बिरामीका जिन्दगीमा ‘शून्यको मूल्य’ खोजिल्याएका डाक्टर 

के पढे होलान् उनले? बिरामीको बिमार पढे होलान् कि उसको जिन्दगी? जिन्दगीका ती प्रेस्क्रिप्सनमा के लेखे होलान् उनले? दबाइका नाम लेखे कि, उनीहरूका कथा लेखे होलान्?

बिरामीका बिमार अनि उनीहरूको जिन्दगीका अक्षरहरू खाली प्रेस्क्रिप्सनमा जोड्दा जोड्दै कतिबेला एउटा सिङ्गै किताब बनिसकेछ, पत्तै थिएन डा. नवराज केसीलाई।

प्रेस्क्रिप्सनमा अक्षरहरू थिए। ती शब्द बन्दा पनि प्राण थिएनन्। कथा थिए। कहानी थिए। पात्र थिए। प्लट थियो।

र, त एक दिन ती अक्षरहरू शब्द बनेर प्राण भरिएको एउटा सग्लो उपन्यास बनिसक्छ कतिबेला, अनि डा. नवराज झसङ्ग भए अहो! लेखक पो भइसकिएछ…!

४१ वर्षअघि सुर्खेतको माटोमा एउटी आमाको कोखबाट जन्मिएको बालक १ किलाको पनि थिएन। मुठ्ठीभर अटाउने त्यो बालकलाई ‘डाक्टरी’ पढ्दैगर्दा थाहा भो- कुपोषित आमाको गर्भभित्र हुर्किरहेको त्यो भ्रुण उही नवराज थियो।

डाक्टरी भाषाका ठुल्ठूला ठेलीहरू सक्काएर फेरि आफ्नै भूमिमा फर्किएका उनलाई लाग्यो, अब यिनै मान्छेका ‘बिमार’भित्र तिनका जिन्दगी पढ्छु।

आफ्नै आमाको कथा, कहानी अनि उही माटोको भाषा पढ्न डाक्टरी ज्ञान लिएर  फर्किएका नवराजले कर्णालीका घेराभित्र धेरै आमाहरू भेटे।

‘बुधेकी फुपूआमा’ भेटे। जुम्ल्याहाका बाआमा भेटे। भेडिनी कान्छीले बाँचिरहेको जिन्दगी भेटे। नानी आमा भेटे। हिम्मतबहादुर अनि भीमकाजीका भिमकाय जीवनकथा भेटे।

अब के चाहियो र!

डाक्टरका ठेलीहरूले नलेखेका कथाहरू त कर्णालीभन्दा लामो जीवनका कथाहरू बोकेर बगिरहेको थियो आफ्नै माटोमा। आफ्नै वरिपरी। थुप्रै ‘आमा’हरूसँग कैयौँ खुल्ला किताब थिए। जीवनका कैयौँ जीवन्त जीवनकथा थिए। जो उनले विश्वका विशाल पुस्तकालयहरूमा पनि भेटेनन्, सायद।

लाग्यो- जिन्दगी पढाउने एउटा विशाल विश्वविद्याल हो, कर्णाली। जो मान्छेका सास, साह र स्नेहको प्रेमील कथा बोकेर सदियौँदेखि अविरल बगिरहेको छ।

‘खासमा ती सबले भोगेका कथा थिए। देखेका कथा थिए। हामीले हरेक दिन बाँचिरहेका जीवनका जीवन्तकथा थिए’, नवराजलाई लाग्छ, ‘तिनै कथाभित्र मैले ती कथाका पात्रहरूमा जीवनको मूल्य खोज्ने प्रयास गरेँ।’

डाक्टरी सकेर त्यसपछि नवराजले कर्णालीको जीवनमा ‘शून्यको मूल्य’ देखे। त्यही लेखे। त्यही शून्य अहिलेसम्म ‘मूल्यहीन’ थियो। तर त्यसको मूल्य ‘अमूल्य’ थियो।

त्यही ‘शून्य’को कथा हो- उनले कर्णालीमा लेखेको डाक्टरी ‘प्रेस्क्रिप्सन’।

डाक्टरी भाषा लेखिएका धेरै ठेलीहरू पढिसकेर एमबीबीएसको प्रमाणपत्र लिएर आउँदा यी डाक्टरको मनमा लागिरहेको थियो- साँच्चिकै जिन्दगी पढ्ने र पढाउने स्कुल कहाँ होला?

कर्मले फेरि फर्काएको त्यही कर्णालीको आँगनभरि उनले देखे-भोक, रोग अनि शोकले खाँदिएका, डोकाहरूले थिचिइरहेका आमाहरू थिए। परिवार अनि सन्तानको दु:ख छोप्न आफ्नै नाङ्गो आङ बाँचिरहेका बाहरू थिए।

केही वर्ष नवराज पनि अरूजस्तै सरकारी अस्पतालमा जागिरे भए। जागिरे डाक्टर। बिरामी आउँथे। उनले जाँच्थे। औषधि दिन्थे अनि पठाउँथे। आउने-जानेहरू धेरै भए। नवराजलाई लाग्थ्यो, ती बिरामीहरू ‘बिमार’मात्रै बोकेर आउँदैनथे। त्योसँगै उनीहरू कर्णालीको दारुण चित्रहरू पनि बोकी ल्याउँथे।

कर्णालीले बाँचेको जीवन अनि कष्ट र पीडाका ती बिम्बहरू पढ्नका लागि विस्तारै उनी सुर्खेतको अलि समथल जमिनभन्दा माथि उक्लिन थाले। नवराजले देखे- ती कष्ट अनि पीडाका चित्रमात्रै थिएनन्, बरू साहस र स्नेहका बिम्ब पनि थिए। जो कर्णाली चिन्ने भाष्यभन्दा निकै अँध्यारो क्षितिजमा थियो।

एकभारी औषधिका पोकाहरू बोकेर कर्णालीका चिसा पहाड उक्लिने त्यो रहर विस्तारै आदत बन्दै गयो। आठ वर्षपछि जेनतेन टिकेर नवराजले सरकारी जागिर छोडे।

बिरामीसँगै हुत्तिएर दिलमै ठोक्किने उनीहरूका ती कष्टले नवराज कहिलेकाहीँ त कक्रक्कै पर्थे। टिकुन् पनि कसरी, सरकारी जागिरे उनी फगत मेसिन थिएनन्। बिरामी हेर्‍यो औषधि दियो, पठायो।

तर अहँ! मनले मानेन। नवराजको दिल चाहन्थ्यो, डाक्टरी ठेली थन्क्याएर एकपालि फेरि यी जिन्दगी पढूँ। जिन्दगीका यी कथा पढूँ।

र त, जागिरै छोडिदिए उनले।

जागिर नभए के भो, डाक्टर त डाक्टरै हुन् नि नवराज!

त्यसपछि पनि रोकिएनन् नवराज। बरू औषधिका भारी बोकेर कर्णालीका उराठ पहाडहरूले छेकेका जीवन खोज्दै हिँडे। बिमारले चपक्कै समाएका जीवनहरू खोज्दै हिँडे। गाउँगाउँ पुगे। धेरै खालका बिमार देखे। धेरै खालका बिरामी भेटे।

आफूसँग ठोक्किएका ती जीवन अनि तिनका जीवनकथाहरूमा बल्ल पो नवराजले देखे, त्यहाँ कैयौँ विशाल किताबहरू थिए उनका डाक्टरी ठेलीहरूभन्दा पनि धेरै ठुल्ठूला। कर्णालीसँगै सुसाइरहने कर्णालीका दु:ख अनि पीडा र कष्टले कुदेका ती अक्षरहरू संसारका कुनचाहिँ विश्वविद्यालयमा पढाइएला र!

किताबका ठेलीहरू रटेर डाक्टर बनेका नवराज अब ती आमाका जीवन पढ्दै थिए, जसको गर्भमा, काखमा अनि काँधमा कैयौं जीवनहरू बोकेर कुदिरहन्थे।

न बिसाउँथे तिनीहरू, न थाक्थे। बस्, जीवन गतिको छालमा उनीहरू बगिरहन्थे निरन्तर, कर्णालीजत्रै लामो एउटा यात्रामा।

त्यसैले नवराजलाई लाग्यो, त्यो कञ्चन पानीमात्रै बगेको छैन कर्णालीमा वर्षौंदेखि त्यसमा कर्णालीवासीको दु:ख पनि बगिरहेको छ, निरन्तर। कैयौँ जीवन बगेको छ, कैयौँ मृत्यु बोकेको छ।

त्यसैले बस्, कर्णाली बग्दो छ… यो बगिरहन्छ।

बिमार कर्णाली अनि कर्णालीका बिरामी खोज्दै धेरै लेक काटिसकेका नवराजले कैयौँ पात्र भेटे। कैयौँ बिमार अनि बिरामी भेटे। बिमारका कथा भेटे।

लेख्ने फुर्सद पनि भएन। हतारहतारमा मनमा लागेको कुराहरू उनी आफैँले भट्याएर मोबाइलमा रेकर्ड गर्थे अनि त्यसलाई ‘सेभ’ गर्थे। जसलाई उनलाई पछिमात्रै अक्षरमा उतारे। वाक्य बनाए। कथा रचे। अनि सिङ्गो किताब जन्माए।

किताबी यो प्रसवपीडामा नवराज धेरैचोटी भक्कानिएका छन्। कति पात्रका कथा लेख्दा धेरैबेर रोकिएका छन्। आँशुले छेकेका ती बाटोहरूमा ती जिन्दगीहरू सम्झेर निकैबेर घोत्लिएका छन्।

‘त्यसैले त म भन्छु, एक प्रकारले यो किताबको विधा नै भक्कानो हो। यसमा धेरैका भक्कानोहरू अक्षर बनेर खाँदिएका छन्, किताबका मनभरि। पन्नाभरि’, र त यो, किताबले फेरि नवराजलाई देखाएको छ अक्षरयात्राको अर्को एउटा नयाँ बाटो, ‘मैले डाक्टरी भाषामा जाँचेका कथाहरू आज किताब बन्यो। र मलाई लाग्यो अझै त्यो समाज बाँचेकै रहेछ। जसले किताबमा जीवन देख्छ। लाग्छ, जब यो समाजमा किताब मर्छ अनि समाज पनि मर्छ।’

कति बिरामी भेटे नवराजले जसले बिमारमात्रै बोकेका थिएनन्, सँगै कैयौँ प्रेरणा पनि बोकेर ल्याउँथे। जीवनको आशातित त्राणमा मात्रै थिएनन्, उनीहरू जीवन सिकाउने शिक्षा पनि सँगै लिएर आउँथे। जसले नवराजलाई जीवन बाँच्ने र बचाउने प्रेरणा छोडेर फर्किए। कतिले साहस दिए। कतिले सास दिए। अनि कति स्नेहको कथा छोडेर गए।

कर्णालीका यी दु:ख, पीडा अनि कष्टका पहाडहरू छिचोलेका यी नवराजलाई एक दिन लाग्यो, ‘शून्यको मूल्य त कर्णालीले सदियौंदेखि देखाइरहेको रहेछ।’ अनि उनलाई आफ्नै पात्रहरूको त्यो प्रेरणाले अर्को बाटो दियो।

सरकारी जागिर छोडी बिरामी र बिमार जिन्दगीहरू खोज्दै हिँडेका नवराजले केही समयपछि आफूजस्तै मन मिल्ने केही डाक्टरहरू खोजे। खोजेपछि नभेटिने के नै छ र!

केही मनकारी भेटिए। मन मिल्यो। केही पैसा उठाएर उनीहरूले सुर्खेतमै एउटा अस्पताल खोले। यो अस्पतालमा अहिले नवराज पनि आफैँ खटिन्छन्। कर्मशील उनका अरू पनि डाक्टर साथीहरू छन्, जसले नव सपनाका त्यो यात्रामा पाइला मिसाइरहेका छन्।

हुन त उनीहरूले खोलेको यो एउटा निजी अस्पताल हो। तर यो नवराजले देखेका ती बिमार जीवनहरू बिसाउने छहारी पनि हो।

‘पैसा नभएर यहाँ कोही पनि उपचार नगराइ फर्किन्न’, नवराज भन्छन्, ‘यो अस्पताल मैले जीवनमा पढेका उनै किताबहरूको लागि एउटा बिसौना हो। जहाँ ती जीवन निर्धक्क सास फेर्न सकून्।’

शून्यको मूल्य कहाँ छ? नवराजलाई लाग्छ, त्यसको मूल्य कर्णालीमा छ। बुधेकी फुपू आमाहरूमा छ। नामै  नभएकी भुनभुनेकी आमाहरूको कोखभित्र त्यसको मूल्य छ। पुतली आमा अनि जुम्ल्याहाकी आमा र भेडिनी आमाको साहसिलो गर्भभित्र शून्यको त्यो मूल्य सायद भ्रुणिँदै छ।

संयुक्त राष्ट्रसंघले पृथ्वीका सारा मान्छेलाई सन् २०३० सम्मका लागि १७ डोका भारी बोकाइदिएको छ, दीगो लक्ष्यका नाउँमा। सायद नवराजले ‘बालरोग विशेषज्ञ’ बन्दा किताबका कुनै पन्नामा पढेका थिए, देखेका थिए। अनि सुनेका थिए।

तर ती १७ डोका भारी बोकेर कुनै जिन्दगी दीगो विकासको लक्ष्य भेटाउन पुग्दैन, कर्णाली पढेर नवराजलाई थाहा भो, त्योभन्दा अघि पनि केही छ। त्यसका लागि जन्मिएको हरेक बालक हरेक तवरले बलिया हुनुपर्थ्यो। ती पूर्ण शिशुका लागि आमाको गर्भमै हुर्किरहेको भ्रुण नै दुरुस्त हुनुपर्छ।

राष्ट्रसंघ अनि त्यही दीगो विकासका लक्ष्य पछ्याउँदै हरेक राष्ट्रहरूले खर्च गरिरहेको भारी पैसाको डोकाहरू रित्तिरहन्थे। तर अँह! त्यो लक्ष्य २०३० सम्म त के, कैयौं शताब्दीसम्म पनि भेट्नै सकिन्न।

कर्णाली पढाइले नवराजलाई ज्ञात भएको थियो- त्योभन्दा अगाडि पनि लगानी गर्नुपर्ने अर्को ठाउँ छ, आमाको गर्भ।

कर्णाली, नवराजको जीवनमा विश्वविद्यालयको त्यो धर्ती बन्यो, जहाँ उनले शून्यको मूल्य भेटाए। त्यो एक सुरु हुनुभन्दा आउने एउटा बिन्दु थियो। त्यही शून्यबाट आउने एउटा नयाँ जीवनमाथिको लगानी नै सायद यो धर्ती र मानवजातिका लागि साँचो अर्थमा दीगो विकासको सुत्र थियो।

कहिलेकाहीँ त उनलाई लाग्थ्यो, शून्यको पनि मूल्य हुन्छ र? फेरि सोच्थेँ, उसो भए त्यो किन लेखिन्छ त? मात्रै अंकको मूल्य त्यसरी बढ्न सक्दैन, जहाँ शून्यले अड्याउँदैन। त्यसको अन्तिम मूल्य पनि शून्यमै हुन्छ, सुरुवात पनि।

र, एक दिन उनी आफैँले लेखे, शून्य भनेको एकमा पुग्नुअघिको तयारी हो। फूल फुल्ने र फल लाग्ने वृक्ष उम्रिने त्यही माटोमा हो। शून्य पनि अरू अङ्कका मान बढाउने त्यही माटो हो।

नवराजले चिकित्साशास्त्रका धेरै किताब पढी भ्याए। केही अर्थशास्त्रका किताबहरू पनि पढेका छन्। कैयौँका तर्क अनि बहसहरू सुनेका छन्। विज्ञहरूलाई पढेका छन्, तर नवराजले देखेका छन् कर्णालीले बाँच्ने जीवनशास्त्र। अनि त्यसलाई धान्ने एउटा त्यो आदिम अर्थशास्त्रको पटुकी- आमाअर्थतन्त्र।

कर्णालीका आमाहरूले पटुकीको टुप्पामा बाँधेर साँचिराखेको त्यो धन जबसम्म मासिन्न नवराजलाई लाग्छ, हाम्रो अर्थतन्त्र कहिल्यै हल्लिन्न। सायद कर्णालीका आमामा त्यही पटुकी बैंक हो, जसले त्यहाँको सिङ्गो अर्थतन्त्र अनि जिन्दगीका तन्त्रमन्त्र बाँचेको छ।

‘हो, त्यही हो हाम्रो वास्तविक अर्थतन्त्र, जो सदियौँदेखि उनै घर धानिरहेका, जीवन धानिरहेका आमाहरूको पटुकीमा गाँठो परेको छ’, नवराजलाई लाग्छ, ‘त्यही पटुकीको गाँठो रहँदासम्म सायद हाम्रो देशको अर्थतन्त्र पनि जिउँदो रहन्छ। बलियो रहन्छ।’

त्यसैले त नवराजले ती आमाहरूको कथा लेखे, जसले शून्यको मूल्य पनि सँगसँगै बोकेका छन्। सिङ्गो देशको जीवन बोकेका छन्।

‘त्यही आमाको गर्भमा लगानी गरौँ, उनै आमामाथि लगानी गरौँ। अनिमात्रै हामीले एकदमै सिर्जनशील दिमागहरू पाउनेछौँ’, अनि पो नवराजले लेखे, ‘जो लेखिएको कथा छ। त्यही हो आमा अर्थतन्त्रको कथा। शून्यको कथा। जीवनकथाको त्यही मूल्य हो, नवराजले लेखेको शून्यको मूल्य।’

प्रकाशित मिति: : 2023-07-23 21:10:00

प्रतिकृया दिनुहोस्