जुम्लाकाे गुठीचाैर गाउँपालिकाले मदिरा नियन्त्रण कार्यविधि २०८० पास गरेपछि नियमन सुरु गरेकाे छ। गाउँपालिकाका अध्यक्ष दान बहादुर बुढा निरन्तर फिल्डमा खटिएर मदिरा नियन्त्रणकाे अभियान चलाइरहेका छन्।
उनकाे याे अभियानलाई प्रहरी, प्रशासनले सहयोग गरेकाे छ भने सर्वसाधारणको साथ छ। प्रहरी प्रशासनकाे बलमा उनले अवैध रुपमा बिक्रीवितरण भइरहेकाे मदिरा नष्ट गर्ने काम गरिरहेका छन्।
यसैबीचमा उनले सरकारले अवैध मानेकाे घरेलु मदिरा बिक्री गरिरहेका आफ्नै दाइकाे मदिरा नष्ट गरेका थिए। आवेगमा आएका दाइले ज्यान मार्ने धम्की दिँदा उनकाे प्रतिक्रिया थियाे, 'याे समाज बदल्ने अभियान हाे। आफैँबाट र आफ्नैबाट सुरु गर्नुपर्छ।'
गाउँपालिकाले साउन १ गतेदेखि भदाै १ गतेसम्म एक महिनाकाे समय दिएर अवैध रुपमा मदिराकाे काराेबार गर्नेलाई कानुनी प्रक्रिया पूरा गर्न सूचना जारी गरेकाे थियाे। पालिकाकाे अनुराेधलाई बेवास्ता गरेपछि अवैध मदिरा नष्ट गर्न थालिएकाे अध्यक्ष बुढाले बताए।
'कानुनले वैध ठानेकाे मदिरा सरकारी कार्यालयकाे पाँच मिटरभन्दा टाढा बेच्न पाइन्छ। त्याे पनि कानुनअनुसार दर्ता भएकाे पसलबाट,' उनले भने, 'कानुनले घरेलु मदिरा अवैध मानेकाे हुनाले बिक्रीवितरणमा राेक लगाइएकाे छ भने मदिरा सेवन गर्नेलाई गाउँपालिकाबाट मदिरा सेवन गर्ने कार्ड लिनुपर्नेछ।'
केही दिनयता गाउँपालिका अध्यक्ष दिनरात नभनि मदिरा नियन्त्रण अभियानमा लागेका छन्। यही क्रममा घरेलु मदिरा उत्पादन गर्न बनाइएकाे कच्चा पदार्थमा मरेका किरा, फट्याङ्ग्रा र झिंगा मिसाइएकाे पाइएकाे छ।
'अवैध मदिरालाई नियन्त्रण तथा व्यवस्थापन गर्ने सन्दर्भमा गुठीचाैर गाउँपालिका-३ काे सानाे गुठीचाैरमा स्थानीय मदिरा बनाउनकाे लागि प्रयाेग गरिएकाे घ्याम्पामा झिंगा मारेर कच्चा पदार्थकाे रूपमा प्रयाेग गरिएकाे थियाे,' अध्यक्ष बुढाले भने, 'त्यसैले काेही कसैले पनि स्थानीय स्तरबाट उत्पादित अवैध मदिरा सेवन नगर्नकाे लागि गुठीचाैर गाउँपालिका परिवार सबैमा विनम्र अनुराेध गर्दछ।'
अभियानकाे क्रममा घरेलु मदिरा नष्ट गरिएपछि धेरैले गाउँपालिका अध्यक्षलाई विभिन्न खालका गाली गलाैज तथा अपशब्दसमेत प्रयाेग गर्छन्। तर समाज सभ्य बनाउने क्रममा कसैकाे साथ सहयोग नपाए पनि एक न एकदिन सकारात्मक कदम थियाे भनेर जरुर बुझिने अध्यक्ष बुढाकाे भनाई छ।
अवैध रुपमा मदिरा बिक्रीबाट नाफा आर्जन गरिरहकेका बाहेक धेरैलाई गाउँपालिकाकाे याे कदम साह्रै राम्राे लागेकाे छ। गुठीचाैर गाउँपालिका-२ काेल्त्याका ४८ वर्षीय राजु बाेहाेरालाई मदिरा नियन्त्रण गर्न पालिकाले चालेकाे कदम र बनाएकाे कानुन साह्रै राम्राे लागेकाे छ।
'हामी आफूले खाने रक्सी घरमा बनाउँछाैँ। जस्ताे कि जाैँ, गहुँ, काेदाे, फापर आदिकाे,' उनले भने, 'तर यसमा कुनै मिसावट हुँदैन। त्याे केवल घरेलु उपयोगका लागि बाहेक बिक्रीवितरणका लागि हुँदैन। तर व्यापारीहरु जस्ताे पाए त्यस्तै चिज राखेर रक्सी बनाइ बेचिरहेका छन्। यसलाई राेक्न खाेज्नु राम्राे हाे।'
गुठीचाैर गाउँपालिकामा बाहुन, क्षेत्री, दलित सँगसँगै खम्बा समुदायका मान्छेसमेत बसिरहेका छन्। त्यसमध्ये खम्बा समुदायका निम्ति रक्सी पूजामा अनिवार्य सामग्री हाे। त्यसैले ती समुदायलाई लक्षित गरेर कानुनमा वर्षमा छ देखि आठ पटक घरमै मदिरा उत्पादन गर्न पाउने प्रावधान राखिएकाे छ।
उनले भने, 'हामी जनस्वास्थ्यमा गम्भीर खालका समस्या आउन दिनु हुँदैन भनेर लागिरहेका छाैँ। कुनै समुदायकाे संस्कार र संस्कृति मास्न हाेइन। त्यसैले लेकमा बस्ने खम्बा समुदायलाई एक पटकमा पूजाकाे लागि चाहिने ८ लिटरसम्म रक्सी उत्पादन गर्न दिने कानुनी प्रावधान छ।'
जुम्लामा गुठीचाैर गाउँपालिकाका बासिन्दालाई हेर्ने दृष्टिकोण राम्राे छैन। उनीहरु लडाइँ झगडा गर्छन् भन्ने छाप परेकाे छ। त्यहाँ हरेक वर्षजसाे ठुलो लडाइँ झगडाहरु हुँदै आएका छन्।
केहीदिन अगाडि प्रसिद्ध पर्यटकीयस्थल गुठीचाैरमा ज्याङ्काेटका केटाहरुले उमखाेलाकाे विद्यार्थीलाई रक्सी खाएकाे बेला सिसाकाे बाेतलले हानेर कुटे। मुद्दा मामिला भयाे। पीडितलाई पीडकले साडे छ लाख क्षतिपूर्ति दिनुपर्यो। याे अवस्था रक्सीकै कारण आएकाे अध्यक्ष बुढाकाे बुझाई छ।
'यी कारणले हाम्राे सकारात्मक उर्जा मरिरहेकाे छ। हामीले गरेकाे विकास निर्माण र सिर्जनात्मक कामहरु लडाइँ-झगडाका कारण फिक्का बन्दैछ,' उनले भने, 'यसै कारण मदिरा नियन्त्रण गर्ने विषयमा साेचेका हाैँ। यसले समाजलाई सहि बाटाेमा डाेर्याउनेछ भन्ने मेराे विश्वास हाे।'
पालिकाले सुरु गरेकाे मदिरा नियन्त्रण अभियान निरन्तर भइरहनुपर्ने धेरैकाे मत छ। बीचमा थाक्ने र नियमलाई फितलाे बनाउने हाे भने बिचाैलियाकाे हालीमुहाली हुनसक्ने गुठीचाैर गाउँपालिका-३ का युवा लक्ष्मण सुनारकाे मत छ।
'गाउँपालिकाले जाँड रक्सीको कुलतमा लागेका र लाग्न सक्ने युवाहरु लक्षित कार्यक्रम ल्याउन सके याे अभियानकाे प्रभावकारिता अझ बढ्नेछ,' उनले भने, 'याे निरन्तर चलिरहनुपर्छ। अन्यथा अभियानकाे गरिमा घट्दै जानेछ।'
घाँटीमा खुकुरी र छातीमा गाेली लागे पनि अभियान नराेकिने गाउँपालिका अध्यक्ष बुढाकाे अडान छ। उनी भन्छन्, 'खुकुरीले मेराे घाँटी छिनाइयाे वा बन्दुकको गाेली मेराे छातीमा पसाइयाे भने मेराे केही लाग्दैन, अन्यथा याे अभियान राेकिनेवाला छैन।'
उनी घरेलु मदिरा नबेचेसम्म गुजारा नचल्ने परिवारका निम्ति गाउँपालिका विकल्प दिन तयार रहेकाे बताउँदै घरघर, हाेटलहाेटल हिँडिरहेका छन्। 'सके गाउँपालिकाले बजेटकाे व्यवस्था गर्छ। नसेके अध्यक्षकाे काेषबाट भएपनि हामी विकल्प दिनेछौँ। तर मदिरा बेच्नु नै अन्तिम विकल्प हाे भन्ने मान्यतालाई चिरेरै छाड्नेछाैँ,' उनले थपे।
इजाजत पत्र प्राप्त गरेका बिक्री पसलले आफूले बिक्री गरेको मदिराको अभिलेखसमेत दुरुस्त राख्नुपर्ने र मदिरा होलसेलले बिहान ७ बजेदेखि ५ बजेसम्म मदिरा बिक्री गर्न पाउने प्रावधान छ। खुद्रा पसलले सेवनकर्तालाई बेलुका ६ बजेदेखि राति ९ बजेसम्ममात्र रक्सी बिक्री गर्न पाउने गरी नियम बनाइएकाे छ।
गाउँपालिकाले मदिरा सेवन गर्ने व्यक्तिकाे आनीबानीसमेत नियन्त्रण गर्न खाेजेकाे छ। यसका लागि गाउँपालिकाभित्रका बासिन्दाले नियमित रुपमा मदिरा सेवन गर्नका लागि कार्ड लिनुपर्ने व्यवस्था मिलाइएकाे छ भने पाहुना आएका व्यक्तिले मदिरा सेवन गर्न चाहेमा अतिथि मदिरा सेवन कार्ड लिनुपर्ने व्यवस्था मिलाइएकाे छ।
तर हालसम्म काेही पनि सर्वसाधारणले मदिरा सेवन कार्ड लिएका छैनन्। तर पालिकाका कर्मचारीले भने कार्ड लिएका छन्।
यसअघि २०७४ काे स्थानीय तहकाे निर्वाचनपछि रारा छायाँनाथ नगरपालिकाले सम्पूर्ण खालकाे मदिरा नियन्त्रण गर्न खाेज्दा बिचाैलिया हावी भएका थिए। याे अभ्यासलाई मसिनाे अध्ययन गरी गाउँपालिकाले कानुनले वैध मानेकाे मदिरा बिक्रीवितरण गर्न दिने तर नियमन गरिरहने संयन्त्र बनाएको छ।