ताले राम्रोसँग आत्मसात गर्न नसक्दा पनि यदाकदा आत्महत्याको घटना हुने गरेको उनको बुझाइ छ। ‘रिसर्चका अनुसार आत्महत्याको ७० प्रतिशतभन्दा बढि डिप्रेसनसँग जोडिएको छ। डिप्रेसन एउटा यस्तो मानसिक रोग हो, जसको उपचार गर्न सकिन्छ। डिप्रेसनलाई चाँडै नै पहिचान गरेर यसको उपचार राम्रोसँग गर्नसक्यौं भने धेरै आत्महत्यालाई कम गर्नसक्छौं,’ उनले भने।
यस्तै नेपाल सरकार, स्वास्थ्य मन्त्रालयका डा। फनिन्द्रप्रसाद बरालले आत्महत्यको ९० प्रतिशत कारण व्यक्तिको मानसिक स्वास्थ्य रहेको बताए। उनले मानसिक स्वास्थ्य ठिक नभएमा धेरै मानिसले आत्महत्या गर्ने बताए।
नेपाली कांग्रेसका नेता एवं सांसद रामहरि खतिवडाले माग र पूर्तिबीचको ग्यापले पनि मान्छेलाई आत्महत्याको बाटोमा डोहोर्याएको बताए। ‘सम्पन्नताले मात्रै सबै कुरा समाधान हुँदो रहेनछ। मान्छेले धेरै ठुलो मागको अपेक्षा गर्यो, पूर्ति थोरै भयो र बीचमा ग्याप धेरै भयो भने मान्छे फ्रस्टेसनमा जान्छ। जुन अपेक्षा थियो त्यो नपाएपछि विस्तारै आत्महत्या गर्ने अवस्थामा पुग्छ,’ उनले भने।
विश्वव्यापी रुपमा द्रूत गतिमा फैलिएको सामाजिक सञ्जालले पनि मोटिभेसन फैलाउन नसकेको उनको अनुभव छ। टोलटोलमा, गाउँगाउँमा मानिसहरुलाई मोटिभेसन गर्ने पद्धतिको विकास गरेर आत्महत्याबाट निरुत्साही गराउने बाटामो लाग्नुपर्ने उनले बताए।
नेपाल प्रहरीका पूर्व एसएसपी वशन्त कुँवरले आत्महत्या रोक्नका लागि मन्त्रालयस्तरमै आत्महत्या नियन्त्रण शाखा बन्न आवश्यक रहेको बताए। देशभरका सात सय ५३ वटै स्थानीय सरकारमा हेल्पलाईन खोल्न आवश्यक रहेको उनको भनाइ छ।
यस्तै, नेपाल स्वास्थ्य पत्रकार मञ्चका अध्यक्ष एवं गोरखापत्र दैनिकका पत्रकार सरोज ढुंगेलले एक जना मान्छेले आत्महत्या गर्दाको असर एक सय ३५ जना मानिसमा देखिने तथ्याङ्कहरु सार्वजनिक भइरहेको बताए।
आत्महत्यासम्बन्धी रिपोर्टिङ गर्दा आत्महत्या न्युनीकरणलाई सहयोग हुनेगरि गर्नुपर्ने उनको भनाइ छ। समाचारमा प्रयोग भएको तस्वीरमा पनि ध्यान पुर्याउन आवश्यक रहेको उनले बताए। आत्महत्याका समाचारको हेडलाईन सनसनीपूर्ण बनाइएको उनको बुझाइ छ।