स..र..र रमाइलो सहर
गाउँमा जाने छैन दाइ रहर...
यो गीतमा स्वर भर्दै गर्दा करुणा वलीलाई लाग्दै थियो, अब गाउँ फर्किनु छैन।
माओवादी युद्धको चरमोत्कर्स थियो २०६१ सालको संकटकाल। घरबाट दूर भएको त्यो समय। १६ वर्षकी करुणा। भित्रभित्र गाउँ फर्किने उनका रहर मरिरहेका थिए।
गाउँमा फर्किए घर बस्नै पाइँदैन। कसरी भागेर काठमाडौं आएको। फेरि घर फर्किए माओवादीसँग जानुपर्ने थियो।
कक्षा १० मा पढिरहेकी करुणालाई अपहरणको शैलीमा उठाएर स्कुलबाट माओवादीले जंगल लगेका थिए।
सल्यानको छत्रेश्वरी गाउँपाकिला–४ कि करुणालाई माओवादीले कहाँ लगेका थिए? उनीलाई नै अनुमान छैन। गाउँदेखि केही टाढा लान्ती, भलाचौरसम्मको सम्झना छ।
त्यसपछि रातको सयमा भीरको बाटो, सल्लाघारीका चिप्लने बाटो हिँडाएको मात्र याद छ करुणालाई। तर, कहाँ लगे केही थाहा छैन। किन लगे त्यो पनि थाहा छैन।
साथमा आफ्ना साथीहरू पनि छन्, उनीहरूलाई पनि करुणालाई जस्तै अपहरणको शैलीमा माओवादीले स्कुलबाटै उठाएका थिए।
करुणा अनकन्टार जंगलभित्र हिँडिन्। कैयौ भोक सुख्खा रोटीले कटे। निरन्तरको हिँडाइले कलिलो ज्यान थलियो। तर, दुख्यो भन्ने कसलाई? र, ती दिन सम्झिदाँ आज पनि भक्कानिन्छिन्।
‘माओवादीले लगेको बेला कस्तो दुःख हुन्छ भन्ने भोग्नेलाई मात्र थाहा हुन्छ। अहिले व्याख्या गर्न सकिदैन,’ करुणाले बिएल नेपालीसँग ती दिनका कुरा सुनाउँदै भनिन्।’
कुरा सनाउँदै थिइन्। उनी भक्कानिइन्।
भनिन्– ‘मलाई दिनमै घर बाहिर बस्न डर लाग्थ्यो। तर रातमा घर बाहिर केही पर गार्ड(सेन्ट्री) बस्नुपर्थ्यो।’ अगाडि उनले भनिन्, ‘त्यो बेला मेरो रोएर मात्र रातदिन बित्थ्यो।’
उनी घरदेखि टाढा गार्ड बस्ने डरले कसैले नदेख्ने गरी घरको कुनै कुनामा गार्ड बसिन्। तर त्यसबेला कोही आइहाल्यो कि भनेर सूचना दिनु त के आफै रोइरहिन्।
करुणाले भनिन्–‘संकटकाल प्रहरी आएर गोली हान्छ कि भन्ने डर। कसैले केही गर्छ कि भन्ने डर। आफै रोएर मात्र बसें।’
माओवादीसँगका ती कठिन दुई महिना कसरी बिते उनलाई मात्रै थाहा थियो।
एक दिन उनी माओवादीको पन्जाबाट फुत्किएर भाग्न सफल भइन्। त्यो पनि गाउँकै एकजना आफन्तीको सहयोगमा।
त्यसपछि सिधै आफ्नै अंकलकी छोरी कमला वली (विष्ट)सँग उनी काठमाडौं आइन्। काठमाडौं आउनुको कारण माओवादीबाट बच्नु थियो।
‘भागेर आएपछि माओवादीले छिटो आउनुपर्यो, भन्दै चिठी पठाउन थालेपछि मलाई दिदी (कमला)ले काठमाडौं ल्याउनुभयो’ करुणाले भनिन्।
अनि २०६१ सालको असारमा काठमाडौंमा आएकी उनले गीत गाउन सुरु गरिन्- गाउँमा जाने छैन दाई रहर...
अनि आफ्नो सांगितक यात्रा सुरु भएको करुणा बताउँछिन्।
संगीतमा ल्याउनका लागि माओवादीले लगेको कारण मुख्य रहेको उनी सधैं भन्ने गर्छिन्। उनी भन्छिन्, ‘मलाई माओवादीले नलगेको भए काठमाडौं आउने नै थिएन। यो गीत संगीतमा लाग्ने नै थिएन।’
हराएको १३ वर्षपछि फेरि गायनमा
काठमाडौं आएर दुई गीतमा स्वर भरिन्। क्यासेटमा गीत बजारमा आयो। फोटो क्यासेटको कभरमा छापियो। करुणा भन्छिन्– ‘पहिलो गीत गाउँदा जतिको खुसी कहिल्यै थिएन। रेडियोमा कलाकार कहाँ छन् भनेर हेर्दै बिताएकी मैले आफैले गीत गाउन पाउँदा निकै खुसी थिएँ।’
द्वन्द्व कम हुँदै थियो। गाउँमा गएर एसएलसी पास गरिन्। काठमाडौं आएर संगीत विधाबाट १२ कक्षा पनि पास गरिन्। संगीतको रस नसानसामा पुगिसकेको थियो।
काठमाडौंमा रोधीघरको जागिरबाट जीवन जसोतसो चलेकै थियो।
अनि सुर्खेतको विरेन्द्र नगरनगरपालिका–३ मा बिहे भयो। घर बस्नुपर्ने भयो। सँगै करुणाका गीत गाउने रहर पनि सँगै गाउँमै छुटे। घरबाट गाउनका लागि वातावरण भएन।
र, त करिब १४ वर्ष गीत–संगीतबाट हराइन् करुणा। खड्गबहादुर बुढा, लिलावती बुढासँग गाएकी उनी १४ वर्षसँग हराउन उनलाई कति कठिन भयो। आज शब्दमा उनी भन्न सक्दिनन्।
गाउनै नपाएकै कारण डिप्रेसनमा पनि पुगिन्।
‘मसँगका साथीहरू कहाँ पुगे। म गाउँमा त्यसैथिएँ,’ उनले भनिन्, ‘यो जुनीमा गाउन नपाए पनि अर्को जुनिमा सधैं गीत गाउन पाउँ भन्ने प्रार्थना गर्थें।’
तर भाग्ने नै भन्नुपर्छ। करुणा १४ वर्षपछि फेरि गीत संगीतमा फर्किएकी छिन्। त्यो गुम्सिएको, लुकेको प्रतिभालाई आज देखाइरहेकी छिन्। आज गाउने मात्र होइन, गीतमा संगीत भर्ने काम पनि गर्दैछिन्।
१४ वर्षपछि गएको असारमा उनले अर्को गीत गाइन्।
तिम्रा यादहरूले जलेछु भने
तिम्रा यादहरूले गलेछु भने
आउनु, उठाउनु, सजाउनु दिलमा
तिम्रा यादहरूले ढलेछु भने...
टीका बस्नेतको शब्द रहेको गीतबाट फेरि संगीतमा आउन पाएको करुणा बताउँछिन्। ‘ज्वाईं (टीका)सँग गीत रहेछ। एक दिन गाउन भन्नुभयो। मैले सक्दैन भनेकी थिएँ,’ उनले भनिन्, ‘तर उहाँले (टीका)ले गाउन सक्नुहुन्छ दिदी भनेपछि फेरि संगीतमा फर्किएकी छु।’
त्यसपछि करुणाले अहिलेसम्म चारवटा गीत गाइसकेकी छिन्। लोकस्टारका विजेता शनी विश्वकर्मासँग लोक दोहोरी गीत गाइन्।
खर काटेर घर छाउँला
धान कुटेर चामल बनाम्ला
मेरो जवान बैना भो तिमीलाई
चखेवा झैं जोडी बनाम्ला...
यसपछि अहिले करुण आफ्नै संगीत रहेको गीत ‘मलाई मायाँ गर्छौ र ओई’ भन्ने गीत ल्याएर आउँदैछिन्। अहिले फेरि संगीतमा फर्किन पाएकोमा करुणा खुसी व्यक्त गर्छिन्।
सानै उमेरमा आमा–बुवा गुमाएकी करुणा अंकलको घरमा हुर्किइन्। गीत संगीत भन्ने कुरा सबैले नबुझ्ने उनी बताउँछिन्। उनी भन्छिन्, ‘गीत संगीत के हो भन्ने कुरा यसमा लागेकाले मात्र बुझ्छन्।’
उनले आफ्नो र संगीतको सम्बन्ध नङ र मासुको जस्तो रहेको बताउँछिन्। अब भने संगीतबाट टाढा हुन नसक्ने करुणाको भनाइ छ। आधुनिक, लोक गीत गएकी उनले बजारमा आउँदै गरेको मलाई मायाँ गर्छौ र ओइ गीतको अहिले राम्रै प्रतिक्रिया पाएको बताउँछिन्।
उनका पाँच दिदी बहिनी र दुई दाजु भाइ छन्।
तीज नजिकिदै छ। तर उनको रमाउने अवस्था भने छैन। आमाबुवाको मृत्युपछि हुर्काउने अंकलले करुणाहरूलाई साथ छाडेर संसार छाडेका छन्।
त्यसैले उनी तीजमा रमाइलो नगर्ने बताउँछिन्।
‘हामीलाई अंकलले यहाँसम्म हुर्काउनु भयो। पढाउनु भयो। उहाँको केही पहिले डेथ(मृत्यु) भयो। अहिले शोकमा छौं। यस वर्षको तीज छैन,’ उनले भनिन्।
करुणाकी आमाले करुणा १० वर्षको हुँदा र बुवाले १४ वर्षको हुँदा साथ छाडेका थिए। करुणा भन्छिन्– ‘बुवा–आमा नभएपछि मायाको अभाव हुनेरहेछ। मायाको कमी भएको महसुस हुनेरहेछ।’