बुधबार, २५ फेब्रुअरी २०२६

अनलाइन स्क्यामिङमा पक्राउ परेका नेपाली कैदीलाई आममाफी दिन म्यानमार तयार!

News Image
• • •

अनलाइन स्क्यामिङमा पक्राउ परेका १८ नेपाली कैदीलाई आममाफी दिन म्यानमार सरकार सकारात्मक देखिएको छ।

बुधबार सिंहदरबारमा आयोजित पत्रकार सम्मेलनमा परराष्ट्र मन्त्रालयको दक्षिणपूर्वी एसिया तथा प्रशान्त क्षेत्र महाशाखा प्रमुख प्रकाश अधिकारीले अवैध रुपमा म्यानमार पुगेर अनलाइन स्क्यामिङमा पक्राउ परेका नेपालीहरूलाई आममाफी दिन त्यहाँको सरकार सकारात्मक देखिएको बताए।

म्यानमारले अवैध अनलाइन स्क्यामिङमा संलग्न १७ देशका ४९५ जनालाई पक्राउ गरेको भएपनि नेपाल र म्यानमारको सुमधुर द्विपक्षीय सम्बन्धका कारणले नेपालीहरूलाई माफी दिने तयारी गरेको उनले बताए।

म्यानमारले अनलाइन स्क्यामिङ केन्द्रमा काममा लगाइएका १८ जना नेपालीलाई पक्राउ गरि एक वर्ष कैद सजाय सुनाएको थियो।

त्यसलगतै म्यानमारका लागि नेपालका राजदूतसँग सम्पर्क गरि म्यानमारका उपविदेशमन्त्री र गृहमन्त्रीसँग भेटघाट गर्दा आममाफी दिन सकारात्मक रहेको जवाफ प्राप्त भएको अधिकारीले बताए।

अधिकारीले थाइल्याण्ड र म्यानमारमा आकर्षक तलबको प्रलोभन देखाइ भारत लगाएत अन्य देशको बाटो हुदै नेपालीहरूलाई त्यसतर्फ तस्करी गर्ने गरिएको पाइएको परराष्ट्र मन्त्रालयले जनाएको छ।

त्यहाँ पुर्‍याएर उनीहरूलाई सुरक्षा गार्ड, अनलाइन डेटिङ, अनलाइन क्यासिनो, गेमिङ तथा फिसिङ, क्रिप्टो ठगी लगायतका क्रियाकलापमा संलग्न गराउने गरेको पाइएको अधिकारीले बताए।

परराष्ट्र मन्त्रालयका अनुसार स्क्यामिङ केन्द्रहरूबाट हालसम्म ३९२ जना नेपाली नागरिकहरूलाई उद्धार गरी नेपाल फर्काइसकिएको छ। र हाल ३०९ जना नेपाली उद्धारको लागि प्रक्रियामा छन्।

• • •

प्रतिक्रिया

प्रतिक्रिया ()

टिप्पणीहरू छैनन्। तपाईं पहिलो बन्नुहोस्!