जीवन डाँगी
नेपालदेखि द्वन्द्वग्रस्त म्यानमारसम्म मानवतस्करीको डरलाग्दो जालो फिजाइरहेका ‘चिनियाँ तस्कर’लाई नेपाल प्रहरीले काठमाडौँबाट पक्राउ गरेको छ।
थाइल्यान्डमा आकर्षक रोजगारीको लाेभ देखाएर दर्जनौं नेपाली युवालाई म्यानमार लगेर बन्धक बनाउँदै आएका ‘जोनसन’ भनिने लियाङ्ग जुनलाई प्रहरीको मानव बेचबिखन अनुसन्धान ब्यूराेले बिहीबार काठमाडौंबाटै पक्राउ गरेको हो।
चीनको ग्वान्सु प्रान्तका ४२ वर्षीया जुनले नेपाली युवालाई ‘भिजिट–स्टुडेन्ड’ भिसामा काठमाडौंबाट दुबई हुँदै बैंकक र पछि म्यानमार पुर्याउने गरेकाे खुलासा भएकाे छ। पीडितहरूकाे पासपोर्ट र अरू कागजपत्र नियन्त्रणमा लिएर मानव दलालहरूको समूहले युवाहरूलाई द्वन्द्वग्रस्त म्यावडी पुर्याउँछन्। म्यावडी– म्यानमारको सशस्त्र विद्रोही समूहले नियन्त्रणमा लिएको क्षेत्र हो।
‘थाइल्यान्डको सपना’ देखाउँदै म्यानमार लगेर ‘साइबर ह्याकर’को गिरोहले बन्दी बनाएका नेपालीहरूले थाइल्यान्ड र म्यानमारको सिमान्त जंगलमा भोग्दैआएकाे पीडाबारे बिएल नेपाली सेवाले यसअघि पनि विभिन्न सामग्री प्रकाशित गरेको थियो।
०००
बिहीबार काठमाडौंबाट पक्राउ परेका ‘मानवतस्कर’ जुन उनै पात्र हुन्, जसले दर्जनौं नेपाली युवालाई रोजगारीको प्रलोभन देखाएर थाइल्यान्ड, लाओस् र म्यानमारमा बन्धक बनाइरहेका छन्। ‘कतिसम्म भने अहिले त टार्गेट पूरा नगर्नेलाई आफूले आफैलाई करेन्ट लगाएर यातना दिनुपर्छ। नभए त्यो भन्दा पनि ठूलो यातना दिइन्छ,’ बिएल नेपाली सेवाको सम्पर्कमा आएका एकजना पीडितले भने, ‘तलव नदिने। खान पनि नदिने अनि एक्लै थुन्नेसम्म गरिन्छ।’
‘साइबर ह्याकर’को फन्दाबाट उम्किएर जन्मभूमि आइपुगेका झापाका याेगराज र काठमाडौंका गिरिशसँग ‘चिनियाँ मानवतस्कर र ह्याकर’हरूले अवैध काममा खटाउँदा घण्टौँसम्म दिएको ‘मानसिक र शारिरीक यातना’को लामै श्रृङ्खला छ।
प्रहरीका अनुसार चिनियाँ ‘मानवतस्कर’ जुन सन् २०१८ देखि नेपाल–चीन आवतजावत गरिरहन्थे। उनी दुई वर्षदेखि काठमाडौँस्थित (१५) बिजेश्वरीमा बस्दै आएका छन्। उनी नेपालीहरूलाई थाइल्यान्ड हुँदै म्यानमार पठाउने गैरकानूनी काममा संलग्न रहेको प्रहरीको प्रारम्भिक अनुसन्धानले देखाएको छ।
जागिर खोज्दै भौतिरिरहेका दर्जनौं नेपाली युवालाई ‘बैंकक पठाइदिन्छु’ भन्दै चिनियाँ मानवतस्कर जुन र दुबईमा बस्ने अर्का एकजना नेपालीले पीडितहरूबाट पाँच–पाँच लाखसम्म रकम उठाउँथे।
यिनै तस्करहरूमार्फत् म्यानमार पुर्याइएका २६ वर्षीय एकजना नेपाली युवा केही समयअघि बन्धक बनाइएको त्यो ठाउँबाट भागेर आएपछि प्रहरीमा उजुरी दिएका थिए। उनकै उजुरीका आधारमा पक्राउ परेका चिनियाँ नागरिक जुन भिजिट, स्टुडेन्ट र बिजनेस भिसामा नेपालमा बसेर विभिन्न व्यापार–व्यवसायमासमेत जोडिएका छन्।
०००
‘साइबर स्क्यामको हब’ बनिरहेका म्यानमारका विद्रोही नियन्त्रित जातीय राज्यहरूमा नेपालसहित विभिन्न देशका धेरै युवा बन्धक बनाइएका छन्। मानवतस्करले पुर्याएका ती युवालाई चिनियाँहरूले यातना दिँदै साइबर अपराध गर्न बाध्य बनाइरहेका छन्।
म्यानमारमा फसेका यस्ता नेपालीको संख्या एकीन नभएको र धेरै आइटी कम्पनीहरूले अवैध रुपमा म्यानमारको माइवाडी र कचिन राज्यमा ठग कम्पनीहरू स्थापना गरेको म्यानमारका लागि नेपाली राजदूत हरिशचन्द्र घिमिरेले बताएका छन्।
म्यानमारकाे क्रूर सैनिकले राज्यसत्ता हातमा लिएपछि म्यावडी र कचिव राज्यको ‘ह्वा’ क्षेत्र दक्षिण एसियाली मानिसहरूलाई बन्धक बनाउने र अवैध काममा खटाउने गिरोहको मुख्य केन्द्र मानिँदै आएकाे छ।
चिनियाँ तस्करहरूको त्यो क्याम्पमा बन्दी भइ फर्किएका काठमाडाैंका गिरिशले भने– ‘म्यावडी भन्ने ठाउँमा धेरै नेपाली र इन्डियनहरू छन्। उनीहरू डराउँदै–डराउँदै बसिरहेका छन्। जतिसक्दो चाँडो उद्दार गरियोस्। हामीलाई बन्धक बनाएको कम्पनीले १२ लाख माग्याे, मैले त्याे पैसा दिएर फर्किए। साथीहरूले दूतावासलाई गुहारिरहेका छन्। तर त्यो दूतावासको कामै छैन, उनीहरूले समयमै फोनसमेत उठाउँदैनन्।’
विद्रोही किल्लामा ‘साइबर ह्याकर’
थाई–म्यानमार सीमाक्षेत्रलाई छुट्याउने एउटा नदी छ। नदीमाथि लामो पुल छ। वारिपारि अध्यागमन छ। तर त्यो छलेर ‘साइबर ह्याकर’ले दर्जनौँ युवाहरूलाई सीमापार गराउँछन्। उनीहरूलाई स्थलमार्ग हुँदै द्वन्द्वग्रस्त म्यानमारकाे म्यावडी छिराउँछन्। ‘हामीहरू चारजना थियाैँ, कसैलाई पनि पत्तो थिएन, कहाँ जाँदैछौँ,’ २९ वर्षीय गिरिशले भने।
म्यावडी पुगेको अर्कोदिन भर्खंरै नयाँ समूहलाई धम्कीसहितको काम दिइयो। उनीहरूको झोलाबाट पासपोर्टसहित अन्य कागजात खोसियो। सबै कुरा बिर्सेर डाटा इन्ट्रीको उर्दी गरियो। काम लगाउनेहरू चिनियाँ, ब्राजिलियन र थाईहरू छन्।
म्यावडी विद्राेहीकाे इलाका हाे, चारैतिर जंगल छ। बारले घेरिएका भवनहरू छन्। त्यहाँबाट भाग्न सम्भव छैन। आकर्षक तलबको प्रलोभनमा परेर साइबर ह्याकरहरूको जालोमा जेलिएका धेरै देशका आइटीवर्कर र कम्प्युटर इन्जिनियहरू बन्धक छन्। कतिपय उल्टै माेटाे रकम तिरेर घर फर्किँदै छन्।
उनीहरूले लगातार १३–१४ घण्टासम्म काम गर्नुपर्ने बाध्यता छ। डर–धम्कीले साइबर आक्रमण, डेटा इन्ट्री, डेटा ह्याकजस्ता गैरकानूनी काम गर्छन्। कामदारहरूलाई बेग्लाबेग्लै समूहमा बाँडिएको छ। प्रत्यक समूहलाई भिन्नभिन्नै टार्गेट दिइन्छ। बन्धकहरू क्रिप्टोकरेन्सी, कल सेन्टर–फड, अनलाइन ग्याम, जुवाजस्ता कामसँग सम्बन्धित गतिविधिमा संलग्न छन्।
०००
म्यान्मारमा नेपालीलाई बन्धक बनाएर ठगी गर्ने चिनियाँ अन्तर्राष्ट्रिय गिरोह छ। जसकाे पछिल्लाे प्रमाण हुन्, चिनियाँ मानवतस्कर जुन। नेपाली दूतावासनिकट स्राेत भन्छ– विश्वभरका मानिसहरू त्यहाँबाट साइबर ठगीमा परेका छन्। ‘मैले म्यान्मार सरकारबाट त्यहाँको बारेमा पटकपटक जानकारी लिएकाे छु। नेपालीहरूको वास्तविक अवस्था बुझ्ने प्रयास गरिरहेका छौँ। तर पीडितहरू पनि दूतावासको सम्पर्कमा आइरहनुभएको छ। कति चाहिँ नेपाल फर्किनुभयाे,’ म्यान्मारका नेपाली राजदूत घिमिरेले भने।
केही समयअघि मात्रै तस्करहरूलाई १२ लाख तिरेर नेपाल फर्किएका गिरिश त्यो यातना सम्झेर अझै विक्षिप्त छन्। उनका अनुसार त्यहाँबाट भागेर आउन निकै मुस्किल छ। उनीहरूसँग भनेर आउँदा तस्करहरूले उल्टै फिरौती माग्छन्। अनि यातना पनि दिन्छन्। त्यहाँ पुर्याइएका उनीहरूलाई कसैसँग सम्पर्क पनि गर्न दिइँदैन।
नेपाल प्रहरीको मानव बेचबिखन अनुसन्धान ब्यूराेका अनुसार म्यानमारका ठगिएका नेपालीका परिवार र नेपाल फर्किएका उनीहरू आफैले पनि धमाधम ब्यूराेमा उजुरी दिइरहेका छन्। साेही उजुरीका आधारमा बिहिबार चिनियाँ नागरिक जुन पक्राउ परे।
‘तीन जनाको परिवारका आफन्त आफै कार्यालयमा आएर र अन्य धेरै म्यानमारको केयन स्टेटको म्यावडी र कचिन स्टेटबाट इमेलमार्फत् निवेदन दिनुभएको छ,’ ब्यूरोका प्रमुख जीवन श्रेष्ठले भने, ‘हामीले उनीहरूलाई चिनियाँलाई पक्रिएका छाैँ र अन्य त्यहाँ पठाउने एजेन्टहरूको खोजी र उद्दारको लागि सम्बन्धित निकाय मार्फत पहल शुरू गरेका छौँ।’
क्रान्तिको नाममा लुट, देशको नाममा धोका
दोहोरो नागरिकता : पूरा गर्ला त रास्वपाले ९९औं वाचा ?
प्रतिकूल मौसमको मौका छोप्दै काठमाडौंमा ट्याक्सी चालकको लुटधन्दा…
इतिहास फेरिन्छ– जब जनताको चेतनाले ‘नयाँ अध्याय’ लेख्छ
सच्चिएनन् पुराना दल, बरू भए सक्किन तयार
‘मैले ड्रग्स खाँए, समाजले परिवारलाई धिक्कार्यो’ (भिडियाेसहित)
रापिएको ‘रविमण्डल’
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया