साउनकाे महिना थियाे। नदीमा पानीकाे बहाव बढिरहेकाे थियाे। मेघ गर्जिँदै थियाे। कुरा २०७२ साल साउन २४ गतेकाे हाे, आमाकाे असामयिक निधन भयाे। भर्खर स्नातक सकाएर आएका मनाेज बुढाथाेकी मगर गहिराे शाेकमा डुबे। साउनकाे भेलझैँ उर्लिएकाे थियाे भावना। जहिल्यै छचल्किरहने आमाकाे ममता पानी सकिएकाे गाग्रीजस्तै लाग्याे। वस्तुभाउ सारेपछि रित्तिएकाे गाेठजस्तै भयाे, परिवार। माउ बिनाका चल्ला जस्ता भए उनीहरु।
मनाेजले विश्वविद्यालयकाे अध्ययनसँगै मार्क्सवादी दर्शन अँगालेका थिए। राजनीतिशास्त्रकाे सबैभन्दा बलियाे दर्शनले उनलाई परिवर्तनशील संसारका शाश्वत सत्य मृत्युलाई स्वभाविक भनेर सिकाएकाे थियाे। त्यसले उनलाई सम्हाल्दै लग्याे। परिवार सम्हालिँदै गयाे। गन्दागन्दै ४५ दिन पुगे, आमा बितेकाे पनि।
उनकाे ब्रम्हले भन्याे, 'अब घर छाेड, केही गर्नेबेला आएकाे छ। सायद याे आमाकाे अन्तिम इच्छा हुनुपर्छ।' उनी एक्ला थिएनन्। साथमा श्रीमती थिइन्। काखमा दुई दुधे बालक थिए। मनमा लागिरहेकाे थियाे, 'यी भाेका रहने हुन्। मुखमा पसाल्ने माड पाइने हाेइन।' चिन्ता थियाे, 'यी नाँगा रहने हुन्। शरीर ढाक्ने टालाे पाइने हाेइन।' उनकाे शरीरभित्र भएका दुई मनकाे अन्तरसंघर्ष चल्याे। तत्काललाई भाैतिक सुख त्याग्नु नै बुद्धिमानी थियाे। उनले त्यही गरे।
बजारकाे कालेखेली नजिकैका उनी कामी टाेलमा गएर बस्न थाले। त्यसबेला उनले जातीय विभेद त्यागेका थिए। घरभित्रकाे छुइप्रथा अन्त्य गरेका थिए। तर बजारकाे मुटुमा बस्ने नेवार मावलीहरुमा भने जतीय श्रेष्ठताकाे दम्भ हटिसकेकाे थिएन। कयाैँ दिन उनकाे डेरामा आएर थुकेर गए। उनी जवाफ फर्काउँदैनथे। जरुरी पनि लाग्दैन थियाे।
बेप्रवाह उनी बजारकाे मुख हेर्न निस्किएनन्। छाेराछाेरीलाई डेराबाट बजारसम्म झार्न सकेनन्। उनीहरुकाे रहर पूरा गरिदिने काने पैसा हुँदैनथ्यो। त्यसबेला एक मन भन्थ्याे, 'हुँदा खाँदाकाे घर छाेडेर के गरेँ मैले?' तर दृढ भएर अर्काे मन भन्थ्याे, 'केही गर्न घर छाेडेकाे हाेस्। अभाव, दु:खसँग जुध। याे आरनमा खारिएर स्पात हुने बेला हाे।'
त्यसबेला उनलाई चिनियाँ जनताका महान नेता माओत्सेतुङकाे भनाई खुब याद आउँथ्यो। 'कम्युनिस्ट कार्यकर्ता हुनु बन्द काेठाकाे साेकेसमा सजाइएकाे फूल जस्ताे हुनु हाेइन। जाे बाह्य वातावरणमा आउँदै लत्र्याकलुत्रुक हाेस्। कम्युनिस्ट कार्यकर्ता त हिमालकाे चिसाे सिरेटाे, पहाडकाे हावाहुरी र तराईको चर्काे गर्मी सहन सक्ने हुनुपर्छ।' याे सम्झिएपछि उनी भाेकाे पेटलाई डाेरीले बाँधेर भएपनि खुम्च्याउन तयार हुन्थे। तर विचलित हुँदैनथे।
त्यतिबेला कामीटाेलकाे हालत खराब थियाे। पढेलेखेकाकाे संख्या अत्यन्तै न्यून थियाे। अभावकाे बीचमै सम्भावना हुन्छ। सम्भावनाकाे खाेजी गर्न सिकाउने उनकाे अध्ययन थियाे। त्यसलाई व्यवहारमा उतार्ने हुटहुटी। बेरोजगारीले आम्दानी कम हुने अभिभावकका छाेराछाेरी उनकाे सम्भावनाका मुल खानी थिए। त्यहीँ उनले पढाउन सुरु गरे। अव्यवस्थित ठाउँमा पढाइकाे वातावरण बनिरहेकाे थिएन। त्यसैले साेच बन्याे- स्कुल खाेल्ने।
स्कुल त खाेल्ने तर लगानी कसरी जुटाउने? फलामको चिउरा यही थियाे। लगानी जुटाउन साथीहरु जुटे। 'जागिरे साथीहरु टन्नै थिए। लगभग साठी जनाकाे भेला नै गर्यौँ। सबैबाट एक-एक लाख उठाउने याेजना थियो। हुन्छ भनेर भेला सकियाे,' उनले भने, 'उत्साह थपियाे। काम सुरु गरेँ। तर त्यतिञ्जेल मेराे परिचय एक राजनीतिक कार्यकर्ताकाे रुपबाट बनिसकेको थियाे। भेलामा आउनेहरु विभिन्न पार्टीबाट प्रतिनिधित्व गर्थे। राजनीतिक कारण देखाउँदै केही साथीहरु विस्तारै विस्तारै टाढिए। लगानी टाढियाे।'
तर केही बचन पूरा गर्ने साथी पनि थिए। जसकाे सानाे सहयोगमा खुल्याे 'एसिया इन्टरनेसनल माेडेल इङ्लिस स्कुल'। प्रचारप्रसारमा उनी आफैँ लागे। कक्षाकाेठा निर्माणमा उनकाे पुरा परिवार लाग्याे। सुरुमा उनलाई पत्याउनेहरुले आफ्ना बच्चा दिए। गाउँगाउँमा विभिन्न याेजनाहरु लिएर पुगे। गुणस्तरीय शिक्षा आर्जन गर्न मनग्ये पैसा हुनुपर्छ भन्ने मान्यतालाई भत्काउनुपर्छ भन्दा आफूसँग जे छ, त्यही दिएर अभिभावकले बच्चा भर्ना गर्न थाले। नारा थियाे, 'गरीब भएकै कारण काेही गुणस्तरीय शिक्षा हासिल गर्नबाट बञ्चित हुनु हुँदैन।' त्यसैले फिस सस्ताे थियाे।
त्यसबेला उनले गरिबीबारे एउटा धारणा निर्माण गरेका थिए। 'हात पाखुरा हुनेहरु पनि गरीब हुन्छन्। उनीहरु आफ्ना बालबालिका पढाउन सक्दैनन्।' तर आज आएर उनकाे पुरानाे धारणा परिवर्तन भएकाे छ, 'जाे श्रम गर्न सक्छ, उ कहिले गरीब हुन सक्दैन। उसकाे साेच मात्रै गरीब हाे। साेच्ने तरिका नयाँ भयाे भने सम्पन्नताकाे बाटाेमा लम्किन बेरै लाग्दैन।'
जुम्लामा जमिन नहुने र उत्पादनमा संलग्न नहुनेहरु निकै कम छन्। ती मान्छेले उत्पादन गरेका फसलहरुकाे बजार नहुँदा गरीब कहलिनु परेकाे छ। त्यसैले उनले उत्पादनलाई नै स्कुलकाे फिस बनाए। यस्ताे भएपछि अभिभावकहरु उत्साहित भए। विस्तारै विद्यार्थी संख्या बढ्न थाल्याे। सुरु भएकाे सात वर्षमा एसिया इन्टरनेसनल माेडेल इङ्लिस स्कुलमा सात सय बढी विद्यार्थीहरु पढिरहेका छन्। उनीहरुकाे पठनपाठनका साथै संस्कारका निम्ति ४० जना जनशक्ति खटिएकाे छ।
उनले सञ्चालन गरेकाे स्कुल अनुगमन गर्न गयाे भने मिठासपूर्ण दृश्यहरु देखिन्छन्। ती दृश्यमा विद्यार्थी एकअर्काेप्रति आदरभाव प्रकट गरिरहेकाे हुन्छ। सबै उमेर समूहका विद्यार्थीले एकअर्काेलाई सम्मान गरिरहेका देखिन्छन्। मित्रवत व्यवहार छ। विद्यार्थीहरुले संस्कार सिकेका छन्। त्यही अनुसारको व्यवहार गरिरहेका छन्। त्यसैले मनाेजलाई लाग्छ, ज्ञानकाे सबैभन्दा ठूलाे स्राेत संस्कार हाे। 'हामीले अक्षरहरुभन्दा पहिला संस्कार सिकाउने गरेका छाैं,' उनले भने, 'तर संस्कार सिकेका बच्चाहरु पनि बाहिर निस्कँदा बिग्रिन्छन्। कारण २५ प्रतिशत स्कुलमा हुने बच्चाहरु ७५ प्रतिशत स्कुल बाहिर छन्। त्यसैले अभिभावकमा पनि चेतना जरुरी छ।'
स्कुलकाे वातावरण पनि सिक्नलाई उत्साहित बनाउने खालकाे छ। खेर जाने हरेक चिज उपयोगी बनाइएकाे छ। तिनबाट लाभ लिन सकिने गरी सीप लगाइएकाे छ। वरिपरि आकर्षक भवनहरु छन्। बीचमा गितार सेपमा पाेखरी निर्माण गरिएकाे छ। त्यसकाे छेउमा छ, मिडिया पार्क। उदेश्य छ, हरेक विद्यार्थी पत्रकार हाेस्। हरेकले समाचार उत्पादनमा याेगदान दिएकाे हाेस्।
'देशभर शिक्षाकाे ज्याेति छर्ने पिएन क्याम्पस देशभर लागूऔषध आपूर्ति गर्ने अखडा बनिदियाे। यस्ताे हाेला कसैले साेचेकाे थियाे?,' उनले भने, 'आजैदेखि हामी सचेत भएनाैँ भने भविष्य झन् खतरनाक हुनेछ। त्यसका निम्ति मिडिया पार्क जरुरी ठानी निर्माण गरिएकाे हाे।'
यसमा उनकाे तर्क छ- एसिया इन्टरनेसनल बाेर्डिङ स्कुलमा जिल्लाभरीका विद्यार्थी पढिरहेछन्। उनीहरुले आफ्ना गाउँठाउँका समाचार ल्याएर मिडिया पार्कमार्फत प्रकाशन र प्रसारण गर्नेछन्। जिल्लाका जिम्मेवार व्यक्तित्वलाई ल्याएर सुशासनकाे विषयमा प्राज्ञिक तवरबाट बहस चलाउनेछन्। डीएसपीलाई लागूऔषधकाे जालाे दिनदिनै किन फैलिँदैछ भनेर प्रश्न गर्ने विद्यार्थी कहिल्यै पनि दुर्व्यसनीमा फस्ने छैन। त्यसैका निम्ति भनेर उनले काेरपाटी अनलाइन दर्ता गरेका थिए।
मिडियामा काम गर्ने विद्यार्थी उत्पादन गर्न केही समय लाग्ने भएपछि काेरपाटी डट कम उनका साथीहरुले चलाइरहेका छन्। त्याे उति साह्राे व्यवस्थापन हुन नसकेकाे उनकाे बुझाई छ। अब भने चाँडै नै मिडिया पार्क मार्फत काम सुरु हुनेछ। मनाेजले मिडिया पार्ककाे औचित्य पुष्टि गर्दै भने, 'मिडियामा काम गरेर प्रश्न गर्नेले खराब काम गर्नेछैन र गर्न दिने पनि छैन भने उसकाे सृजनशील प्रश्न नै आविस्कारकाे जननी हुनेछ।'
स्कुलमा प्रत्येक १५ दिनकाे फरकमा अविभावक बाेलाइन्छ। उनीहरुबीच अन्तरक्रिया हुन्छ। स्कुललाई घर र घरलाई स्कुलजस्ताे बनाउने विषयमा लामाे बहस चल्छ। कहिलेकाहीँ रिसाएर आएका अभिभावक पनि निस्कने बेला उज्यालो चेहेरा लिएर घर जान्छन्। कक्षा आठसम्म मात्रै पढाइ हुँदा स्कुलका विद्यार्थीहरु त्यसभन्दा माथि अरु स्कुलमा गएर पढ्न लागे। त्यहाँ रहँदासम्म उच्च आदरमात्रै गर्न जानेका विद्यार्थीहरु अन्त जानेबित्तिकै निम्न आदरार्थी भए। याे थाहा पाएपछि मनाेजकाे मन कटक्क काटियाे।
'आफूले उत्पादन गरेका विद्यार्थी अन्त जान दिँदा ठूलाे क्षति भएकाे महशुस भयाे,' मनाेजले भने, 'त्यही भएर हामीले याे वर्षदेखि ९ कक्षा पनि यतै सुरु गरेका छाैँ। ताकि एसईई दिञ्जेल वा एउटा निश्चित उमेर समूहभित्र रहेर सिकेकाे संस्कार जीवनभर काम लागाेस्।'
उनले सञ्चालन गरेकाे स्कुलमा विद्यार्थीहरुले संस्कार र शिक्षा आर्जन गरेका छन्। यसैबाट ज्ञान निर्माण भइरहेकाे छ। कक्षाकाेठामा रहुन्जेल विद्यार्थीलाई प्रथम हुने विषयमा कहिले पनि सिकाइँदैन। उनीहरुलाई जीवन र जगतका कुरा सिकाइन्छ। जसले कक्षाकाेठामा प्रथम हुने नभई जीवनमा प्रथम हुने धारणाकाे निर्माण गर्न मद्दत गर्छ। उनीहरु अध्ययन मात्रै गर्दैनन्, अनुसन्धान पनि गर्छन्।
अनुसन्धान गर्नलाई स्कुलसँगै जाेडिएकाे ठूलाे क्षेत्रफलमा फैलिएकाे उद्याेग छ। उद्याेगमा घर वा कम्पाउन्ड निर्माणका विभिन्न आकारका इटाहरु बन्छन्, घेराबारका निम्ति प्रखाल नयाँ प्रविधिका वाल बन्छन्, ग्रिल उद्योग छ। अलि अगाडि बंगुरकाे फार्म थियाे। समग्र उत्पादन व्यवस्थापनका निम्ति ४० जना कामदार खटिएका छन्।
सुरुमा उनले विश्वमा नयाँ प्रविधिकाे रुपमा आएकाे इन्टरलक इटा बनाउने उद्योग खाेलेका थिए। त्यसका केही सीमाहरु देखिए। जसलाई सच्याउन विद्यार्थीहरुकाे अनुसन्धानले ठूलो भूमिका निर्वाह गर्यो। परिणाम इन्टरलक इटामा नयाँ प्रविधि प्रयाेग भइरहेको छ। जुन आज विश्वभर छैन। उनले भने, 'विद्यार्थीकाे अनुसन्धानकाे परिणाम हामीले विभिन्न आकार र प्रकारका इटा उत्पादन गरिरहेका छाैँ। जुन वातावरणमैत्रीदेखि बलिया समेत छन् भने खरिद दाम पनि निकै सस्ताे छ।'
ज्ञान निर्माण र उत्पादनकाे लामाे अनुभवबाट उनले निष्कर्ष निकालेका छन्, 'शिक्षित हुनु, ज्ञानी हुनु, उत्पादन गर्नु र राेजगारी दिनु मात्रै ठुलो कुरा रहेनछ,' उनले गम्भीर हुँदै भने, 'मुख्य कुरा त अनुसन्धान गरेर अपग्रेड हुनु रहेछ।' अर्थात् मार्क्सले भनेजस्ताे, 'आजसम्मका दार्शनिकहरुकाे संसारकाे व्याख्या मात्रै गरे। मुख्य कुरा त संसार बदल्नु हाे।' याे बदल्ने यात्राकाे सुरुवात आफैँबाट हुनुपर्ने उनकाे मत छ।