मङ्गलबार, ०९ सेप्टेम्बर २०२५

सडकमा आएका ‘जेन-जी’सँग

News Image
• • •

१३ वर्षदेखि २८ वर्षसम्मका किशोर तथा युवाहरुलाई जेन-जी पुस्ता भनेर चिनिन्छ। उनीहरुसँग विश्वले ठूलो आशा राखेको छ। नयाँ पुस्तासंग आशा राख्नु स्वाभाविकै हो। तर अहिलेको आशा फरक छ। आइटीको प्रचुर विकासको चरण एआईसम्म पुगेको छ। यो अवस्थामा आइटीको उच्चतम अभ्यास गर्ने र त्यसबाट संसारका साझा समस्याहरुको पहिचान, त्यस उपर वैश्विक बहस चलाउने दायित्व र निष्कर्षको खोजी गर्नका लागि यो पुस्ताले महत्वपूर्ण योगदान दिनेछ भन्ने विश्वास जागेको हो। प्रविधिको सहायताले यो पुस्ताले यी अपेक्षा पूरा गर्ने बाटो पनि समातेको छ।

तर विडम्बना, यो कार्यमा एउटा लय पकडिसकेका जेनजी पुस्ताका युवाहरु नेपालमा भने सडकमा प्रदर्शनका लागि निस्कँदै छन्। सेप्टेम्बर ८ मा उनीहरु ‘स्वत:स्फूर्त’ काठमाडौंलगायत देशभरका सहरहरुमा आउँदैछन्। अन्य देशहरुमा पनि यो पुस्ताले प्रदर्शन गरिरहेका छन्। त्यसैको निरन्तरता पनि हो यो। जसलाई आन्दोलन भनिन थालिएको छ। तर यो अरु देशको निरन्तरता भन्दा पनि हाम्रो देशको आवश्यकता हो भनेर स्थापित गर्नुपर्ने भने छ।

सर्वप्रथम म जेनजी पुस्ताको यो अभियानलाई दाइ/अंकल पुस्ताको तर्फबाट समर्थन जनाउँछु। कम्प्युटरका की-प्याडमा औंला चलाएर आफ्नो व्यक्तित्व र राष्ट्रको सुदूर भविष्यका लागि क्रियाशील भइरहेको र हुन थालेको पुस्तालाई फेरि पनि सडकमा ल्याउने सरकारी कदमको निन्दा गर्दछु। सामाजिक सञ्जाललाई बन्द गर्ने निर्णय कुनै पनि हालतमा उचित छैन। समयको उपहार स्वरूप प्राप्त भएको प्रविधिमा आधारित यो खुला प्लेटफर्मलाई उच्चतम उपयोग गर्ने बाटोमा हिँड्नुपर्नेमा त्यसलाई विभिन्न बाहनामा रोक्नु अक्षमताको प्रदर्शन मात्र हो।

दर्ता, कर तिर्नेजस्ता विषय सरकारको प्रशासनिक दक्षताको कुरा हो। यो दक्षता प्रदर्शन गर्न नसक्ने अनि त्यसको मारमा नागरिकलाई पार्ने कुरालाई कुनै पनि तर्कले ठिक भन्न सकिँदैन। प्रशासनिक दायरामा कसरी ल्याउने भन्ने कुरामा होमवर्क गरोस्, निकास निकालोस्। निस्केन भने पनि ‘जेनजी’ पुस्तालाई यसको विकल्पको खोजी गर्नका लागि अपिल गरी आवश्यक वातावरण निर्माण गरोस्। यो सबै प्रक्रियाका क्रममा सामाजिक सञ्जालमार्फत विदेशमा रहेका सन्तानको हालखबर थाहा पाइरहेका बाबुआमालाई कतै पनि असर पर्न नदेओस्। हो, यस्तो सरकार चाहिएको हो आजको दिनमा। सामाजिक सञ्जालबाट ठूलो समूह लाभान्वित छ। तथ्यांकले भन्छ– त्यहाँ विष बमन गर्ने र त्यसलाई फैलाउने प्रक्रियामा सानो संख्या मात्र छ।

अमेरिकी मनोवैज्ञानिक एडम ग्रान्टले एक वर्ष अगाडि सार्वजनिक गरेको एउटा अध्ययन प्रतिवेदनका अनुसार ८० प्रतिशत ‘फेक न्युज’ जम्मा ०.१ प्रतिशत मानिसले सेयर गर्छन्। त्यस्तै, ३ प्रतिशत विषाक्त अकाउन्टले सामाजिक सञ्जालका ३३ प्रतिशत सामग्री उत्पादन गर्छन्। एक्स (ट्विटर) मा छापिने ९७ प्रतिशत राजनीतिक पोस्ट पनि १० प्रतिशत एक्स प्रयोगकर्ताले मात्र लेख्ने गर्छन्। यो अध्ययनको निष्कर्ष स्वरूप ढुक्क भएर ग्रान्टले भन्छन्,–समाज कहिल्यै पनि सामाजिक सञ्जालमा देखिएजस्तो अतिवादी हुँदैन। तर त्यही सानो संख्याले सञ्जालमा प्रभुत्व जमाएको जस्तो देखिन्छ।

यस्ता अनुसन्धानको अध्ययन पनि नगरी अनि आफ्नो तर्फबाट अनुसन्धान नै नगरी मनोगत रुपमा सामाजिक सञ्जाललाई बन्द गर्ने बाटोमा जानु भनेको आलोचना सुन्ने क्षमताको पूर्ण रुपमा ह्रास हुनु हो। सरकार के साँच्चिकै आलोचना सुन्ने सामथ्र्य गुमाइसकेको हो ? अझ सत्ता साझेदार कांग्रेस ! आलोचना गर्न पाउने अधिकारसहितको लोकतन्त्रको पक्षमा उभिने कुरामा सहमति जनाउनेहरुलाई संगठित गरेर जन्मेको सबैभन्दा पुरानो लोकतान्त्रिक पार्टी होइन र ? यो कदम लोकतन्त्रको ‘कोर–भ्यालु’ माथिको आक्रमण हो भन्ने निष्कर्षमा कहिले पुग्ने ? लोकतन्त्रवादीहरुको लागि अहिलेलाई यत्ति प्रश्न मात्रै। जवाफ उतैबाट आउला भन्ने विश्वास छ।

सरकारले सामाजिक सञ्जालमाथि लगाएको प्रतिबन्ध, देशमा व्याप्त भ्रष्टाचार, बेथितिका विरुद्ध एकै पटक प्रदर्शन गर्न भनेर युवाहरु (जेनजीहरु) सडकमा आउँदैछन्। उनीहरुले उठाउन चाहेको मुद्दा हेर्दा सञ्जालमा प्रतिबन्ध खुला, सदाचार राज्य प्रशासन र थितिका आधारमा राज्य सञ्चालन यो पुस्ताको लक्ष्य देखिन्छ। यी सबै कुरा लोकतन्त्रका आधारभूत सिद्धान्तभित्रै अट्ने कुराहरु हुन्। लोकतन्त्रको ‘कोर–भ्यालु’का लागि अझै पनि सडकमा जानु पर्ने अवस्था किन आयो ? यो पनि नेतृत्वले गम्भीर मनन गरोस्।

जेनजी पुस्ता प्राविधिक दक्षताको मात्र होइन, लोकतान्त्रिक चेत र संस्कृतिको पनि ज्ञान होस् भन्ने दाइ/अंकल पुस्ताको अपेक्षा छ। प्रविधिको कोरा प्रयोगले परिणाम दिँदैन। लोकतान्त्रिक चेतनाको उच्च प्रदर्शन गर्दै यो पुस्ता अगाडि आयो भने लोकतान्त्रिक मूल्यका लागि फेरि अर्को पुस्ताले यो नियति भोग्नुपर्ने छैन। त्यस कारण नयाँ पुस्ता यो सन्दर्भमा गम्भीर बन्नुपर्छ-बन्नेछ।

आन्दोलन र प्रदर्शन अनुशासित बनाउने, तोडफोडलाई निरुत्साहित मात्र होइन, निर्मूल नै बनाउने, सभ्यताको उच्चतम प्रदर्शन गर्ने सन्दर्भमा पनि नयाँ पुस्ता दक्ष देखिनु पर्दछ। यो प्रदर्शन उनीहरुका लागि ठूलो अवसर हो। तर, अत्यन्तै सचेत हुन जरुरी छ। भिजिलान्तेको घुसपैठबाट आन्दोलनलाई कसरी जोगाउने ? बिशेष रणनीति बनाउन चुक्नुहुँदैन।

कुनै विकल्प नदेखेपछि इमान्दार मनलाई साक्षी राखेर प्रदर्शनमा आउनेहरु हुन्छन्। तर त्यही ‘इमान्दार मन’लाई (दुरु) उपयोग गर्दै स्वार्थको रोटी सेक्नेहरु पनि दाउ हेरेर बसिरहेका हुन्छन्। उनीहरुले कुनै पनि बेला इमान्दार र स्वतःस्फूर्त अभियानलाई ‘हाइज्याक’ गरेर अकल्पनीय मोड दिन सक्छन्। त्यति मात्र होइन, यस्ता अभियानहरुलाई उत्तेजित बनाएर, हिंसात्मक बनाएर भाड्नेहरु पनि भेटिन्छन्। यस्ता उदाहरण प्रशस्तै भेटिन्छन्। नेपालमा पनि ०४२ सालको पञ्चायती व्यवस्था विरुद्धको ‘सत्याग्रह’का क्रममा सिंहदरबारमै बम विस्फोट गराई हिंसात्मक बनाउने प्रयास भयो। तत्काल आयोजकले सत्याग्रह नै स्थगित गर्न बाध्य भयो।

यस्तो नियति जेनजीको अभियानले नभोगोस्। कसरी यस्तो हुनुबाट जोगाउने ? प्रचुर चिन्तन, योजना र चलाखीको आवश्यकता पर्दछ। लोकतन्त्रका ‘कोर–भ्यालु’को जगमा उभिएर त्यही ‘कोर–भ्यालु’ स्थापित गर्न मात्र यो अभियान अगाडि बढोस्।

अझै सचेत हुनुपर्ने के छ भने, पार्टीहरुले ‘हाम्रो पनि समर्थन छ’ भन्दै आउन थालेकाछन्÷थाल्नेछन्। यस खाले ‘समर्थन’बाट अभियान उत्साहित होइन, थप सचेत र गम्भीर बन्दै जानु हो। युवाहरुमा स्वाभाविक रुपमा आक्रोश हुन्छ। त्यो आक्रोशको नियन्त्रण अर्को चुनौती हो। दलीय हस्तक्षेपबाट अभियानलाई जोगाउने चुनौती पनि निकै महत्वपूर्ण चुनौती हो।

आन्दोलन आह्वान गर्न सजिलो छ, त्यसलाई नियन्त्रणमा राख्न र आफ्नो ढंगले गति दिन त्यति सजिलो छैन। त्यस कारण यस्ता विषयमा गम्भीर बनेर आन्दोलनलाई लोकतन्त्रको ‘कोर–भ्यालु’भित्र राखी सञ्चालन गर्ने दक्षता पनि युवाहरु अपेक्षित छ।

सरकारको पनि यो दायित्व हो–अभियान वा आन्दोलनको आवाज तत्काल सुन्ने र सम्बोधन गर्ने। अर्को विकल्प तर्फ सरकार जानै हुँदैन। प्रदर्शन पूर्व नै यति गर्न सक्यो भने सरकार वाह ! वाह ! नै हुने हो। तर हेप्ने, नसुन्ने, वेवास्ता गर्ने तानाशाही संस्कार देखाउन थाल्यो भने सरकारले पतनको बाटो रोजेको ठहर्छ। प्रविधिको माध्यमबाट सुनौलो नेपाल र संसारको खाका कोर्दै बसेकाहरुलाई सडकमा अलमल्याइराख्ने काम सरकारले नगरोस्। भन्ने गरिन्छ–लोकतन्त्र भनेको त्यस्तो संस्कार हो, जसले कोही एक जना व्यक्ति मात्र पनि आफ्ना मुद्दासहित असन्तुष्ट देखियो भने त्यसलाई सम्बोधन गर्न प्रेरित गर्छ। सरकारले लोकतन्त्रले बोक्ने यो संस्कार देखाओस्।

वीपी कोइरालाले भन्नुहुन्थ्यो–तरुणहरु ! तिमी आँट मात्र, जे पनि सम्भव छ। आज वीपी जयन्तीको अघिल्लो दिन, युवाहरुले आँटेका छन्, चाहेका छन्। यो सकारात्मक हो। तर गम्भीर हुन जरुरी छ कि यो अभियान आन्दोलन बनोस्, अराजक भिड नबनोस्। प्रबृत्ति बिरुद्ध लक्षित बनोस् व्यक्ति लक्षित नबनोस्।

• • •

प्रतिक्रिया

प्रतिक्रिया ()

टिप्पणीहरू छैनन्। तपाईं पहिलो बन्नुहोस्!