भूमे पर्वकाे अवसरमा रुकुम (पूर्व)को भूमे गाउँपालिकाले आयोजना गरेकाे गुरिल्ला अल्ट्रा ट्रेल रेसअन्तर्गत महिलातर्फकाे ५२ किलाेमिटरकाे दाैडमा सोलुखुम्बुकी अनिता राई च्याम्पियन बनिन्। यही म्याराथनमा अघिल्लाे वर्ष दाेस्राे बनेकी उनी यसपटक भने सहजै प्रथम बन्न सफल भइन्।
गुरिल्ला अल्ट्रा ट्रेल रेसकाे च्याम्पियन बनेपछि ‘खेलमा हार जित भइरहन्छन् तर हिम्मत हार्नु हुँदैन’ भन्ने अनिता राईसँग बिएल संवाददाता रविन पुन मगर (आइडु)ले कुराकानी गरेका छन्।
प्रस्तुत छ गुरिल्ला अल्ट्रा ट्रेल रेस च्याम्पियन अनिता राईसँग गरिएकाे कुराकानीकाे सम्पादित अंश:
५२ किलोमिटरको म्याराथनमा प्रथम बन्दा कस्तो अनुभव भइरहेको छ ?
एकदमै प्राउड फिल भइरहेको छ। बाटोमा धेरै हराएको थिएँ तर पनि साथीहरुलाई एक–एक गर्दै उछिन्दै गएँ। त्यसरी फस्ट पोजिसनमा आउँदा एकदमै गर्व लागेको छ।
के थियो तयारी, यहाँ गुरिल्ला म्याराथन हुँदैछ भनेर कसरी थाहा पाउनु भयो र कति दिन तयारी गर्नु भयो ?
१५ दिनदेखि ट्रेनिङ गर्दै आएको थिएँ। गेम हुन्छ भन्ने थाहा चाहिँ फेसबुकमार्फत पाएको हो। अनि, उपस्थित भएँ र फस्ट भएँ।
तपाईं यो भन्दा पहिला पनि आउनु भएको थियो ?
यो मेरो दोस्रो पटक हो।
त्यतिखेर स्थान चाहिँ के थियो ?
दोस्रो भएकी थिएँ, अहिले प्रथम भएँ।
खेल क्षेत्रमा प्रगति गर्न के चाहिने रहिछ ?
मान्छेमा एउटा इच्छाशक्ति र धैर्यता हुनुपर्छ, लाइफ भनेको एउटा गेम जस्तै हो। कहिले हार हुन्छ त कहिले जित, स्वीकार गर्नु पर्यो। जितलाई छोयो भने सबै खेलाडीहरु सहभागी हुन्छन्, हारियो भन्दैमा आफूले कहिले हार मान्नु हुँदैन।
तपाईं त सोलुखुम्बुको गाउँमा जन्मिनु भएको यो म्याराथनमा कसरी जोडिनु भयो ?
म सानैदेखि नै एकदमै यो खेल भन्ने बित्तिकै हुरुक्कै हुन्थेँ, परिस्थितिअनुसार सानोमा खेल्न सकिनँ। बिस्तारै समय चेन्ज हुँदै आयो त्यही क्रममा खेल्ने मौका पाएको एउटा खेम थियो। पोखरामा प्रिती आरएस भन्ने थियो, त्यहाँ म सहभागी भएँ, त्यतिबेला केही पनि ट्रेनिङ लिएको थिएन तर पनि फस्ट भएँ। त्यसपछि चाहिँ ए म पनि केही गर्न सक्छु भन्ने भयो। एउटा हिम्मत आयो। त्यसपछि धेरै गेमहरुमा सभागी भएँ, कहिले हारियो कहिले जितियो।
तपाईंको बाल्यकाल कस्तो रह्यो ?
सानोमा गेमहरुमा सहभागी हुन पाइनँ, बिस्तारै उमेर बढ्दै गयो। मिरा राई दिदीलाई देखेर छोरी मान्छेले पनि केही गर्न सक्ने रहिछ भन्ने लागेर एकदमै हौसला मिल्यो। बिस्तारै फेसबुकतिर उहाँलाई फलो गरेँ, त्यसपछि एसएमएस भयो। त्यहाँले उहाँ मेरो लागि प्रेरणादायी हो। त्यसपछि मैले पनि ९ महिना तालिम गरेँ, मिरा राईसँगै त्यसपछि धेरै ट्रेल रेसहरुमा सभागी भएँ।
अहिलेसम्म कति वटा लङ म्याराथनमा भाग लिनुभयो ?
धेरै लिसकेँ।
रनिङमा भूगोलले फरक पार्छ ?
एकदमै फरक पार्छ। मैले चाहिँ यो ट्रेल रनिङ चुज गर्नुको कारण चाहिँ अब वन जङ्गलसँग एकदमै लगाभ भएर हो। प्राकृति सौन्दर्यता देख्ने बित्तिकै एकदमै हुरुक्कै हुने। उकालो–ओरालो हिँड्दा एकदम फरक फिल हुने। माथि गएर तल हेर्न अर्काै फिल हुन्छ ?
अन्य म्याराथन र यसमा के फरक पाउनु भयो ?
ठाउँअनुसार फरक त हुन्छ। सबै गाउँ ठाउँ आफ्नै जस्तै लाग्छ। यहाँ चाहिँ चेक पोइन्ट र मार्किङ अलिक राम्रोसँग गरिदिएको भए सुनमा सुगन्ध भए जस्तै हुन्थ्यो।
यहाँको परम्परासँग भिझ्न पाउनु भयो ?
यहाँ चाहिँ धेरै खालको नाचहरु हुने रहिछ। यस्सो हेर्दा यस्तो पनि हुने रहिछ ? भन्ने हुन्छ। सबैका आफ्ना कल्चर युनिक खालको हुने रहिछ।
यहाँको यो ट्रेललाई अझै राम्रो बनाउन के गर्नुपर्ला ?
नियमहरु अलिकति कडा हुनुपर्छ, चेक पोइन्टको राम्रो व्यवस्था हुनुपर्छ, रुट मार्किङ राम्रोसँग गर्नुपर्छ। यहाँको रुट मार्किङको कारण राम्रो खेलाडी पनि पछि परिरहेको देखेको छु।
खेल क्षेत्रमा चासो राख्नेहरुलाई के भन्नुहुन्छ ?
फस्टमा जित्छु भने हुँदैन बिस्तारै सहभागी हुँदै अनुभव लिँदै जानु। आफूलाई भरोसा गर्नु।
भिडियाे :