कोशीको मुख्यमन्त्रीका लागि कांग्रेसका उद्धव थापाको दाबी पेस

कोशी प्रदेशमा नेपाली कांग्रेस नेता उद्धव थापाले मुख्यमन्त्रीमा दावी पेस गरेका छन्।

बिहीबार प्रदेश प्रमुख परशुराम खापुङसमक्ष सभामुखसहित ४७ सांसदकाे समर्थनमा थापाले मुख्यमन्त्रीका लागि दावी पेस गरेका हुन्।

माओवादी केन्द्र र जसपाले नेकपा एमालेका हिक्मतकुमार कार्की नेतृत्वको सरकारलाई दिएको समर्थन फिर्ता गरेसँगै प्रदेश सभामा लिएको विश्वासको मत असफल भएपछि थापाले मुख्यमन्त्रीमा दावी पेस गरेका हुन्।

थापालाई माओवादी केन्द्र, जसपा, नेकपा एकीकृत समाजवादीका सांसदकाे समर्थन छ। थापाले आफ्नो दलका २९ प्रदेशसभा सदस्य, माओवादी केन्द्रका १२ जना, नेकपा एकीकृत समाजवादीका ४ जना, जनता समाजवादी पार्टीका १ जना र सभामुख बाबुराम गौतमको समर्थनसहित दाबी पेस गरेका हुन्।

यस्तै कोशी प्रदेशमा एमालेका ४० र राप्रपाका ६ र जसपाका एक सांसद छन्।

एमालेको नेतृत्वको कोशी प्रदेशको सरकार ढलेपछि नयाँ सरकार गठनको ढोका खुलेको हो। संविधानको धारा १६८ को उपधारा (२) अनुसार प्रदेश प्रमुख खापुङले दुई वा दुईभन्दाबढी दलका लागि ४ दिनको समय दिएर नयाँ सरकार गठनको आह्वान गरेका थिए।

प्रकाशित मिति: : 2023-07-06 17:14:00

प्रतिकृया दिनुहोस्