अक्सर घुमन्तेहरू बर्खायाममा घुम्नका लागि मुस्ताङ पुग्थे। मरुभूमिजस्तै लाग्ने खोलाका बगर अनि पहाडहरूमाथि धुम्मिइरहने बादलले शितल हुन्थ्यो।
अरूतिर पानी परेर हिलाम्मे भएका बेला मुस्ताङको यो भूमि बर्खायाममा घुम्ने एउटा गन्तव्य थियो।
दुई वर्षअघि मुस्ताङका धेरै बस्तीमा बाढी पस्यो। वर्षभरि पर्नुपर्ने पानी एकपटक खनियो। विज्ञहरूकाअनुसार ‘घोप्ट्याइएको’जस्तै त्यही वर्षाको उपज थियो मनाङ र मेलम्चीको बाढी।
यसपालि किन ?
यसपालि पनि कागखोला कागबेनी बजार छिर्यो। कागखोला सुस्साउन थालिसकेको थियो। साँझ छिप्पिँदै गर्दा खाने तयारी गरिरहेका स्थानीयको भागाभाग भयो।
मुक्तिनाथ क्षेत्रबाट बगरेर आउने कागबेनी बजार छिचोल्दै कागखोला तिब्बतबाट मुस्ताङका शिर खोतलेर बग्दै बग्दै आएको कालीगण्डकीमा मिसिन्छ। अक्सर कालो माटो(लेदो) बगाउँदै लैजाने भएका कारण यसलाई कालीगण्डकी भनिएको किंवदन्ती छ।
स्थानीयकाअनुसार त्यहाँ २-३ दिनदेखि पानी परिरहेको थियो। तर, त्यतिधेरै ठुलो वर्षा भएको थिएन। वरिपरिका खहरेहरूमा अघिपछि पनि बाढी आउँथ्यो तर त्यसरी गाउँपस्नेगरी होइन।
खोला किनारामा बाक्लिएका बस्तीभित्र कागखोलाले ल्याएको लेदो पानी उन्मत्त भएर बग्यो। आफूमात्रै बगेन बरु त्यहाँका घर र घरभित्रका सामानहरू पनि लग्यो। पुल बगायो। बिजुलीका पोलहरू लग्यो। पुलिसचौकी पनि लग्यो।
जल तथा मौसम विज्ञान विभाग बाढी पूर्वानूमान महाशाखाकाअनुसार माथिल्लो तटीय क्षेत्र(कागखोलाको शिरतिर) ठाउँ-ठाउँमा पहिरो खसेको थियो। घन्टाैँदेखि पहिराले थुनेको कागखोलाको पानी त्यो पछि एकाएक बग्न थाल्यो।
‘ठाउँ-ठाउँमा पहिरो खसेको हुनसक्छ र त्यो पहिराले खोलाको पानी छेकेर अस्थायी तालहरू बनेका हुनसक्छन्’, बाढी पूर्वानुमान महाशाखाका सिनियर हाइड्रोलोजिस्ट सुनिल पोखरेल भन्छन्, ‘धेरै पानी जम्मा भएपछि त्यो छेकेको पहिरो पनि फुट्यो अनि एक्कासी पानी बढ्यो।’
त्यही पानी कालीगण्डकीमा मिसिएर बाढीको रुप लियो। अनि कागबेनी बजार छिर्यो। कागबेनी बजार खासमा कालीगण्डकी बगर सतहमा बग्छ। बस्ती र बगरबीच खासै उचाइ छैन। यो समतल सतहमा बग्छ। त्यसैले अलिकति पानी बढ्नासाथ त्यो स्वाट्टै बस्तीमा छिरिहाल्छ।
जोमसोम जलमापन केन्द्रकाअनुसार २९ गते राति ८ बजेर १० मिनेटसम्म कालीगण्डकीमा पानीको सतह २.३५ मिटरमात्रै थियो। त्यो राति फेरि घटेर १.६५ मिटर पुग्यो। तर, राति फेरि ९ बजेर ३० मिनेट जाँदा त्यो २.१० मिटर पुग्यो। त्यो पनि राति ११ बजे बढेर फेरि जलसतह अधिकतम २.७७ मिटर पुग्यो।
बाढीको सुरुवात त्यही २.१० मिटर पुगेको समयमा थियो। करिब २ घण्टासम्म कालीगण्डकीको मूलधारले थेग्नै नसक्ने भयो। र, त्यसका धार लेदो बगाउँदै बस्तीतिर सोझियो।
‘हामीले तलतिर बग्दै आएको र ठाउँ-ठाउँमा पानीले छोडेको गेग्रानहरूको अध्ययन गर्दा त्यो माथितिर थुनिएको बाढीले नै बगाएको हो भन्ने अनुमान लगायौं। घण्टा घण्टामा पानीको सतह घट्ने अनि बढ्ने भइरहेको देखिन्छ’, उनले भने, ‘त्यसको अर्थ माथि कतै थुनिएको पानी एक्कासी बग्न थालेपछि त्यसले बाढीको रुप लिएको देखिन्छ।’
कागबेनीतिर वा त्यो भन्दा माथि बाढी पूर्वानूमानका लागि जलमापन केन्द्रहरू राखिएका छैनन्। त्यसका करिब १२ मिटर दक्षिण जोमसोममा मात्रै त्यस्तो मापनयन्त्रहरू छन्।
महाशाखाकाअनुसार कागखोलाको त्यो बाढी मिसिएको कालीगण्डकीको पानी बहावका हिसाबले जोमसोमसम्म बगिजानका लागि करिब १ घण्टा लाग्छ। त्यसैका आधारमा करिब ८ बजेतिर नै कागबेनी बजारमा कालीगण्डकीको बाढी छिरेको हो।
मनसुन सकिने बेलामा गतवर्ष असोजमा आएको बाढी पनि त्यहाँ पसेको थियो। त्यो बेला कालीगण्डकीमा करिब ३.५२ मिटरसम्म पुगेको थियो।
यो नदीको बहावअनुसार यो जलसतह खासै खतरा चाहिँ होइन। तर, पनि कालीगण्डकी बस्ती छिर्यो।
किन ?
कागखोला र कालीगण्डकीको दोभान हो, कागबेनी सहर। जो कालीगण्डकीको सतहमै छ। थोरै पानी बढे पनि बस्तीमा छिरिदिन्छ। कारण यत्ति हो।
पानी कति पर्यो ?
अक्सर मुस्ताङमा वर्षा हुँदैन।
तर, यसपालि अलि धेरै नै वर्षा भयो। जल तथा मौसम विज्ञान विभागकाअनुसार त्यहाँ बाढी आउनुअघि (शनिबार राति, १२ अगस्ट राति १० देखि आइतबार १३ अगस्ट दिउँसो २ बजेसम्म) २५.४ मिलिमिलटर पानी परेको छ।
‘यो भनेको हाम्रो मापनअनुसार मध्यमखालको वर्षा हो तर त्यहाँको भूगोल र माटोको बनावटअनुसार त्यही नै काफी भयो’, पोखरेल भन्छन्, ‘त्यसपछि नै कागखोलामा पहिराहरू खसेका होलान् र पानी थुनियो। अनि फेरि त्यो फाटेर एकैपटक पानी बग्दा बाढी भयो।’
वर्षा नै नहुने मुस्ताङका लागि यो ठुलै भयो।
तर, बितेको २४ घण्टामा मुस्ताङको जोमसोम वर्ष मापन केन्द्रमा २ मिलिलिटरमात्रै पानी मापन भएको छ। त्यसमाथिको थाकमार्फा केन्द्रमा ३.३५३ र मनाङको हुम्डेमा जम्मा २.१५२ मिलिलिटर वर्षा भएको छ।
यत्तिमै कसरी पहिरो खस्छ ?
किनकि यहाँको माटो निकै कमजोर छ।
‘यो निकै कमजोर वा बलौटे माटोले बनेको जमिन हो। सबै भूगोल त्यस्तै छ’, पोखरेल भन्छन्, ‘खडेरीले सुकेको त्यस्ता पहाडहरू पानी चुहिनासाथ माटो खस्न सुरु हुन्छ।’
आफू बग्ने बाटो बनाउन उसले कागखोलाले चिरेको माटो पनि त्यस्तै हो। थाकखोलामा कतै पहिरो खस्यो। त्यो थुनियो। धेरै भयो त्यो फेरि फाट्यो अनि थुनिएको पानी ह्वात्तै बग्यो। दोभानमा हल्का उर्लिएको कालिगण्डकीलाई भेटेपछि त्यो बाढी बनेर कागबेनी बजार छिर्यो।
यी ठाउँहरूमा खडेरी तथा सुख्खा बढ्दैगएपछि मुस्ताङबाट बसाइँ सर्नेहरूको पनि उस्तै समस्या देखियो।
अघिल्ला केही वर्षहरूमा त्यहाँ वर्षभरि औसत ४ देखि साढे ५ सय मिलिलिटरसम्म वर्षा भएको देखिन्छ।
‘यहाँ त यसपालि अलि जोडले पानी पर्यो। हिजअस्ती झन धेरै पर्यो’, वारागुङ मुक्ति क्षेत्र गाउँपालिकाका प्रवक्ता प्रमेश गुरुङ भन्छन्, ‘खहरे-खोल्साहरूमा पनि यसअघि बाढी त आउँथ्यो तर यसपालि मूलखोला नै उर्लियो।’
कागखोला कालीगण्डकीमा मिसिने मुख्य सहायक खोला हो।
उनकाअनुसार कागबेनी बजार छिरेको यो बाढीले मान्छेको ज्यान भने लगेको छैन।
‘हामीले अहिले पनि खोजिरहेका छौं। धेरैलाई सुरक्षित स्थानमा लगिसक्यौं। कतै मान्छे थुनिएका छन् किन भनेर। चौपायाहरू पनि बगाएको भन्ने छ’, उनले भने, ‘धन्न यसपालि मान्छे बगाएर लगेको छैन।’
उनकाअनुसार बाढी आउनुभन्दा दुई तीन दिन अघिदेखि त्यहाँ धेरै वर्षा भएको थियो।
सन् २०२ १को नोभेम्भरमा स्कटल्याण्डको ग्लास्गो सहरमा भएको विश्व जलवायु सम्मेलन(कोप २६)मा एक जना बेलायती सांसद आलोक शर्माले भनेका थिए, ‘नेपालको मुस्ताङ पुगेका बेला त्यहाँका स्थानीयले जलवायु परिवर्तनको असरबारे प्रत्यक्ष अनुभव सुनाएका थिए। र, मैले अनुभव गरें जलवायु परिवर्तनको असर त्यहाँ पनि पुगिसकेको रहेछ।’
त्यही वर्ष मुस्ताङमा बाढी र पहिराले छोडेको असर अहिलेसम्म मेटिएको छैन।
‘पृथ्वी जब तातिँदै तातिँदै जान थाल्यो अनि त्यसले बादललाई माथि-माथि उडाउँदै लैजान थाल्यो। मुस्ताङको जमिन पनि पहिलाभन्दा त तातेकै हो’, केही दिनअघि एउटा छलफल कार्यक्रममा बोल्दै जलाधारविद् मधुकर उपाध्यायले भनेका थिए, ‘त्यही उडिरहेको बादलले अन्नपूर्ण हिमालको उचाइ पार गर्यो। अनि पानी वर्षियो। भएको त्यही हो।’
कागबेनी बजारमा मुख्यालय रहेको वाराबुङ मुक्ति क्षेत्र गाउँपालिकाले आफ्नो पालिकाको मुख्य चुनौती नै यही परिवर्तनलाई औल्याएको छ।
उसकाअनुसार त्यहाँ विस्तारै नदीको कटान बढिरहेको छ। सुख्खा अनि हिमपहिराले जोखिम बढाएका छन्। खहरे अनि खोल्लाहरूले समेत बहाव परिवर्तन गरिरहेका छन्। अनि जमिन र मान्छेका घर-घर पसिरहेका छन्।
‘हिमपहिरो सुक्खा पहिरोजस्ता विपतका घटनाहरु बढ्दै जानु, नदी कटानका कारण बस्ती र खेतबारीहरुमा तटबन्धनको समस्या बढ्दै जानु, स-साना खोला र खोल्साहरुले समेत बहाव परिर्वतन गर्दा यातायातको आवागमनमा कठिनाइ पर्नु यस क्षेत्रको थप चुनौतिका विषयहरु देखिएका छन्’, गाउँपालिकाले भनेको छ।
बजारको बिचोबीच भूगोल चिरेर अलिपर पुगेर कालीगण्डकीमा मिसिने कागखोलालेको यो कालो लेदोसँगै त्यो वारपार गर्ने पक्की पुलहरू पनि बगाएको छ।
यसले कागबेनी हुँदै उपल्लो मुस्ताङसँगको सम्बन्धबिच्छेद गरिदिएको छ। दामोदकुण्ड र लोमान्थाङ गाउँपालिकाको मुख्य केन्द्र जोमसोमसँग पनि सडक सम्पर्क टुटेको छ।
बिजुलीका पोलहरू बगेपछि कागबेनी अँध्यारै छ।