बालुवा बेचेकाे पैसा भागबण्डा: दाङ प्रहरी प्रशासनदेखि पत्रकारसम्म खैलाबैला 

नेत्रविक्रम चन्द (विप्लव) नेतृत्वको नेकपा निकट अखिल क्रान्तिकारीका केन्द्रीय अध्यक्ष प्रकाश शाही
नेत्रविक्रम चन्द (विप्लव) नेतृत्वको नेकपा निकट अखिल क्रान्तिकारीका केन्द्रीय अध्यक्ष प्रकाश शाही

दाङमा एक कुलो निर्माणका क्रममा प्रहरी प्रशासनदेखि पत्रकार, जनप्रतिनिधिले पैसा खाएको आरोप लागेपछि खैलाबैला भएको छ।

राप्ती गाउँपालिकास्थित प्रगन्ना सिँचाइ कुलो निर्माण गर्ने क्रममा ढुंगाजन्य पदार्थ उत्खनन् गर्दा जिल्लाका प्रमुख निकायले पैसा खाएको आरोप लागेपछि खैलाबैला भएको हो।

नेत्रविक्रम चन्द (विप्लव) नेतृत्वको नेकपानिकट अखिल क्रान्तिकारीका केन्द्रीय अध्यक्षसमेत रहेका शाहीले शुक्रबार फेसबुकमा पोष्ट गर्दै कसले कति रकम खाएको भनेर सार्वजनिक गरिदिएका हुन्। यद्यपि, उक्त पोष्ट उनले हटाएका छन्।

शाहीकाअनुसार जिल्ला प्रहरी प्रमुख (वीरबहादुर वली)ले ३ लाख, प्रमुख जिल्ला अधिकारी (सुशील वैद्य)ले १ लाख, भालुबाङ प्रहरीले १ लाख २५ हजार, राप्ती गाउँपालिका कार्यालयले ५ लाख ४५ हजार, सशस्त्रका एसपीले १ लाख, जिल्लाको अनुसन्धान विभागले ३५ हजार, पत्रकार सन्तोषकुमार गुप्ताले २५ हजार, विदुर एमसीलाई १० हजार पैसा खाएको आरोप छ।

यतिमात्र होइन, पैसा खानेमा अन्य धेरैको नाम छ। जसमा जनप्रतिनिधि, स्थानीय केही व्यक्तिलेसमेत पैसा खाएको आरोप लगाइएको छ।

पैसा खाएको आरोप लागेपछि केही व्यक्तिले सामाजिक सञ्जालमार्फत स्पष्टिकरण दिएका मात्र छैनन्, जिल्ला प्रशासन कार्यालयमा उजुरी दर्ता गर्ने तयारी गरेका छन्। नेपाल पत्रकार महासंघ दाङले ३ जना पत्रकारले पैसा खाएको आरोप लागेपछि छानविनका लागि समिति गठन नै गरेको छ।

अध्यक्ष दुर्गालाल केसीले छानविन समिति गठन गरिएको र भएको के हो भन्ने विषय छानविन गरिने बताए। पत्रकार महासंघले मात्र होइन, प्रहरी प्रशासनले पनि छानविन गर्ने भएको छ। प्रमुख जिल्ला अधिकारी सुशीले वैद्यले प्रहरी प्रशासनले पैसा खाएको विषय निराधार रहेको भन्दै गम्भीर रुपले छानविन हुने बताए।

उनले केही व्यक्ति आफ्नो मानहानी भएको भनेर उजुरी लिएर प्रशासनमा आएको जानकारी दिए। ‘पैसा खाएको आरोप लागेपछि केही व्यक्ति आज (शनिबार) उजुरी दर्ता गराउन आउनुभएको थियो। तर आज शनिबार भएकाले उजुरी दर्ता भएन,’ वैद्यले बिएल नेपाली सेवासँग भने, ‘भोलि आइतबार उजुरी दर्ता हुन्छ र यस विषयमा छानविन सुरु हुन्छ।’

ठेकेदार प्रकाश शाहीले विभिन्न व्यक्तिले पैसा खाएको आरोप लागाएपछि उनका सहकर्मी ज्ञानु केसी, बसन्त कुँवर, पवन जिसीले शाहीको आरोप गलत रहेको प्रष्टिकरण दिएका छन्। तर शाहीले आफूले लगाएको आरोपमाथि छानबिन गर्न आग्रह गरेका छन्।

उनले आफूले देखेकै कुरा लेखेको भन्दै आफ्नो कुरामा दृढ रहेको बताएका छन्। ‘मेरो कुरो प्रगन्ना काण्डमा स्थानीय तहदेखि जिल्ला प्रशासन सुरक्षा सबै पैसा खाएको भन्ने कुरा गम्भीर छ,’ शाहीले अर्को फेसबुक स्टाटस लेख्दै भनेका छन्, ‘यो घटनाको सत्यतथ्य  कम्तिमा प्रदेश स्तरको छानविन कमिटी बनाइ प्रकृया अघि बढोस् भन्ने हो। ममाथि लागेका आरोपको जवाफ दिन तयार छु। मैले जे देखेँ, त्यो पोष्ट गरेँ म मेरो कुरामा दृढ छु।’

प्रकाशित मिति: : 2023-07-08 18:20:00

प्रतिकृया दिनुहोस्