बिएल विशेष संवाददाता
नेपालमा पत्रकारिता-कर्म गर्दागर्दै कोही मारिएको वा मरेको अभिलेख छैन । तर, हरेक वर्ष केही न केही संख्यामा पत्रकार मरेका वा मारिएका समाचार शीर्षकहरूको जुलुस लाग्छ । यस्तो जुलुस जमीन शाहदेखि टेकेन्द्र को मृत्युसम्मको मृत्युमा लगाइयो । तर, उनीहरुको मृत्यु एक पत्रकारका रूपमा हैन, अर्कै रूपमा भएको थियो ।
यतिबेला नेपाली मिडियामा एउटा त्यस्तै समाचारको जुलुस निस्केको छ- पत्रकार दिनेश सिटौलाको निधन । लगभग सबै मिडियामा यही वा यस्तै आशयको शीर्षकको जुलुस छ ।
दिनेश सिटौला 'द सिनेमा टाइम्स' अनलाइन पोर्टलका सम्पादक/अध्यक्ष रहेछन्। अनि रहेछन्, चलचित्र पत्रकार संघका पूर्वअध्यक्ष ।
तर, उनको निधन यी दुबै पदीय दायित्व बोक्ने क्रममा भएको हैन रहेछ । समाचार पढ्दै जाँदा जो कोहीले पनि सजिलै निकाल्ने निष्कर्ष मृत्यु पत्रकार दिनेश सिटौलाको हैन, बालेन शाहको चुनावी क्याम्पेनका एक सदस्य दिनेश सिटौलाको हो । निधन हुँदा उनी पत्रकारिता-कर्ममा हैन, पार्टीको राजनीतिक कर्ममा भएकाले यो मृत्यु एक पत्रकारको नभएर एक पार्टी कार्यकर्ताको हो भन्न कुनै आइतबार पर्खनुपर्दैन ।
नेपाली समाजमा मृत्यु आफैंमा एक अत्यन्त संवेदनशील विषय हो । अझ, त्यसमाथि पनि असामयिक मृत्युको सम्वेदनशीलताको पारो चुलिएकै हुन्छ । अझ, दिनेश सिटौलाको मृत्यु त चुनावी तातोले तावा तातेको यस्तो समयमा भएको छ, यसले स्वभावत: अरू संवेदनशीलताको ठाउँ खोज्छ ।
दिनेशको मृत्यु रास्वपाका वरिष्ठ नेता वालेन शाहको गाडीबाट लडेका कारणले भएको भनिएको छ । देशकै सबैभन्दा ठूलो मिडियागृह कान्तिपुरको ई-कान्तिपुरमा लेखिएकै छ, ‘बालेनका सहयोगी भूपदेव शाहको घरमा चिया खाएर निस्कने क्रममा स्कारपियो गाडीबाट ओर्लन खोज्दा सिटौला ढलेर टाउकामा चोट लागेको थियो ।‘ त्यसपछि दिमाखमा रगत जम्यो र ब्रेन ह्यामरेज भयो । दुर्घटनास्थल अछाममा उपचार हुन नसकेपछि अचेत अवस्थामै काठमाडौंका ग्राण्डी अस्पतालमा ल्याइएका थिए, उपचारकै क्रममा मृत्यु भयो ।
यो घटना विवरणले उनको मृत्यु सामयिक हैन, असामयिक हो । अझ, तोकेरै भन्दा उनको मृत्यु बालेन चढेको गाडीबाट भएको हो । ई-कान्तिपुरमा लेखिएकै छ, बालेन शाह चढेको गाडीबाट ढलेर भएको हो ।
यतिबेला एउटा प्रश्न धेरैको मनमा उब्जेको नहोला भन्न सकिन्न- यदि यस्तो मृत्यु बालेनको गाडीमा नभएर गगन वा ओली वा प्रचण्डको गाडीमा भएको भए के हुन्थ्यो होला ? अनुमान गर्न पनि गाह्रो छ । तर, एउटा कुरा निश्चित हो कि यतिबेलासम्म बालेन र रास्वपाका शुभचिन्तकहरूले सामाजिक सञ्जालमा अनेक षडयन्त्रका तानाबाना बुनेर नानाभाती लेखिसकेका हुन्थे ।
दिनेशको पोष्टमर्टप भैसकेको छ । रिपोर्ट आउला नै । तर, जे रिपोर्ट आए पनि परिवन्दले सही उनको मृत्यु सामान्य हैन, असामान्य हो । सामयिक हैन, असामयिक हो ।
उनको आत्माले चीर शान्ति पावोस् । शोक सन्तप्त परिवारजनमा धैर्यधारण गर्ने शक्ति मिलोस् ।
तर, उनको मृत्युप्रति अत्यन्त संवेदनशील हुँदाहुँदै पनि एउटा सत्य के हो भने यो मृत्यु पत्रकार दिनेश सिटौलाको हैन, बालेन शाहको चुनावी क्याम्पेनका एक सदस्यको हो । बालेन रास्वपाका वरिष्ठ नेता भएकाले उनी पनि रास्वपाकै पार्टी सदस्य थिए होला । त्यसैले यो मृत्यु एक रास्वपा पार्टी सदस्यको हो ।
यो सत्य एक किसिमको नोट अफ डिसेन्ट नै हो र यति लेख्नु कुनै पनि पत्रकारको पेशागत धर्म पनि हो । बन्द गरौ, अरू नै भूमिकामा मर्ने/मारिनेहरूलाई एक पत्रकारको मृत्यु भनेर शीर्षक जुराउन । समय धेरै अघि बढिसकेको छ, कम्तिमा पनि यो समय 'पत्रकार दिनेश सिटौलाको निधन' भनेर समाचार शीर्षकको जुलुस लगाउने बेला हैन । यो मृत्यु विशुद्ध बालेनको चुनावी क्याम्पेनका एक सदस्यको असामयिक निधन हो ।
अहिलेलाई यति नै भनौं- अलविदा दिनेश !
इश्तियाकका चुनावी ‘इश्क’
रवि र ओली : दुवै उस्तै उस्तै हुन् नानु !
रविलाई खेदिरहेको ‘नियति’सँगै रास्वपाले देशभरि चलाएको ‘स्वतन्त्र हावा’
राजनीतिको परम्परागत भागबण्डामा रास्वपाको ‘चकचकी’
माओवादीका ‘निशान’ मेटाएर रुकुम फर्किएका ‘प्रचण्ड’ पाइलाहरू
अडानदेखि अवसानसम्मः परिवर्तनको कठघरामा पुराना दलहरू
प्रेम दिवस
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया