छिमेकी भारतमा विश्वका धनी राष्ट्रहरूको जमघट सुरु भएको छ। तर यो जमघटमा नेपालको उत्तरी छिमेकी चीनका कार्यकारी राष्ट्रप्रमुख भने उपस्थित हुनेछैनन्।
विश्वका २० शक्ति राष्ट्रका कार्यकारी प्रमुखहरू यतिबेला भारतको नयाँ दिल्लीमा भेला भइसकेका छन्। भारतको नयाँ दिल्लीमा हुन लागेको जी–२० शिखर सम्मेलनका लागि उनीहरू भेला भएका हुन्।
युरोपेली संघसहित १९ वटा अरू राष्ट्रहरूले प्रतिनिधित्व गर्ने जी–२० अर्थात् ग्रुप २० विश्वका धनी राष्ट्रहरूको समूह हो।
यो समूहमा आर्जेन्टिना, अस्ट्रेलिया, ब्रजिल, क्यानडा, चीन, फ्रान्स, जर्मनी, भारत, इन्डोनेशिया, इटली, जापान, मेक्सिको, रुस, साउदी अरब, दक्षिण अफ्रिका, टर्की, दक्षिण कोरिया, यूके र अमेरिकालगायतका देशहरू छन्। यसपालि भारतले अध्यक्षता गरेको यो सम्मेलनमा स्पेनलाई भने पाहुना राष्ट्रका रुपमा निम्त्याइएको छ।
विश्वका यी शक्ति राष्ट्रहरूले विश्व अर्थतन्त्रको करिब ८५ प्रतिशत हिस्सा ओगट्छन्। र विश्वव्यापरको झन्डै ७५ प्रतिशत यिनै राष्ट्रबीचमा हुने गर्छ। शनिबार र आइतबार भारतको राजधानी नयाँदिल्लीस्थित प्रगति मैदानमा हुने यो सम्मेलनलाई भव्य बनाउनका लागि भारतले भरपूर प्रयास गरेको छ।
पन्ध्र वर्षअघिको आर्थिक सङ्कटका बेला विश्वअर्थतन्त्रलाई व्यवस्थापन गर्ने उद्देश्यले उदीयमान अर्थतन्त्रको साझा सङ्गठनका रुपमा स्थापना भएको जी–२० को नयाँदिल्ली संस्करणमा सहभागी हुने विभिन्न देशका राष्ट्रपति र प्रधानमन्त्री सवार विमानहरू इन्दिरा गान्धी अन्तरराष्ट्रिय विमानस्थलमा अवतरण भइरहेका छन्।
रुसका राष्ट्रपति भ्लादिमिर पुटिन र चीनका राष्ट्रपति सी चिनफिङ अनुपस्थित हुने शिखर सम्मेलनमा कुनै मूलमुद्दामा सहमति जुट्नेमा आशङ्का व्यक्त गरिएको छ।
खासगरी विश्व अर्थव्यवस्थाका बारेमा छलफल र रणनीति तय गर्ने यी धनी राष्ट्रहरूको यो सम्मेलनमा यसपालिको मुख्य विषय नै रुस-युक्रेनको युद्ध र त्यसले विथोलेको विश्व अर्थव्यवस्थामा केन्द्रित हुनेछ।
शिखर सम्मेलनको पूर्वसन्ध्यामा साझा दस्तावेज तयार गर्ने तथा सहमति जुटाउन भारतलाई धौधौ परेको छ। शीर्ष नेतृत्वले अनुमोदन एवं हस्ताक्षर गरी सम्मेलनको अन्त्यमा जारी गर्ने संयुक्त वक्तव्यमा अझै ठोस सहमति जुट्न सकेको छैन।
चीनका राष्ट्रपतिको अनुपस्थितिको कारण खुलाइएको छैन। अमेरिकी नेतृत्वको यो समूहलाई असफल पार्दै जी–२० स्थानमा आफू अनुकूल अर्को संस्था बनाउने आशय बेइजिङले व्यक्त गर्दै आएको छ। जी–२० शिखर सम्मेलनका बेला चिनियाँ नेता सी भेनेजुएला र जाम्बियाका राष्ट्रपतिको स्वागतमा व्यस्त छन्।
युक्रेनमाथि हठात् आक्रमण गरेर युद्ध अपराधको आक्षेप खेपिरहेका रुसका राष्ट्रपतिको अन्तरराष्ट्रियस्तरमा निन्दा र कूटनीतिक भत्र्सना भएको छ तर उनले आफ्ना सहयोगीका साथमा युक्रेन युद्ध आवश्यक एवं औचित्यपूर्ण भएको दाबी गर्दै आएका छन्।
बेलायतका प्रधानमन्त्री ऋषि सुनकले जी–२० शिखर सम्मेलनमा फेरि पनि रुसी राष्ट्रपतिले आफ्नो अनुहार देखाउन नचाहेको टिप्पणी गरेका छन्।
आफ्नो कूटनीतिक वहिर्गमन एवं राष्ट्रपति भवनको एकान्तमा बस्नुपर्ने परिस्थितिको निर्माण उनी स्वयम् गरेको प्रधानमन्त्री सुनक उल्लेख गरेका छन्।
जी–२० का अन्य नेताहरूले भने सम्मेलनमा आफूहरू उपस्थित भएर रुसी नेता पुटिनले निम्त्याएको विनाशको क्षतिपूर्तिका निम्ति सक्दो सहयोग गर्ने प्रतिबद्धता व्यक्त गरेका छन्।
अमेरिकी राष्ट्रपति जो बाइडेनले शिखर सम्मेलनमा भाग लिन एयरफोर्स वानमाबाट भारत आउँदैछन्।
उनले विश्व अर्थव्यवस्थामा योगदान गर्नसक्ने बताएका छन्।
यद्यपि चीनले अमेरिकी कम्पनी आइफोनको उत्पादन आइफोनमाथि प्रतिबन्ध लगाउने तयारी गरेको अफवाह फैलिरहेको छ।
एप्पलको आइफोनलाई संसारभर मान्यता दिइएको छ। राष्ट्रपतिका साथमा अमेरिकी राष्ट्रिय सुरक्षा सल्लाहकार जेक सुलिभान पनि छन्।
रुस र चीनका राष्ट्र प्रमुख सम्मेलनमा नआउँदा के हुन्छ?
दुई दिनसम्म भारतको राजधानी नयाँदिल्लीस्थित प्रगति मैदानमा अयोजना हुने युरोपेली सङ्घसहित १९ वटा विशाल अर्थतन्त्र भएका राष्ट्रको अन्तर सरकारी सङ्गठन जी–२० शिखर सम्मेलनमा चीन र रुसका राष्ट्रपतिको अनुपस्थितिले केही फरक नपार्ने टिप्पणी एक जना पश्चिमा कूटनीतिकज्ञले गरेका छन्।
भारतका लागि जर्मनीका राजदूत फिलिप एकरम्यानले रुसका राष्ट्रपति भ्लादिमिर पुटिन र चीनका राष्ट्रपति सी चिनफिङको जी–२० शिखर सम्मेलनमा हुने अनुपस्थितिले कुनै फरक नपर्ने बताएका हुन्।
एएनआईसँगको अन्तर्वार्तामा राजदूत एकरम्यानले राष्ट्रपति पुटिन अघिल्लो शिखर सम्मेलनमा सहभागी नभकाले यसपटकको उनीहरूको अनुपस्थितिलाई अचम्म मान्नुपर्ने केही कारण नभएको बताए।
‘चिनियाँ राष्ट्रपति सीको अनुपस्थितिले भने हामी अलिकति विस्मित भयौं तर उहाँको प्रतिनिधित्व चिनियाँ प्रधानमन्त्रीले गर्ने भएपछि यसले खासै फरक पार्दैन’ चिनियाँ धारणा प्रधानमन्त्रीबाट प्रस्तुत हुने उल्लेख गर्दै उनले भने।
एउटा देशको राष्ट्रपतिको अनुपस्थितिले यो शिखर सम्मेलनलाई छायामा पर्न दिननहुनेमा जोड दिँदै जर्मनीका राजदूतले जी–२० को स्थायी सदस्यताको लागि अफ्रिकी सङ्घलाई आमन्त्रित गर्ने भारतको निर्णयको स्वागत गरे।
उनले युरोपेली सङ्घसँगै अफ्रिकी सङ्घलाई पनि समावेश गर्ने भारतीय प्रयासलाई खुला हृदयले समर्थन गर्ने बताए। भारतको अध्यक्षताले जी–२० लाई नयाँ उचाइमा पुर्याएको पनि उनले बताए।
शिखर सम्मेलनको पूर्वसन्ध्यामा एक आलेख प्रकाशन गर्दै भारतका प्रधानमन्त्री नरेन्द्र मोदीले मानव केन्द्रित विश्वविकासमा जोड दिएका छन्। उनले साझा भविष्यका निम्ति विश्वका सबै मानवबीच एकता हुनुपर्ने, विश्ववासी एक परिवारका रुपमा हातेमालो गर्दै साझा प्रगति र समृद्धि प्राप्तिका लागि अघिबढ्नुपर्नेमा जोड दिएका हुन्।
प्रधानमन्त्री मोदीले आर्थिक एवं औद्योगिक रुपमा कम विकसित देशहरूलाई एकैस्थानमा उभ्याउने ‘ग्लोबल साउथ’ को अवधारणा तथा अफ्रिकाका विकासशील मुलुकका सीमान्तकृत आकाङ्क्षालाई मूल प्रवाहमा समाहित गर्न अपरिहार्यं भएको विचार व्यक्त गरेका छन्।
उनले दिगो विकासका लक्ष्य प्राप्तिमा भएका प्रगतिबारे जी–२० शिखर सम्मेलनमा समीक्षा हुने र लक्ष्यहरूको अक्षरसः कार्यान्वयनका लागि कार्यदिशा निर्धारण गर्ने बताएका छन्।