एमाले र माओवादी केन्द्रको एकतापछि बनेको नेकपामा आफ्नो मनमौजी नचलेपछि केपी शर्मा ओलीले पहिला माओवादीका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ र त्यसपछि बाँकी रहेको एमालेबाट माधवकुमार नेपाल, झलनाथ खनाललगायतका प्रतिस्पर्धीहरूलाई गलहत्याएर एकलौटी बनाएको एमालेमा फेरि नयाँ ध्रुवीकरण सुरू भएको छ।
ओलीको एकलकाँटे नेतृत्वमा पार्टी लगातार ओरालो लागिरहे पनि उनले बाँचुञ्जेल पार्टी नेतृत्व नछाड्ने छाँट देखाएपछि ध्रुवीकरणले आकार लिन थालेको हो। यसका लागि हिजो ओलीका लागि मर्न र मार्न तयार रहेका उनका अनुयायीहरू नै विस्तारै सल्बलाउन थालेको संकेत मिलेको छ।
विषयमा प्रवेश गर्नुपहिले पृष्ठभूमिको कुरा गरौं। मिर्गौला रोगले जीवनको उत्तराद्र्धमा पुगेका ओलीले एकपटकका लागि पार्टी अध्यक्ष हुने भन्दै नवौं महाधिवेशनमा माधव नेपाललाई पराजित गरेका थिए। उनले नेपाललाई हराउन महासचिव पद्धतिमा रहेको बेला एमालेको १५ वर्ष नेतृत्व गरिसकेको भन्ने चुनावी हत्कण्डा प्रयोग गरेका थिए।
यही क्रममा उनले आफू एकपटक मात्र नेतृत्वमा रहने वाचा कसम मात्र खाएका थिएनन्, आफू कक्षा दोहोर्याएर नपढ्ने विद्यार्थी भएको भन्दै आश्वासन बाँडेका थिए। त्यतिबेला पार्टीमा शक्तिशाली रहेका वामदेव गौतमले ओलीपछि पार्टी अध्यक्ष हुने लोभमा ओलीको वैतरणी तारिदिएका थिए। त्यसो त नवौं महाधिवेशनमा ईश्वर पोखरेलको साथ लिँदा दशौंमा पोखरेललाई अध्यक्ष दिने वचन दिएका थिए।
ओलीले कक्षा नदोहोर्याउने ललिपप र वामदेवको पार्टी अध्यक्ष बन्ने सपना त्यतिबेला ओलीको प्रतिकूल स्वास्थ्यस्थितिका कारण सिर्जना भएको पृष्ठभूमि थियो। तर, पछि ओलीको मिर्गौला प्रतिस्थापन भयो र ओलीको भाग्यसँगै वामदेवको दुर्भाग्य सुरू भयो। त्यसपछि ओलीले कक्षा नदोहोर्याउने वाचाकसम र बामदेवलाई उत्तराधिकारी बनाउने दुवै कुरा बिर्से। ईश्वर पोखरेलको कुरै छाडौं। नेकपा भाँड्न मात्र उनी प्रयोग भए। अहिले पोखरेलको राजनीति घर न घाटको बनेको छ।
यही बीचमा ओली पहिलोपटक प्रधानमन्त्री भए। यही बेला देशमा अघोषित भारतीय नाकाबन्दी लाग्यो। महाकाली सन्धीका कारण एक राष्ट्रघाती नेताका रूपमा खलनायक छवि बनाएका ओलीले नाकाबन्दीको विरोधमा खह्रो उतारेर त्यो पुरानो छवि बदले र रातारात राष्ट्रवादका मोहरा बने। यसरी एकाएक महान राष्ट्रवादी बनेका ओली सत्ताच्युत भए पनि उनले बडेमाको राष्ट्रवादी छवि बनाए। यही छविका भरमा उनी चुनावी नायक बने।
राजनीतिक स्थायित्वको नाममा माओवादीसँग पछि पार्टी एकीकरण गर्ने शर्तमा चुनावी गठबन्धन गरेका ओली प्रचण्ड बहुमत ल्याएर प्रधानमन्त्री बने। प्रधानमन्त्री बनेको केही समयमै ओली एमाले र माओवादी पार्टी एकता गरेर नेपाल कम्युनिष्ट पार्टीको एक नम्बर अध्यक्ष बने।
यसरी रातारात शक्तिशाली बनेका ओलीले पार्टी र सरकार दुबैको सत्ता कब्जा गरेपछि उनले आफ्नो मनमौजी सुरू गरे। उनको त्यो मनमौजी मुलतः आफ्नो गुटलाई बलियो बनाएर दोस्रोपटक पार्टी अध्यक्ष बन्ने रणनीतिको एक हिस्सा थियो।
ओलीको मनमौजी खप्न नसकेका पूर्वमाओवादी र एमालेको नेपाल समूह एक ठाउँमा आएर उनलाई चुनौति दिए। त्यही चुनौती पार गर्न उनले दुई दुईपटक संसद् विघटन गर्ने असफल प्रयास मात्र गरेनन्, माओवादीलाई छुट्टिन चोलेन्द्र प्रयोग गरे भने नेपाल समूहलाई पार्टी छोड्न बाध्य पारे।
यसरी एमालेलाई ‘बा’माले बनाएका ओलीले एमालेको विधानमा रहेको ७० वर्षे उमेर सीमाको खड्को टार्न निर्धारित समयभन्दा अगाडि नै महाधिवेशन गराए। यति गर्दा पनि निर्विकल्प हुने योजनामा तगारो हालेका भीम रावलविरूद्ध ओलीले केसम्म गरेनन् ?, सबैका सामु छर्लङ्ग छ।
यस बीचमा ओलीले विधानबाटै ७० वर्षे उमेर सीमाको खड्को हटाइदिए। नेतृत्वमा आफूपछि को ? भन्ने प्रश्नको उत्तर दिने त धेरै टाढाको कुरा, त्यसको छनकसम्म नदिएर मनोमानी गरिरहेका ओलीले पार्टीमा रहेका अनेक गुटका नेताहरूको पेटी स्वार्थमाथि खेलेर आफूलाई निर्विकल्पजस्तै बनाए। एक किसिमले भन्ने हो भने एमाले कब्जा गरेर ‘बा’माले बनाए, आफूलाई कम्रेडबाट ‘बा’ बनाए।
अब विषयमा प्रवेश गरौं। यसरी सुविचारित किसिमले एमाले कब्जा गरेका ओलीको मनमौजी यतिमा अडिएको छैन। केही समययता त उनी थप तानाशाह बन्दै गएका छन्। पार्टीको कार्यक्रममा आफूबाहेक जिउँदा नेताहरूको तस्बिर नै राख्न नपाउने निर्णय गराएका उनले केही केन्द्रीय सदस्यलाई समेत गोर्खेठ्याक लगाइदिएका छन्। यसरी गोर्खेठ्याक लगाइएकामा उनको आलोचना गर्ने र पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीप्रति बफादार केन्द्रीय सदस्य नै बढी देखिन्छन्।
यो सबै ओलीको तेस्रो कार्यकाल हुँदै बाँचुञ्जेलसम्मका लागि पार्टी अध्यक्ष भइरहने सुविचारित योजनाको हिस्सा हो। ओली पात्र हैन, प्रवृत्तिका रूपमा बुझेकाहरूले उनको यो प्रपञ्च राम्रैसँग बुझेका छन्। यद्यपि, एमाले पार्टी कब्जा गरेर ‘बा’माले बनाएका ओलीविरूद्ध बोल्नसक्ने हैसियत उनीपछिका लोभीपापीले बनाउन सकेका छैनन्। अझै पनि उनीहरू ओलीले टीका लगाइदिएर पार्टी नेतृत्व आफूलाई देलान् भन्ने आशमै मुख मिठ्याइरहेका छन्। ओलीमा कुनै नाटकीय परिवर्तन आयो भने बेग्लै कुरा अन्यथा, उनीहरूका लागि त्यो आशा ‘आकाशको फल आँखा तरी मर’ हुने निश्चित छ।
भनाइ नै छ, शत्रुको शत्रु मित्र हुन्छ। ओलीको उत्तराधिकारी हुन लाइन लागेर एक अर्काविरूद्ध प्रयोग हुँदै आएका ओलीका जर्नेलहरूको अब होश खुल्न थाले जस्तो छ। ओलीलाई तेस्रो कार्यकालका लागि एमाले अध्यक्ष बनाउनुभन्दा आफूमध्ये कोही वा तेस्रो व्यक्तिलाई अध्यक्ष बनाउनुपर्ने कुरामा उनीहरू सहमत भएजस्तो देखिँदैछ। झट्ट सुन्दा विश्वास नै गर्न नसकिने यो परिस्थितिले विस्तारै आकार लिदैछ।
आखिर किन उनीहरू ‘ओली बा’लाई पार्टी अध्यक्षमा दोहोर्याउन चाहिरहेका छैनन् त ? यस प्रश्नको उत्तर सपाट छैन। राजनीतिक विश्लेषकहरू भन्छन्, ‘यसको मूलकारण ओलीको भष्मासुर प्रवृत्ति नै हो। ओली आफूलाई नभए कसैलाई पनि नहोस् भन्ने थेसिसका मान्छे हुन्। यही थेसिसले अगाडि बढेका उनी आफू नभए एमाले मात्र हैन, अरू वामपन्थी पनि बाँकी नरहोस् भन्ने चाहन्छन्। यसरी नेपालका वामपन्थीको भविष्य नै सखाप पार्ने कुबाटोमा लागेका ओली अध्यक्ष हुञ्जेल वाम–गठबन्धनको त टाढैको कुरा, वाम–मोर्चा पनि हुने कुरै छैन।
नेपाल अब वैचारिक धरातलमा दुई दलीय ध्रुवीकरणमा नगई सुखै छैन। प्रस्तुत पृष्ठभूमिमा कांग्रेसको नेतृत्वमा दक्षिणपन्थीहरू एकातिर र एमालेको नेतृत्वमा वामपन्थीहरू अर्कोतिर हुनु नै प्राकृतिक कुरा हो। तर, ओली त्यो प्राकृतिक ध्रुवीकरण नचाहने एक प्रकारका खलपात्र हुन्। उनले एकपटक हैन, पटकपटक वाम ध्रुवीकरणलाई असफल बनाएर त्यसलाई स्थापित सत्य बनाइदिएका छन्।
यस क्रममा उनले एमाले र माओवादी एक भएर बनेको नेकपालाई तुहाएका मात्र छैनन्, चुनावलगत्तै बनेको वामपन्थी नेतृत्वको सरकार र वामगठबन्धनको सम्भावनालाई पनि दुत्कारी दिएका छन्। राष्ट्रपतिका लागि उम्मेद्वार छान्दा इमान्दार भएको भए पनि नेपालमा वामपन्थी ध्रुवीकरणको सम्भावना जिवीतै थियो। त्यसमा पनि उनी इमान्दार देखिएनन्। त्यसपछि एमालेले केन्द्रीय सत्ता र प्रदेश सत्ता सबै गुमाएर लगभग एक्लो अवस्थामा पुगेको छ। अहिले ऊ वामपन्थी गठबन्धनकै कारण प्राप्त प्रतिनिधिसभा र राष्ट्रियसभाको नेतृत्व मात्रै रहेको अवस्थामा छ।
ओली अध्यक्ष हुन्जेल एमाले यसरी नै अगाडि बढ्ने र त्यसबाट नेपालका वामपन्थी भारतको पश्चिम बंगालपथमा जाने सम्भावना बढ्दो छ। धेरै टाढा पुग्नै पर्दैन, २०८४ को आमचुनावमा एमाले एक्लै जाने हो भने थुप्रै नेताको राजनीति भविष्य नै सकिने निश्चित छ। यसपटक नै चुनाव हारेका ईश्वर पोखरेल, शंकर पोखरेलजस्ता ठूला हस्तीको संसदीय राजनीतिमा पुनरागमन लगभग हुदैन भन्दा पनि हुन्छ।
प्रस्तुत पृष्ठभूमीमा एमालेभित्र ओलीको विकल्पको खोजी अरू घनिभूत हुन थालेको हो कि जस्तो देखिएको छ। एमालेको अहिलेको शीर्षपंक्ति मनोवैज्ञानिक रूपमा पनि ओलीको विरूद्धमा उभिन सक्ने स्थितिमा छैन। ओलीपछिको वरियतामा पुर्याइएका ईश्वर पोखरेलको नेतृत्व सर्वसम्मत छैन। खासै अग्लो कद बनाइ नसकेका र केही घोटालामा समेत मुछिएका पोखरेललाई अध्यक्ष मान्न विष्णु पौडेल, शंकर पोखरेल, सुवास नेम्वाङजस्ता नेता सहजै तयार देखिदैनन्। एमालेभित्र त उनको स्थिति नाजुक छ भने माओवादी, नेकपा एकीकृत समाजवादीलगायतका पार्टीसँग वाम गठबन्धन गर्दै वाम एकताको बाटोमा पार्टीलाई लैजाने हैसियत आर्जन गर्ने कुरै भएन।
यसै पनि पोखरेल नेकपा र एमाले फुटाउने खलपात्रका रूपमा बदनाम छन्। एमालेले जतिसुकै वामपन्थी भने पनि यस पार्टीमा अझै पनि जनजाति अध्यक्ष हुने कुरा धेरै टाढाको कुरा छ। यस अर्थमा नेम्वाङ अध्यक्ष हुने सम्भावना छैन भन्दा पनि हुन्छ। त्यसपछिको नेतृत्वमा रहेका विष्णु पौडेल र शंकर पोखरेल पनि सर्वस्विकार्य नाम हैनन्।
यस्तो अवस्थामा को हुन सक्छ त एमालेको अध्यक्ष ? जसले ओलीलाई चुनौती दिँदै एमालेमा सर्वसम्मत नेतृत्व दिने हैसियत मात्र राख्दैन, नेपालका वामपन्थी दलहरूलाई गठबन्धनमा ल्याँउँदै अन्ततः एउटै पार्टीमा एकबद्ध गर्न पनि सक्छ ? सम्भावनाको खोजी गर्दा, ओलीकै कारण बदनामी व्यहोरेर व्यक्तित्वमा केही दाग लागे पनि विद्यादेवी भण्डारी नै त्यस्तो व्यक्तित्व हुने देखिन्छ। यसअघि एमाले उपाध्यक्ष भइसकेकी भण्डारीसँग मदन भण्डारीकी विधवा हुनुको ठूलो पूँजी पनि बाँकी नै छ। उनलाई माओवादी र नेकपा एसका नेताहरूले पनि तुलनात्मकरूपमा बढी स्वीकार्न सक्ने सम्भावना देखिन्छ।
प्रश्न, राष्ट्रपति भैसकेकी भण्डारी पार्टीको अध्यक्ष हुने हो कि हैन भन्ने मात्र हो ? संविधानले त छेक्दैन तर नैतिक प्रश्न भने हुन सक्छ। त्यसका लागि उनले पूर्वराष्ट्रपतिका रूपमा प्राप्त सबै सुविधाहरू छोड्नुपर्ने हुन्छ। उनले अहिले पनि पूर्वराष्ट्रपतिले लिने धेरै सुविधा लिएकी छैनन् र प्रत्यक्ष राजनीति गर्ने बाटो खुला नै राखेकी छिन्। बेलाबेलामा सार्वजनिक अन्तर्वार्ता दिएर त्यसको छनक पनि दिएकी छिन्।
भण्डारीको यो छनक ओलीलाई राम्रो लागेको छैन। किनकि, उनलाई थाहा छ, भण्डारीले पार्टी अध्यक्ष बन्न चाहिन् भने ओलीको सम्भावना लगभग सकिन्छ। यसै पनि मदन भण्डारीका अनुयायीहरूको ठूलो पंक्ति भण्डारीको समर्थनमा हुन्छ नै, एमालेमा ओलीले पीर दिएका र पालो नदिएकाहरू पनि उनको समर्थनमा हुनेछन्।
यो परिस्थितिमा ओली उम्मेद्वारी नै दिन नसक्ने प्रतिकुल अवस्थामा पुग्छन्। पार्टी कमाण्डबाट बाहिरिने बित्तिकै ओली शक्तिहीन हुन्छन् र उनीमाथि बदला सुरू भएर नेपाली वामपन्थी आन्दोलनका एक खलपात्रका रूपमा बदनाम हुने खतरा बढेर जान्छ।
कम्युनिष्ट पार्टीमा नेतृत्वमा रहुञ्जेल पूजा गर्ने र नेतृत्वबाट हट्ने बित्तिकै उछित्तो काढ्ने सनातनी परम्परा नै रहेको छ। ओलीको अतिबाद पनि त्यस परम्परालाई थेग्न पर्याप्त छ।
यो सवै सम्भावित खतराबाट ओली आत्तिएका छन्। र, विद्या भण्डारीलाई सम्मानित ठाउँमा बस्न भनेर धम्क्याउनसमेत थालिसकेका छन्। यही बीचमा उनले मदन भण्डारी प्रतिष्ठानमाथि धावा मात्र बोलेका छैनन्, भण्डारीका समर्थकविरूद्ध कारबाहीको डण्डासमेत चलाएका छन्।
यी सबै घटनालाई नजिकबाट हेरिरहेकी भण्डारीले पनि आफ्ना समर्थकलाई नआत्तिन ढाडस दिएजस्तो देखिएको छ। पछिल्लो समय एक सार्वजनिक कार्यक्रममा एमाले उपाध्यक्ष सुभाष नेम्बाङले समेत संसद अवरूद्ध गर्ने आफ्नै नेतृत्वलाई ठेस लाग्ने धारणा राखेका छन्। नेम्बाङको त्यो अप्रत्यासित भनाइलाई संजोग मात्र भन्न सकिँदैन।
यसरी एमालेभित्र आकार लिदै गएको आन्तरिक ध्रुवीकरण हेर्दा ओलीका खराब दिन सुरू हुन थालेको हो कि जस्तो देखिन्छ। ढिलो चाँडोको कुरा मात्र हो तर ओली व्यक्तिगत रूपमा खराबभन्दा खराब दिनका लागि अभिसप्त पात्र छन्। किनकि, उनले नेपालको वामपन्थी आन्दोलनलाई गम्भीर मोडमा धकेलेर नेपालको राजनीतिलाई वैचारिक आधारमा दुई कित्तामा ध्रुवीकरण हुन नदिने ठूलो अपराध गरेका छन्।
लेखमा सत्यता छ एमाले जनले पार्टी , राजनीति , नेता र कार्यकर्ता बचाउँने कि "बा"काे राज बचाई सति जाने? अहम सवाल याे लेखले उठाएकाे छ।