करिब तीन वर्षअघिसम्म जनकपुरकाे मिथिलेश्वरका विनोद साहको परिवार निकै खुसी थियो। आफ्नै घर थियो। घरभरि टन्न अनाज अनि चैपाया थिए। छोरीछोरी पढ्दै थिए। खेती किसानी गरेरै खुसी जिन्दगी बाँचिरहेका थिए। जीवन शान्त थियो।
तर आजभोलि जीवन खलबलिएकोजस्तो लाग्छ उनलाई। पीर अनि व्यथा र पीडाहरूले भतभति पोलेजस्तै लाग्छ।
बिहेवारी गरी घरजम बसाएकी छोरीको ‘लाश’ पाएपछि उनीहरूको त्यो शान्त पारिवारिक जीवनमा एकाएक आँधी चलेजस्तै भयो।
सारा दु:ख आफैँले सोहाेरेर फूलजस्तै सजाइ राखेकी छोरीको शव देखेपछि आमा निर्मलादेवीले आफूलाई सम्हाल्न सकिरहेकी छैनन्। छोरीको सम्झनामा उनी घरि रुन्छिन्, घरि टोलाएर बस्छिन्। अनि त्यहाँ हेर्न आउने सबैलाई ‘मेरी छोरीलाई न्याय देऊ’ भन्छिन्।
माइतीघरको सडकभरि पोखिने यो विलाप त्यही सडकमै बिलाउँछ। सुन्ने न कोही छ, न बुझ्ने नै।
०००
‘.....बरु हामी मर्न तयार छौँ। तर, आरती साहलाई न्याय नदिलाई यहाँबाट हट्नेछैनौँ।’ ३५ दिनदेखि माइतीघर मण्डलामा न्याय गुहारिरहेको साह परिवार हरेक दिन त्यहाँबाट हटाउन आउने प्रहरीसँग यस्तै विलाप गर्छन्।
आफ्नाे प्राणभन्दा प्यारी छोरीको हत्या गरिएको भन्दै उनीहरू ३५ दिनदेखि माइतीघर मण्डलामा न्याय गुहारिरहेका छन्।
दुई वर्षअघि विवाह गरी पराइ घर पठाएकी छोरीलाई जेठ ७ गते साह परिवारले सधैँका लागि बिदाइ गरे।
आरती बीबीए तेस्रो सेमेस्टरमा पढ्दै थिइन्। घरकाले विवाहको कुरा चलाए। उनले आफू पढाइ सकेर मात्र विवाह गर्ने बताइन्। तर, विवाहको कुरा चलाउने मान्छेले ‘धनी घरमा विवाह गरे छोरीले सुख पाउँछे, घरपरिवार राम्रौ छ, दाइजाे केही चाहिँदैन अरे, पढाउँछु समेत भनेका छन्’ भनेपछि विवाहका लागि राजी भएका थिए, साह परिवार। आरतीले पनि त्यसपछि ‘हुन्छ’ भनिन्।
‘सुरुमा केटी हेर्न आउँदा केही पनि चाहिँदैन भनेको थियो। फेरि विवाह गर्ने बेला सकेको दाइजो दिनु भने। हामीले दियौँ पनि’, आरतीकी आमाले भनिन्, ‘तर पछि दाइजो नल्याएको भन्दै छोरी मारिदियो।’
गृहमन्त्रीदेखि रवि र बालेनसम्म गुहार
एक महिनाको अवधिमा माइतीघर मण्डलमा गृहमन्त्रीदेखि रास्वपाका सांसदहरू समेत पुगिसकेका छन्। तर, साह परिवार आफ्नो कुरा कसैले सुन्न नचाहेको बताउँछन्।
‘जो आए पनि उस्तै त रहेछन्’, उनीहरूले पीडा खोतलिरहे। घाउहरू कोट्याइरहे। तर कसैले त्यसमा मलम लगाउने प्रयास गरेनन्।
‘हामीले यहाँ आएका धेरै नेताहरुलाई हाम्रो कुराहरू राख्यौँ’, आरतीका बुवा विनोद भन्छन् ,‘हाम्रा कुरा सबैले सुन्छन्, अनि केही गर्दैनन्।’
करिब २१ दिनअघि सहकारी पीडितको कुरा सुन्न माइतीघर पुगेका रवि लामिछानेलाई उनीहरूले पनि आफ्ना कुरा नराखेका होइनन्। बाटै छेकेर ‘मेरी छोरीको हत्या भयो, न्याय दिनुहोस् भन्यौं’, उनले भने, ‘पहिला म तपाईंहरुको समस्या बुझ्छु, अनि कदम चलाउँछु भन्दै पाखा लागेर गाडीमा हुइँकिए।’
विनोद अनि निर्मलादेवीहरूलाई लाग्यो ‘भगवानै आएपछि अब न्याय पाइन्छ…।’
उनीहरूले तीन साता कुरे।
‘पहिला समस्या बुझ्छु, अनि कदम चलाउँछ’ भन्दै उनीहरूको मोबाइल नम्बरसमेत लगेका रवि त्यसपछि फर्किएनन्। न उनीहरूको मोबाइलमा ‘भगवान’को कुनै आवाज आयो।
‘हाम्रो समस्या बुझ्छु भनेर नम्बर लिएर गए’, आरतीकी बहिनी भन्छिन्, ‘अहिलेसम्म अत्तोपत्तो छैन।’
यसैबीचमा रास्वपाकी सासंद तोसिमा कार्की पनि माइतीघर चियाउन पुगेकी थिइन्। साह परिवारलाई उसैगरी आश्वासन दिइन्। अनि बाटो लागिन्।
सबैको आवाज सुन्ने माइतीघरले साह परिवारको आवाज भने अहिलेसम्म सुनेको छैन। उनीहरूले गृहमन्त्रीलाई समेत दाइजोको निहुँमा छोरी मारिएको बताए। गृहमन्त्रीले पनि कुरा सुने। तर केही भनेनन्। केही गरेनन्।
सबैले आशामात्रै देखाएपछि आरतीकी माइजु रीना साहले काठमाडौंका मेयर बालेनलाई समेत फोन घुमाइन्। बालेनले भने- यस्तो काम मैले गर्ने होइन, म केही गर्न सक्दिनँ।
‘मैले त बालेन पनि मधेसकै हो, हामीलाई केही कुराको सुविस्ता हुन्छ कि भनेर फोन गरेँ’, उनले सुनाइन्, ‘उहाँले हाम्रो कुरा सिधै नकार्नुभयो।’
पैसाको आडमा अनुसन्धान फितलो
न्याय माग्न जिल्ला प्रहरीमा पुगेका उनीहरूले उल्टै प्रहरीको लाठी र कुटाइ भेटे। प्रहरीको पिटाइबाट कान्छी छोरी मनिषा अस्पताल भर्ना भइन्। मामा सन्तोष साह र छोरा धिरज साह पनि घाइते भए।
आफ्नै ठाउँ (धनुषा) बाट अन्याय भएपछि उनीहरूले माइतीघरको बाटो रोजे।
‘पैसा भनेपछि महादेवको पनि तीन नेत्र खुल्छ नि!’, विनोदले भने,‘ उनीहरु धनी छन्। हामीसँग पैसा छैन। अनि हामीले कसरी न्याय पाउनु?’
न्याय माग्दै प्रहरीसम्म पुगेका उनीहरू प्रहरीबाटै कुटिएपछि अब प्रहरीले राम्रो अनुसन्धान गर्छ भन्ने कुरामा विश्वास गर्दैनन्।
‘हामीलाई प्रहरीले कुटपिट गरेको छ। घाइते बनाएको छ। त्यहाँ हामीलाई मार्ने धम्की दिएपछि हामी न्याय माग्दै यहाँ आयौं’, आरतीका भाइ भन्छन्, ‘अब त्यही प्रहरीले कसरी हामीलाई न्याय दिनसक्छ?’
‘पाले पुण्य, मारे पाप’ भन्दै कन्यादान गरिएका कैयौं ‘आरती’ मधेसमा निभिसकेका छन्। त्यसमा पनि अझ गहिरो गरी जरा गाडेको ‘दाइजो’ धेरै निर्दोष आरतीहरूको काल बनिसकेको छ।
आफ्नै हातले श्रृङ्गारेका घरलाई उज्जवल भविष्यको तराजुमा तौलिएर अर्को घर श्रृङ्गार्न पुगेका उनीहरु दाइजोका नाममा बलि चढिरहेका छन्।