कोशी प्रदेश सरकार गठनविरुद्ध सर्वाेच्च अदालतमा परेको रिटमाथि आजदेखि सुनुवाइ हुँदैछ।
मुख्यमन्त्री उद्धव थापाविरुद्धकाे रिट आज न्यायाधीश कुमार रेग्मी र नहकुल सुवेदीको इजलासमा सुनुवाइ हुने भएको छ।
कांग्रेस संसदीय दलका नेता थापालाई मुख्यमन्त्री नियुक्ति गर्ने निर्णय बदर गर्न माग गर्दै एमाले कोशी संसदीय दलका नेता हिक्मत कार्कीले असार २२ गते सर्वोच्चमा रिट दायर गरेका थिए। रिटमा सरकार गठन गर्दा सभामुखसमेतको हस्ताक्षर प्रयोग गरेर असंवैधानिक तरिकाले नयाँ सरकार गठन गरेको एमालेकाे दाबी थियाे।
गत असार २७ गते न्यायाधीश सपना प्रधान मल्लको इजलासले पूर्व मुख्यमन्त्रीसमेत रहेका नेता कार्कीले दायर गरेको रिटमा सुनुवाइ गर्दै विपक्षी रहेका प्रदेश प्रमुख, मुख्यमन्त्री र सभामुखसँग लिखित जवाफ माग गर्दै साउन ७ देखि निरन्तर बहस गर्ने आदेश गरेको थियो।
सर्वोच्चले लिखित जवाफ मागपछि कोशी प्रदेशका प्रदेश प्रमुख, मुख्यमन्त्री र सभामुखले अदालतमा छुट्टाछुट्टै जवाफ पेस गरिसकेका छन्।