‘प्रचण्ड’ छायाकी सीता

File Photo
File Photo

‘प्रचण्ड’ जिन्दगीसँग गाँसिएको एउटा सिङ्गो कथा हो, सीता। अनि ‘प्रचण्ड’ छायामा सधैँ विलुप्त पारिएकी एउटा जीवन्त पात्र हुन् सीता।


बालुवाटारको एउटा शून्य कोठामा ढलिरहेकी सीता दाहाल अन्तत: प्रचण्ड जीवनबाट सदाका लागि छुट्टिएकी छिन्।

‘जनयुद्ध’पछि करिब १० वर्षदेखि कहिल्यै सन्चो नहुने रोगका पोका बोकेर आफ्नै ज्यानसँग लडिरहेकी सीता बुधबार बिहानै संसारबाट बिदा भइन्। 

कुनैबेलाका पुष्पकमल दाहाल ‘प्रचण्ड’ बन्नुभन्दा अघि नै गाँसिएकी सीता प्रचण्डरचित ‘जनयुद्ध’को ऐतिहासिक रेखाहरूमा अमिट बनिन्।

प्रचण्डकी सीता

सीता प्रचण्डको राजनीतिक बाटोमा कहिल्यै बाधा भइनन्। कहिल्यै राजनीतिमा गलत बाटोमा डोर्‍याइनन्। सधैँ सत्ता र शक्तिकै वरिपरि घुमिरहने श्रीमान प्रचण्डसँग सीताले कहिल्यै राजनीतिक पद अनि लाभ मागिनन्। मागिन् त मात्रै- प्रचण्ड प्रेम। चाहिन् त मात्रै सन्तान प्रेम।

को हुन् सीता? उनलाई चिन्नेहरूले उनलाई महान भन्लान्। प्रचण्ड जीवनका एक साधक भन्लान्। वा त्यस्तै त्यस्तै महान उपमाहरू देलान्। तर प्रचण्डजुनीभरि मात्रै उनी प्रचण्डकी सीता बनिरहिन्। अरू केही भइनन्।

अनि, 

‘प्रचण्ड’ जिन्दगीसँग गाँसिएको एउटा सिङ्गो कथा हो, सीता। अनि ‘प्रचण्ड’ छायामा सधैँ विलुप्त पारिएकी एउटा जीवन्त पात्र हुन् सीता।

आफूभन्दा छ महिना कान्छो केटो छबिलाललाई ‘दुलाहा’का रूपमा अंगाल्दा सीताले सायदै सोचेकी थिइन्, त्यो जीवन प्रचण्ड बनेर विश्वराजनीतिमा उदाउनेछ। १० वर्षसम्म ‘दुश्मन’ भएको राज्यसत्तासँग जंगलमा लुकामारी खेल्दा सीताले धेरैचोटी प्रचण्डलाई बचाएकी छिन्। कति ठाउँमा आफ्नै छाती थापेर प्रचण्डलाई मृत्युबाट छोपेकी छिन्।

कास्की ढिकुरपोखरीको एउटा मध्यम वर्गीय परिवारमा जन्मिएकी थिइन्, सीता पौडेल। दाहाल परिवार सीताहरूभन्दा अलि कमजोर अवस्थाका हुन्। सीताले पढ्न, लेख्न पाइनन्। संयोगले जिन्दगीको अलि सजिलो बाटो खोज्दै यी पौडेल र दाहाल परिवार सँगसँगै चितवन झरेका थिए।

त्यहीँ सीताको परिवारले एउटा पढेलेखेको र अलि चनाखो केटोमाथि आँखा लगाइरहेको थियो। त्यो केटो थियो- छबिलाल दाहाल। सीताभन्दा केही महिना कान्छो। सीताले पढ्न पाइनन्। त्योबेलाको समाजै त्यस्तो थियो। छबिलाल भर्खर उच्चशिक्षा पढ्दै गरेका। परिवारको कुरा मिल्यो। सीता अनि छबिलाल कसैले नाइनास्ती गरेनन्। पढ्दै गरेको छबिलालको जीवनमा सीता गाँसिइन्। नौमती बाजाले जीवनको अलि अर्कै संगीत भरिदिइसकेको थियो।

सीताका बाआमालाई लागेको थियो- सायद अलि पढेलेखेको केटोसँग बिहे भएपछि छोरीले सुख पाउँछे कि! के थाहा त्यही छबिलाल एकदिन ‘प्रचण्ड’ बनेर राज्यसत्ताविरूद्ध बन्दुक उठाउला। अनि ती सीता आफ्ना लालाबाला काखमा च्याप्दै ‘दुश्मन’सँग बच्न स्याउलाको ओत लाग्नुपर्नेछ।

पहिलोपटक सन्तानका रूपमा छोरी जन्मिँदै गर्दा छबिलाल पढ्नका लागि काठमाडौं छिरेका थिए। दाहाल परिवार चाहन्थ्यो। पहिलो सन्तान छोरा होस्। घरधन्दा र त्योबेलाको बुहार्तन एक्लै सहँदै थिइन् सीता। पढ्नका गएका छबिलाल कम्युनिष्ट पार्टीमा लागेर काठमाडौंमा पुष्पकमल भइसकेका थिए। चितवन आउनेजाने क्रम चलिरहेको थियो पुष्पकमल दाहालको। त्यही क्रममा अर्की छोरी पनि जन्मिइन्।

पञ्चायती क्रुरताका घेरा अझ साँघुरा हुँदै थिए। नामै ‘भूमिगत’ राखेर सल्बलाउन थालेको कम्युनिष्टहरू त्योबेला पहिलो नम्बरका दुश्मन हुन्थे पञ्चायतका। पुष्पकमल त्यही दुश्मनको एक हिस्सा थिए।

परिवारमा डर भयो, छोराकै कारण अरूलाई पनि पञ्चायती शासनले दु:ख दिने हो कि! त्यसपछि पुष्पकमलका बुवाले उनलाई छुट्याइदिए। उनलाई लागेको थियो- छोरालाई छुट्याइदिएपछि बाँकी परिवारलाई प्रशासनले दु:ख दिनेछैन।

काखभरि लालाबाला भिरेकी सीता पुष्पकमलको पछि लागेर काठमाडौं छिरिन्। पाटनको एउटा अँध्यारो छिँडीमा पुष्पकमलले राजनीतिको उज्यालो खोजिरहेका थिए। त्यही अँध्यारोभित्र सीता पनि थपिइन्। अझ काखभरि सन्तान बोकेर।

पञ्चायतविरूद्ध लड्दा लड्दै पुष्पकमल भूमिगतजस्तै भए। अँध्यारो छिँडीमा धेरै रातहरू सीताले उनलाई कुर्दै कटाइन्। छोरीहरूले बुवाको अनुहार धेरै पछिमात्रै चिने। गर्भमा अर्को सन्तान अंकुराउँदै थियो। केही समयपछि सीताले छोरो जन्माइन्।

२०४६ सालको आन्दोलनपछि सीताले सोचेकी थिइन्, अब सब राम्रोमात्रै हुनेछ। सायद अब दु:ख पाइन्न कि! तर ४ वर्ष नबित्दै पुष्पकमल दाहालले ‘प्रचण्ड’ बनेर ‘जनयुद्ध’को घोषणा गरे। सीताको जीवनमा अर्को एउटा भयंकर यात्राको अँध्यारोले फेरि छोपियो।

२०५१ सालमा फेरि उनी आफ्ना चार सन्तान च्यापेर प्रचण्डसँगै जंगल छिरिन्। अब भने साँच्चिकै जीवनको बनवास यात्रा सुरु भएको थियो सीताको जीवनमा।

१० वर्षसम्म कहिले जंगल त कहिले भारतको निर्वाचन। प्रचण्ड जीवनका उवडखावड जीवन रेखाहरूमा उसैगरी सिधा हिँडिरहिन् सीता। प्रचण्ड कुनै आदर्शका ‘राम’ त थिएनन् तर सीता भने उनको सच्चा सीता बनेर पछ्याइरहिन्।

२०५१ सालको फागुन १ गते रोल्पालगायतका केही स-साना पुलिस चौकीमा आक्रमण गरेर सुरु भएको ‘जनयुद्ध’ नेपालमात्रै होइन, विस्तारै सारा संसारभरि चर्चाको शिखरमा पुग्दै थियो। जनयुद्ध चर्किँदै थियो। कहिल्यै सम्हालिन नसकेको परिवार झन्-झन् लथालिङ्ग हुँदै थियो। जेठी छोरी ज्ञानुको बिहे भइसकेको थियो। रेणु र गंगाहरू पनि तरुण हुँदै थिए। प्रकाश हुर्किँदै थिए।

एक दिन यस्तो आयो, जतिबेला रेणु र गंगाको एकैसाथ बिहे गरिदिनुपर्‍यो। त्यो पनि भारत निर्वासनका बेला। परिवार त सँगै थियो, तर सम्बन्धहरू बाँडिएका थिए।

२०५८ साल जेठ १९ गते दरबार हत्याकाण्डपछि नेपालको राजनीति एउटा अनिश्चित दिशामा मोडिँदै थियो। त्यसपछि प्रचण्डले हाँकेको जनयुद्ध अब ‘निर्णायक’ लडाइँको तयारीमा लाग्यो। त्यही सालको मंसिर ८ गते दाङमा रहेको सैनिक ब्यारेकमा आक्रमण  गरेर माओवादीले सिधै दरबारसँग धावा बोल्यो।

सब सन्तान मारिएपछि राजा बनेका ज्ञानेन्द्र शाहले मंसिर ११ गते संकटकाल घोषणा गरिदिए। पूरै देशीय राजनीतिमात्रै होइन, आम नागरिकको जीवन पनि एकप्रकारको नमिठो बादलले घेरियो। करिब ३ वर्ष ज्ञानेन्द्रको ‘राज आतंक’ चल्यो।

राजाको शासनविरूद्ध बाहिर गोलवद्ध हुँदै गइरहेका राजनीतिक दलहरूले त्यसपछि प्रचण्ड खोज्न थाले। जनयुद्धको त्यो जंगल अब राजनीतिक संवादको थलो बन्न थाल्यो। राजाका विरूद्ध एक भएर लड्नका लागि प्रचण्डले दलहरूसँग बचन गाँस्न थाले।

२०६२ को अन्त्यतिर सडकमा जनआन्दोलन चर्कियो। त्यसअघि नै १२ बुँदे सम्झौता भइसकेको थियो। ज्ञानेन्द्र लगभग गलिसकेका थिए। अवश्यंभावी परिवर्तनको भान पाइसकेका सेना, पुलिस पनि अब आफ्नो ठाउँ सुरक्षित गर्दै थिए। सडकको त्यो आन्दोलनमा माओवादी कार्यकर्ता पनि मिसिन थाले।

२०६३ को सुरुवातसँगै देशमा सत्तामात्रै होइन, सदियौंको विरासत बोकेको राजसंस्थाकै अन्त्य भयो। वैशाख ११ गते राजा ज्ञानेन्द्रले आफूले सामान्य नागरिकको जीवन बाँच्च राजी भएर राजगद्गी छोडे।

असार २ गते दलहरूबीच फेरि अर्को ८ बुँदे सम्झौता भयो। यो त्यही सम्झौता हो, जसले प्रचण्ड दम्पत्तीलाई बालुवाटर छिरायो। त्यो दिन प्रचण्ड र सीता चढेको गाडीमा तत्कालीन गृहमन्त्री कृष्णप्रसाद सिटौला पनि सँगै बसेका थिए। जसले १० वर्षदेखि जंगलबास काटिरहेका सीताहरूलाई बालुवाटर छिराउँदै थिए, सवारीमन्त्री भए।

‘अहो! यो के भइरहेको छ?’ 

खैरो सर्ट पाइन्टमा सजिएर मुस्कुराइरहेका प्रचण्डतिर पुलुक्क हेर्थिन् सीता अनि फेरि आफू आफैँसँग दंग हुन्थिन्।

मंसिर ५ गते भएको विस्तृत शान्ति सम्झौताले दश वर्षे जनयुद्धको अन्त्य गरिदियो। समायोजनका लागि तयार बस्न माओवादीका सेनाहरू क्याम्प बाँधेर बसे। हतियारहरू संयुक्त राष्ट्रसंघले बाकसमा थन्क्याइदियो। जंगलयात्रा अब सत्तातिर आयो।

सीतालाई फेरि लाग्यो, अबचाहिँ दु:खका दिन सकिए।

सोचेजस्तो जीवन कहाँ हुन्छ र! न चाहेजस्तो हुन्छ।

२०७० साल चैत १३ गते जेठी छोरी ज्ञानु केसीको निधन भयो। प्रचण्ड-सीताको जीवनमा सन्तान वियोगको यो एउटा बज्रपात थियो। सीता अलिकति थलिइन्। केही ठाउँमा औषधोपचार भयो। अलि बिसेकजस्तो लाग्थ्यो। तर फेरि फेरि उनी थलिन थालिन्। प्रचण्डको व्यस्त सूचीमाथि सीताको स्याहार पनि थपियो। उनी अलि बढी समय सीतालाई दिन थाले।

दुई वर्षपछि सीताको जीवनमा फेरि अर्को चट्याङ बज्रियो। छोरा प्रकाशको निधन भयो। स्तन क्यान्सरसँग लड्दालड्दै ज्ञानु बितिन्। एउटा घाउ नपुरिँदै, राजनीतिमा उज्यालिँदै गरेका प्रचण्ड सीताका एउटा अर्को प्रकाश निभ्यो। धिपधिपाइरहेको ‘हृदयघात’ले एकैचोटी झ्याप्प निभेको थियो त्यो प्रकाश। 

त्यसपछि त सीता झन् शिथिल भइन्।

कुनैबेला लाग्थ्यो- प्रचण्ड यो ब्रह्माण्डकै एक क्रुर पात्र हो। एक ढुङ्गो हो, जो कहिल्यै पग्लिँदैन। सायद वर्षौंवर्ष थुनिएका प्रचण्ड आँशुका बाँध यतिबेला बेगले फुटेको थियो।

जीवनका लगभग आधाभन्दा धेरै यात्रामा उनले सायदै सीताका हात समाएका थिए। अब भने प्रचण्ड जीवनको आधा समय लगभग सीताका लागि थियो।

सन्तान वियाेगले बिथोलिएकी सीता झन्-झन् थलिँदै गइन्। राजनीतिको मूलबाटोमा आएपछि एकातिर जनयुद्धका सारथीहरू एकएक गर्दै बाटो मोड्दै थिए। प्रचण्ड एकपछि अर्को गर्दै राजनीतिको राजमार्गमा एक्लिँदै थिए।

जनयुद्धको त्यो जीवन फुक्ने प्रचण्ड गुरू वैद्य अलग भइसकेका थिए। बादल फाट्दै थिए। विप्लवहरू अझ विप्लवी सपना छोप्न हिँडिसकेका थिए। बाबुराम बाटो बदल्दै थिए। प्रचण्डका राजनीतिक मोडहरू उसै पनि अब एक्ला र सुनसान हुँदै थिए।

राजनीतिको एक्लोपनले लखेटिएका प्रचण्डपीडा अनि लगातारको सन्तानपीडा, सीताको शिथिल ज्यान झनझन् फुकिढल बन्दै थियो।

के  भयो सीतालाई?

धेरै समयसम्म त प्रचण्डलाई पनि थाहै भएन। डाक्टरहरूले पनि पत्ता लगाउन सकेका थिएनन्। रातदिन राजनीतिको व्यस्ततामा हराउने प्रचण्डले बेलाबेला समय निकालेर सीताका समुन्ने हुन्थे। हात समाउँथे। कहिले काखमा राख्थे।

त्यस्ता प्रचण्ड अब यस्ता भइसकेका थिए- सीताका लागि उनी रामदेवको दरबार पनि गए। तातोपानीमा डुबुल्की मार्न गए। सिङ्गापुर अनि अमेरिकाका अस्पतालहरू पनि धाए। धाम र अनुष्ठानतिर पाइला पनि बढाए।

धेरैपछि मात्रै थाहा भो, सीतालाई एउटा दीर्घ रोगले समाएको थियो, जसको कुनै उपचार छैन। वा सम्भव छैन। केबल मृत्यु कुर्नुशिवास अब केही उपाय थिएन। त्यसपछि सीताको सारा संसार त्यही ओछ्यान भयो, अनि कहिलेकाहीँको बिसौना बन्यो अस्पताल।

चिकित्सकहरूका अनुसार ‘प्रोग्रेसिभ सुप्रान्यूक्लिअर पल्सी’, ‘पार्किन्सनिज्’, मधुमेह र उच्च रक्तचापसँग उनको त्यो शिथिल शरीर लडिरहेको थियो। 

तेस्रोपटक प्रचण्ड प्रधानमन्त्री बनेपछि बालुवाटारको एउटा कोठामा निष्लट ढलेकी सीताले बुधबार बिहान ८:३३ बजे अन्तिम सास फेरिन्।


प्रधानमन्त्री ‘प्रचण्ड’ पत्नी सीता दाहालको निधन

प्रकाशित मिति: : 2023-07-12 20:50:00

प्रतिकृया दिनुहोस्

ट्रेन्डिङ